धेरै दिनपछि गाउँ फर्किएको थिएँ। सहरभन्दा पर शान्त माहोल, हरियो वातावरण, मिलनसार गाउँले। कोही खेतमा पानी लगाउँदै हुनुहुन्थ्यो त कतै उखु काटिँदै थियो। कुनैकुनै बेला मात्रै गाडीको आवाज सुनिन्थ्यो।
शान्त माहोलमा चराचुरुङ्गीको मिठो आवाज त कतै बालबालिकाले खेलिरहेको आवाज सुनिन्थ्यो। यो सब देख्दा मलाई आफ्नो बचपनको याद आयो।
साँझ परेको थियो। म घरनजिकै थिएँ। गाउँ घुम्दा धेरै नभए पनि अलिअलि माहोल बद्लिएको थियो। साँझको बेला सडकमै म उभेर केही सोच्दै थिएँ, गाउँकै दिनेश दाइ म नजिकै आइपुग्नु भयो।
हाम्रो गाउँमा सानो बजार लाग्ने गर्छ। त्यही बजार घुम्न दिनेश दाइ जाँदै हुनुहुन्थ्यो। उहाँले मलाई पनि बजार जाउँ घुम्न भन्नुभयो। हामी बजार तिर लाग्यौं। बाटोमा हामीले गाउँको अवस्था बारे कुराकानी गर्दै गयौं।
गाउँको बजारमा अरु ठाउँमा जस्तो टन्नै मानिसहरू त थिएनन् तर आफ्नै गाउँका बेच्ने र किन्ने मानिसहरू भने थिए। त्यही बजारमा एउटा चटपटेवाला देख्यौं। दाइको आग्रहमा हामीले चटपटे खायौं।
चटपटे खाइसकेपछि बजारमै रहेको काकाको चिया पसलमा गयौं। त्यहाँ अगाडिदेखि नै धेरै मानिसहरू चिया खाँदै हुनुन्थ्यो। हामी पनि चिया पिउन बस्यौं। चिया खाएपछि हामी आफ्नो घरतिर लाग्यौं। बाटोमै हाम्रो गाउँकै एक समाजसेवी काकाको घर पर्छ। उहाँकै घर अगाडि काकासँग हाम्रो भेट भयो।
कुराकानी हुँदै गर्दा दिनेश दाइको पढाइको बारेमा काकाले सोध्नुभयो। दाइले 'अहिले भर्खर स्नातक सक्काएको छु' भन्नुभयो।
'स्नातक सकिएको भए अब लोक सेवातर्फ घुसिहाल।'
काकाको कुरा सुनेर दाइको मुड बेग्लै भयो किनकि दाइलाई लोक सेवा मन नै पर्दैन। उहाँलाई त लोक सेवाको नाम सुन्नेबित्तिकै टाउको दुख्न थाल्छ।
दाइले भन्नुभयो, 'अहिले लोक सेवातर्फ मैले ध्यान दिएको छैन, पछि हेरौँला।'
यति सुनेपछि काकाले फेरि भन्नुभयो- 'हैन, अहिले नै लोक सेवाको तयारी गर्न थाल राम्रो हुन्छ।'
फेरि दाइले भन्नुभयो, 'के लोक सेवा लड्नै पर्छ? लोक सेवा नलडे हुँदैन?'
'हामी गाउँको मान्छे र बाबु तिमी पनि गाउँकै मान्छे, गाउँमा रहँदा जागिरभन्दा ठूलो काम मैले केही जान्दिनँ,' काकाले भन्नुभयो।
अब दाइ र काकाबीच गहिरो संवाद हुनथाल्यो। काकालाई लोक सेवा त दाइलाई व्यापार मनपर्छ। काकाले फेरि दाइलाई भन्नुभयो- 'लोक सेवा लड्छौ भने जिन्दगीभरको चिन्ता हुँदैन र बिहेको लागि केटी पनि राम्री पाउछौ।'
यतिको कुरा सुनेपछि त दाइको पनि पारा बेग्लै भयो। दाइले काकालाई सम्झाउनुभयो, 'काका, मलाई राम्री केटी पाउन र जिन्दगीभरको चिन्ता नगर्न म लोक सेवा लड्दिनँ किनकि मसँग अरु काम गर्ने त्यति क्षमता छ। लोक सेवा लड्नु ठूलो कुरा होइन, त्यहाँ नाम निकाल्नु ठूलो कुरा हो।'
यति सुनेपछि काकाले 'ल ठिकै छ जे गर्छौ राम्रै गर्नू' भन्नुभयो।
काकाको यो कुरा सुनेर भने दाइ बल्ल खुसी हुनुभयो। त्यसपछि फेरि काकालाई दाइले सम्झाउनु भयो, 'काका तपाईं आफ्नो ठाउँमा एकदमै सही हुनुहुन्छ तर सबैजनालाई लोक सेवातर्फ नै जानुपर्छ भन्ने छैन, सबैको आ-आफ्नो सपना हुन्छ, सोच हुन्छ। लोक सेवाले भोकै मर्न दिँदैन तर जीवनमा अगाडि बढ्न दिन्छ भन्ने हुँदैन। यही कारण अहिले धेरै जागिरेहरू आफ्नो जागिर छोडेर अर्कै क्षेत्रमा लागेका छन। जागिरले पनि सबै सपना पूरा गर्न दिँदैन। नेपालमा पढेलेखेका व्यक्तिहरू बेरोजगार हुनुको एक कारण लोक सेवा पनि हो जसमा वर्षौं समय लगाएर तयारी गर्न त गर्छन् तर ९०% परिक्षार्थी फेल हुन्छन्। त्यसपछि उनीहरूले गर्ने केही हुँदैन। त्यसैले सबैलाई लोक सेवाको भिडमा दौडनु जरुरी छैन।'
त्यसपछि हामी घरतिर लाग्यौं। दाइले भर्खरै बिएससी सकाउनु भएको थियो। उहाँको आफ्नै केही व्यवसाय सुरु गर्ने योजना थियो। त्यहीअनुसार काकालाई पनि भन्नुभएको रहेछ।
जाँदाजाँदै दाइले मलाई प्रश्न गर्नुभयो- 'लोक सेवा पास नगरे बिहे हुँदैन? मान्छे त भन्छन् कि बिहे दुई आत्माको मिलन हो तर यहाँ त लोक सेवाको मिलन गराउँदै छ त भाइ?'
दाइको कुरा सुनेर म हाँस्न थाले। यत्तिकैमा फेरि गाउँकै अर्का काकाले त्यही कुरा दोहोराउनु भयो- 'दिनेश के छ? कहाँ बस्छौ? जागिरतिरको कस्तो माहोल छ?'
दाइले मुस्कुराउँदै 'प्रयास गर्दैछु' भनुभयो र हामी फेरि आफ्नै बाटो लाग्यौं।
हिँड्दै गर्दा मैले दाइलाई भनें- 'अरुले के भन्छ त्यसमा हामी समय बर्बाद नगरौं दाइ, हामीलाई आफ्नोमा के खुबी छ, हामी के राम्रो गर्न सक्छौं, हामीलाई केको बारेमा सही ज्ञान छ, हो त्यही गर्नुपर्छ।'
नेपालमा यस्ता धेरै छन् जसले लोक सेवा पास गरेर पनि पछुतो मानेर जागिर छोडेका छन् किनकि अहिलेको समयमा जागिरले सबैथोक पूरा गर्न सकिँदैन। त्यसैले कतिजना त स्थायी जागिर छोडेर विदेशिएका पनि छन्। लोक सेवा लड्नै पर्छ भन्ने जरुरी छैन।
यस्तै कुराकानी गर्दागर्दै हामी घर आइपुग्यौं। अन्तिममा दाइले मलाई भन्नुभयो- 'लोक सेवा पास गरे राम्री केटी मात्रै आउला तर आफूले चाहेको काम वा व्यवसाय गरे राम्री केटी र आफ्नै कमाइको राम्रो कार पनि आउन सक्छ है केटा।' यति भन्दै मुस्कुराउँदै उहाँ आफ्नो घरतिर लाग्नु भयो र म पनि घर तिर लागें।
लोक सेवा राम्रो हो तर सबैलाई यतातिर नै आउनुपर्छ, त्यो जरुरी छैन। सबैको आफ्नो-आफ्नो योजना हुन्छ।