स्तर तारा (नाम परिवर्तन) लाई नेपालबाट भिडिओ कल आउनासाथ हजुरआमाका केही प्रश्नहरू अनिवार्य दोहोरिने गर्छन्। पहिलो, नेपाल कहिले आउने? दोस्रो, अब त तीस वर्ष पुगिसकिस्। बिहे गर्न ढिला भो। केटासाथी छ कि छैन? कि हामी केटो नेपालमै खोजौं? आदि।
भन्न त मन लाग्छ उसलाई कि 'मेरी प्रिय बोजू! बिहे जिन्दगीमा होस् या नहोस्, तपाईंकी नातिनीलाई त कसैको गहिरो प्रेममा डुब्न मन छ। पुराना प्रेम कथाहरू जस्तै एक सच्चा अमर प्रेम कहानी बन्ने इच्छा छ। बिहे पनि गरौंला तर प्रेम सीमाहीन होस्, त्याग अनन्त होस्, भक्ति गहिरो होस्, चाहना अमर होस्। तर खै! यो ज्यादै हलुका र उत्तेजक जमानामा त्यस्तो असल दुर्लभ प्रेमी र प्रेम कहाँ पाउँ म?'
तर हजुरआमालाई कहाँ यसो भन्न सकिन्छ र? त्यसैले 'हस् म छुट्टी मिल्नासाथ आउँछु र हजुरहरूलाई त्यही बेला बिहे खुवाउँछु नि है' भनेर टार्दै आइरहेकी हुन्छे।
अध्ययनको लागि पाँच वर्ष अगाडि अष्ट्रेलिया आउँदा उसको मनमा पहिलो छाप भनेकै 'ए! यहाँ त नेपालीहरू खुल्लम खुला छाडा सम्बन्धहरूमा बस्न पो आउँदा रहेछन्, पढ्ने बहानामा' भन्ने पर्न गएको थियो। किताब पढ्न बेस्सरी रुचि राख्ने उसलाई बेलाबेला आफ्नो बेस्टफ्रेन्डलाई सुनाउँछे कि ऊ केवल एक पुरुषको प्रेममा सारा जिन्दगी बिताउन चाहन्छे। उसलाई त्यस्तो प्रेमको प्रतीक्षा छ।
साथी हाँसेर त्यो कुरालाई उडाइदिन्छे। भन्छे- 'यो जमानामा एक प्रेम, एक पुरुष? लु भो! तँ बुढीकन्या नै बस्ने भइस् केटी!'
पोर्चुगलमा एक सुसी रेस्टुराँमा काम गर्ने हरिश्चन्द्रलाई धोकादेखि एकदमै डर लाग्छ। ऊ धोका पाइन्छ कि, हार्ट ब्रेक सहनु पर्छ कि भनेरै आजसम्म प्रेम सम्बन्धमा बस्न चाहेन। त्यसो त उसले देखेको छ थुप्रै साथीहरू जो नेपालमा श्रीमती हुँदाहुँदै यहाँ लिज्बनमा लिभिङ रिलेसनमा बसेका छन्। त्यसो त थुप्रै महिला मित्रहरू पनि उसैगरी ढाँटछल गरेर यस सहरमा विवाहेत्तर सम्बन्धमा बसेका भेटिन्छन्। हरिश्चन्द्रलाई अहिलेको जुगको भरोसा छैन।
यी माथिका दुई उदाहरण जस्तै के आज साँच्चीकै प्रतिबद्ध प्रेम पाउन मुस्किल भएकै हो त? के इमानदार जीवनसाथी भेटाउन असम्भव नै भैसक्यो त? कुरा गर्दै जाने हो भने बेस्सरी गहिरिएर जान थाल्नेछ। जसबाट निराशाजनक उत्तर नआउला भन्न पनि सकिन्न। तर आशाको 'टर्च' नबाली पनि त भएन!
मानव इतिहासमा सबैभन्दा बेसी चर्चा हुने गरेका विषयहरू मध्य प्रेम एक हुँदै हो। सामान्यतया प्रेम भन्नासाथ रोमियो-जुलियट, लैला-मज्नु, हीर-राँझा, मुना-मदन आदिको कथा दिमागमा आउँछ। जसका काव्यहरू लेखिएका छन्, अमर गीतहरू गाइएका छन्। जसले गर्दा मान्छे झुन्डिएको छ, हाम फालेको छ, हाँसीहाँसी विष पिएको छ। तर कुरो त्यसो हैन। प्रेम सबै उस्तै हो। प्रेम एकै हो। अनुभूति समान हो। एउटा दृष्टान्त हेरौं है त।
मसँगै काम गर्ने सहकर्मी भाइको केही महिना अघि नेपालमा छोरो जन्मियो। हामी कोरियाको एक सेमिकन्डक्टर कम्पनीमा केही वर्षदेखि सँगै कार्यरत छौं। छोरो जन्मिएपछि उनको चालचलन नै फरक भयो। कामबाट मिलिक्कै समय निकालेर भए पनि छिनछिनमा उनलाई मोबाइलमा छोरोको अनुहार हेर्नुपर्छ। गफ गर्दा पनि उनलाई बीचबीचमा आफ्नो छोरोको प्रसङ्ग जोडिहाल्नु पर्छ। कामबाट आएपछि पनि भिडिओ कलमा अबेरसम्म व्यस्त हुन्छ।
मेरो कोठाबाट मध्यराति अबेलासम्म बेलाबेला 'उलुलु...उलुलु... छोरो, यता हेर, उलुलु.. उलुलु...' भनेको सुन्छु। कहिलेकहिले 'खै छोरो त बोल्दैन त बुढी?' भनेको पनि सुन्छु। विचरा चार महिनाको बच्चा के बोलोस्! हो, छोरो जन्मिएपछि उसको निद गायब भएको छ। होस गायब भएको छ। थकान गायब भएको छ। एउटा बाउको आफ्नो नवजात छोरोप्रतिको यो प्रेम मलाई कुनै युवकले युवतीलाई गर्ने प्रेमभन्दा रति फरक लागेको छैन। त्यसैले मेरो निष्कर्ष यो छ कि स्वरुप र सम्बन्धहरू जे-जे भए पनि प्रेम एकै हो।
प्रविधिको विकासले मानव जीवनको हरेक आयाममा प्रभाव पार्यो। मान्छेको सोच, भावना, चेतना, तौरतरिका आदि सबै बदलिए। हातहातमा मोबाइल फोन आएपछि, फोनमा इन्टरनेट जोडिएपछि, इन्टरनेटद्वारा सामाजिक संजालहरूमा पहुँच भएपछि मान्छेहरू मान्छेका दुनियासँग अझै बेसी घुलमिल हुन पुगे। साथीहरू बढ्न थाले। नयाँ-नयाँ सम्पर्कहरू स्थापित हुन थाले। मान्छे अधैर्य, उत्तेजक र प्रचारमुखी हुँदै गयो। यसको सिधा असर मान्छेहरूको इमोसनमा पर्दै गयो र मान्छेका भावनाहरू विशृङ्खलित हुन थाले।
मान्छे फेसबुकमा कसैको मृत्युको पोस्ट देखेर भर्खरै भावुक हुन्छ र हार्दिक श्रद्धाञ्जली लेख्छ। तुरुन्तको तुरुन्तै अर्को पोस्टमा बलिउडको कुनै नयाँ गीतको भिडिओ देखेर ऊ मज्जाले बेस्सरी झुमी पनि हाल्छ। यसरी मान्छेमा संवेदनाको छेउटुप्पो मठारिन थाल्यो। कुन हिरोको कुन हिरोइनसँग प्रेम सम्बन्ध टुट्यो, कुन सेलिब्रेटिको को को सँग चर्चा चल्यो, दिपिका पादुकोनले ककसलाई डेट गर्यो, पूर्व मिस नेपाल शृङ्खला खतिवडाको किन ब्रेकअप भयो आदि इत्यादि सबै-सबै खबर राख्छन् आजका जनताहरू। तब विस्तारै धारणाहरूको निर्माण हुँदै गयो।
प्रेम सम्बन्ध टुट्नु, वैवाहिक सम्बन्ध सकिनु सामान्य कुरा हो भन्ने धारणा बन्न थाल्यो। राजनीतिक हिसाबले यसलाई पूँजीवादी समाजको विशेषताको आधारमा व्याख्या गर्न सकिएला त्यतापटि अहिले नजाऔं लामो हुन्छ। तसर्थ यसरी निर्माण हुँदै गयो जमाना नै उस्तो छ, आजकल सम्बन्ध नै टिक्दैन जस्ता भाष्यहरू। पुरुषहरू 'आजकलका केटीहरू सबै बेइमान छन्' जस्ता गैरजिम्मेवार सोच्न थाले। महिलाहरूले 'यो पुरुषको जातै खराब हुन्छ' भन्ने सोच राखे।
यसरी झन्-झन् आजको पुस्तामा असल प्रेम पाउन असम्भव नै छ भन्ने भाष्यको निर्माण हुँदैछ। त्यसैले साँचो प्रेम र गहिरो सम्बन्धमा बस्ने इच्छा हुँदाहुँदै पनि आजका युवाहरू अफेयर भन्ने कुरासँग आफै सशंकित छ्न्।
ब्रेनसेटमा प्रेम टिकाउ चिजै हैन भन्ने पूर्वाग्रहसहित स्थापित भएको सम्बन्ध कसरी विश्वासिलो हुन सक्छ र!
प्रेम या वैवाहिक सम्बन्ध मात्रै हैन दुई साथी-साथी बीचको सम्बन्ध अथवा पारिवारिक एवं सामाजिक सबैजसो मानवीय सम्बन्धहरूको आत्मीयतामा केही न केही रुपमा परिवर्तन आउँदो छ। सम्बन्धप्रति समर्पण, व्यवहारमा इमान्दारिता, एकअर्कालाई सम्मान, सहअस्तित्वको स्वीकार र साझेदारीले मात्रै कसैको प्रेम सफल हुन सक्छ। जुग जमाना कुनै आफै बन्ने कुरो हैन।
हामी आफै जुग बनाउने पात्रहरू हौं। हामीले विश्वासको सन्देश दिनसके जुग विश्वासिलो हुने हो। तसर्थ सबै कुरा हाम्रो आफ्नो व्यवहार र हामीले के छनौट गर्छौले निर्धारण हुन्छ।
नेपथ्यको भर्खरै बजारमा आएको गीतको उठानले भन्छ-
पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिन।
र, अन्तमा आश जगाउँदै गीत सकिन्छ-
ए हैन- हैन कहीँ न कहीँ सत्य र इमानको मान्छे भेटिन्छ।
अब कल्पना गर्नुस्। के लेखको सुरुमा उल्लेख गरिएका पात्रहरू स्तर तारा र हरिश्चन्द्रको भेट होला त कुनै दिन? यदि यस्ता प्रेमीहरूको भेट संजोगले हुन पायो भने अवश्य बन्ने छ आधुनिक युगको अमर प्रेम कथा। त्यस्तो सम्बन्ध जसमा बासनादेखि उपासनासम्म उनकै हुनेछ। केवल एकको र केवल उनको।
अन्तमा, सम्पूर्ण प्रेम गर्नेहरूलाई शुभकामना! सबैको प्रेम सफल रहोस्। विश्वास गरौं, जमाना खराब छैन। कोही कोही फलाना खराब छन्। त्यसैले जमाना खराब छ हैन, फलाना खराब छ भनौं।