बिहानको चिया पिउँदै लिभिङ रूममा बसेकी थिएँ। छोरो आएर छेउमा बस्यो अनि 'हाप्पी बर्थडे मामु' भन्यो। मैले उसको टाउको मुसार्दै 'धन्यवाद छोरा' भनें।
उसले मेरो मुहार निहाल्दै भन्यो, 'बर्थ डेमा पनि उदास? उज्यालो, हँसिलो मुहार पनि मलिन छ। सन्चो छैन भनु भने हिजो बेलुकासम्म त ठिकै हुनुहुन्थ्यो? अचानक आज के भयो? कि बिरामी हुनुभयो?'
छोरो चिन्तित भएको देखेर मैले भनें, 'खास केही होइन। म सोन्चै छु तर मनको विचलनले शरीरमा जाँगर छैन। अन्तस्करणका भावनाहरू मुहारमा छरपष्ट नछरिउन् भन्ने चेष्टामा थिएँ। सफल भइनँ। बेचैन मनस्थितिले मुहारमा ल्याएको प्रभाव तैँले देखिहालिस्।'
मेरा कुरा बीचमा काट्दै उसले सोध्यो, 'के भयो त्यो भन्नु न?'
हाँस्न खोज्दै मैले भनें, 'खासमा भन्नुपर्दा आत्मीय सम्बन्धहरू बिर्सिन सकिन्न। आजको विशेष दिनमा आमाको याद आयो छोरा। ५६ वर्षको उमेरमा सांसारिक माया मोहबाट छुटकारा पाउनुभएकी आमालाई सम्झेर मन भारी भएको छ। मनसुनी वर्षाले भरिएर अटेसमटेस भएका खेतका गराझैँ आँसुले आँखा टिलपिल भरिएका छन्। भूत, वर्तमान, भविष्य जता पनि पुग्न बेर नलाग्ने गतिशील मन विगतमा पुगेको छ। आमाको अप्रत्यासित मृत्युको घटना सम्झेर छाती चिरिएको छ। १५ वर्षअघि पलभरमा घटेको त्यो घटनाका बारेमा तँलाई थाहा छैन किनकि त्यो बेला तँ गर्भमै थिइस्। तर मलाई राम्रोसँग याद छ।
त्यतिबेला म काठमाडौँमा बस्थें। त्यो दिन (भदौ २८ गते) आफ्ना सबै काम सकेर साँझपख दाइको घरमा गएकी थिएँ। सधैँ झैं ८ बजेतिर घरमा फोन गरेर आमासँग कुरा गरें। दुई दिनपछि आउने हजुरबुवाको श्राद्धको तयारीमा जुट्नुभएकी आमाले आफूले दिनभरि गरेका कुरालाई फोनमै बेली विस्तार लगाउँदै भन्नुभयो, 'भोलिदेखि सोह्रश्राद्ध लाग्दैछ। आज दिउँसो श्राद्धको सामान किन्न भनेर शनिश्चरे बजार गएकी थिएँ। दशैंको आगमनसँगै बजारमा ह्वात्तै भिड बढेछ। घुइँचो छिचोल्दै सामान किन्न धेरै बेर लाग्यो। घरमा आएपछि साँझपख गएर पुरेतलाई पनि बोलाएँ। चाडपर्व नजिकै आइसके अब तिमीहरू आउन मात्र बाँकी छ।' यसरी लामै कुरा गरेर फोन राखेकी थिएँ। तर अफसोच आमासँग कुरा गरेको घण्टा नबित्दै आमा बितेको खबर आयो।
अप्रत्यासित रूपमा आएको त्यो खबरले हाम्रो होस उडायो। अघिसम्म ठिकै हुनुहुन्थ्यो? के भयो? कसरी भयो? यति चाँडै कसरी यस्तो खबर सुन्नुपर्यो? यो खबर सत्य नभइदिए पनि हुन्थ्यो जस्तो लाग्यो। तर खबर सत्य थियो। आमा बितेको खबर पाएका हामी तुरुन्तै घर जान सकेनौँ। कोशी नदीमा आएको बाढीले कोशीपूर्वको राजमार्ग अवरुद्ध भएका कारण हामी घरतर्फ प्रस्थान गर्न असमर्थ थियौँ। जटिल परिस्थितिमा अब कसरी घर जाने भन्ने तनाव थपियो।
शोकको घडीमा सान्त्वना दिन आउनुभएका आफन्त इष्टमित्रको उपस्थितिमा घर जाने उपायको खोजी थालियो। सडक मार्गबाट जान नसकिने पक्का भएकाले प्लेन टिकटको निम्ति प्रयास गरियो। तर कोशीको बाढी अनि नजिकै गरेको दसैंका कारण टिकट पाइएन। जतिजति रात छिप्पिँदै गयो आमा बितेको खबर पाएर पनि घर जाने टुङ्गो नलागेका हामी उतिउति आत्तिँदै गयौं। समस्या समाधानका खातिर सबैको सरसल्लाहमा बिहानै एयरपोर्ट जाने निष्कर्ष निकालियो।
संकटको त्यो घडीमा काठमाडौँ र झापाबीचको भौगोलिक दूरीभन्दा पनि प्राकृतिक विपत्तिको कहर भोग्न हामी बाध्य भयौं। परिणामस्वरूप आमाको मृत्युको त्यो दिन परिस्थितिवश लाचार बनेका हामी तीन सन्तान एकातिर भयौं भने बुवा अर्कातिर हुनुभयो। असह्य पीडामा रात बिताएका हामी एकाबिहानै एयरपोर्ट गयौं। हाम्रो पीडामा सहभागी हुँदै आफन्त, इष्टमित्रहरू पनि त्यही आउनुभयो।
टिकटविहीन हामी कोही अनुपस्थित भइहाले भने तिनको टिकटमा जान पाइन्छ कि भन्ने झिनो आशामा एयरपोर्टको एक कुनामा बसिरह्यौं। त्यहाँको भिडभाड हेर्दा जान पाइएला जस्तो थिएन। त्यहाँको अवस्था देखेर आफन्त इष्टमित्रहरू छक्क पर्नुभयो। तर हामीलाई झापा पठाउने अभिभारा बोक्नुभएका उहाँहरूले हार मान्नुभएन। कुनै उपाय पठाउन सकिन्छ कि भनेर हतास नभई हाम्रो लागि अनवरत खट्टिरहनुभयो। उहाँहरूको अथक प्रयासको परिणाम हामीले १२ बजेको विराटनगरसम्मको भएपनि प्लेनको टिकट पायौँ। विराटनगर पुगेपछि घर पुगिने पक्कापक्की थियो।
बाढीका कारण कोशीपूर्वको बाटो भत्किएकाले हिजोदेखि निराश भई बसेका हामी विराटनगरसम्मको टिकट पाएकोमा कृतकृत्य भयौँ। उहाँहरूले १२ बजेको प्लेनमा चढाएर हामीलाई बिदा गर्नुभयो। १ नबज्दै हामी विराटनगर पुग्यौँ। तर एयरपोर्टबाट भेन रिजर्भ गरेर झापा जाने कुरा गरेपछि थाहा भयो। सोही दिन पत्थरीदेखि उर्लाबारीसम्मको राजमार्ग बन्द रहेछ।
प्रारब्धको खेल, हामीले राजमार्ग प्रयोग गर्न नपाएपछि भित्रबाट हुँदै जानुपर्यो। फलस्वरूप ५ बजेतिर मात्र घर पुग्यौँ। वित्यासको त्यो समय सन्तानको प्रतीक्षामा बुवाले रात अनि भोलिपल्टको पनि आधाभन्दा बढी दिन पर्खनुपर्यो। खबर पाएदेखि नै त्यहाँको वस्तुस्थिति अनि बुवाको अवस्थाको बारेमा सोचिरहेकी थिएँ। आफन्त, छरछिमेकी, इष्टमित्रको घुइँचो छिचोल्दै बुवालाई भेटें।
बुवाको अवस्था अत्यन्त नाजुक अनि दयानीय थियो। हृदयघातका कारण क्षणभरमा मृत्युसँग पराजित हुनुभएकी आमालाई आँगनमा लमतन्न सुताएको थियो। आमाको छेउमा बसेर सरसर्ती हेरेँ।
आमाको अनुहार सुन्निएर भुक्क फुलेको थियो। नाकमा हालेको सेतो कपासमा रातो रगत कटकटिएको थियो। भुडी उक्सिएर छातीसँग समतुल्य भएको थियो। शरीर निलोकालो भइसकेको थियो। हिजो बेलुकी मात्र राम्रोसँग गफ गरेकी आमाको २४ घण्टा नपुग्दै भएको त्यो अवस्था हेर्न सकिने थिएन। तर त्यो हृदयविदारक दृश्य टुलुटुलु हेर्नु सिवाय केही विकल्प पनि थिएन।
सिउँदोमा सिन्दुर, निधारमा टीको, अनुहारमा अबिर, गलामा फूलको माला अनि पोते लगाएर शृङ्गारी दिएका भए पनि आत्माविहीन आमालाई देखेर म स्तब्ध भएँ। तर आमाको सामुन्ने अलिबार बस्ने हाम्रो समय वर्षाले उन्मत्त मातेको कोशी नदीले खर्लप्पै खाएको थियो। हतार-हतारमा आमाको मृत शरीरलाई तीन पटक परिक्रमा गरें। आमाको अन्तिम दर्शन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरें। अकल्पनीय घटनाको साक्षी बन्नुभएका छिमेकी, आफन्त, इष्टमित्रको सहयोगमा हामी पुगेको केही बेरमै आमाको शवयात्रा सुरु भयो।
सबैजनाको उपस्थितिमा आमाको अन्त्येष्टिक्रिया सम्पन्न भयो। आमाको मृत्यु हाम्रो निम्ति अपूरणीय क्षति थियो। अमाको मृत्युले हामीलाई टुहुरा अनि बुवालाई विधुर बनायो। तर पनि आफ्नो आफ्नो घरव्यवहारमा व्यस्त हामी समयसँगै सहजै अघि बढ्यौं। आमाको मृत्युले बुवालाई सर्वाधिक सतायो।
आँखा अगाडि भएको आमाको मृत्युका बारेमा बुवाले भावविह्वल हुँदै भन्नुभयो, 'मृत्यु सत्य हो। आमालाई सुगर अनि हाई ब्लड प्रेसर पनि थियो। तर आमामा विसञ्चको कुनै छनक थिएन। त्यो दिन पनि सधैंझैं दिनभरि व्यस्त थिई। बेलुकीको खानपिन सकेर हामी दुवैजना माथि चढ्यौँ। म भित्र ओछ्यानमा बसेर पढ्न थालें अनि आमा बार्दलीमा बसेर तँसँग फोनमा कुरा गर्न थाली। कुरा गरिसकेर कुर्सीबाट उठ्ने बेलामा बर्लङ्ग लडी। आमा एक्कासी पछारिएको देखेर म आत्तिए। के भयो? के भएर लडिस्? भन्दै थिएँ। मामा कता हुनुहुन्छ? माइजुले नराम्रोसँग चिच्याएको सुनेर के भएछ भनेर हेर्न आएका भन्दै माथ्लाघरबाट गोमा र मेघु आए। माइजुलाई के भयो भन्दै आमालाई बोलाए। हात सुमसुम्याए। आमाले केही प्रतिक्रिया नदेखाएपछि माइजु बेहोस हुनुभएछ। डाक्टर कहाँ लानुपर्छ भन्दै एम्बुलेन्स बोलाए। उनीहरूको सहयोगमा बिर्तामोड अस्पताल पुर्यायौं। तर आमालाई हेर्ने बित्तिकै डाक्टरले मृतक घोषणा गरिदियो। बचाउन सकिन्छ कि भन्ने आशमा लगेकी आमालाई अस्पतालमा राख्नै परेन। घटना भएको ३० मिनेट नपुग्दै हामी घर फर्कियौं। सबै कुरा यति चाँडो भयो कि मर्ने बेलामा आमाका कानमा राम नाम समेत भन्न भ्याइनँ। त्यो कुराले आत्माग्लानी भइरहेको छ। त्यो पीडाबाट मुक्त हुन सकुला जस्तो पनि लाग्दैन।'
बुवाका कुराबाट आमाको मृत्युले बुवालाई दिएको पीडा सहजै अनुमान गर्न सकिन्थ्यो।
आमाको मृत्युले बुवालाई पीडा हुनु, सताउनु स्वभाविकै थियो। तर आमाको मृत्यु बुवाका निम्ति अर्धाङ्गिनीसँगको वियोगको पीडामा मात्र सीमित थिएन। छोराछोरीको विवाहपश्चात बुवाआमा मात्रै बस्ने घरमा अब बुवा एक्लै हुनुभएको थियो। बुवाको हेरचाहमा अनवरत खटिने आमाको अनुपस्थितिमा बुवालाई अतिरिक्त कार्यभार थपिएका थिए। दैनिक रूपमा आमाले गर्दै ल्याएका घरभित्रका सामान्य कामहरू जस्तै खाना पकाउने, लुगा धुने, घरको सरसफाइ गर्ने आदि इत्यादि काम बुवाका निम्ति सहज थिएनन्।
तर पनि सम्पूर्ण घरायसी काम भ्याएर शिक्षण पेसालाई निरन्तरता दिनु बुवाको बाध्यता बन्यो। आमाको मृत्युपछि लाचारीबस बुवा सबै व्यहोर्दै हुनुहुन्थ्यो। तर एकल महिलाहरूको अवस्थाका बारेमा वर्षौंदेखि आँखा चिम्लिएको हाम्रो पुरुष प्रधान समाजले बुवाको तत्कालीन अवस्थाका बारेमा सोच्न ढिला गरेन।
विधुर पुरुषको दोस्रो विवाहलाई सामान्य रूपमा लिने हाम्रो समाजमा आमाको उपस्थितिबिनाको बुवाको गृहस्थ अधुरो साबित हुन बेर लागेन। 'एक्लो बुढाको बिजोकै छ। घर जाँदा पानी दिने मान्छे पनि छैन। विचरा बुढो मान्छे आफैं अघि सरेको देखेर माया लाग्छ। बुढाका घरमा सबै कुरा छन् मात्र एक नारीको खाँचो छ। पुनर्विवाह गर्नुपर्छ' भन्नेहरूको कमी भएन। जुन पुरुष प्रधान समाजको उपज थियो।
गृहस्थीलाई निरन्तरता दिनकै निम्ति भए पनि बुवाको दोस्रो विवाह आवश्यक भयो। फलस्वरूप पहिलो श्रीमतीको मृत्युको असह्य पीडालाई आत्मसात गर्दै पाको उमेरमै सही बुवाले दोस्रो विवाह गर्नुभयो। समसामयिक वातावरणबाट सिर्जिएको अवस्थामा गरिएको बुवाको पुनर्विवाहले आमाको रिक्त स्थान सहजै पूर्ति भयो।
पुनर्विवाहका कारण बुवाका दैनिक कार्यसम्पादनहरू सहज बने। आमाको आगमनसँगै फेरि सुरु भएको आफन्त इष्टमित्रहरूको चहलपहलले घरको रौनक वापस आयो। पुरानो घरले पुनर्ताजगी पायो। केही अपवाद बाहेक छोराछोरी र बाबुआमाको सम्बन्ध प्रिय हुन्छन्। सम्बन्ध नै प्रिय र आत्मीय भएपछि माया ममता स्वतः जागृत हुन्छ। सबै कुरा राम्रो छ।'
म एकोहोरो बोलिरहेकी थिएँ अनि छोरो एकाग्र भएर मेरा कुरा सुनिरहेको थियो। त्यहीबेला मेसेन्जरमा आएको कलले हामी झसंग भयौं। फोन हेरेर छोराले भन्यो, 'मामु, हजुरबाले कल गर्नुभएछ।'