केही दिनअघि मेरो एकजना साथी कामविशेषले सुर्खेतबाट काठमाडौं आए। उनको घर बुटवलमा तर पहाड घर अर्घाखाँची भए पनि सुर्खेतमा ५ वर्षे बिएएलएलबी अध्ययनरत छन्। उनका बुवा विदेशबाट आउँदै हुनुहुन्थ्यो। त्यसैले उनी दुई दिनका लागि काठमाडौं आए।
देशमा हाल ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि त्रिभुवन विमानस्थल नै पुग्नुपर्ने बाध्यता छ। साथी काठमाडौंको व्यस्त जनजीवन र जताततै कोलाहल वातावरण देखेर पाइला टेकेको केहीछिनमै आजित हुन पुग्छ। यहाँको वातावरण देखेर टाउको दुख्न थालिसक्यो भन्दै थियो।
हुन पनि बुटवलमा सडक भयंकर ठूलो सवारीको चाप काठमाडौंजस्तो नहुने भएर होला उसलाई बुटवल र कर्मथलो सुर्खेतमा आनन्द लाग्छ। काठमाडौंमा दिनभरि म ऊसँगै भएँ। नेपाल ल क्याम्पसमा आफूसँगै पढेका साथीलाई भेट्न जाउँ भनेर मलाई त्यतै लग्न पुगेको उसले साथीले केही समय ढिलो हुने संकेत दिँदा अन्य ठाउँ जान आग्रह गरे।
भृकुटीमण्डपबाट बबरमहलस्थित एकजना सरको ल फर्ममा गयौं। त्यतै एकछिन बस्यौं। त्यसपछि उसलाई कीर्तिपुर जानुपर्ने भयो। कीर्तिपुर जाँदै गर्दा माइतीघरमा प्रधानमन्त्रीको सवारीका कारण बीस मिनेट गाडीमै बस्नुपर्दा ऊ झन् आजित हुन पुग्यो। त्यहाँबाट हिँड्दै सुनधारा पुगेर कीर्तिपुरको गाडी समाउन लागियो। कीर्तिपुर पुगेपछि भने त्यहाँको शान्त वातावरण उसलाई मनपरेछ। यतातर्फ बरु बस्न हुनी ठाउँ रहेछ भनेर भन्दै थियो। अर्थात् सबैलाई चाहिने शान्त ठाउँ नै हो।
हाल जाडो बिदामा मलाई पनि घर बुटवल जान मन थियो तर काठमाडौंमा कामविशेषले रोकिन पुगें। दशैंतिहारमा एक महिनाभन्दा बढी समय बुटवल बस्दा त्यहाँको वातावरण मलाई पनि शान्त लागेको थियो। बेलाबेला दिमागले पनि शान्त ठाउँ मन पराएर होला मलाई पनि शान्त ठाउँ नै मनपर्छ।
आफू तराईमा जन्मिएको भएर पहाड देख्नसाथ हुरुक्कै हुन्छु र हर्षित हुन्छु। काठमाडौंमा अलिकति पनि खाली ठाउँ नदेखिने भएर होला दशैंमा काठमाडौंको अंकल केही दिनको लागि बुटवल आउँदा यहाँ बरु आनन्द छ भन्दै हुनुहुन्थ्यो।
काठमाडौं अर्थात् भविष्य बनाउने सहर न हो। यहाँ के छैन? चप्पल लाएर गाउँबाट देश बनाउन आएकाहरू काठमाडौं आएपछि महल ठडाउँछन। त्यस्तै देशैभरिबाट विदेश जान पुग्नेहरू यहीँ ठोकिन पुग्छन। विश्लेषकहरू यहीँ छन। शिक्षकहरू यहीँ छन। प्रोफेसरहरू यहीँ छन। उदाउनेहरू यहीँ छन् र यहीँ आएर अस्ताउनेहरू पनि छन्। ठगहरू यहीँ छन्। फटाहहरू पनि यहीँ छन्। मानव तस्करहरू यहीँ छन्। मिहिनेतीहरू यहीँ छन्। लोक सेवाको रटान लाउनेहरू र धसिएर पढ्नेहरू पनि यहीँ छन्। नामी इन्स्टिच्युटहरू यहीँ छन्। पैसा उडाउन खोज्नेहरू मज्जाले यहीँ भेटिन्छन् र पैसा जोगाउन खोज्नेहरू पनि यहाँ भेटिन्छन्। काम विशेषले दौडिने पनि यहीँ छन र आकाशेपुलबाट उभिएर मान्छे हेर्ने र डोजर चलेको हेर्नेहरू पनि यहीँ छन्।
काठमाडौं राजधानी भएर होला देशमा बाँकी रहेका अलिअलि युवायुवती देखिने ठाउँ पनि यहीँ छ। रोजगार खोज्दै आउनेहरू पनि यहीँ छन। रोजगार पाएर पनि निराश हुनेहरू यहीँ छन्। ठाउँ-ठाउँबाट कामको खोजिमा आएका युवाहरू पनि यहीँ छन्। राज्यसत्ता यहीँ छ। सातै प्रदेशका मुख्यमन्त्रीहरू हामीलाई अधिकार देऊ भन्दै बालुवाटार र सिंहदरबारमा हारगुहार गर्न पनि यहीँ आउनुपर्छ। अर्थात् यो ठाउँको छुट्टै महत्त्व छ र यो महत्त्व घट्ने देखिँदैन। त्यसैले त जग्गाको भाउ अन्य ठाउँमा यथास्थितिमै हुँदा यहाँ मज्जाले बढिरहेको पाइन्छ। पहाड ध्वस्त पार्ने प्लटिङ गर्नेहरू पनि यहीँ छन्। सरकारी जग्गा हत्याउने भ्रष्टहरू पनि यहीँ छन्।
यो ठाउँमा सबै छ बस् शान्त छैन, जीवन छैन। यो ठाउँमा कमाउनेले पैसो त कमाउँछन् तर आनन्द पाइँदैन। यहाँ पाइन त सबैथोक पाइन्छ तर ताजा पाइँदैन। हुन त यहाँबाट पनि केही छिनमा वरिपरिको जिल्लामा गएर मजा लिन नसकिने भन्ने होइन तर ठाउँ भनेको सबै मिलेको समेत हुनुपर्छ। केटाकेटीलाई खेल्न ठाउँ छैन। सहर भनेको सायद यहीँ नै त पक्कै नहोला।
मलाई काठमाडौंदेखि खासै मन नपराउने भन्ने पनि होइन। यो ठाउँमा मैले चाहेको केही कुराहरू पनि छन् जसले गर्दा यहाँ रमाइलो छ। यहाँ सातै प्रदेश ७७ जिल्लाकै मान्छेहरूको जम्काभेट हुन्छ। यहाँ विविधता पाइन्छ। यहाँको सोचाइमा फरकपन पाइन्छ। यहाँको रहनसहन बेग्लै छ।
केही दिनअघि विराटनगरमा कानुन पढ्दै गरेको भाइसँग कुरा गर्दै थिएँ। उनले म्यासेजमै आफ्नो दुखेसो पोख्दै थिए। काठमाडौं आउनुपर्ने रहेछ दाइ यहीँ पढ्ने निधो त गरियो तर काठमाडौंमा आएको भए आफ्नो केही ज्ञान बढ्ने थियो कि जस्तो लाग्छ भन्दै थिए। कानुन पढ्न काठमाडौं बाहेक अन्यमा राम्रो रहेनछ भन्दै थिए।
हुन पनि मेरो आफ्नै एक वर्ष खेर फालेर काठमाडौंमा अध्ययनरत छु। अलिक अगाडि ठाउँको महत्त्व बुझेको हुन्थें या कसैले बुझाएको हुन्थ्यो त त्यो एक वर्ष खेर जाने थिएन। काठमाडौंले यसरी पनि आकर्षण गरोरहेको देख्न सकिन्छ।
एकजना बुटवलमा कानुन पढ्दै गरेको बहिनीलाई पनि कुरैकुरामा यहाँ किन नदिएको भन्न पुग्दा उनको पनि सोही खालको गुनासो थियो। यसरी काठमाडौं काठमाडौं नै रहन्छ भन्नेमा दुईमत रहेन।
मेरो बाबा शिक्षक आन्दोलन हुँदा काठमाडौं आउनुभएको थियो। सोही दौरान यो काठमाडौं ठाउँ आफूलाई चित्त बुझेन भन्दै हुनुहुन्थ्यो। पहिला काठमाडौंमै पढ्नुभएको उहाँले यहाँको जाडो थेगिनसक्नु छ ख्याल गरेस् भन्नुहुन्छ। आफ्नो अथाह परिश्रमले बुटवलमै घर बनाएर होला आफ्नो ठाउँ छोड्न जो कोहीलाई ह्वात्तै मन पर्दैन। यहाँ मान्छे दौडमा छन् तर के गर्दैछन् कसैलाई पत्तो हुँदैन। श्रमजीविहरू यहाँ छन् तर दिमागले भ्रष्टहरू पनि यहीँ छन्। यहाँ सबै केही न केही गरेर टिकेकै छन्। हुन त सहरको विशेषता भनेकै यहीँ होला।
अन्य सहरका कलेजमा कानुन पढाउने शिक्षक पाइँदैन किनकि काठमाडौंमै मान्छे थुप्रिने जो चलन छ। कर्मचारीहरूलाई सरुवा गर्दा पनि सिंहदरबारमै बस्न रुचाउँछन् किनकि उनीहरू गाउँबाट नै सहर आए तर गाउँ नै बिर्सन पुग्छन्, सहरले मोहित जो पारिदिन्छ। आखिर अभिभावक न हुन्, उनीहरूले आफ्नो लगायत छोराछोरीको भविष्य समेत हेर्नुपर्ने हुन्छ।
काठमाडौं उपलब्ध सुबिधाहरूका कारण बस्न लायकको ठाउँ हो तर बस्नै मन नलाग्ने ठाउँ पनि हो। आफ्नै संसारमा रमाउनेहरूलाई यो ठाउँ स्वर्ग पनि छ। शान्त र धुलोमुक्त वातावरण रुचाउनेलाई यो ठाउँ गएगुज्रेको पनि छ। हावापानी हेर्दा यो ठाउँ गज्जबको पनि छ तर शुद्धता हेर्दा यो ठाउँ टाउको दुखाइ गर्ने खालको पनि छ। करोडौं फाल्न सक्नेहरू र व्यवसायमा रमाउन खोज्नेहरूलाई यहाँ गज्जबै छ। जागिर गरेर इमानदार भएर बस्नलाई यो ठाउँले मर्माहत पनि गराउँछ।
अर्थात् यो ठाउँ देख्दा रहरलाग्दो मात्र देखिन सक्ला तर धेरैलाई यो ठाउँमा बाध्यताले नै बस्नुपरेको छ। कुनै पनि सहरमा मान्छे रहरले बस्ने कमै नै हुन्छन्। यसरी हेर्दा काठमाडौं सहर, तिमीलाई देख्दा लाग्दैन रहर।