हिजोआज सामाजिक सञ्जालहरूमा आउने पोस्टहरू मध्ये अधिकांश पोस्ट फलानो देशका लागि भिसा लागेकोमा बधाई, फलानो देशको यात्राका लागि शुभयात्रा, धेरै नेपालीहरूको सपनाको देश पुग्न सफल भएकोमा बधाई लगायत नै हुन्छन्।
यसै क्रममा केही समय पहिला मैले पनि मेरै परिवारका एक सदस्यलाई यस्तै कठिन यात्रा पार गर्दै अमेरिका पुगेकोमा बधाई भन्दै एउटा स्टाटस पोस्ट गरेको थिएँ। सोही पोस्टमा एकजना फेसबुकमार्फत जोडिनुभएका मेरा मित्रले स्वदेश छोडेर प्रदेशमा गएकोलाई बधाई लेख्न नसकिने अभिप्रायको प्रतिक्रिया दिनुभएको थियो।
मलाई पनि आफ्नै परिवारको सदस्य घर छोडेर विदेश जाँदा त्यो पनि फर्केर आउने मितिको टुङ्गो नहुँदा कसरी रमाइलो लागेको होला र? करिब-करिब करोड लगानी लगाएर, ज्यानको बाजी लगाएर महिनौंपछि गन्तव्यमा पुग्दा पनि रमाइलो लाग्नुपर्ने, बधाई दिनुपर्ने, खुसी हुनुपर्ने अवस्था हामी नेपालीहरूको बाहेक अरु देशका जनताको सायदै नहोला। अहिलेको अवस्थामा स्वदेशमा आफ्नो परिवारसँग दुःखसुख गरेर आफ्नो जीवन गुजारा गर्न पाउनु पनि ठूलै अहोभाग्य हो।
यति थाहा भएर पनि स्वदेशमै केही गरेर बस्ने चाहना हुँदाहुँदै मानिस जब तल्लो बाटो या भनौं अबैधानिक तरिकाले विदेशको यात्रा तय गर्छ नि, त्यो पनि सायद केही सानोतिनो आँट होइन होला। अर्काको जीवनलाई जसरी हामीहरूले बाहिरबाट मात्र नियालिरहेका हुन्छौं या भनौं बाहिरी व्यवहारलाई मात्रा बुझेर प्रतिक्रिया दिइरहेका हुन्छौं तर भित्री रुपमा उसको जीवन त्यति सहज नहुन पनि सक्छ।
पृथ्वीका सम्पूर्ण प्राणीहरू मध्ये मानव चेतनशील प्राणी हो। उसले स्वभावैले आफ्नो जीवनको दायरा फराकिलो बनाउन चाहन्छ। प्रत्येक पल केही न केही नयाँ अनुभवहरू लिन चाहन्छ। विलासी जीवन बिताउन चाहन्छ। त्यो सब कुराको सम्भव हाम्रो जस्तो राजनीतिक अस्थिरताले गिजोलिएको देशमा, देश बनाउने जिम्मा लिएर बसेका सरोकारवालाहरूले आफू र आफ्नो परिवारलाई कसरी सत्तामा पुर्याउन सकिन्छ, आफू कसरी शक्तिशाली हुन सकिन्छ भन्ने कुराका बारेमा मात्र ध्यान केन्द्रित भएर बस्दा कुनै एक सामान्य नागरिकको कसरी स्वदेशमै आफ्नो सुन्दर भविष्यको परिकल्पना पूरा हुनसक्छ?
प्रत्येक दिनजसो १५०० देखि २००० सम्म नेपाली युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विदेशिरहेका छन् भन्ने डर लाग्दो तथ्यांक बाहिरी रहँदा त्यति नै संख्यामा अबैधानिक बाटो भएर अमेरिका लगायतका देश छिर्ने नेपालीहरूको बारेमा के नेपाल सरकार साँच्चीकै अनभिज्ञ छ त? सरोकारवाला निकायले आफ्नो आँखा बन्द गर्दैमा चारैतिर अँध्यारो हुने त हुँदैन होला। यसरी बाहिरिने मध्ये आधाभन्दा कम प्रतिशतले पनि स्वदेशमा आएर विदेशमा सिकेको सीप र आर्जन गरेको धनलाई लगानी गर्ने हो भने हाम्रो देश पनि कसै-कसैका लागि सपनाको देश बन्न सक्थ्यो। यी कुराहरूको जिम्मेवारी बोध कसले गर्ने?
केही वर्ष पहिलेसम्म मलाई पनि आफ्नै देशमा जसोतसो जीवन चलाउन पाए किन विदेश जाने? कठोर मन बनाएर विदेशिनेहरूले के साँच्चै आफ्नो देशमा विकल्पहरू नदेखेकै हुन् त, जीवन गुजारा गर्न सकिने यी विकल्पहरूलाई कति सजिलै नजरअन्दाज गरेका होलान् भन्ने लाग्थ्यो। तर जब मैले आफ्नै परिवारका सदस्यलाई बाहिरी रुपमा खुसी-खुसी सहमति जनाएर विदेश यात्राका लागि घरबाट बिदाई गर्नुपर्ने बाध्यता आइलाग्यो नि त्यसपछि यसअघि मेरा मनमा उब्जिने कतिपय प्रश्न, जिज्ञासाहरूले एकैपटक जवाफ पाएको महसुस भयो।
जब जीवनको ३ दशकसम्म स्वदेशमै केही गर्छु भनी विदेशीने कुराको भनक पनि आफ्नो मनमा आउन दिन नचाहने मान्छेले सकी नसकी विभिन्न क्षेत्रमा २/४ जनालाई रोजगारीको श्रृजना गर्दै लगानी लगाएर काम गरिरहेको हरेक ठाउँबाट घाटा मात्र बेर्होछ। त्यो घाटाको असुलउपर गर्ने कुनै भरपर्दो उपाय हुँदैन, ठगी खानेहरूले खुलेयाम ठगी धन्दा चलाइराख्दा पनि सरोकारवाला निकाय मौन हुन्छ, पीडितको पक्षमा बोलीदिने कोही हुँदैन, आफूले दुःख पसिना लगाएर गरेको लगानीमा अरु कसैले मनोमानी गरेको देख्दा पनि आफूसँग गर्ने केही उपाय हुँदैन।
कुनै पनि व्यवसाय सुरु गर्दा त्यसबाट हुने नाफा या घाटा दुवैका लागि लगानीकर्ता स्वयम् नै जिम्मेवार हुनुपर्छ। सरकारले लगानीकर्ताबाट नाफाको केही हिस्सा लिने या घाटा परिपूर्ति गर्न वैकल्पिक व्यवस्थाको निष्पक्ष रुपमा कार्यान्वयन गर्दैन, त्यसको देशबाट यी यस्तै पीडाहरू गुज्रिरहेको मानिस जब स्वदेशीहरूका लागि मात्र नभएर विदेशीहरूका लागि पनि हरेक क्षेत्रबाट सुरक्षित महसुस गराउने सक्छ, त्यस्तो देशमा पुग्दा कसरी नदिउँ बधाई?
विभिन्न प्राकृतिक प्रकोप र विभिन्न रोगले स्वदेश र स्वदेशी जनता पिरोलिँदा मल्हम लगाउने काम पनि तिनै विदेशमा रहेका नेपालीहरूले गरेका हुन्छन्। मन त यहाँ बस्नेहरूको पनि पोल्छ, सहयोग गर्न पाए पनि हुन्थ्यो भन्ने हुन्छ तर आफूले महिना भर कमाउँदा पनि घर खर्च चलाउन नसक्ने कमाइ हुनेले कसरी गर्न सकिन्छ सहयोग?
हुन त नेपालमै बसेर पनि राम्रै कमाइ गरिरहेका उदाहरणहरू पनि छन्। यति धेरै निराशाजनक कुरा गर्नुपनि उचित नहोला तर समग्रमा भन्ने हो भने चित्त बुझाइहाल्ने वातावरण पनि बनिसकेको छैन। आफ्नो चोखो कमाइ या इमान्दारीतापूर्वक गरेको कमाइले विलासिताको जीवन त के आधारभूत आवश्यकता पूरा गर्न पनि हम्मे-हम्मे परिरहेको हुन्छ।
विदेशिने युवाहरूको यो निराशाजनक तथ्यांकलाई घटाउन, विकसित मुलुकहरूको दाँजोमा हाम्रो देशलाई लैजान, बेरोजगार युवा-युवतीहरूलाई रोजगार बनाउन सर्वप्रथम त युवाशक्तिलाई दक्ष बनाउन विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालनमा ल्याउनु टड्कारो आवश्यकता देखिन्छ। सरकारले उद्योग, कलकारखाना स्थापनामा लगानी लगाउनुपर्यो। जसले गर्दा उद्योग स्थापना हुन्छ त्यहाँ सामान्य मजदुरी गर्ने नागरिकदेखि सम्बन्धित विषय विज्ञसम्मले त्यहाँ रोजगार पाउन सक्छ, जसले गर्दा सिङ्गो देशको भविष्य नै हातमा भएको दक्ष जनशक्तिलाई विदेशीनु पर्ने बाध्यता आइलाग्दैन।
किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल, दुग्धजन्य चिजहरूको उचित मूल्यमा बिक्री गर्न बजारको व्यवस्था गर्नुपर्यो, व्यावसायिक रुपमा कृषिजन्य वस्तुहरू उत्पादनका लागी आवश्यक सीप, दक्षता र सामाग्रीको उचित व्यवस्थापन हुनुपर्यो, विभिन्न क्षेत्रहरूमा लगानी गर्नेहरूका लागि उचित बिमाको व्यवस्था हुनुपर्यो जसले गर्दा लगानीकर्ताहरूलाई पनि निर्धक्क भएर लगानी गर्न उत्प्रेरित गरोस्।
त्यसो गर्दा यहि उत्पादन हुने सामाग्रीको मूल्य पनि कम हुने र ती सामाग्रीहरू विदेश निर्यात गर्दा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ जसले गर्दा अर्थतन्त्रमा समेत टेवा पुग्छ। स्वदेशमै प्रशस्त विकल्पहरू भए कुन चाहिँ व्यक्तिलाई यति सुन्दर देश, आफ्नो परिवार, साथीभाइ छोडेर विदेशिन मन होला र?