कुरा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन २०७९ भन्दा ठिक अगाडिको। १४ नोभेम्बर २०२२ का दिन मैले त्यतिबेला काम गर्ने सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशलाई प्रतिनिधित्व गर्दै एउटा महत्त्वपूर्ण समीक्षा कार्यक्रममा भाग लिन पोखरा जानुपर्ने थियो।
पोखरासम्मको सिधा उडान नभएको हुनाले धनगढीबाट काठमाडौँ र त्यसपछि काठमाडौँबाट पोखरा जोड्ने प्लेनमार्फत जाने योजनाअनुसार १२:३५ को उडानका लागि समयमै एयरपोर्ट पुगें। तर दुर्भाग्य, मौसमको प्रतिकूलताको हवाला दिँदै उडान ढिला हुने जानकारी दिइयो। लगभग दुई तिहाई उडानहरू समयमा नभएको मेरो अनुभव छ।
यात्रु प्रतीक्षा कक्षको सबैभन्दा अगाडिको बेन्चमा जोडिएर रहेका तीन वटा सिट मध्ये छेउ तिरको एउटा सिटमा आफ्नो झोला राखेर बाथरूम तिर लागे। फर्केर आउँदा झोला राखेको सिटको छेउमा अन्दाजी ६०-६५ वर्ष जतिका एकजना विदेशी नागरिक बसेको पाएँ।
भर्खरैको कोभिड महामारीले गर्दा भौतिक दूरी कायम गर्ने र एउटा सिट खाली राखेर अर्कोमा बस्ने बानी हटेको थिएन। बीचको सिटमा ज्येष्ठ नागरिक, त्यसमा पनि विदेशी देखेपछि उहाँलाई सम्मान गर्दै आफू अन्तै कतै बस्नु पर्ला भन्ने सोचेर हिँड्न के थालेको थिएँ, पछाडिबाट आवाज आयो, 'तपाईं यो सिटमा बसिराख्नु भएको थियो?'
मैले पछाडि फर्केर हेर्दा नजिकै महिलाहरूको एक समूह थियो, पुरुष अरु कोही पनि थिएनन्। आवाज चाहिँ पुरुषको थियो। म अलमलिएको देखेर विदेशी जस्ता देखिने ती जेष्ठ नागरिकले फेरि त्यही कुरा दोहोर्याए, 'तपाईं यो सिटमा बसिराख्नु भएको थियो?'
त्यति प्रष्टसँग नेपाली बोल्न सक्ने विदेशी नागरिक मैले पहिला भेटेकै थिइनँ। एकजना 'एना स्टर' नाम गरेकी अमेरिकी प्राध्यापकले दोहोरी गाएको भिडिओ हेरेको थिएँ, उनको नेपाली भाषामा मिठास हुँदाहुँदै पनि ती सज्जन जतिको प्रष्टता थिएन।
'पार्डन मि बट आई डिडनट एक्स्पेक्ट यु टु स्पिक नेपाली इन सच अ फ्लुएन्ट म्यानर,' मैले भनें।
नेपालीमै 'तपाईंले त्यति प्रष्टसँग नेपाली बोल्न सक्नु होला भन्ने मैले अपेक्षा गरेकै थिइनँ' भन्न पनि सकिन्थ्यो। किनकी उनले मेरोभन्दा झन् प्रष्ट नेपालीमा सम्वाद सुरु गरिसकेका थिए। तर पनि आफूले अंग्रेजी बोल्न सक्ने भएको देखाउन हो कि खै किन मैले अंग्रेजीमा कुरा राखें। हामीले अरुको अगाडि देखावाटी बढी गर्छौं कि जस्तो पनि मलाई बेलाबेला लाग्दछ।
उनले मुस्कुराउदै टाउको हल्लाए र भने, '२५ वर्ष भयो नेपाल आएको, अलिअलि बोल्न सक्छु।'
मैले पनि नेपाली बोल्न थालेको करिब त्यति नै वर्ष भएको थियो। बैतडीमा जन्मिएकी मेरी आमाबाट मैले पाएको मातृभाषा बैतडेली थियो। झन्डै ७ वर्षको उमेरमा विद्यालय जान थालेपछि बल्ल नेपालीमा पढ्ने तथा बोल्ने सिलसिला सुरु भएको थियो।
एकजना नेपालीले अर्को नेपालीसँग गर्ने भलाकुसारी जस्तै उनले 'के गर्छौ, कता हिँडेको, परिवारमा को-को हुनुहुन्छ?' लगायतका प्रश्न गरे। 'अनि बिहे भयो?' भन्ने प्रश्न आएपछि मैले 'छैन' भन्दा उनले भने, 'ढिलो भयो त केटा! कहिले गर्छौ?'
मैले अर्को वर्षतिर गर्छु होला भनेपछि उनले आफ्नो भनाइलाई निरन्तरता दिए, 'ढिलो भयो त केटा! कहिले गर्छौ? यस्तै भन्नुहुन्छ आमाहरूले नेपालमा। तर खासमा ढिलो कहिले पनि हुँदैन। आफूलाई ठिक लागेको बेला बिहे गर्ने हो। आई ह्याभ बिन म्यारिड ट्वाइस एण्ड डिभोर्स्ड ट्वाइस।'
उनले हातमा एउटा डायरी बोकेका थिए, जसको बाहिरी खोलमा लेखिए थियो, ‘… अ हिडन भ्याली’। मैले उनको डायरीमा लेखेको कुरा बारे बारे सोध्दा उनले धेरै कुरा खुलाउन चाहेनन्। 'नेशनल जियोग्राफिकका लागि फोटोग्राफरको रुपमा काम गर्दैछु' बाहेक। उनले नेपालको बारेमा थप भने, 'देश परिवर्तन भइसक्यो।'
उनीसँग हातमा रहेको पुरानो मोडलको आइफोन देखाउँदै भने, 'यस्तै फोनहरू, ग्याजेटहरूले दुनियाँ बदल्यो। मान्छेले आफ्ना संसार, चालचलन बिर्सिंदै गए। पुरानो सभ्यता अब काठमाडौं, धनगढी जस्ता सहरमा भेटिँदैन। यस्तै लुकेर रहेका उपत्यकाहरूमा मात्रै प्राचीन चलनहरू जीवित छन्।'
यत्तिकैमा उनी जाने एयरलाइन्सको फ्लाइट बोर्ड गर्ने बेला भयो। छुट्नु अगाडि ती प्रष्ट नेपाली बोल्ने सक्ने गैर नेपालीलाई एउटा सेल्फीका लागि आग्रह गरें। उनले हुन्छ भने।
उनी गइसकेपछि गूगलमा 'नेशनल जियोग्राफिक फोटोग्राफर नेपाल' भनेर खोज्दा एरिक भाली भन्ने नाम 'पप अप' भयो। गूगल लेन्सको प्रयोगबाट ती सज्जन प्रख्यात फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भाली नै रहेको पुष्टि भयो। त्यसपछि उनले नेपालमै बनाएको विश्वविख्यात ओस्कर पुरस्कारका लागि समेत मनोनित भएको चलचित्र 'क्याराभान' अनि उनको टिमले निर्माण गरेको प्रसिद्ध 'हनी हन्टर्स' भन्ने वृतचित्र सम्झिएँ।
संसारमै प्रसिद्धी कमाएको एकजना विख्यात निर्देशकको कुरा गराई, शालीनता देखेर हामी नेपालीले सिक्नु पर्ने धेरै कुरा छन् भन्ने अनुभव भयो। हामी आफू सानो हुँदाहुँदै पनि कति ठूलो भएको भ्रम पालेर बस्छौं भन्ने वास्तविकतासँग फेरि परिचित गराएका एरिक भालीसँगको जम्काभेट अविस्मरणीय छ।