मेरो घर बैतडीको दोगडा केदार- ५ न्वाली। मेरा बुबा पहिलादेखि नै श्वासप्रश्वासको बिरामी। म १५ वर्षको हुँदा बुबाको बिमारी बढ्न थाल्यो। घरको आर्थिक अवस्था धेरै नाजुक थियो।
त्यतिबेला आफूसँग पैसा नभएपछि गाउँलेबाट ऋण लिएर बुबा एक्लै जिल्ला अस्पतालमा उपचार गर्न जानुभयो। तर त्यहाँ पनि उपचार गर्न नसकिने भएपछि अलिअलि औषधि लिएर उहाँ घर फर्किनु भयो
त्यसपछि उहाँलाई बिमारीले झन्-झन् च्याप्न थाल्यो। उहाँलाई सास फेर्न धेरै गाह्रो हुन थाल्यो। बुबाको उपचार गर्न हाम्रै गाउँका काकाले भारतको पिथौरागड लग्नु भयो। मेरो मनमा अनेकौं कुरा खेल्न थालिसकेको थियो।
उहाँलाई अस्पताल पुर्याइसकेपछि घरबाट फोन गर्यौं। कस्तो छ भनेर सोध्दा 'ठिक छ आज त' भन्दा मन अलि शान्त भयो। काकाले बुबालाई तीन दिनपछि घर लिएर आउनु भयो। हामीले डक्टरले अरु बिमारी के बतायो भन्दा केही बेरसम्म बुबा बोल्नु भएन। काकालाई सोध्दा नि उहाँले 'ठिक भइहाल्छ औषधि दिनु भाको छ' भनेका थिए।
त्यहाँ उपचार नभएको र चार दिनसम्म मात्र बाच्ने बताउनु भएको रहेछ। तर हामीलाई उहाँहरूले त्यस्तो केही बताउनु भएको थिएन। घर आएको दोश्रो दिनबाट उहाँलाई झन्-झन् बढी हुन थाल्यो।
त्यतिबेला म कक्षा ७ मा पढ्थें। परीक्षाको समय थियो। म परीक्षा दिन जान्थें तर बुबालाई सम्झिँदा मनमा अनेकौं कुरा खेलिरहन्थे। मैले जसोतसो भए नि ५ वटा परीक्षा दिएको थिएँ।
म परीक्षा दिएर घर फर्किंदा पनि अनेकौं कुरा मनमा खेलिहेका हुन्थे बुबा बारे। एकदिन विद्यालयबाट फर्किँदै गर्दा मैले आधा बाटोबाटै घरमा मान्छेको भिड देखें। मेरो मन झसंग भयो। शंका बुबामा गयो, कतै केही त भएन नि बुबालाई भनेर। तर बुबालाई बिसन्चो बढी भएको रहेछ।
म आत्तिँदै दौडेर घर पुगें। बुबाको नजिक बसेर रुन थालें। एकातिर बुबाको चिन्ता अनि अर्को तिर भोलिपल्ट दुई वटा विषयको परीक्षा दिनु भएकाले चिन्ताले छटपटी भइरहेको थियो।
म बुबाकै छेउमा बसिरहेको थिएँ। बुबासँग न त केही कुरा भयो त्यो दिन न त उहाँलाई केही खुवाउन सकेँ। रुँदारुँदै झमक्क रात पर्यो। रात परेपछि बुबा बाहेक सबैले खाना खायौं र सबै एकै कोठामा सुत्यौं। त्यो दिन भिनाजु र दिदी पनि आउनु भएको थियो।
हामी कुरा गर्दै थियौं करिब ११ बजेसम्म। मेरो भोलिपल्ट दुई विषयको परीक्षा दिनु भएकाले चिन्ता हुन् थालेको थियो। म बुबाको हात मसारेर उहाँकै छेउमा सुतें। मम्मी निदाउनु भएको थिएन। उहाँ रुँदै हुनुहुन्थ्यो।
म केहीबेर सुतेको मात्र थिएँ, मम्मीले रुँदै मलाई उठाउनु भयो। मम्मीले मलाई तेरो बुबालाई बोलाउनू भनेपछि मैले बुबालाई बोलाउँदा उहाँ बोल्नु भएन। त्यतिबेला मेरो मनलाई आभास भइसकेको थियो बुबाले हामीलाई छोडेर गइसक्नु भएको छ भनेर।
रुँदै मैले काकाकाकीलाई बोलाएँ। काकाले बोलाउँदा पनि बुबा बोल्नु भएन। उहाँले हाम्रै नाताले बाजे पर्नेलाई बोलाउनु भयो। उहाँले नाडी हेर्नु भयो। उहाँले बुबा बितिसक्नु भएको बताउनु भयो। त्यसपछि रुवाबासी सुरु भयो।
मलाई मम्मीले बाबालाई पानी दिनू भन्नु भयो। मैले पानी दिएँ। त्यसपछि रात भएकाले गाउँका केही मान्छे आएर बुबालाई बाहिर निकाल्नु भयो। बुबालाई बिहान ७ बजेसम्म बाहिर राख्नुभयो। त्यसपछि उहाँलाई आर्यघाट लैजान तयारी गर्दै थिए।
गाउँका सबै मान्छे आएर हेरिरहेका थिए, रोइरहेका थिए। उहाँको अन्तिम संस्कारको समय भयो। त्यतिखेर मलाई एकचोटि बुबालाई काँधमा उठाउनु भन्नुभयो। मैले मलामी नै जान्छु भन्दा कसैले मेरो कुरा मानेनन्।
'तेरो हातले हुने पनि केही हैन, क्रिया गर्नु हैन। तेरो परीक्षा पनि दिनुछ' भनेर सम्झाउनु भयो।
मैले रुँदै जिद्दी गरें। त्यही पनि मलाई जान दिनु भएन। उहाँलाई घाटमा लग्नुभयो। मेरो कपाल काटियो। १० बजेदेखि मेरो परीक्षा भएकाले मलाई ९:३० मा विद्यालय जानु भनियो तर मेरो मन धेरै रोइरहेको थियो। मनमा कसरी दिउँ परीक्षा, पढेको नै छैन झन् दुई वटा विषयको दिनुछ भन्ने भयो। बाबाको यादले झन् सताइरहेको थियो। म रुँदै विद्यालय गएँ।
१० बजेबाट परीक्षा सुरु भयो। मैले पीडा दबाएर परीक्षा दिएर घर फर्किएँ। त्यसपछि म ४/५ दिन विद्यालय गइनँ। मलाई मम्मीले रुँदै 'घर बसेर के गर्ने है, स्कुल जानू' भनेपछि केही दिनपछि विद्यालय गएँ।
मैले जुन दिन बुबालाई गुमाएको थिएँ र परीक्षा दिएको थिएँ, त्यो पेपर म्याडमले चेक गरिसक्नु भएको रहेछ। मलाई उहाँले उठाउनु भयो र सोध्नु भयो- 'मनोज तिमीले आफ्नो बुबा बितेको दिन यति लेख्न सक्नु ठूलो कुरा हो।'
मैले त्यो दिन दिएको परीक्षामा सबै प्रश्नको उत्तर लेखेको थिएँ र पूर्ण अंक प्राप्त गरेको रहेछु। मैले त्यसपछि अरु कक्षा पास गर्दै गएँ। घर छोडेर अहिले बैतडीको बिरेन्द्र मावि साहिलेकमा कक्षा १२ मा अध्यन गरिरहेको छु।
बुबाले छोठेर गएपछि मनमा ठेस लागेको थियो। अहिले पनि उहाँ हामीमाझ नहुनुको पीडामा पौडिँदै छु। तर यात्रा जारी नै छ। जिम्मेवारी पनि थपिँदै छ। मैले धान्न सक्छु या सक्दिनँ तैपनि जिम्मेवारी बोक्ने प्रयासमा छु। बुबा, हजुरलाई सधैं सम्झिरहेको हुन्छु। श्रद्धासुमन बुबा।