मैले पहिलोपटक कहिले खाना पकाएँ, मलाई याद छैन।
मेरी आमाले भनेअनुसार बाल्यकालदेखि नै पकाउन थालेको हुँ। आमालाई बिसञ्चो भएका बेला बुबा व्यस्त वा कामका सिलसिलामा बाहिर हुँदा म खाना पकाउँथे।
मलाई यो चाहिँ सम्झना छ, पकाउने काममा म हाइस्कुल हुँदैदेखि आमालाई सघाउँथे। मलाई थाहा छ, धेरैले यसरी सहयोग गर्नुभएको छ।
हामी सबैजसोको घरमा खाना पकाउनु दैनिकी थियो, अहिले पनि हो। खाना खान बाहिर जाने चलन हामीकहाँ व्याप्त छैन। पहिले त झनै थिएन। फिल्म हेरेर होस् वा किनमेल गरेर फर्किएपछि, खाने भनेको घर आएरै हो। अहिले सहरी क्षेत्रमा भने बाहिर खाने प्रवृत्ति बढ्दै छ।
म कलेजपछि मेडिसिन पढ्न बंगलादेश गएको थिएँ। मेडिकल कलेजको होस्टलमा हामी नेपालीहरूले भान्साकोठा राखेका थियौं। समूहका प्रत्येकले सातामा आलोपालो किनमेल र भान्सा व्यवस्थापन गर्नुपर्थ्यो। पकाउने कामका लागि भने हामीसँग एक जना स्थानीय कुक थिइन्। उनले दिनको तीनपटक खाना पकाउँथिन्।
भान्सा व्यवस्थापनको पालो मेरो हुँदा म सक्दो राम्रो खाना खुवाउन प्रयास गर्थेँ। प्रायः भान्सामा आफैं जान्थेँ र कुकलाई विभिन्न नेपाली परिकार बनाउन पनि सिकाउँथेँ। उनी चुकौनी, खसीको मासुको झोल, कटहरको तरकारी जस्ता परिकार बनाउँथिन्। एकपटक उनले मलाई यी सबै परिकारको रेसिपी कसरी सम्झिन सकेको भनेर पनि सोधिन्।
हामीले एकचोटि तामा पकायौं। तर आसपासकाले गन्ध आयो भन्ने गुनासो गरे अनि तामा नपकाउन आग्रह गरे। हामीलाई सबभन्दा बढी मनपर्ने बास्ना उनीहरूलाई मन परेन। आ-आफ्नो स्वाद हो!
छुट्टीमा घर फर्किँदा म सधैं घरमा मासु पोल्थेँ, अहिले पनि पोल्छु। प्रायः दसैं-तिहार वा अन्य चाडबाडमा मांसाहारी परिकार पकाउने जिम्मा मेरो भागमा पर्थ्यो। म आफैंले बारबिक्यु गर्न टेबल डिजाइन गरेको थिएँ। बंगलादेशबाटै बारबिक्यु गर्ने फलामे झिरहरू पनि ल्याएको थिएँ। यसपालि नेपाल गएका बेला भने मैले त्यो टेबल बिसर्जन गरेँ। नयाँ टेबल ल्याएँ।
मैले नियमित रूपमा खाना पकाउन थालेको सन् २००५ देखि हो। म नेपालगन्जमा काम गर्थेँ, एक्लो थिएँ। त्यति बेला सुरू गरेपछि मैले नियमित रूपमा खाना पकाइरहेको छु।
करिब चार-पाँच वर्षअगाडि मैले #KandelKitchen लेखेर फेसबुकमा आफूले बनाएका परिकारका फोटा राख्न थालेँ। आजभोलि एक्स (ट्विटर) पनि पोस्ट गर्छु। यो क्रममा केही रमाइला अनुभव पनि भएका छन्। कतिले कँडेल किचन रेस्टुरेन्ट हो भन्ने ठानेछन्। केहीले कँडेल किचनमा सेफको पद खाली छ कि भनेर जागिरका निम्ति म्यासेजमा सोधेका पनि थिए।
पकाउने काम मेरा लागि व्यवसाय होइन। सोख मात्र पनि होइन। यो मेरो दिनचर्या हो। मलाई रमाइलो लाग्छ। धेरै सिक्ने अवसरहरू मिल्छ। र, सबभन्दा ठूलो कुरा परिवारको सुख-शान्तिमा पनि योगदान पुर्याइरहेको हुन्छ।
मैले पकाउने क्रममा सिकेका केही अनुभव यहाँ उल्लेख गर्न चाहन्छु।
म कामको सिलसिलामा झन्डै पाँच वर्ष इन्डोनेसिया बसेँ। त्यहाँ एकपटक मैले कार्यक्रमको नियमन र मूल्यांकनबारे मेरा समकक्षीहरूलाई बुझाउन पर्ने थियो। सुरूमा मैले उनीहरूलाई पर्याप्त र स्पष्ट रूपमा बुझाउन सकिनँ। त्यही साँझ, खाना पकाउँदै गर्दा मैले खानाको उदाहरण दिएर अनुगमन र मूल्यांकनको व्याख्या गर्ने निर्णय गरेँ। किनकि खाना पकाउने जोकोहीले पनि यस्ता उदाहरण सजिलै बुझ्न सक्छन्।
त्यसपछि मैले तलको फोटोमा भएको टेबल बनाएँ र अनुगमन र मूल्यांकनबारे व्याख्या गरेँ। उनीहरूलाई बुझ्न धेरै समय लागेन। मलाई उनीहरूको प्रतिक्रियाले प्रफुल्लित पनि पार्यो। उनीहरूले अनुगमन र मूल्यांकन बुझ्न सबभन्दा सरल तरिका र उदाहरण हो यो भने।
त्यसयता अनुगमन र मूल्यांकनको अधिकांश व्याख्यामा मैले यो उदाहरण प्रयोग गरिरहेको छु। स्वास्थ्य सुरक्षा सिकाइका लागि यो एक उदाहरण बनेको छ। यसलाई तपाईंको कार्यक्षेत्रमा प्रयोग गरेर हेर्नुहोला! म विश्वस्त छु, यसले तपाईंहरूलाई पनि मद्दत गर्नेछ।
खाना पकाउने काम पारिवारिक संरचना बलियो बनाउने र सांस्कृतिक र सामाजिक प्रथालाई निरन्तरता दिने एक माध्यम पनि हो। हाम्रो पितृसत्तात्मक समाजले पुरूष नियमित रूपमा भान्सामा गएर प्याज र टमाटर काट्ने, लसुन र अदुवा खुर्किने र विभिन्न प्रकारका खाना पकाउने कल्पना पनि गरेको थिएन।
कसैले विदेशमा छु र कार्य व्यस्तताले गर्दा खाना पकाउने समय नभएकाले भान्सामा जाने समय मिल्दैन भनेर तर्क गर्ने पनि होलान्। तर म नियमित खाना पकाउँथे, घरमा खाना पकाउने सहयोगीहरू हुँदाहुँदै पनि। सहयोगीहरू वरिपरि हुँदा खाना पकाउन धेरै सजिलो हुन्छ। तर आफूलाई मनपर्ने स्वादको खाना आफूले बाहेक अरूले पकाउन सक्छन् जस्तो मलाई लाग्दैन। त्यो त मिशेलिन स्टार शेफले पनि पकाउन सक्छ जस्तो लाग्दैन।
आखिर बाल्यकालदेखि मन पराएको स्वादमै भर पर्छौं हामी। स्मरण गरौं त, आमा हामी सबैका लागि संसारको सबभन्दा राम्रो कुक हुनुहुन्छ। हाम्रा खानाका टेस्ट-बड त्यही स्वादमा अभ्यस्त छन्। जब मेरा बच्चाहरूले स्वादिष्ट भोजनका लागि बुबाको खोजी गर्छन्, तब मलाई अत्यधिक सन्तुष्टि मिल्छ।
मेरी छोरी जब जकार्ताको प्राथमिक स्कुलमा पढ्थिन्, उनले आफ्नो कक्षामा 'पापुले बनाएको चिकेन ड्रमस्टिक ल्याउने' वाचा गरेकी थिइन्। कहिलेकाहीँ मेरा केही साथीहरूले 'निर्मलले गाह्रो बनायो' भनेर गुनासो गरेको पनि पाएको छु। सायद यसको प्रमुख कारक फेसबुकमा #KandelKitchen का पोस्टहरू हुन सक्छन्।
एक जना मित्रले मलाई 'निर्मल हरेक घरमा किचन छन्' पनि भन्नुभयो।
मेरो सरल जवाफ थियो उहाँलाई, 'कृपया खानाका बारेमा फेसबुकमा पोस्ट गर्नुहोस् ताकि हामी सबैले ती परिकारहरूबाट केही सिक्न सक्छौं।'
मैले त्यो भान्साको कुनै पोस्ट आजसम्म देखेको भने छैन।
मैरो खाना पकाउनुको उद्देश्य एउटा ढुंगाले तीनटा चरा हिर्काउनु जस्तै हो।
पहिलो, यसले मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गर्छ।
दोश्रो, यसले घरमा श्रम विभाजन सुनिश्चित गर्छ।
र, तेश्रो, परिवारमा खुसी प्रदान गर्छ।
एक थकित दिनपछि खाना पकाउनु भनेको फुट्न लागेको बेलुनको हावा निकाल्दा त्यसले पाउने सहजता जस्तै हो। हामी परिवारमा भान्सामा हाम्रो काम विभाजन गर्छौं र एकअर्कालाई मद्दत गर्छौं। प्रायः म मांसाहारी खाना पकाउँछु र मेरी श्रीमती शाकाहारी खाना पकाउँछिन्। हामी लगभग हरेक खानामा मांसाहारी भोजन लिन्छौं।
मेरा बच्चाहरू, विशेषगरी छोरा, ९–१० वर्षको उमेरदेखि नै चिकन नूडल सूप र खाना पकाउन सहभागी हुन चाहन्छ। खाना पकाउने काम महिलाको मात्र नभई सबैले नियमित गर्नुपर्ने बानी हो भन्ने कुरा उनीहरूलाई थाहा छ र बुझेका छन्।
परिवारसँग साथमा ती खानेकुराको स्वाद लिँदा अलौकिक आनन्द र शान्तिको अनुभूति हुन्छ।
मेरो भान्सा मेरो प्रयोगशाला हो र म अक्सर पोस्टमा यो वाक्यांश प्रयोग गर्छु, 'कँडेल भान्सा एक ठाउँ हो जहाँ पूर्व पश्चिमसँग मिल्छ।'
म प्रयोग गर्न मन पराउँछु। अक्सर भन्छु पनि, 'जुन खाना मनपर्यो म त्यो पकाउन सक्छु र त्यो स्वाद ल्याउन प्रयास गरिरहन्छु।'
म गर्वका साथ भन्छु, म खाना पकाउन रेसेपी पुस्तकहरू वा युट्युब बिरलै प्रयोग गर्छु। त्यसैले म धेरै प्रयोग गरिरहन्छु।
उदाहरणका लागि, मःम किङको अचारको स्वाद मेरो किचनमा ल्याउन मलाई झन्डै साढे दुई वर्ष लाग्यो। मैले त्यो स्वाद नल्याएँसम्म हार मानिनँ। त्यस्तै दाल र पास्ताको संयोजन मेरा लागि एक सफल प्रयोग थियो। त्यसमा मलाई गर्व छ।
म कामको सिलसिलामा धेरै यात्रा गर्ने भएकाले विभिन्न देशका खानाहरूको स्वाद चाख्ने अवसर पाउँछु। म जहाँ गए पनि स्थानीय परिकारको खाना खानुलाई प्राथमिकतामा राख्छु।
उदाहरणका लागि, अडिस अबाबाको खसीको मासु (हाम्रो सेकुवा जस्तो), जाभा टापूको सोतो आयाम (चिकेन नूडल सुप), बालीको बाबी गुलिङ (सिंगै सुँगुर पोलको), अरबको खुब्ज (एक प्रकारको रोटी) र मण्डी (बिरयानी जस्तै), अमेरिकी गल्लीका ठूला स्यान्डविच, बैंकक गल्लीको सोम ताम (काँचो मेवाको साँधेको सलाद), मिलानको गाउँको पिज्जा।
यस्ता उदाहरणका सूची लामा छन्। यस्ता अनुभवले मलाई कँडेल किचनमा विभिन्न संस्कृतिका खानाहरू मिश्रण गर्न मद्दत गर्छ। हरेक हप्ता एउटा न एउटा नयाँ वा सुधारिएको परिकार बनाउन प्रयास गरिरहन्छु।
पकाउने कामले मलाई 'मार्केटिङ' को महत्त्व र तपाईंले कुनै वस्तु वा सामग्री कसरी प्रस्तुत गर्नुहुन्छ भन्नेमा भर पर्ने रहेछ भन्ने बुझाउन पनि मद्दत गरेको छ।
एउटा उदाहरण, हामीले केही परिवारहरूलाई डिनरका लागि निमन्त्रणा गरेका थियौं। पकाउँदै गर्दा व्यस्तताका कारण चिकेनको परिकार डढ्यो। हामीसँग अर्को परिकार पकाउन पर्याप्त समय थिएन र मेरी श्रीमती आत्तिन थालिन्। सायद उनलाई हाम्रो ह्यासट्यागका कारणले पनि थप चिन्तित बनायो होला।
मैले कुखुराको मासुको स्वाद चाखेँ। धुवाँको स्वाद (स्मोकी) थियो। चिकेन डिशलाई फरक तरिकाले 'मार्केटिङ' गर्ने निधो गरेँ। त्यो चिकेन परिकारमा हल्का केही मसाला हालेर र राम्ररी सजाएँ।
डिनरमा अतिथिहरूलाई भन्यौं, 'आज चिकेन फरक तरिकाले पकाएको छौं, स्मोकी छ। यदि तपाईंलाई स्मोकी खाना मन पर्दैन भने कृपया नलिन सक्नुहुन्छ।'
हामी त्यो दिन आश्चर्यचकित भयौं। एक टुक्रा पनि बाँकी थिएन। दुई परिवारले त रेसेपी पनि माग्नुभयो।
तबदेखि, मैले महसुस गरेको कि यो सबै प्रस्तुतिको कमाल हो। तर यसका लागि तपाईंले विश्वास स्थापित गर्न आवश्यक छ, जुन हामीले लामो समय लगाएर स्थापित गरेका थियौं। किनकि हामी घरमा धेरैलाई बालाउने गर्छौं।
एक जना नेपाली परिवारले कँडेल परिवारले कुनै शुक्रबार पार्टीबिना नछोड्ने भए पनि भन्नुभयो। घरमा पार्टीहरू प्रबन्ध गर्नु सजिलो प्रयास होइन। अझ कुनै सहयोगी हातहरू नहुँदा त झन् कठिन हो। तर पनि ती पार्टीहरूले हामीलाई एकताबद्ध हुनु मद्दत गरिरहेको हुन्छ।
कोभिड–१९ महामारीले त्यो विरासतलाई केही कम गरेको छ। म अझै पनि नियमित रूपमा स्मोकी चिकेन पकाउँछु। विभिन्न विधिहरू पनि प्रयोग गर्छु।
के तपाईंलाई थाहा छ, ओभनमा मासु पोल्दा, तोरीको तेलले भिजेको कोइलाको दुई टुक्रा राख्दा कोइलाको स्मोकी स्वाद मासुमा आउँछ र स्वादिष्ट बनाउँछ।
नबिर्सिनुहोस्, नियमित रूपमा मिठो खानाले केही वजन बढाउने जोखिम छ भन्दैमा खानाबाट आनन्द लिन छोड्नु हुँदैन। यसका साथमा नियमित रूपमा शारीरिक व्यायाम गरेर दुवैको आनन्द लिन जरूरी छ।
खाना र सबै मिलेर पकाउँदा हाम्रो जीवन र परिवारलाई जोडेको हुन्छ। यो आवश्यक छैन कि घरका महिलाहरूले मात्र सधैं खाना पकाउनुपर्छ। आफ्नो जीवनसाथीलाई खाना पकाउन सधैं मद्दत गर्नुहोस् र सुखद भिन्नताको अनुभव गर्नुहोस्।
साथमा, तपाईंले मानसिक तनाव कम गर्न सक्नुहुन्छ, धेरै नयाँ सिक्न सक्नुहुन्छ र, सुखी परिवार बनाउन सक्नुहुन्छ।
(डा. कँडेल मेडिकल इपिडेमियोलोजिस्ट र समाजशास्त्री हुन्। हाल उनी जेनेभा, स्विट्जरल्यान्डमा कार्यरत छन्।)