म, मेरो इच्छा र मेरो काम समग्रमा हामी तिनको 'कम्बो' राम्रै मिलेको छ भन्नुपर्छ।
घुम्न र नयाँ ठाउँबारे बुझ्न रूचाउने मलाई काम र पढाइले नि साथ दिएकै छ अहिले सम्मलाई। कहिले यात्रा धरान त कहिले दाङ। यात्राको क्रममा हरेक पटक भेटिने मान्छेको कथाले मलाई कहिले भावुक त कहिले मनदेखि खुसी बनाउँछ।
कतिपय यात्राकै क्रममा भेटिएका साथी फेसबुकमा साथी पनि छन्। सायद मसँगै रातभरि गाडीमा कटाएका दिदी, दाइ, त कहिले बुवाआमा उहाँहरूको नाम त मलाई याद छैन तर हजुरहरूसँग भएका विशेष कुराहरू मेरो मस्तिष्कमा नमेटिने गरी छापिएका छन्।
१२ देखि १८ घन्टे यात्रामै भेटिएका सहयात्री छुटिँदा नि कति पटक त मन नै अमिलो भएको छ।
प्राय: हवाई यात्रा र गाडीको यात्रा गर्दा भेटिने सहयात्रीको कथामा धेरै भिन्नता भेटिन्छ। काँकडभित्ताको गाडीमा भेटिनु भएको गोरखा दिदी तिजको दर खान जान लाग्नु भएको थियो र दिदीको खुसीको सीमा नै थिएन, मलाईसम्म दर खान त्यो दिन दिदीको मै जाम भन्नु भएको थियो। तर आज मैले कामको सिलसिलामा दिल्लीको विमानस्थलमा जाँदा त्यहाँ भेटिनु भएको गोरखाकी दिदीको डर र बेचैनीको कथा बेग्लै छ।
दिदी कुवेत जान लाग्नु भएको रहेछ। दिदीसँगै एक जना आमा समानकी अर्की दिदी पनि हुनुहुन्थ्यो। उहाँहरू के काम र कहिले सम्मको लागि जान लाग्नु भएको भन्ने धेरै कुरा उत्तरविहीन छन्। मेरो लागि तर उहाँहरूको हतासपन र मनको डर पत्ता लगाउन कत्ति समय लागेन। दिदीहरूलाई गेट नम्बर भेटाउन अलिकति सहजीकरण गरें, मैले पर्खिराखेको गेटको छेउमै रहेछ र जाने समय नि मेरो भन्दा अगाडि, दिदीहरूले सायद मलाई देख्नुभएन तर मैले दिदीहरूलाई आँखाले भ्याउँदासम्म हेरे।
दिदीहरूको हरेक पाइला अघि बढ्दै थिए, पाइला सँगै मेरो आँखामा फ्ल्यासब्याकसरी कुवेतमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीले भोगेका नमिठा दु:खका समाचार आए। कुवेतमा गएका ८३ नेपालीको पासपोर्ट कब्जा र विगत ६ महिनादेखि तलबविहीन… कुवेतमा गएका महिला कामदारमाथि शारीरिक यौन शोषण र कुटपिट ऽऽऽ
मन स्तब्ध हुन्छ।
मैले यो लेख्दासम्म गोरखाकी दिदी सायद अहिले १६ डिग्री तापक्रम देखाउने ठूला ठूला भवन भएको कुवेत पुगिसक्नु भो होला।
आज दिनभरि मैले मलाई भन्दा त्यो दिदी र आमालाई बढी सम्झिएँ, नेपालबाट दिल्ली गाडीमा गएर ३-४ दिन होटलमा बसेपछि बल्ल आजको फ्लाइट रहेछ। दिदीसँगै भएकी आमाको त्यो अनुहार सम्झिएँ, रहरले पक्कै जानु भएको थिएन होला। आमा र दिदीको पछाडि मैले छोटो समयमा देख्न सक्ने भन्दा धेरै कथा पक्कै होलान्।
अनि सम्झिन्छु विमानस्थलमा हामी नेपालीका यस्ता कथाहरू घन्टा-घन्टामा विमानमा उडिरहेका छन्, केही काठमाडौं त केही कथा दिल्ली हुँदै … सन् २०२३ को जनवरीसम्ममा ८१ हजार ९ सय १३ जना नेपाली कुवेतमा कार्यरत हुनु हुँदो रहेछ, जसमा प्राय: नेपाली घरको काम, सरसफाइ, सेक्युरिटी गार्ड र सवारी चालक पेशामा।
जजिराको विमानमा चढेर कुवेत गएका नेपालीका कथाहरू कतिको विपना भएका छन् त्यो मलाई थाहा छैन तर आज कुवेत जाने दिदी र आमाको सपना पक्कै पनि विपनामा परिणत होस् भगवान्।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)