सन् १९९९ मा म काठमाडौंमा टिनएजरका रुपमा हुर्किरहेको थिएँ, किशोरावस्थाले ल्याउने अपार सम्भावनासहित। तर मेरो दैनिकी सधैँ उस्तै थियो, खासै उत्साहजनक कुरा भैरहेको थिएन। त्यतिबेला कक्षा ११ मा पढ्थे, विद्यार्थी जीवनको अलग्गै खुड्किलो थियो त्यो।
सानैदेखि एउटै विद्यालयमा पढेको थिएँ, विद्यालयकै होस्टेलमा बस्थें। वर्षौंदेखि एउटै मान्छेहरूसँग दिनहुँ भेट भइरहन्थ्यो। साथी उही, शिक्षक उही, विद्यालयमा काम गर्ने दाइदिदी पनि उही। विद्यालयको तालिकाले हामीलाई निकै व्यस्त राख्थ्यो, सबेरै उठेर राति सुत्ने बेलासम्म के गर्ने तय गरिएको हुन्थ्यो, उही काम दिनैपिछे दोहोर्याउनु पर्थ्यो। महिनाको अन्तमा घर आउँथे। दशैं, वर्खा र जाडोको बेला अलि लामो समयका लागि।
बिदाहरूमा पनि एक किसिमको एकरुपता थियो; कि त घरमा दिनभर टिभीको साथमा वा ठूलीआमाको घरमा। परिवारका ठूला सदस्य सबै काममा वा मेरै उमेरकाहरू विद्यालय जाने हुनाले घरमा एक्लै हुन्थेँ। एक्लै हुँदा टिभी खोल्थें, यसले मनोरञ्जन दिन्थ्यो। त्योभन्दा बेसी एक्लो हुँदाको डरलाई भगाउथ्यो। ठूलीआमाको घरमा भने परिवारका अरु मेरै उमेर हाराहरीका बच्चाहरूसँग भेट हुन्थ्यो। बेलाबेलामा अप्रत्यासित घटना भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।
एसएलसी पास गरेपछि नयाँ कलेजको सपना देखेको थिएँ, त्यसबेलाका अधिकांश किशोरकिशोरीले झैं। एसएलसीलाई अहिलेको भन्दा पनि कडा फलामको ढोका मानिन्थ्यो त्यो बेलामा। यो ढोका खोलेपछिको पहिलो गन्तव्य थियो, ११/१२ कक्षाको पढाइका लागि तयार हुनु।
सहरभरि विज्ञान, मानविकी, र व्यवस्थापन पढाउने थुप्रै कलेज थिए। त्यहाँ भर्ना हुन परीक्षा दिनु पर्थ्यो। विद्यार्थी जीवनकै सबैभन्दा ठूलो परिवर्तन थियो मेरो लागि यो। कलेज छनोट गर्न सहज भने थिएन। केही विद्यालयहरूले १२ कक्षासम्मै पढाउथे। मैले एसएलसी दिएको विद्यालय पनि यस्तै खालको थियो। नयाँ कलेज छनोट गर्ने उत्साह भए पनि मेरो गन्तव्य तय भइसकेको थियो, उही विद्यालय अर्थात् कलेज। मिल्ने साथीहरू पनि कतै नजाने भएका थिए। परिवारमा पनि त्यहीँ पढ्ने सल्लाह भयो; कसले नयाँ कलेज खोज्ने झमेला गरोस्? सबैले गर्ने नयाँ कुरा गर्न नपाउँदा मलाई अलि खल्लो महसुस भने भयो।
तैपनि आफ्नो रहर मेटाउन म साथीहरूसँगै त्यस बेलाका केही नामुद कलेजहरूमा फारम भर्न गएको थिएँ। कोही साथी नयाँ कलेज हेर्न चाहन्थे भने कोही नयाँ मान्छेहरू भेट्न चाहन्थे। पढाइ राम्रो भएकाहरू देशको उत्कृष्ट कलेजहरूमा भर्ना हुने क्षमता आफूमा छ कि छैन जाँच्न चाहन्थे। तर फारम शुल्क नै महँगो, कलेज हेरिहेरि २५० देखि ५०० रुपयाँसम्म पर्ने।
अब उही विद्यालयमा पढ्ने भएपछि यसरी फारम भरेर पैसा खेर फाल्न पनि मन लागेन। फेरि मेरो स्वभाव नयाँ साथीहरू बनाएर खुल्ने खालको पनि थिएन। नयाँ मान्छेसँग बोल्न त्यसै लाज लाग्थ्यो, त्योबेला। घर नजिक एसएलसीको ट्युसन लिन जाँदा स्कुलको अरु कोही साथी हुँदैन थियो। त्यसैले अरु विद्यार्थीसँग बोल्न लाज लाग्थ्यो। नयाँ कलेजमा गएको भए मसँग मेरो पुराना साथी कोही हुँदैन थिए।
एसएलसीपछि नयाँ सुरुआत खोजिरहेको मैले त्यो महसुस गर्न पाएको थिइनँ। कक्षा ११ को मध्येतिर आइपुगेपछि भने मिलेनियम (सहस्राब्दी) शब्द सुन्न थालेँ। खोजिरहेको नयाँपन भेटिएजस्तो भयो। आउन लागेको मिलेनियम (एक हजार वर्षकव अवधि) बारे सुनेको पहिलो विषय– 'मिलेनियम बग' जसलाई छोट्करीमा 'वाइटुके' लेखिन्थ्यो।
मिलेनियम बग कम्प्युटर प्रोग्रामिङ सम्बन्धी समस्या थियो। सबै जसो कम्प्युटर प्रोग्रामरहरूले पहिलेका सिस्टमहरूले प्रयोग गर्ने पन्च कार्ड सिस्टममा आधरित भएर आफ्नो प्रोग्राम लेख्थे। त्यस बेलाको प्रचलित पन्च कार्ड सिस्टमले ८० क्याराक्टर अटाउने रेकर्ड प्रयोग गर्थ्यो। तसर्थ प्रोग्रामरहरूले सकेसम्म छोटो कोड लेखी ८० क्याराक्टरमा समेट्न खोज्थे। मिति लेख्दा साल जनाउन पछिल्ला दुई अंक लेख्दा स्पेस बच्थ्यो। त्यसैले सबै प्रोग्रामर कोडमा साल लेख्नु परे यसरी नै लेख्थे।
कम्प्युटर साइन्सको क्षेत्र छिटोछिटो बदलिरहेको थियो। यस्तोमा लेखिएका प्रोग्रामहरू धेरै बेरसम्म प्रयोग हुँदैन थियो। त्यसैले कोड लेख्दा एकदम दीर्घकालीन सोचले लेखिँदैन थियो। सब कुरा महँगो हुनाले खर्चको खयाल राख्नु पर्थ्यो। अब 'सन् २०००' जनाउन '००' लेख्दा कम्प्युटर सिस्टमहरूले २००० साल बुझ्ने हो कि १९०० साल वा अरु नै केही, यस विषयमा सबै अन्योलमा थिए। मिति नबुझेर कम्प्युटर सिस्टम र सो माथि भर पर्ने अरु सिस्टम क्र्यास स हुने सम्वाभना थियो। ठूलै विपद् आउने वाला जस्तो देखिन्थ्यो।
मिलेनियम बग बारे इण्डियन पत्रिका ‘टिन्ज टूडे’ मा पढेको थिएँ। सो पत्रिका पहिले 'टार्गेट' नाममा छापिन्थ्यो। युवाहरूका लागि निकाले पनि पूरै परिवारले पढ्न मिल्ने खालको पत्रिका थियो यो। सबै लेख त बुझ्दिन थिएँ, तर बुझे जति एकदम गुणस्तरीय लाग्थ्यो।
‘टिन्ज टूडे’ अलि फेन्सी थियो, चिल्ला पन्नामा छापिएका रंगिन सामाग्रीले मजस्तो युवालाई सहजै आकर्षित गर्थ्यो। कथा र लेखहरू पहिलेजस्तै रमाइलो थिए। प्रायः बुवाले किनेर ल्याइदिनु हुन्थ्यो। त्यतिबेला यसको मूल्य ४५ रुपैयाँ थियो, युवा केन्द्रित पत्रपत्रिकाभन्दा अलि महँगो थियो। तर कमिक्स, उपन्यासहरूभन्दा सस्तो।
पढ्न पाएको महिनाहरूमा राम्रै उपहार पाए जस्तो लाग्थ्यो। ‘टिन्ज टूडे’ मा मिलेनियम बग बारे पढ्दा डर लागेको थियो मलाई। पहिलो पटक पौराणिक कथाहरूमा बाहेक अरु कतै संसारको अन्त हुन्छ भनिएको थियो। फेरि पौराणिक कथाहरू त कथा मात्रै थिए– नयाँ मिलेनियम ६–७ महिनामा आउने वाला थियो। पहिलेदेखि पढ्दै आएको पत्रिका, त्यही भएर त्यसमा झुटो कुरा लेखिएला जस्तो लागेन।
फेरि स्कुल फर्कने बेला भयो। होस्टेल पुगेपछि साथीहरू र पढाइमै व्यस्त भइयो। कुनै पनि क्लासमा मिलेनियम बग बारे कुरा भएन। बगको डर गयो। पुस्तकालय जाँदा कहिलेकाहीं वाइटुके बग बारे अझै बुझौं जस्तो लागेको थियो। पुस्तकालयमा पाठन सामाग्री कमै हुने हुनाले कुनै राम्रो किताब देख्यो भने लिइहाल्थ्यौं, अरु कसैले लिनुअघि। मिलेनियम बग बारे सामाग्री खोज्दै गर्दा अरु किताब हातबाट जान सक्ने हुनाले बग बारे खासै छानविन गरिएन।
यसैबीच एक दिन एउटा टिभी च्यानल स्कुलमा आएको थियो। नयाँ मिलेनियम बारे युवाहरूको विचार समेटी कार्यक्रम बनाउनका लागि। टिभी च्यानलसँग कुरा गर्न हाम्रो कक्षाबाट म पनि छानिएँ। शिक्षकहरूले स्मार्ट ड्रेस अप गर्नु र प्रस्तुतकर्ताहरूसँग विनम्र हुनु भनेका थिए। घर फोन गर्ने अनुमती दिइएको थियो, ता कि परिवारले पनि सो कार्यक्रम बारे थाहा पाउन् भनेर। क्यामरा लगायतका साधनहरू तयार गर्न र भिडिओ खिच्ने ठाउँ रोज्न समय लाग्यो। हामी विद्यार्थीहरू तयार भइ कुरेर बस्यौं।
जब मेरो पालो आयो टिभी एङ्करलाई मैले नयाँ मिलेनियममा खासै केही परिवर्तन हुँदैन होला भनें। अझ कति कुरा त नराम्रो दिशामा जानसक्छ पनि भनें। राम्ररी थाहा नभए पनि मिलेनियम बग बारे बोलें। टिभी एङ्करबाट त कुनै प्रतिकृया आएन स्कुलकै विद्यार्थीहरू भने मदेखि त्यति खुसी थिएनन्। एउटा दिदीले मैले यस्तो नकारात्मक कुरा गरेकोले अब स्कुलको छवि बिग्रन्छ भनेका थिए। खासमा म सिनिकल खालको टिनेजर त थिइनँ। उल्टो नयाँ अवसर र अनुभवहरूको खोजीमा सधैं लाग्थें।
टिभी च्यानल स्कुलमा आउनु र त्यसमा बोल्न पाउनु मेरो लागि खोजेझैं नौलो कुरा भयो। त्यसैले अरु विद्यार्थीहरूले भनिसकेको कुरा दोहोराउन चाहिनँ र सधैं सुन्नमा आइरहेका कुरा पनि भन्न मन लागेन। केही मौलिक कुरा गरौं भन्ने हिसाबले मैल त्यस्तो नकारात्मक विचार दिएको थिएँ।
नभन्दै नयाँ मिलेनियम आयो। सो उपलक्षमा दिदीले रमाइलो गर्न सबैलाई आफ्नोमा बोलाएकी थिई। अरुको भन्दा उनको घर ठूलो भएकोले त्यहाँ जाँदा रमाइलो हुन्थ्यो। ३१ डिसेम्बरमा राखिएको पार्टीमा दिउँसोदेखि आफन्तहरू सबै दिदीकोमा पुगेका थियौं। अरु बेलामा झैं सबभन्दा जेठोहरू टिभी कोठामा थिए, त्यसपछि गफ गर्नु पर्नेहरू बैठकमा र हामी बच्चाहरू पूरै घर चहार्दै थियौं। भान्सामा खाना पाक्नासाथ त्यहीं लिएर खान्थ्यौं, बैठकको गफ सुन्न जान्थ्यौं र थकाइ लागेपछि टिभी हेर्न जान्थ्यौं। धेरैजसो सबैभन्दा कुनाको कोठामा नाच्थ्यौं, खेल्थ्यौँ।
त्यस रातको तीन दृश्यहरू अरु बेलाभन्दा निकै फरक थिए। तिनको सम्झना अझै ताजा छ मलाई।
(१) सबै सहर घुम्दै आएको नयाँ मिलेनियम
बुवाले सबै बच्चाहरूलाई टिभी हेर्न बोलाउनु भएको थियो। संसारका ठूला सहरहरूमा १२ बज्दा त्यहाँका महत्वपूर्ण स्मारकहरूमा गरिने आतिशवादी प्रदर्शन हेर्न। हरेक सहरमा जब रातको १२ बज्थ्यो, टिभीमा सोही ठाउँको प्रदर्शनी देखाइन्थ्यो– पेरिसको आइफल टावर, सिड्नीको ओपेरा हाउस, आदी। सानो टिभीमा आतिशबाजी खासै भव्य देखिएको थिएन। स्क्रीनको तल्लो भागमा लस्करै कुन ठाउँमा कति समयमा नयाँ वर्ष आउँदैछ भनी लेखिएको थियो। पहिलो पटक यस्तो शब्दहरूको घुमिरहने रिवन देखेको थिएँ। यसरि समाचार देखाउने शैली रोचक लागेको थियो। सहरका वासिन्दाहरूसँग उनीहरू कसरी नयाँ मिलेनियम मनाउनेवाला थिए भनी लिइएको अन्तर्वार्ताहरू पनि मजाको थियो। हरेक सहरमा फरक–फरक पत्रकारहरू थिए, सबैलाई पालैपिलो देखाइएको थियो। धेरै जसो एक वा बढीमा दुई जनाले टिभीमा समाचार पढेको हेर्ने बानी भएकोले, यो पनि मेरो लागि नयाँ अनुभव भयो।
(२) रातको आकाश र छिमेकिको बार्बिक्यु
रातको कुनै समय बगैंचामा निस्केको थिएँ। एक्लै। निस्कनासात छिमेकीको पार्टीको हो–हल्ला। आगो ताप्दै, मासु पोल्दै, गितार बजाउँदै थिए। भित्र झर्को लागेर बाहिर आएको थिएँ। बाहिर अरुले आफूभन्दा बढी रमाइलो गरेको देख्दा डाह लाग्यो। त्यसबेला थाहा थिएन कि तिनको उमरेका केटाहरूलाई यस्तो पाराले रमाइलो गर्नु सामान्य कुरा थियो।
उज्यालो रात थियो त्यो। दिनमा हुने बादलभन्दा रातको ताराहरू निकै माथि थिए। त्यसैकारण आकाश विशाल देखिन्थ्यो। आकाश हेर्दा संसार निकै ठूलो लाग्यो। आफूले भने कमै कुरा देखेको र धेरै कुरा बुझ्न बाँकी भएको जस्तो लाग्यो। समुद्रका यात्रुहरू जस्तो ताराहरू पढ्न जान्दिन थिएँ। ती ताराहरूले विशाल संसारमा आफ्नो बाटो बनाउन कुन दिशाबाट यात्रा गर्ने भनेर कुनै संकेत दिएन।
रातको माहोल, त्यो पनि जाडोमा, बाहिर बस्दै गर्दा अलि फरक लागिरहेको थियो। सायद त्यस्ता भावनालाई नै मानिसहरू रोमाञ्चक भावना भन्थे। आगामी दिनहरू पनि यस्तै रोमाञ्चक हुने आभास भइरहेको थियो।
(३) इन्डियन एयरलाइन्सको विमान अपहरण
सन् १९९९ को अन्तिम दिनहरूमा काठमाडौंमा सबैभन्दा चर्चित विषय इन्डियन एयरलाइन्सको विमान अपहरण थियो। त्रिभुवन विमानस्थलबाट दिल्ली उडेको प्लेन आतंककारीहरूले काठमाडौंबाट पाकिस्तान र दुबई हुँदै अफगानिस्तानको कन्दाहर पुर्याएका थिए। समस्या भारत र आतंककारीहरूबीच भए पनि प्लेनमा थुप्रै नेपालीहरू थिए। फेरि अपहरण भनेको सिनेमा वा किताबमा र त्यो पनि अरु देशमा हुने घटना जस्तो लाग्थ्यो। नेपाल जस्तो सानो देश यस्तो अन्तर्राष्ट्रिय मामिलामा प्रत्यक्ष रुपमा सामिल होला जस्तो लाग्दैन थियो।
जाडोको बिदामा घर बसेको हुनाले सबैतिरबाट विमान अपरहणको खबर पाइरहेको थिएँ। बा–आमा एकअर्कासँग, फोनमा कुरा गर्दा, टोलमा यसकै बारे कुरा गर्थे। सबैको चाहना यात्रुहरू सकुशल फर्कियोस् भन्ने थियो। तर कतिपयले भन्थे नेपाल सरकारले आफै पहल गर्नुपर्छ। कतिले भने भारतले सब कुरा मिलाउनु पर्छ। अरु ठूला देशहरूको नाम पनि आउँथ्यो, आतंककारीहरूसँग वार्ता गर्नका लागि। आतंककारीहरूको माग भारतमा बन्दी बनाइएका केही साथीहरूको रिहाइ थियो। यसमा पनि फरक–फरक तर्क दिन्थे छिमेक का अंकल–अन्टीहरू। प्लेनका सबै छुट्ने भए दुइ–तीन बन्दीहरू छुटे केही ठूलो कुरो होइन भन्नेहरू थिए। कोही भने यसो गरे झनै आतंक फैलिन्छ भन्थे। भारतको आर्मी राम्रो भएकोले आर्मीले सजिलै समस्याको हल निकाल्छ भन्नेहरू पनि थिए।
भर्खरै स्याटलाइट टिभीबाट इन्डियन च्यानलहरू आउन थालेकाले भारतकै समाचार बढी हेर्थ्यौं। समाचार हेर्दा बन्दकहरूलाई केही नराम्रो होला भनि डर लाग्थ्यो। तर कहिल्यै नसोचेको कुरा भएकोले टिभीमा हेरी रहुँ जस्तो पनि लाग्थ्यो। ती दिनहरूमा अरु कुनै च्यानल नहेरी समाचार मात्र हेर्थ्यौं। एउटा च्यानलको पत्रकार त त्रिभुवन विमानस्थलबाटै त्यहाँको सुरक्षा व्यवस्था कति कमजोर छ भनि विमानस्थलमा जताततै हिंड्दै लाइभ रिपोर्टिङ गरी देखाएका थिए। त्यो रिपोर्टिङ देखेर छिमेकी अंकल आक्रोशित भएका थिए– आफ्नो कमाइको पैसा खर्चेर इण्डियन च्यानलमा नेपालको बेइज्जती हेर्नु परेर।
बन्धकहरू ठ्याक्कै डिसेम्बर ३१ मा छुटिए। यो खबर पाउँदा दिदीकै घरमा थिएँ म। आमा र म मात्र टिभी कोठामा थियौं। ठूलीआमा त्यही कोठामा निदाइसक्नु भएको थियो। ठूलो परिवार भए पनि यसरी आमा र म एकान्तमा बसेका थियौं। आमाले केही बोल्न सक्नु भएन, उहाँको आँखाबाट आँसु बगिरह्यो। मलाई थाहा थियो कि ति आँसु बारे मैले पिर लिनु पर्ने केही थिएन। त्यसैले एकटक टिभी हेरी रहें। बन्धकहरूसँगको कुराकानी आइरहेका थियो।
एक हल्का मोटा, घुम्रिएको कपाल भएका नेपाली व्यापारीसँगको भिडिओ बारे पछिसम्म सबैले कुरा गरिरहे। यसै त हसिलो स्वभावका, प्लेनको खाना र ट्वाइलेटको अवस्था बारे बयान गरेको सबै बच्चाहरूलाई मन परेको थियो। बिस्तारै दिदीको पार्टीका सबै अपहरणको खबर हेर्न टिभी कोठामा आए। घरभरि छरिएको कृयाकलाप– नाच, गाना, खाना, गफ केही क्षणको लागि एकै ठाउँमा मिसियो।
विश्वकै अन्त्य हुने भय बोकेर आएको मिलेनियमले सुरु नहुँदै राम्रो खबर ल्याएको थियो। वर्षभरि मिलेनियमजस्तो ठूलो कुरोलाई सुहाउँदो घटना होस् भनि सोची बसेको थिएँ। विमान अपरहरणको सुखद अन्त र मिलेनियमको आगमन सँगै हुनुजस्तो उपयुक्त कुरा अरु केही थिएन। नजिकका सबैसँग यस्तो क्षण बिताउन पाउँदा दिनभरिको बेचैनी हरायो र संसारमा सब कुरा मिलेको महसुस भयो। मिठो मुस्कानकासाथ मैले नयाँ मिलेनियमलाई भित्र्याएँ।