ठमेल धेरै डान्सबार भएको ठाउँ। यहाँ रंगीन रातहरूमा रमाउने सबैका लागि पुग्ने डान्सबारहरू छन्। फरक-फरक सुविधा र सेवा भएका डान्सबार। स्वदेशी हुन या विदेशी धेरैको रात रंगीन बनाउने माध्यम नै ठमेलका डान्सबारहरू हुन। तीनै रातलाई रंगीन बनाउनेहरूसँग आजभोलि मेरो साथीको सम्बन्ध जोडिएको छ।
नारी सौन्दर्यशान्त्रले व्याख्या गर्ने सबै गुण भएका नारीहरूको बलियो उपस्थिति हुन्छ, डान्सबारमा। उनीहरूको दैनिकी नै नाच्ने भएर होला, नृत्यमा पारङ्गत झैं लाग्छन्।
रंगीन बत्तीहरू, छिमेकी देशका क्लासिकल गीतमा बेजोड नृत्यहरू र आसपासका टेबुलका दर्शकहरू आ–आफ्नै सुरमा। लगातार गीत बजिरहन्छ, नाच्नेहरू नाचिरहन्छन्। नाचमा मख्ख भएकाहरू रक्सीले मातिन्छन्।
फुर्सदमा भएका नृत्यांगनाहरू आसपासका टेबुलमा बसेका खरिते दर्शकहरूको छेउमा पुग्छन्, आफ्नै हुन् कि झैं गरेर। राम्रीहरू छेउमा आएपछि खरिते दर्शकहरू मख्ख नहुने कुरै भएन।
ठमेलका डान्सबारको कहानी रातको ८ बजेपछि सुरु हुन्छ। त्यतिबेलासम्म नृत्यांगनाहरूले आवरण सुन्दर बनाइसक्नु पर्छ। मेकअप सुरु गर्दागर्दै सुन्दरीहरू सोमरसको चुस्की सुरु गर्छन्। त्यसैको तालमा रात बिताउँछन्। पालो आउँदा नाच्यो, नाचिसकेपछि उनै खरिते पुरुषको टेबुल पुग्यो।
उनीहरूलाई सर्भिस गरेको टेबुलमा भएको व्यापारको आधारमा कमिसन मिल्छ। त्यसैको लोभमा लागि खरिते पुरुषहरूलाई जवानी सुम्पिन्छन्।
राज्यले ठमेलका डान्सबारहरूलाई रातको १२ बजेसम्म खुला राख्न अनुमति दिएको छ। त्यतिखेरसम्ममा खरिते पुरुष र सुन्दरीहरू उत्तिकै मात्रामा सोमरसको तालमा भिजिसकेका हुन्छन्। उनीहरूको लागि त्यो रात साच्चिकै रंगीन बनिसकेको हुन्छ।
रातको ११ देखि १२ बजेसम्म खरिते पुरुषहरूले धेरैजसो सुन्दर नृत्यांगनाहरूको जवानीमा बैना मारिसकेका हुन्छन्। टेबुलमै १२ बजेपछिको नयाँ योजना बनाइसक्छन्। एक रातका लागि जवानी बेच्नेहरू साहुसँग कमिसन लिएपछि उनै खरितेहरूसँग लाग्छन्।
नृत्यांगनाले दैनिक कमिसन र टिप्सबाटै हजार रुपैयाँभन्दा बढी कमाउँछन्। जवानी बेच्नेहरूको कमाइको कुरा नगरौं। उनीहरूको लागि, जापान, अमेरिकाभन्दा कमाइ हुने ठाउँ ठमेल नै हो।
ठमेल अध्ययनकै क्रममा धेरै नृत्यांगनासँग साथीको सम्बन्ध बनेको छ। तर हाम्रो सम्बन्ध मिल्ने साथीसम्मको मात्र छ। मिल्ने साथी सम्बन्ध धेरै पटक उनीहरूले तोड्न खोजे पनि म थामिएको छु। आर्दशले टिक्निन रे! मेरो आर्दश कति टिक्छ कोशिस गर्छु। तर हाम्रो साथी सम्बन्धले मलाई ठमेलका नृत्यांगना सुन्दरीहरूको जीवन अध्ययन गर्न ठूलो सहयोग मिलेको छ।
दैनिक हजारभन्दा धेरै कमाउने उनै मेरा नृत्यांगना साथीहरूको जिन्दगी सम्झँदा नराम्रो लाग्छ। उनीहरूले जवानी बेचेर दैनिक धेरै पैसा कमाउन सक्छन्, कमाइरहेका पनि छन्। तर यसरी मध्यरातमा कमाएको रकम उनीहरूले सदुपयोग भने गर्न पटक्कै सकेका छैनन्। धेरै मोजमस्तीमै सक्छन्, विस्तारै जिन्दगी पनि सकिन्छ, कमाइ पनि सकिन्छ। बाँकी रहन्छ, थोत्रो जिन्दगी।
रंगीन रातमा चम्कने नृत्यांगनाहरूको जिन्दगी भने साह्रै अँध्यारो छ। धेरैको जिन्दगी अँध्यारोमै बितेको छ, धेरैको बित्ने नै छ। उनीहरूले जिन्दगीका सबै पल यसरी कमाइ हुँदैन भन्ने कहिले बुझ्ने? कि परेकै दिन मात्र बुझ्ने हुन्! उनीहरूललाई कस्ले बुझाउने? यस्तो व्यवसायलाई बाध्यताको व्यवसाय भनेर प्रोत्साहन गर्नेहरूले ती नृत्यांगनाहरूलाई सुझाव दिए पनि त हुन्थ्यो।
धेरै नृत्यांगनाहरूको जिन्दगी बर्बाद भइसकेको छ। मैले बुझ्दा धेरै नृत्यांगनाहरू पनि यौन रोगसँग लडिरहेका छन्। तीमध्येका केहीसँग साथीकै सम्बन्ध भएकाले लाग्छ, अब उनीहरूको जिन्दगीले कुन मोड लिन्छ? उनीहरूले जवानी हुँदै मृत्यु अगाल्नु बाहेक जिन्दगीमा के नै विकल्प छ र ?