मलाई लाग्थ्यो कि सहर भनेको स्वर्ग हो। यहाँ आएपछि सुखैसुख हुन्छ। यहाँ नपाउने र नहुने कुरा केही पनि छैन। गाउँ हुँदा सहरमा बस्ने मानिस कति आनन्दमा रमाउँदा होलान् है, कति सुख सुबिधा होला भन्ने प्रश्न मनमा उब्जिरहन्थ्यो।
यहाँ गाउँमा त बाह्रैमास दुःख मात्र छ। काम, काम, काम अनि दुखै दुःख छ जस्तो लाग्नेगर्थ्यो। सहर छिरेको एक दशक बितेपछि मलाई यो सहरले गुम्साएको छ, सँगै उकुसमुकुस बनाएको छ। बेलाबेलामा घोत्लिन्छु अनि सोच्छु कि त्यो स्वर्ग छोडेर म किन सहरिया हुन खोजेँ? अन्तरमनमा आफैंले आफैंलाई प्रश्न सोध्छु अनि अनुत्तरित हुँदै मौन हुन्छु।
गाउँको दैनिकीमा जति शारीरिक कष्ट थियो त्योभन्दा दोब्बर बढी मानसिक रुपमा आनन्द थियो। बिहानको झुल्के घामसँगै ओछ्यानबाट उठ्यो अनि आँखा मिच्दै गाई गोठमा पुग्यो। हातमा बाल्टिन बोकेर गाई दुहुनु मेरो दैनिकी जस्तै थियो। मोबाइलमा भजन बजायो अनि भजनका तालमा कहिले एउटा त कहिलेकाहीँ त तीन वटासम्म गाई दुहुनु कुनै नौलो थिएन।
गाई दोहोएर सकेपछि खोलेपानी खुवायो। गोबर सोर्ह्यो अनि हातमा ब्रस मन्जन लिएर एउटा बाल्टिन र जग बोकेर कुवामा गयो। नुहाएर नृत्य कर्म सक्ने गर्थें। जाडो होस या गर्मी म प्रायः नुहाउने नै गर्थें। घरमा आयो पूजाबन्दना गर्यो। भगवानलाई धुप बाल्यो अनि चिया पियो। त्यसपछि दैनिकी सुरु हुन्थ्यो।
गाउँमा बसेपछि किसानी कर्म नगरी त सुखै थिएन। सानो खेती भएकाले खेतीकिसानी गर्नैका लागि अरुको जग्गा पनि भाडामा लिएका थियौं। जसमा मौसम र ऋतुअनुसारको अन्नबाली लगाउने गरिन्थ्यो। मकै, आलु, गोलभेडा, मुला, काउली, बन्दा, धान लगायत खेती गरिन्थ्यो। हरेक दिन बिहान बारीमा गयो, झार उखेल्यो, मल हाल्यो, पानी लगायो यस्तैयस्तैमा दैनिकी चल्थ्यो। बिहान १० देखि ११ बजेभित्र खाना खायो। त्यसपछि फेरि खेतीमै लाग्यो।
अहिले मलाई स्मरण हुन्छ, त्यो गर्मीमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म खेतीमै रमाउनु एक प्रकारको बाध्यता नै थियो। विषादी यति छर्किन्थ्यौं कि शरीर पूरै विषादीमय हुन्थ्यो। कहिले मेलापात गर्यो त कहिले घरमै आराम गर्यो। मुख्य उदेश्य भनेको राम्रो उत्पादन गरेर दुई/चार रुपैयाँ आम्दानी गर्नु नै थियो। मुख्य समस्या त यो लाग्थ्यो कि बजारमा उत्पादन बिक्री हुने हो कि हैन, बजार भाउ कति हुने होला, कति नाफा होला? यस्तै मनोभाव बोलेर महिना कट्ने गर्थे।
उत्पादन बेच्नेबेला भएपछि ७०-७५ किलोसम्म डोकामा हाल्यो अनि नाम्लो लगाएर बोकेर लगभग १ घण्टा जतिको बाटो झरेर बजार पुगिन्थ्यो। बजारमा व्यापारीको एकलौटी राज थियो। बजारमा कति उत्पादन आउँछ त्यो आधारमा व्यापारी एक चुच्चो भएर तरकारीको मूल्य राख्ने गर्दथे। यस्ता पनि कयौँ दिन आए कि तरकारी नबिकेर व्यापारीलाई हात जोडेर लगेर बेचेर आएको पैसा ल्याइदिनूस् लौन भन्दै बिलौना नै गर्नुपर्ने। भारी बोकेर ल्याउँदा ढाडमा जुरो उठेको हुन्थ्यो। पिँडुला गाठा पर्थे, थाप्लो गाडिएको हुन्थ्यो, पसिनाले शरीर भिजेको हुन्थ्यो हेर्दै पानीले रुझेको मुसाजस्तो।
आज त राम्रो बजार मूल्य आउला, यति हजार त हात पर्ला अनि त्यो पैसा यताउता तिरोतारो गरौंला भन्ने सपना तुहिन केही समय नलाग्ने, व्यापारीको एकछत्र राज त्यसमाथि प्रायः भारतीय व्यापारी हुन्थे। काठमाडौंको कालिमाटी, बल्खु, टुकुचा सबै भारतीय र काठमाडौं बाहिरका व्यापारीको राज चल्थ्यो। बिहान झुल्के घामदेखि उत्पादन बजार लाने चटारो, खानापिना सबै छोडेर साँझ बजार भारी बोकेर आयो अनि तरकारी बिक्री नभएर खोलामा फालेर रुन्चे मुख लगाउँदै थुइक्क भाग्य भन्दै अँध्यारो साँझमा घर तिर लाग्यो। अहिले सम्झिँदा पनि मनै अमिलो हुन्छ। सपना छिनको छिनमै तुहिने कस्तो किसानको कर्म है।
घरमा गयो बा-आमाले 'कतिमा बेचिस् काउली? कतिमा बेचिस् गोलभेडा?' भनेर सोध्दा मुटु नै खाने। अनि निन्याउरो मुख लगाएर 'आज बजारमा मूल्य नै थिएन। बेच्नै सकिएन। भोलि बेच्न उसै राखेर आएँ' भन्यो। व्यापारीले हेर्दै नहेर्ने, हात जोडेर बाबा विधाता मेरो तरकारी लगिदेऊ न भनेर खुट्टै ढोग्नुपर्ने। लाग्थ्यो कि किन बनें म किसान? किन गइनँ म खाडीमा?
अहिले सहरमा बधुवा गाई जस्तो भैयो, आफैंले आफ्नै ज्यान बोकेर हिँड्न नसक्ने। ऊबेला ६०-७० किलोको मलका बोरा, आलुका बोरा बोकेर घुडाले नाकको डाडी भाँचिने गरेर उकालो लगभग एक घण्टा माथि पाखामा पुग्यो। गोरुले जस्तो दिनभर काम गर्यो। साँझ आँखाले भुइँ देखिन्जेल कोदाली चलायो अनि बत्ती बाल्दै अन्धकार भएपछि घरमा छिर्यो। खाना पनि कम्ता रुच्ने हैन। आफैंले फलाएको तरकारी, आफैंले दुहेको गाईको दूध र भात खाएर अटसमटस हुँदै ओछ्यानमा पुग्न पाको हुँदैन निन्द्रादेवीको काखमा पुगिन्थ्यो। यति गाह्रो हुन्थ्यो कि दिनभरको थकानले लाग्थ्यो कि भोलि बिहान नै नहोस्।
मैले भनेर न रात रोकिन्थ्यो न त दिन नै। ढाड दुख्ने, खुट्टा,पैताला दुख्ने हुन्थ्यो तर दैनिकी नै यस्तो थियो कि ती कुराहरू सामान्य नै लाग्ने गर्दथ्यो। हातमा उठेका ठेला कुनबेला फुट्थे, बिझेको काँडा कुन बेला खिल पर्थ्यो पत्तै हुन्नथियो। छिमेकिको पर्म गयो दिनभरि हाँसिमजाक गर्दै काम गर्दाको त्यो खुसी अहिले कुर्सीमा बसेर ल्यापटप चलाउँदा कतै पाइएन।
गाउँको दुःख देखेर सहर पसेको अहिले गाउँ नै फर्किन पाए बरु सिस्नु खान्थें, ढिडो खान्थें, खोले घोटेर खान्थें, कम्तीमा मानसिक तनाव त हुन्थेन कि जस्तो लाग्छ।
अचेल सहरमा मान्छे नै मान्छेको भिडमा छु तैपनि एक्लो नै छु जस्तो अनुभव हुन्छ। कोही कसैलाई कसैको केही मतलब छैन। कोही हिँड्दाहिँड्दै लड्यो भने उठाइदिने कोही हुन्नन् किनकी यहाँ मान्छे अथाह छन् तर आफन्त भने पाउनै गाह्रो। गाउँमा यसो ज्वरो, रुघाखोकी मात्र लाग्यो भने मात्र पनि टोल छिमेकी हालखबर सोध्न आइहाल्ने तर सहरमा भेन्टिलेटरमा राख्यो भने पनि पल्लो कोठाकालाई थाहा नहुने, अझै भनौं मतलब पनि नहुने।
अहो बढो अजीवको सहर रहेछ यो, सबै भागदौडमा छन् कसैलाई कसैको मतलब छैन। कसैलाई कसैको बारेमा सोच्ने फुर्सद छैन भनौं या सोचेर फाइदा छैन, त्यो मैले आजसम्म बुझ्नै सकिरहेको छैन। अहिले सहरमा बिहान उठ्न मन लाग्दैन। बिहान ७-८ बजे उठ्यो अनि चिया पियो र कपडा लगायो। ल्यापटपको झोला बोक्यो, अफिस लाग्यो।
अफिसमा उस्तै काम। बाइक चढ्यो, घरी ओल्लो चोक त घरी पल्लो चोक दौडियो, दिउँसोको १२-१ बजे खाना खायो अनि फेरि फलानोलाई भेट्ने, तिलानोलाई भेट्न भन्यो रात अबेरसम्म मिटिङ र सिटिङ गर्यो, राति ८/९ बजे घर आएर खाना बनायो अनि खाना खाएर हातमा मोबाइल लिएर गफिन थाल्यो। च्यासस्याट गर्यो र राति १२-१ बजेसम्म निन्द्रा लाग्दैन अनि यता छटपटियो, उता छटपटियो मरे निन्द्रा लाग्दैन।
तर उता गाउँमा छँदा ओछ्यानमा पुग्न पाइँदैन थियो भुसुक्कै भैसकिन्थ्यो। शारीरिक दुःख त थियो तर मानसिक कुनै दुःख थिएन। खाना यसरी पच्थ्यो कि मानौं घट्टमा हालेको मकैजस्तै।
खुट्टामा जुत्ता हुन्थेन, हातमा पन्जा हुन्थेन, शरीरबाट पसिनाको गन्ध छुट्थेन, छरछिमेकमा गाह्रोसाह्रो पर्दा सबैको एकै हात हुन्थ्यो। मर्दापर्दा सबै सहयोग गर्न आउने चलन अझै पनि जीवितै छ तर सहरमा मरिहाल्यो भने चार जना मलामी पाउन पनि गाह्रो किनकि सबै व्यस्त, सबै जागिरे। कसैलाई मर्नै पर्दैन जस्तो लाग्ने बढो गज्जबको यो सहर।
गाउँमा छिमेकमा मोइ पारे भने पनि ल्याइदिन्छन्, यसो सागसब्जी साटपाट पनि हुन्छ। खोला किनारामा गयो भने खोले झार, न्युरो, जंगलमा कुरिलो, तरुल, गिठ्ठा खोजेर पनि गुजारा चल्ने। अहिले यता सहरमा त साग किलोमा बिक्री हुनथाल्यो। पानी पिउन पनि गोजीमा दाम भए पायो नत्र प्यासै लागेर मरिएला जस्तो हुन्छ।
गाउँमा छिमेकीका घरमा साँझ-बिहान गयो भने चिया पिउने कि दूध पिउने त्योसम्म मायाले पाइन्छ। अहिले सहरमा अरु त के कुरा पानी पनि नकिनी पिउन पाइन्न। कोही कसैलाई कसैको मतलब हुन्न। बिहान उठ्यो पैसा, पैसा अनि पैसा भन्दै रटान लगायो। बल्ल एकदिन शनिबार आउँछ त्यो पनि किन आयो जस्तो हुन्छ। किनकि त्यस दिन पनि पैसा नै कमाउन दौडिनु नै छ।
गाउँमा राजा जस्तो जिन्दगी थियो। मन लागे काम गरौँ नलागे आज आराम गरौँ भन्यो बस्यो। यहाँ त एकदिन काम नगरे 'हात खाली त मुख खाली' उखान जस्तो।
गाउँमा आफैंले फलाएको अन्नबाली, आफैंले उब्जाएको सागपात, आफैंले पालेको गाईभैसीको आफैंले दोहेको दूधमा आफ्नै खेतको धानको भातले मत्ताएर सहरमा सुख खोज्न दौडिएको मलाई यहाँभन्दा सुख के दिउन भगवानले? पेट बढेर घैटो जस्तो भएको छ, चार पाइला हिँड्यो भने स्वाँ-स्वाँ र स्याँस्याँ गर्न पर्छ। धुवाँ र धुलो नाकभिरी भरिएर श्वास फेर्नै नसकिने, धुलो र ग्यासले आँखा पोलेर हैरान भइने, हातखुट्टा गलेर आफैंले मसाज गरेर सज्याउन पर्ने हुन्छ।
मैले कल्पना गरेको स्वर्ग यति पीडादायी रहेछ अनि मैले भोगेको गाउँ त्यति आनन्ददायी रहेछ भन्ने कुरा सहरमा डेरा सर्दा-सर्दा थाकेपछि ज्ञान भयो। अहिले म त्यो पाखोबारी, त्यो गाउँबेसी, त्यो खेतीपाती र त्यो हातका ठेला सम्झिन्छु अनि यो उराठ र दिक्कलाग्दो सहरसँग गाउँलाई दाँजेर हेर्छु। हैट! गाउँ त स्वर्ग नै रहेछ। कास म गाउँ फर्किहाल्न पाए!