कक्षा १२ उत्तीर्ण भएपश्चात ममा एकखालको उर्जा थियो। जीवनको लक्ष्य निर्धारण गर्ने हटहुटी भित्रैबाट आएको थियो। अहिलेजस्तो विदेश जाने भन्ने खालको चलन २०६६ सालतिर भित्रिसकेको थिएन।
कक्षा १० पश्चात घर छाडेर काठमाडौं बस्न थालेको पनि दुई वर्ष बितिसकेको भएर होला अब घरतिरै गएर स्नातक तह पढ्ने भन्ने सोच थिएन। +२ मा विज्ञान लिएर पढेको भएर डाक्टर बन्ने लक्ष्य स्वाभाविक रुपमा अलि बढी नै राखिएको थियो। प्रतिस्पर्धामा अब्बल निस्किएर छात्रवृत्तिमा नाम निकाल्न नसकेपछि पैसा तिरेर डाक्टर पढ्नु कल्पना बाहिरको कुरा थियो मेरो लागि।
+२ मा बायोलोजी समूहमा भएको कारण इञ्जिनियरिङमा जाने कुनै ठाउँ पनि थिएन। डाक्टर र इन्जिनियर समाजका प्रतिष्ठित पेसा भन्ने सानैबाट थाहा भएर होला, अन्य विषय पढ्ने आँट नै गर्न सकिनँ। हामी नेपालीहरूको लक्ष्य घर-परिवारको आर्थिक अवस्थाले पनि धेरै निर्धारण गरेको हुन्छ। १२ कक्षामा गणित विषय लिएको भए इञ्जिनियरिङ समूहमा जान पाइने रहेछ भनी कताकता लाग्न थाल्यो। १२ कक्षा उत्तीर्ण भएको एक वर्षपछि फेरि गणित विषयको मात्र परीक्षामा सामेल भएर १२ कक्षाको गणित उत्तीर्ण गरी इञ्जिनियरिङ पढ्ने ढोका खुला गरें।
इञ्जिनियरिङ पढ्ने भन्ने थाहा पाइयो तर कुन इञ्जिनियरिङ पढ्दा राम्रो हुन्छ, कहाँ पढ्दा राम्रो हुन्छ भन्ने खालको ज्ञान नै थिएन। भन्नुको मतलब त्यतिन्जेलसम्म मैले एउटा इन्जिनियर पनि प्रत्यक्ष रुपमा भेटेको थिइनँ, चिनेको थिइनँ। लक्ष्य निर्धारण गर्न, आफू के बन्ने भन्ने कुरा आफू वरिपरिको वातावरणले बढी भूमिका खेल्ने रहेछ। सानोमा साथीको अटो/डायरी भर्दा लेख्ने डाक्टर बन्ने लक्ष क्रमशः समयक्रममा मेटाउँदै गयो।
सबै लक्ष्य प्राप्त गर्न आफ्नो मनले चाहना गरेर मात्र नहुँदो रहेछ। दृढ संकल्प र मेहनतको पनि उत्तिकै आवश्यक पर्ने रहेछ। कति लक्ष्य आफू अनुकूलको वातावरणअनुसार निर्धारण हुने रहेछ। समाज र प्रतिष्ठालाई जोडेर कहिले काही हामी जीवनको लक्ष्य निर्धारण गर्छौं। मेरो पनि त्यस्तै भयो। डाक्टर बन्न नसकेको झोक इन्जिनियर बन्नेमा पुग्यो।
सानैबाट इन्जिनियर बन्ने लक्ष नराखी अघि बढिरहेको म, चार वर्षमै इन्जिनियर भएँ। सामान्य अंक प्राप्त गरी नियमित रुपमै उत्तीर्ण हुँदै सिभिल इन्जिनियर बनेको म, धेरै साथीहरूको तुलनामा औसत मात्र थिएँ। औसत विद्यार्थी भएपछि त्यति ठूलो लक्ष्यहरू राख्न छाडियो। पढाइ सक्ने बित्तिकै ठूल्ठूला कम्पनीमा अन्तर्वार्तामार्फत जागिर खान सक्ने अत्मविश्वास नै राख्न सकिनँ। कलेजमै टिचिङ सहायकको रुपमा पढाउने सपना त राख्ने झन् कुरै भएन।
जब लक्ष्यहरू सामान्य हुँदै जान्छन् तब ती लक्ष्य भेटाउँदा औधी खुसी हुने रहेछ। जब लक्ष्य ठूलो राखिन्छ, तब त्यो पूरा नहुँदा औधी निरास हुने रहेछ। पढाइ सक्नेबित्तिकै मास्टर पढ्न साथीहरू विदेशका विश्वविद्यालयहरूमा आवेदन दिन थाले, म भने निर्माणाधीन जलाविद्युतमा जागिर खान पाँचथर पुगें।
पढाइ र काम गर्ने कुरामा निकै फरक हुने रहेछ। सुरुसुरुमा सुपरभाइजर, फोरम्यानबाटै साइटको बारेमा धेरै कुरा सिकियो। पढाइ सकेपछि केही साथी विदेश जान तल्लीन रहँदा, म भने पहाडको खोँचमा, भनेको बेला फोन सम्पर्क समेत नहुने ठाउँमा, इन्जिनियरिङ काम सिक्दै थिएँ। प्राविधिक भएपछि सतही गफ गरेर, अन्दाजको भरमा काम गरेर नहुने रहेछ, ठ्याक्कै काम नै जानेको हुनुपर्ने रहेछ।
इन्जिनियर भएपछि साइटको काम जान्न अनिवार्य रहेछ, पढ्दा लिएको उच्च अंकभन्दा फिल्डमा लिएको अंक बढी काम लाग्ने हुने रहेछ। स्नातक उत्तीर्ण भएपश्चात केही साथी तुरुन्तै स्नाकोत्तर पढ्न हतारिरहँदा, म भने काममै तल्लीन थिएँ। चार वर्षमा के-के पढियो, हामीले गर्ने फिल्डवर्कमा कति सम्बन्ध राख्छ, पढाइ र फिल्डमा कति फरक हुन्छ, त्यो थाहा नपाई स्नातककोत्तर पढिहाल्नु पर्छ भन्ने सोच ममा थिएन।
फिल्डमा केही अनुभव लिएपछि, आफूलाई कुन विधा बारे रुचि लाग्छ, त्यहीअनुसार स्नातकोत्त् पढ्नु पर्छ भन्ने मेरो बुझाइ थियो। त्यहीअनुसार म अघि बढें।
इन्जिनियर भएको पनि आठ वर्ष बितिसकेछ। सँगै पढेका साथीहरू मध्धे ८०% अहिले विदेशमा छन्। मास्टर सकेर कोही पिएचडी गर्दै छन् त कोही उतै काम गरेर बसिरहेका छन्। बेलाबेला गफ हुँदा नेपाल आउने वातावरण नै नभएर आउन नसक्ने भनी देशप्रति गुनासो गर्दा भन्न मन लाग्छ- यही देशले गुणस्तरीय शिक्षा प्रदान गरेर विदेश जान वातावरण बनाइदिएको हैन र?
नेपाल आएर आफैं वातावरण बनाउन सकिन्छ भन्न मन लाग्छ कहिलेकाहीँ तर सकिन्न। यहाको अस्थिरता, अनियमितता र अपारदर्शी क्रियाकलापले भन्ने आँट आउँदैन। नेपालमा सहजै सबै काम गर्न सकिन्छ भन्ने आत्मविश्वास ममा छैन। केही गर्नेलाई प्रोत्साहन हुन्छ म भन्न सक्दिनँ। विकसित राष्ट्रभन्दा विकासन्मुख राष्ट्रमा इन्जिनियरको भूमिका र भविष्य अझ बढी हुन्छ भन्ने त बुझियो तर व्यवहारमा लागु भएको छैन।
भर्खरै इन्जिनियरको लाइसेन्स हातमा लिएर बसेको इन्जिनियरलाई पनि यो देशमै केही गरौं भन्ने उर्जा छैन। केही समय खर्चेर भए नि देशमै केही गरौं भन्ने धैर्यता हामीसँग छैन। थोरै जनशक्ति जो आफैंमा दक्ष भैसकेका छन्, उनीहरू पनि विदेशमै स्थायी बसोबास गर्ने प्रक्रियामा छन्।