जिन्दगी अनौठो कि हामी अनौठो हौं? कि हाम्रा सोच, चिन्तनधाराहरू अनौठा हुन्? जिन्दगी सुन्दर, सुमनोहर छन्। त्यसैले जिन्दगीको यात्रा निकै नै छोटो छ।
यो मेरो वैयक्तिक अनुभव मात्र हो।
हामी सबैले आ–आफ्नो जिन्दगी हिँडेकै छौं। आ–आफ्ना जिन्दगी बाँचेकै छौं। त्यसैले जीवनको परिभाषा व्यक्तिपिच्छे भिन्न छन्। फरक–फरक भाँडामा राखेको पानीले फरक–फरक रङको प्रतिविम्ब छाडेझैँ।
मान्छेका आँखापिच्छे उसका जिन्दगीका परिभाषाहरू पृथक हुनसक्छन्। भिन्न हुनसक्छन्।
जिन्दगीले मलाई खुसी पक्कै दिएको छ। अनुभूतिको डोब पनि छाडेको छ। तिनै डोबहरूमा टेकेर म आफ्नै जिन्दगी विचरण गर्छु।
मलाई लाग्छ– सबैले आआफ्नो जिन्दगीमाथि उभिएर आआफ्नो जिन्दगी विचरण गर्छन्। फरक यत्ति हो, कोही पुलकित हुन्छन्। कोही निरास!
कहिलेकाहीँ मलाई आफ्नै जिन्दगी चलचित्र हेरिरहेझैं लाग्छ। कहिले रहस्यमय फिल्मका पर्दामा आफू चल्मलाइरहेको पाउँछु। कहिले सुखले भरिएका पटकथाको नायकका रूपमा आफूलाई पाउँछु।
कहिले दुःख र विषादले भरिएका कथा–उपकथामा आफू जेलिएर उम्किनै नसकेको पाउँछु।
महान् नाटककार विलियम शेक्सपियरले भनेझैं–जीवन एक रंगमञ्च हामी सबै कलाकार!
हो त हामी सबैले आ–आफ्नो जिन्दगीमा अभिनय गरिरहेका छौं।
सुखद् जीवन बाँच्नु भनेको अभिनयमा पारङ्गत हुनु पो हो कि?
म आज निबन्ध लेख्न बसिरहेछु। आँखाअगाडि शब्दको उरूङ लागिरहेछ।
तर, यो कुन बाटो हिँडिरहेछ मलाई नै पत्तै छैन।
हाम्रो जिन्दगी पनि यस्तै त हो। हामी एउटा बाटो हिँड्न खोजिरहेका हुन्छौं। जिन्दगी हिँडिदिन्छ अर्को बाटो।
हामी लेख्न खोजिरहेका हुन्छौं, सुखद् अनुभूतिका कथा तर बाँच्नुपर्छ दुःखका पात्रहरूमा।
अँ साँच्चि म त त्यो पात्रको पो कथा लेख्न बसेको त!
म यहाँ मेरो प्रिय पात्रलाई सम्झन्छु। मनमा शब्दका अनेक पुञ्ज देखापर्छन्। कुन शब्द छानेर हरफ पूरा गरौं भन्ने द्विविधा हुन्छ। ती प्रिय पात्रलाई लेख्न शब्दहरू निकै कम परिरहेछन् यहाँ।
जुन पात्र सम्झनेबित्तिकै मनमा रोमाञ्चक भाव दौडन थाल्छ। हिउँदयाम मध्य छ। हिमालमा हिउँ टलल टल्किएका छन्। पहाडी इलाका तुषारोले छपक्कै ढाकेका छन्। यस्तो चिसो मौसममा पनि मन न्यानो भइरहेको छ। प्रिय पात्रको कल्पनाले मात्रै पनि कति न्यानो दिने रहेछ!
ती पात्रको कल्पनामा म पिकासोको चित्रमा झैं डुबुल्की मारिरहेको छु।
पात्रको कल्पना गरिरहँदा उनका हातहरू सलबलाइरहेजस्तै लाग्छ। कति कोमल हात? कति मुलायम? कति शान्त? कति सौम्य। अँ, सिमलको भुवाजस्तै!
प्रिय पात्र! तिम्रो हात समाई, तिम्रा बालापनका कथा तिम्रै मुखबाट सुन्न पाउँदा म कति गद्गद् हुन्थेँ होला?
तिमी यस्तो कोमल छौ कि तिम्रा हरेक भावमा तिमीसँगै बगिरहँदा म यति न्यानो हुन्छु कि मलाई यो चार डिग्रीले पनि कतै चिस्याउन सक्दैन।
तिम्ले तिम्रो बालापनमा खेलेका ती गट्टासँग, तिमीले लगाएका ती जामासँग, तिमीले कपालमा सिउरिएको शिरफूल अनि तिमीले हातमा लगाएका ती चुरासँग अगाध प्रेम छ मलाई! मनमा प्रेमका धारा बग्न थाल्छन्।
तिम्ले बोल्दै गर्दा तिम्रो मुखबाट निस्केको आवाजसँग मोह छ मलाई। तिमीले स्पर्श गर्ने अनि हरेक चिजहरूसँग आत्मीयता गाँसिएको छ। तिमी किन यति मृदु छौ। कोमल छौ? तिमी किन यति निर्दोष र प्यारो छौ, भन न? तिम्रा आँखाले किन यसरी सम्मोहित बनाउँछन्। जादु–टुना लगाउँछन्?
तिम्रो बोलीमा कुन यस्तो मह मिसिएको छ? जुन सुनेर म कहिल्यै अघाउन सक्दिनँ?
मलाई तिमी जन्मेको ठाउँ हेर्न मन छ। तिमीले सिकेको हरेक कुरा सिक्न मन छ मलाई। तिम्रो ओठका हरेक धून सुन्न मन छ। तिमीसँगै हाँस्न मन छ। तिमीसँगै रून मन छ। तिमीलाई जिस्क्याउन मन छ। तिम्रो मन तिमीले थाहै नपाउने गरी सुटुक्क चोर्न मन छ।
अहो! म त सलल बगेछु। बग्दाबग्दै कहाँ पो पुगेछु!
ए साँच्चै! म त उसको मायाजालमा पो फसेछु ।
तिमी कस्तो मेहनती छौ। तिमी कति ज्ञानी छौ। खासमा तिमी नरित्तिने ज्ञान गंगामा हौ। जसको आलोकमा म आफैं प्रज्वलित हुने चेष्टा गरिरहेको छु।
तिम्रो चैतन्यका अगाडि मलाई मेरो शिक्षा फिका लाग्छौ। र त, तिमी मेरा लागि उदाहरण हौ।
शब्द समेत नबुझिने यो संसारमा तिमीले मेरो मौनता बुझेकी छौ। तिम्रो माया पवनसरी, यो सृष्टिकै प्राणजस्तो! अँ साँच्चि तिमी को हौ? साँच्चै को हौ तिमी?
म भन्छु, तिमी मेरो सबथोक हौ। तिमी मेरो सहारा हौ। मेरो सौर्यमण्डल मात्र होइन, सिंगै ब्रह्माण्ड हौ। मेरो खुसीको गीत हौं। रोदनको संगीत पनि तिमी हौ।
मेरो प्रेरणा हौ तिमी। मेरो आवश्यकता हौ तिमी।
तिमी मेरो चेतना हौ। तिमी मेरो प्रिय हौ। तिमी मेरो पहिलो प्रेम हौ।
वास्तवमा तिमी मेरी आमा, अनि म किन नफस्नु त तिम्रो मायजालमा!
तिमीलाई जतिपटक सुने पनि धित मर्दैन। र त, म तिमीलाई सुन्न, सुनिरहन तड्पिइरहेको छु।
तिमीले अस्ति सुनाउँदै गर्दा अधुरै छाडेका कुरालाई कहिले पूरा गर्छ्यौ आमा? के तिमीलाई थाहा छ? तिम्रो नाम मलाई संसारकै सबैभन्दा सुन्दर अनि कर्णमधु लाग्छ? तिमो नाम लिँदा मात्र मभित्र अद्भुत शक्ति तरंगित भएझैं लाग्छ।
मेरो फेसबुकको भित्ता पनि तिम्रै नामले सजाएकी छु।
कति धेरैले आश्चर्य व्यक्त गर्छन्– कस्तो युनिक नाम?
उनीहरूले यसो भनिरहँदा म भित्रभित्रै खुसीले गद्गद् हुन्छु। लोमहर्षित हुन्छु म।
आफ्नो प्रिय मान्छेको नाम आफूसँगै जोडेर राख्दा युनिक सुनिँदो रहेछ आमा!
यसलाई मैले मुटुमा सञ्चित गरेर राखेकी छु। सबैलाई खुलाउन उपयुक्त ठान्दिनँ। यो मेरो गाडधन हो।
सोध्ने कतिपयप्रति कृतज्ञ मात्रै हुन्छु।
कतिपयका हकमा भने बेलसरह पोखिने गरेको छु। उनीहरूलाई भनिदिन्छु– मेरो नाम र थरको बीचमा आमा जोडिएकी छन्।
मैले आफ्नो नाम र आमाको नाम जोडेर आफूलाई पूर्ण बनाएकी छु।
यो सुनाउँदा साँच्चिकै मलाई एकदमै गर्व महसुस हुन्छ। आमा! तिम्रो नाम फेसबुकको भित्तामा मात्रै होइन। मलाई संसारसामु चिनाउने धोको छ।
यो नाम पटक–पटक उच्चारण गरिरहन मन छ मलाई।
तिमीले उत्तीर्ण गरेका ती शैक्षिक प्रमाणपत्रमा आँखा पुर्याउँदै तिमीप्रति सधैं नतमस्तक हुन्छु।
तिमीले भूगोल लिएर पढेको त्यो सर्टिफिकेट घरको ट्याङ्कामा भेट्दा मेरो खुसी दोब्बर हुन्छ।
थाहा छ आमा! ती सर्टिफिकेटका रङले मेरो खुसीलाई गाढा तुल्याउने हुन्।
यो खुसी बयान गर्ने शब्द भेटाउन असमर्थ छु।
म मेरो हृदयमा सधैं तिमीलाई अनुभव गर्ने कोसिस गर्छु। जबजब, तिमीभित्रको तिमीलाई खोज्न थाल्छु तबतब चारैतिर रंगीन अनि पारदर्शी देख्न थाल्छु।
तिम्रो सामिप्यमा जीवनमा मैले कहिले नदेखेका लौकिक, पारलौकिक रंगहरू पनि देख्न थाल्छु।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं म शून्यमा शून्य सरी हराएर तिमीलाई अनुभूत गर्न चाहन्छु। सदैव, सदाकाल, सदियौंसम्म!
तिम्रो माया यस शिशिरमा झुल्कने घामजस्तो!
तिम्रो माया पवनसरि यो सृष्टिकै प्राणजस्तो!
उदास नहुनु तिमी! मुस्कुराउनु सधैं! मन मस्तिष्कले। हरेक जन्ममा तिम्रै छोरी भएर जन्मिरहन पाऊँ!
आई लभ यु!