रातको दुई बजिसक्यो, पटक्कै निन्द्रा लागेन। अस्पतालमा सधाझैं चौबिस घण्टे डिउटी गर्दै थिएँ। मुस्किलले ३-४ घटना आराम पाउँदा भुसुक्कै हुने म, आज छटपटी भइरहेको छ। आँखा बन्द गर्यो कि एउटै मान्छेको झझल्को घुमिरह्यो मनमा।
अस्पतालमा काम गरेको एक दशकभन्दा बढी भइसक्यो तर एउटा बिरामीको कुरुवाको विचारले जति मन विचलित कहिले भएको थिएन।
सधैंजस्तो साँझको राउण्ड लिन म स्त्रीरोग विभाग गएँ। नवजात शिशुलाई आमासँगै राख्ने हुनाले म सधैं त्यहाँ गएर बच्चा सँगसँगै आमा र कुरुवालाई बच्चालाई गरिने स्याहार, ध्यान दिनुपर्ने अवस्थाको बारेमा जानकारी दिनेगर्छु।
त्यही क्रममा एकजना बिरामीको कुरुवाले मेरो सुझाव मजाले सुन्नुभयो। निकै ध्यान दिएर सुनेको देख्दा लागेको थियो उहाँ बच्चाको बुबा हुनुहुन्थ्यो तर उहाँ काका हुनुहुँदो रहेछ। म एउटा बच्चा हेरेर अर्को बेडमा जान लाग्दा मलाई उहाँले रोकेर सोध्नुभयो-
'डाक्टर हजुरको नाम के हो? कहाँ-कहाँ काम गर्नुहुन्छ?'
मैले आफ्नो नाम बताएँ र आफू हाल यही अस्पतालमा मात्र काम गर्ने बताएँ। उहाँ अलि अचम्मित हुनुभयो र फेरि सोध्नुभयो, 'एउटा ठाउँमा मात्र गर्नुहुन्छ? पैसा पुग्छ त?'
मैले पनि उहाँको नाम सोधेँ। वहाँले आफ्नो नाम विकास बताउनुभयो।
'विकास जी, पैसाले कसलाई पो पुग्छ र! मेरो सानो दूधे बालक छ, त्यसैले यहाँ मात्र काम गर्छु। आमा र डाक्टर दुवैको कर्तव्य पूरा गर्नुपर्यो नि,' मैले मुसुक्क हाँस्दै भनें, 'बच्चा हुर्किएपछि समयले साथ दिए अन्त पनि गर्ने सोच राखेको छु।'
विकास जीले राम्रै प्रतिक्रिया दिनुभयो र भन्नुभयो- 'तपाईंहरूलाई पनि गाह्रो छ है, एकातिर यस्तो अस्पतालको व्यस्त जागिर अनि अर्कोतिर घरबार र बच्चा!'
मैले मुस्काउँदै सहमति जनाएँ। अचानक उहाँको कुराको प्रसंग अन्तै मोडियो।
'तपाईंहरू जस्तो डाक्टरको त जिन्दगी नै हुँदो रहेनछ। न त परिवारलाई समय दिनसक्ने, न भनेजस्तो कमाइ, न त इज्जत नै।'
म अचम्म पर्दै सुनिरहें। त्यो वार्डको सबैजना कान ठाडो पार्दै हाम्रो भलाकुसारी सुन्न थाले। उहाँले भन्दैजानु भयो।
'मेरो पनि एउटा डाक्टर केटी साथी थिई। हामी झण्डै ७/८ वर्ष प्रेम सम्बन्धमा बस्यौं। उनी पहिले पढाइमा व्यस्त थिइन् भने अहिले काममा। मलाई मेरो जीवनसाथी आफ्नो आमाजस्तै सधैं घर, परिवार र सन्तानमै समर्पित हुने चाहिएको थियो तर उनको हाउभाउ हेर्दा उनले आफ्नो काम छोडेर परिवारलाई प्राथमिकता दिन्छिन् जस्तो लागेन, तसर्थ यो प्रेम सम्बन्धलाई टुंग्याउन उपयुक्त लाग्यो। जत्ति धेरै पढेको केटी बिहे गर्यो त्यति नै पारिवारिक जीवन लथालिङ्ग भएको देखेकोछु मैले। तपाईंहरू जस्तो डाक्टर केटीसँग बिहे गर्न नहुने रहेछ। मैले त बेलैमा बुद्धि पुर्याएँ।'
मलाई एकातिर अचम्म लाग्यो अनि अर्कोतिर रिस पनि उठ्यो। मेरै अस्पतालमा आएर, मेरै सेवा लिएर तिमी केटी डाक्टर काम छैन, तिमीहरूसँग बिहे गर्न हुँदैन रे। दुई झापड लगाउन मन थियो तर पनि आफ्नो बोली नम्र गर्दै भनें- 'विकास जी, २१ औं शताब्दीमा आएर पनि हजुर जस्तो शिक्षित व्यक्तिले यस्तो भन्न सुहाउला? हजुरले त झन् एक असल जीवनसाथी बनेर महिलालाई आफ्नो कामसँगै घरपरिवार चलाउन मद्धत गर्नुपर्ने हैन र? २०/२५ वर्षसम्म दुःखले पढेर अन्तिममा घर र बच्चामा नै जीवन सीमित राख्ने भए किन पढ्नु केटीले? स्वास्थ्य क्षेत्रका कर्मचारीका परिवारले यस्तै सोच राखे कसले अस्पतालमा काम गर्ने? जीवन र मरणको दोसाँधमा चाहिने हामी नै हैन र? केही पाउन केही गुमाउन पर्दछ हजुर। सबै कुरालाई पेसामा तौलिन मिल्दैन कि?'
उनको मुहार मलिनो हुँदै गयो। मैले कुरा थप्दै गएँ, 'म हजुरलाई मेरो जीवनको केही अंश भन्छु। म र मेरो श्रीमान् दुवै पेसाले डाक्टर हौं। दुवैले विवाहपश्चात नै पढाइ पूरा गर्यौं। हाम्रो दुई सन्तान छन् अनि हामी बुबाआमा सँगै बस्छौं। म एकातिर अस्पतालमा बिरामीको सेवा गर्छु, अर्कोतिर आर्थिक रूपमा आत्मनिर्भर पनि छु। घरमा हुँदा एक असल आमा, बुहारी र श्रीमतीको भूमिका निभाउँछु। म बच्चा र घरलाई बढी समय दिन्छु अनि उहाँ बिरामीलाई दिनुहुन्छ। घरमा हुँदा दुवै मिलेर घरको काम गर्छौं। हाम्रो सम्बन्ध अरूको भन्दा कुनै प्रकारले कमजोर छ जस्तो लाग्दैन। एकअर्काप्रति माया, सम्मान र सद्भाव भएपछि सबै आफै मिल्दै जानेरहेछ। मृत्युसँग छटपटाइरहेका लागि बचाउँदा कत्ति आत्मसन्तुष्टि मिल्छ त्यो तपाईंलाई के थाहा? अब तपाईं केलाई सफल जीवन भन्नुहुन्छ त्यो तपाईंको व्यक्तिगत विचार हो।'
यत्तिकैमा आकस्मिक कक्षमा बिरामी हेर्न फोन आयो। म कुरा बीचैमा छोडेर आफ्नो काममा लागें।
महिला हुने बित्तिकै घरको जिम्मेवारीमा मात्र बाँधिएर आफ्नो खुसी, चाहना मारिनु पर्छ भन्ने सोच गलत हो। एउटा आमाले जस्तै माया गरेर महिला स्वास्थ्यकर्मीले स्याहार गरेर नै बिरामी अस्पतालबाट निको भएर जाने हो। हामी स्वास्थ्यकर्मीको जीवन सामान्य मानिसको भन्दा अलि गाह्रो नै हुन्छ। विवाह, व्रतबन्ध, भोज, घुमघाम हामीले कमै रमाउन पाउँछौँ। घरपरिवारलाई थोरै समय दिन पाउँछौँ तर जति पाउँछौँ मन खोलेर माया दिन्छौं अनि रमाउँछौं।
विकास जीको जस्तै सोच मेरो परिवार र श्रीमानको पनि भएको भए मेरो जीवन त बर्बाद हुनेरहेछ। आफ्नो हुर्किंदै गरेका बच्चा, अभिभावक, असल जीवनसाथी अनि आफूले उपचार गरेका बिरामीको मुहारको खुसी देखेर आफू सारै भाग्यमानी लाग्यो। यस्तै राम्रा पल सम्झँदै एकछिन भुसुक्कै निदाएछु। बिहानको अलार्मले झसङ्ग ब्युँझिएँ र फेरि काममा लागें।