‘बरू आइसल्यान्डमा सर्प भेटिएला अबको दश बर्षमा नेपालमा पासपोर्ट नबनाउने युवा भेटिँदैन’
‘दश वर्ष छोड। अबको पाँच वर्ष भित्रमा विदेश जान नचाहने युवा भेटिए भने म ऊसँग सेल्फी खिचेर मेरो प्रोफाइल पिक्चर चेन्ज गर्छु’
कफी सपमा गुन्जिएको हाँसोसँगै चुरोटको धुँवा पनि परपरसम्म पुग्यो। जाडो मौसम भएकोले होला कफी सप भित्रभन्दा पनि कफी सपको बाहिरी बरन्डा मानिसको भीड थियो। न्यानो घामले शरीर र तातो कफीले पेट तताउँदै थिए। कफी सपको वेटरले पनि बेला बेलामा हाँसो मिसाउँथे तर कुरै नबुझी। अति बिजी उनलाई गफ सुन्ने फुर्सद पनि थिएन।
म पनि कफी सपको बरन्डामै थिएँ तर कफी पिउन होइन, म कलंकी जानको लागि बालकोट चोकमा गाडी कुरेको। कफी सपको बरन्डा बाटोको छेउमै पर्छ। उनीहरूको गफले गाडी कुर्दा समय कटेको पत्तै हुँदैन नत्र त दश मिनेट समय पनि सय मिनेट हुन्छ यद्यपी उनीहरूको गफ सुन्न मेरो उद्देश्य पटक्कै होइन तर आवाज कानमै ठोक्किने आएपछि कान थुन्न नसकिने।
हुन त कफी सपका विषयहरू समसामायिक नै हुन्छन्। बिहान समाचार पढ्न छुटे पनि आधाउधी समाचार यतै सुनिन्छ। बिहान नै समाचार पढ्न कुन चाहिँ महिलालाई फुर्सद हुन्छ होला अपवादबाहेक।
गाडी आइपुग्यो। बालकोटमा चोकबाट गाडी चढेँ। पुग्नु पर्ने कलंकी बहिनीको घरमा, उसको बिरामी सासूससुरा भेट्न। घरमा एउटा सवारी साधन हुन्छ सबैलाई भाग नपुग्नु स्वाभाविकै हो। यदि प्रत्येक सदस्यपिच्छै गाडी भए पनि कुन बाटोमा कुदाउने! पार्क गरेर राख्ने ठाउँ पनि हुँदैन थियो होला।
बाफ रे कस्तो भीड! कन्डक्टरले एउटा मान्छेलाई बीस रुपैयाँको नोटभन्दा बढी देख्दैन। दैनिक अफिस कलेज आवतजावत गर्नेले त दैनिक सी ग्रेडकै नर्क बेहोर्न पर्छ होला है!
खुसी लाग्यो आफ्नो अनलाइन जब भएकोमा। म सँगसँगै बीस बाइस वर्षका चार जना नानीहरू पनि गाडी चढे।
‘यो बसको भीड सम्झेर पनि मलाई नेपाल बस्नै मन लाग्दैन’
‘अझ जाम हेर्न चार किलोमिटर दूरी तय गर्न चार घन्टा’
‘प्राइभेट अफिसको तलब हेर त आउजाउ गाडीभाडा र खाजा खर्चमै सकिन्छ’
‘काठमाडौंमा जब गर्दै पढेकी छ भनेका छन् गाउँमा। आफूलाई कस्तो गाह्रो। गल्ती गरिएछ प्लस टु सक्ने बित्तिकै विदेश नगएर बेकार नेपालमै ब्याचलर पढ्ने भएर’
‘सके अमेरिका युरोप नसके खाडी मुलक। सकिँदैन चार अंकित तलब खाएर बाँच्न।
मभन्दा पछाडि उभिएका उनीहरु को को ले कुन कुन वाक्य बोलेका थिए। टाउको घुमाएर पछाडि हेर्नु भएन तर कान त पछाडि नै हुन्छ नि!
यी चार नानीहरूको कुराकानीले नेपालप्रतिको युवाको वितृष्णा ओकलिरहेको थियो। हुन त अघि कफी सपका युवाहरूले पनि वितृष्णा नै ओकलिरहेका थिए तर रमाइलो पारामा सायद कफीले हर्मोनलाई सकारात्मक असर र बसको भीडले नकारात्मक असर गर्दो रैछ।
नयाँ बानेश्वरमा ती नानीहरू ओर्लिए। तिनीहरूको कुराकानीले सजिलै अनुमान गर्न सकिन्थ्यो कि तिनीहरू भक्तपुरतिरको कुनै कलेजमा पढ्थे र बानेश्वरतिरको कुनै प्राइभेट कम्पनीमा काम गर्थे।
नानीहरू बसबाट झरेपछि बल्ल मैले बस्ने सिट पाएँ। ब्यागबाट फोन झिकेर डाटा अन गरेँ। मंसिर महिनामात्र विदेश जानेको संख्या एकहत्तर हजार। कोरियाले उत्पादन क्षेत्रतर्फ लैजाने श्रमिकका लागि करिब डेढ लाखको आवेदन। आजको समाचारको प्रमुख यी दुई शीर्षकले आजको चिया पसलको बहस र बसभित्रको गफलाई विषय दिएका रैछन्।
म समाचार पढ्न व्यस्त हुँदै गर्दा कतिबेला एक हुल विद्यार्थी बसमा चढिसकेछन्। सुकिलो पहिरन चटक्क मिलाएर लगाएका।
‘गोल्ड मेडललिस्ट त जाने रे झन् हामी’ जाने भन्ने शब्दले विदेश नै भनेको थियो भनेर सोच्न मलाई गाह्रो भएन।
‘गोल्डमेडलिस्टले त आफ्नो भविष्य सुरक्षित देख्दैन भने हामी त जस्ट पास’। भर्खर आइरन गरेको सिल्की कपाल मिलाउँदै नीलो सिफन साडी लागाएकी नानीले भनिन्।
‘स्टुडेन्ट भिसामा जाने अनि उतै सेटलमेन्ट अरू सोचिन्न’।
पछाडि बोकेको ल्यापटप ब्याग झिकेर अगाडि चपक्क समातेर युवक बोले। सायद भीडमा ल्यापटप सुरक्षित देखेनन्।
त्यो विद्यार्थीको हुल त्रिपुरेश्वरको जाममै ओर्लिए।
‘आज रंगशालामा टियूको दीक्षान्त समारोह रैछ जाम त लामै समय रहन्छ कि क्या हो,’ पछाडिको सिटमा बसेको महिलाको आवाजले मैले अनुमान लगाएँ विद्यार्थीहरू चिटिक्क परेको कारण।
बालकोटबाट हिँडेको बस बल्ल बल्ल दुई घन्टामा कलंकी पुग्यो। अबको पाँच मिनेट पैदलमा म बैनीको घर पुग्नेछु। म ओर्लिएँ।
युवाको नेपालप्रतिको वितृष्णा, विदेश जाने तीव्र इच्छा देख्दा मैले कतै देशकै सेवा गर्छु भनेर नेपाल फर्केर गल्ती त गरिनँ!
आजभन्दा दश वर्ष पहिला विदेश जानु गर्वको विषय थियो। आज सामान्य कुरो छ। आज भन्दा दस वर्ष पछाडि लाजको विषय हुनेछ। विदेश जाँदै गर्दा एअरपोर्टमा कोही भेटिए भने पासपोर्ट लुकाउँदै भन्छन् होला म त साथीलाई पुर्याउन पो आएको!
अनि त्यो बेला हाम्रो पुरानो उखान मोही माग्ने ढुंग्रो लुकाउने उखान परिवर्तन भएर विदेश जाने पासपोर्ट लुकाउने हुन्छ होला दिमागले यो कुरा सोचिरहँदा खुट्टाले कतिबेला बैनीको घरमा पुर्याइसकेछ। कुकुर भुकेपछि बल्ल हेक्का पाएँ। ठूली छोरीले ढोका खोलिदिइन्।
बैनीको बिरामी सासूससुरा बाहिर घाम तापेर बसिरहनु भएको रैछ। कोशेली लगेको हर्लिक्स उहाँको हातमा थमाएँ।
‘बुवाआमा तपाईंहरू त कति भाग्यमानी बुढेसकालमा छोराबुहारी सबै सँगै बस्न पाउन भाको छ। बिरामी हुँदा स्याहार पाउनु भाको छ,’ म उहाँहरूको छेउमा बस्दै भने।
‘खै नानी दुवै जना बिहानै काममा हिँड्छन्। साँझ आआफ्नो फोनमा व्यस्त। हाम्रो स्याहार त काम गर्ने मान्छेको भरमा। कहिलेकाहीँ त वृद्धआश्रममै गएर बसौं जस्तो लाग्छ तर नेपालमा त राम्रो वृद्ध आश्रम पनि छ जस्तो लाग्दैन।’
‘नानी विदेश बसेर आउनुभाको बरू हामीलाई उतैको वृद्ध आश्रमतिर बस्ने व्यवस्था मिलाइदिनु सक्नुहुन्थ्यो कि त्यहाँको बृद्ध आश्रममा त डाक्टर, नर्स, सुसारेदेखि सबैको राम्रो व्यवस्था हुन्छ रे। हामीलाई पनि सुख, छोरा बुहारीलाई पनि आनन्द।’
युवाको मात्र विदेशमा आकर्षण हो भन्ने भ्रम उहाँको कुरा सुनेर आजबाट तोडियो। कामका लागि युवा मात्र नभएर वृद्ध आश्रममा बस्नका लागि वृद्धवृद्धा पनि विदेश जाने हो भने को रहला यो देशमा। अघिदेखि मेरो हातको प्रतीक्षा गरेर सानो टि टेबलमा रहेको चियाको कप समातेर आखाँ चिम्लिएँ।
(रेशा भट्टराईका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)