'म चलचित्र डामाडोलको निर्देशन बीचैमा रोकेर सदनमा उपस्थित हुन पुगेको थिएँ, देशको डामाडोल स्थिति सपार्न सकिन्छ कि भनेर। तर सदनमा मेरो उपस्थिति अपवादको रूपमा छ। सदनमा देखिने चलचित्रको पटकथा कसले लेख्छ? यसको निर्देशक राष्ट्रिय हुन् कि अन्तर्राष्ट्रिय हुन्? सदनको चलचित्रको नायक र खलनायक को हो, चिन्नै गाह्रो भयो!'
माथि उल्लिखित हरफ मैले सदनमा पहिलोचोटि सम्बोधन गर्दा राखेका भनाइका अंश हुन्। प्रतिनिधि सभाको बैठकमा मैले प्रस्तुत गरेको पहिलो मन्तव्य आज करिब एक वर्षपछि पनि मलाई उत्तिकै सान्दर्भिक लाग्छ।
जनताको ठूलो आशा र अपेक्षाको केन्द्र संसद भवन र सांसद नै आज निराशा र उपेक्षाको केन्द्र बन्न पुगेको कुरा नकार्न सकिँदैन। यो संसद भवनमा देखाइने चलचित्रमा कहिले नायकजस्तो देखिने पात्रलाई कसैले खलनायकका रूपमा चित्रण गर्छन्, त कहिले खलनायक देखाइने पात्रलाई नायकका रूपमा प्रस्तुत गर्छन्।
विभिन्न समय र परिस्थिति अनुसार सांसदरूपी पात्रहरूको चरित्र बेग्लाबेग्लै प्रस्तुत भइरहन्छन्। यसले गर्दा म आफैं एक फिल्म निर्देशक भए पनि यहाँको कथा कता बगिरहेको छ, यसका लेखक को हुन् भन्ने भेउ पाउन हम्मे हम्मे पर्छ।
पहिले कलाकारहरूको अभिनय हेरिरहेको मैले यस ठाउँमा अहिले सांसदहरूको अभिनय हेर्न पाएको छु। कार्यक्रम सञ्चालकको भूमिकामा सभामुखलाई देख्न पाएको छु।
हुन त पहिले वीरेन्द्र अन्तर्राष्ट्रिष सम्मेलन केन्द्रमा निर्देशकका रूपमा उपस्थित हुने म अहिले जिम्मेवार सांसदका रूपमा यस भवनमा उपस्थित भएको छु। एक निर्देशकको आखाँबाट यस सदनको माहोल र सांसदहरूको भूमिकालाई सदैव नजिकबाट नियालिरहेको हुन्छु।
चलचित्रमा मुख्य पात्रहरू भनिए जस्तै सदनका मुख्य पात्रहरू चाहिँ ठूला दलका केही शीर्ष नेताहरू हुन्। तर उनीहरूको सदनमा उपस्थिति हेर्दा मुख्य भूमिकामा नभई 'केमियो' भूमिकामा छन् कि जस्तो भान हुन्छ। उनीहरू मुख्य चरित्रको रूपमा देखा पर्ने प्रयासमा रहन्छन् तर आमजनतामा प्रभाव पर्ने विषयहरूका महत्त्वपूर्ण छलफलमा उनीह्यरू कहिल्यै उपस्थित भएको देखिँदैन। जनमत र जनआकांक्षा अनुसारको प्रमुख चरित्र निर्वाह गर्न नसकेका कारण उनीहरू आमनागरिक माझ दिनहुँ फ्लप हुँदै गइरहेका छन्।
उनीहरूको सिट प्रायः रित्तो देखिन्छ तर जबजब ठूलाठूला काण्डबाहिर आउँछन्, जबजब देशमा केही विषयले चर्चा पाउन थाल्छ, तबतब सदनमा शीर्ष पात्रहरूको उपस्थिति देखिन्छ। मुख्य चरित्रका रूपमा प्रस्तुत हुन खोज्ने उनीहरूको प्राथमिकता नीतिगत र कानुनी छलफलमा अधिक हुनुपर्ने हो। तर त्यो कम र राजनीतिक आरोप-प्रत्यारोप ज्यादा हुन्छ। उनीहरू एकअर्काको कटाक्ष गर्नमै व्यस्त देखिन्छन्। अन्त्यमा आरोप, प्रत्यारोप र कटाक्षको पटकथा पर्दापछाडिको बार्गेनिङ र राजनीतिक सौदाबाजीमा टुंगिन्छ।
सदनको पहिलो वर्ष यसको प्रयोग खुब हेर्न पाइयो। यसको स्क्रिप्ट ठूला दलका मुख्य नेताहरूले विधिको शासन अनुरूपभन्दा पनि आफ्नो हित अनुकूल बदलिरहे। यसले गर्दा हरेक काण्डका ट्रेलर हिट भए तर सुशासनका चलचित्र फ्लप भइरहे। यस्तै प्रवृत्तिले सदन नीति र कानुन बनाउने थलोभन्दा पनि सरकार बनाउने र लडाउने थलो मात्र हो भन्ने भाष्य आमजनतामा निर्माण भइरहेको छ।
भाष्यकै कुरा गर्नुपर्दा सांसदहरू विधायकी कामभन्दा पनि कार्यकारी भूमिकामा रहने गरी समाजमा गलत प्रचार भइरहेको छ। सांसदहरू सदैव विधायकी भूमिकामा रहने हुँदा सांसदको प्रमुख कार्य भनेकै समाजको आवश्यकता अनुसार समयानुकूल कानुन र नीति निर्माणमा लागि पर्ने हो। तर धेरै सांसदहरू विधायकी कामभन्दा पनि कार्यकारी चरित्रमा ज्यादा व्यस्त देखिन्छन्।
उनीहरूलाई सदनमा कुन विधेयक प्रस्तुत भयो, कुन विधेयकमा सैद्धान्तिक छलफल भइरहेको छ,वा छैन भन्ने थाहै हुँदैन। उनीहरू निर्वाचन क्षेत्रमा बजेट पर्यो कि परेन, बाटोको ठेक्का लाग्यो कि लागेन, ढलका लागि बजेट पर्यो कि परेन जस्ता कार्यकारी भूमिकामा व्यस्त रहन्छन्। अर्कातिर आफ्नो मतदाताकहाँ जन्मदिन, न्वारान आदिको भोजभतेर, पूजाआजा र विभिन्न उद्घाटनमा सहभागी हुन्छन्। यस्ता लोकरिझ्याइँको भूमिकामै उनीहरू पूर्ण व्यस्त रहन्छन्।
यो भूमिका बेलैमा सच्च्याउन आवश्यक देखिन्छ। अन्यथा विधायकी स्क्रिप्ट नै गलत साबित हुन्छ। जनताको करबाट निर्मित संसदीय चलचित्र नै फ्लप हुने खतरा देखिन्छ।
सदनका केही पात्रहरूलाई नजिकबाट नियालिरहँदा सदनको बैठक नसक्दै हिट भइसक्ने हुटहुटी देखिन्छ। उनीहरू सदनभित्र र बाहिर अनेक अभिनय देखाउँछन्। हुन त सदनका हरेक बैठकको प्रत्यक्ष प्रसारण हुन्छ तर यतिले नपुगेर उनीहरू बैठक चल्दाचल्दै बाहिर निस्किन्छन्। मिडिया-पत्रकार खोज्दै आफू हिट हुने प्रोपोगान्डा आमनागरिकमा प्रस्तुत गर्छन्। बैठक नसकिँदै उनीहरू भाइरल भइसक्छन्।
सदनभित्र नीति-नियमहरूबारे छलफलमा सरिक भई हिट हुनेभन्दा पनि क्षणिक चर्चा र भाइरलको पछाडि सांसदहरू दौडिएका छन्। सदनभित्रका नीति, नियम तथा आवश्यक छलफलहरू भने हिट हुन सकेका छैनन्।
संसदमा सांसदको चरित्र पूर्ण रूपमा निर्वाह गर्ने सांसदहरू पनि छन्। उनीहरू सदैव आफ्नो भूमिकामा सचेत र सक्रिय छन्। हरेक विधेयकमा उनीहरूको उत्तिकै सक्रियता देखिन्छ, चाहे सैद्धान्तिक छलफलमा भाग लिएर होस् या संशोधन राखेर। यस विधायकी भूमिकासँगै उनीहरूले सरकारलाई जिम्मेवार र जबाफदेही बनाउन सरोकारवाला निकायसामु समयसमयमा महत्त्वपूर्ण प्रश्नहरू राखिरहेका हुन्छन्। कहिलेकाहीँ त सदनरूपी चलचित्र नै उनीहरूले गर्दा चलेको भान हुन्छ। चलचित्रको मुख्य भूमिकामै उनीहरू भएको महसुस हुन्छ।
तर केही उनीहरूको ठीक विपरीत छन्। ती सांसदहरूको प्रस्तुति देख्दा विरक्त लागेर आउँछ। उनीहरू सदनमा कहिल्यै बोलेको सुनिँदैन। उनीहरूको अगाडि राखिएको माइकले काम गर्छ कि गर्दैन समेत उनीहरूलाई पत्तो नहोला। उनीहरू नै क्यान्टिनमा भने बढी गफिँदै गरेका देखिन्छन्। उनीहरूको सदनभित्रको स्क्रिप्ट भन्नु नै पार्टीको ह्विप अनुसार 'हुन्छ' र 'हुन्न' भन्नु मात्र हो जस्तो देखिन्छ।
यस्तै केही सांसदहरू सहायक भूमिकामा विभिन्न समय र सन्दर्भमा बडा जोडतोडले आवाज उठाउँछन्। तर उनीहरू मुख्य पात्रको निर्देशनमा बोलिरहेका छन् भन्ने प्रस्ट देखिन्छ। ती पात्रको प्रमुख भूमिका भनेकै मुख्य पात्रको चाकडी र चाप्लुसी गर्नुबाहेक केही होइन भन्ने बुझिन्छ।
अरू केही पात्रहरू सीमित ज्ञानमा असीमित लम्बेतान भाषण गर्छन् भने कोही सदनमा बोल्नकै लागि पत्रिकाको कटिङ बोकेर आउँछन्। तैपनि मुस्किलले बोल्छन्। कोही यसरी बोल्छन्, हास्य कलाकारहरू पनि ती सांसदका अगाडि फिक्का सावित हुन्छन्। यस्तै केही सांसद यति चर्को आवाजमा बोल्छन्, मानौं चिच्याएर बोल्दा सरकारको छिटो ध्यानाकर्षण हुन्छ।
भाषणकै कुरा गर्दा कोही यति व्यस्त देखिने प्रयास गर्छन् कि मानौं उनीहरूको एक होइन, अरू चार-पाँचवटा सदनमा सम्बोधन गर्नुपर्ने जिम्मेवारी छ। उनीहरू ठिक्क आफ्नो बोल्ने बेलामा टुप्लुक्क आइपुग्छन् र आफ्नो भाषणपछि टाप कस्छन्।
यसरी निर्देशकीय आँखाबाट सदनलाई नियाल्दा भिन्न भिन्न पात्रका सांसदहरू देख्न पाइन्छ जुन सदनरूपी चलचित्रका लागि पटक्कै सही होइन। सांसदहरूले जिम्मेवार भएर निर्वाह गर्नुपर्ने भूमिका भनेकै विधायकी भूमिका हो। तर सोबाहेक अन्य अभिनयतर्फ लाग्दा सदनरूपी चलचित्र जनतामाझ चल्न सकेको छैन। यिनै भिन्न भूमिकाका कारण नयाँ पुस्ताले संसदलाई षड्यन्त्र र जालझेलका रूपमा बुझेका छन्। यसलाई बदल्ने गरी काम गर्न जरूरी छ।
कुनै पनि चलचित्र सफल हुन दर्शकको मन जित्न आवश्यक हुन्छ। यसका लागि हरेक पात्रले आफ्नो भूमिका उत्कृष्ट रूपमा निर्वाह गर्नुपर्छ। साथै सशक्त कथा, पटकथा र निर्देशक रहनुपर्छ। यसैगरी संसदरूपी चलचित्र पनि हिट हुनका लागि संसदका हरेक पात्रले आफ्नो भूमिकालाई संसदीय मर्मअनुसार बदल्न आवश्यक छ।
तसर्थ, आगामी दिनमा हाम्रो सदनमा चल्ने चलचित्रको पटकथा पनि आममतदाताले चाहेअनुसार हामी सबै मिलेर लेखौं।
हरेक सांसदहरूले संविधानले प्रत्याभूत गरेको विधायकी भूमिकाअनुसार अभिनय गरौं। सदनका हरेक गतिविधिलाई विधिअनुसार निर्देशन गर्ने प्रण गरौं र डामाडोल देशलाई ट्रयाकमा ल्याऔं!
(लेखक असिम शाह प्रतिनिधि सभाका सदस्य तथा चलचित्र निर्देशक हुन्।)