जम्मा दुई मिनेटमा आउने रहेछ, मोबाइलमा गुगल म्याप हेर्दै हतारिएँ। दौडिँदै बस रोकिने ठाउँमा पुगें। दुई मिनेट त भइसकेको थियो तर बस अझै आएको थिएन। कतै बस छुट्यो कि भनेर डराउँदै फेरि म्याप खोलेँ। धन्न डिले भएछ।
यो बस छुटेको भए त ५० मिनेटपछि मात्र अर्को बस आउने रहेछ, लामो सास फेरेर स्वा-स्वा गर्दै आफैलाई भनेँ।
त्यो बस-स्टपमा म एक्लै थिएँ। मैले मात्र ५५ नम्बरको बस कुरेकी थिएँ। बाटो पारि ९ नम्बरको बसको पर्खाइ भने कम्तीमा पनि ३५ जनाले गरेका थिए होलान्। म्यापमा अझै डिलेड थ्री मिनेट भनेर देखाएको थियो।
पारिपट्टि ९ नम्बरको बस आयो। बस पहिले नै भरिभराउ थियो। मान्छेहरू तँछाडमछाड गर्दै बसमा छिर्ने कोसिस गरिरहेका थिए। जेनतेन सबैजना बसमा छिरे। म भने त्यही हेर्दै टोलाइरहेँ।
यत्तिकैमा मेरो ५५ नम्बरको बस पनि आयो। बस पूरै खाली थियो। मुस्किलले दस जना मान्छे थिए होलान् त्यो पूरै बसमा। तर मलाई बस चढ्न मन लागेन।
बसको ढोका खुल्यो। ड्राइभरले मेरो मुखतिर पुलुक्क हेर्यो। मैले नाइँमा टाउको हल्लाएँ। बसको ढोका बन्द भयो र बस हिँड्यो। बस देखिने बेलासम्म त्यसैलाई हेरिरहेँ। सूर्यास्तको समय थियो। अलि पर पुगेपछि त्यो बस त्यही सूर्यको किरणसँग विलीन भयो।
'के बस गयो?,' लगभग मेरै उमेरकी हरियो कपाल भएकी युवतीले मलाई अंग्रेजीमा सोधिन्।
म झस्किएँ र यसो वरपर हेरेँ। त्यहाँ हामी दुई जना मात्र थियौँ।
मैले भर्खर छुटेको बताएँ।
उनले बस अलिकतिले छुटेकोमा दुःख मान्दै मोबाइल हेर्न थालिन्। म त्यहीँ उभिइ नै रहेँ।
'ओ म्यान! दि नेक्स्ट बस इज अलमोस्ट वान आवर फ्रम नाओ। आई एम अगैन गन बि लेट टु रिच होम,' भन्दै छट्पट्टिन थालिन्।
उनलाई हेरिरहेँ। उनी एकछिन त्यहीँ यता र उता हिँडिरहिन्। करिब पाँच मिनटपछि एउटा पहेँलो गाडी आएर हाम्रो अगाडि रोकियो। उनी त्यस गाडीमा चढिन्, आँखा झिम्कन नपाउँदै गाडी त्यहाँबाट गायब भयो।
उनलाई घर जान निकै हतार थियो। तर मलाई भने त्यहाँबाट कतै जानै मन लागेन। १०-१२ मिनेट अघिसम्म त म पनि हतार-हतार गर्दै कतै बस छुट्छ कि भन्दै आत्तिएकी थिएँ। मलाई अचम्म लाग्यो, अचानक के भयो त मलाई ? एकछिन सोचमग्न भएँ।
५५ नम्बरको बसले पुर्याउने गन्तव्य मलाई मेरो घर लागेन। अनि सोचेँ, हरियो कपाल भएकी युवतीलाई घर जानु थियो र त हतार भएको थियो। त्यति आत्तिएकी थिइन्। तर म त केवल मेरो शरीरलाई तीव्र गर्मी, वर्षा र हिउँबाट जोगाउने ठाउँमा जाँदै थिएँ। त्यही भएर पनि मलाई उनलाई जस्तो नभएको होला!
सधैं घरमै हुँदा कहिल्यै घरको महत्त्व थाहै पाइनँ। आज घरमा भएर पनि घरबाट टाढा छु र बल्ल बुझ्दै छु घरको सही मतलब। मानव चरित्र नै यस्तै, जहिले जे चिज गुम्छ त्यतिखेर मात्र त्यो चिजको बढी महत्त्व हुन्छ। आज मेरो शिरमाथि छत छ, वरपरबाट चार वटा भित्ताले घेरेको छ, झ्याल पनि छ र ढोका पनि। सामान्यतया यसैलाई नै घर भनिन्छ तर मलाई यो मेरो घर लागेन।
चुक्कुल लागाएर चारैतिरबाट बाहिरका मान्छे कोही आउने ठाउँ नहुँदा पनि असुरक्षित महसुस हुन्छ। सुरक्षित त तब महसुस हुन्थ्यो जब बाबाको आवाज सुनिन्थ्यो, मम्मीको हाँसो गुन्जिन्थ्यो। मम्मीले धेरैजसो गुनासो गर्नुहुन्थ्यो मसँग, रिस त उठ्थ्यो तर मनको कुनै कुनामा त्यो गुनासो पनि प्यारो लाग्थ्यो। बहिनीसँगको कहिले जिस्काइको त कहिले लडाइँको रङले घरलाई घर बनाउँथ्यो।
बिहान उठ्न पहिल्यैदेखि अल्छी गर्थेँ। मम्मीले कम्तीमा पनि पाँच चोटि छोरी उठ त भन्नै पर्थ्यो। त्यति गर्दा पनि कहिलेकाहीँ लल भनेर फेरि सुत्थेँ। मम्मीले चिसो पानी मुखमा हाल्दिएपछि मात्र उठ्थेँ कहिलेकाहीँ त। राती सुत्ने बेलाको कथा पनि यस्तै नै हुन्थ्यो। कम्तीमा पनि दस चोटि, 'अब मोबाइल बन्द है' भन्नुहुन्थ्यो मम्मीले अनि बिस चोटि ' म इन्टरनेट बन्द गर्दिन्छु।' अन्तिममा गाली नै खाएर फन्किँदै सुत्न जान्थेँ।
दिउँसो पनि बाबा, मम्मी, मेरो र बहिनीको केही न केही कुराका विवाद, वार्ता र सहमतीहरूले गर्दा आवाजहरू बन्द हुँदैनथे। घर त बिहानदेखि बेलुकासम्मको सन्नाटा मेटाउने तितामीठा आवाजहरू पो रहेछ।
पहिलेपहिले आफ्नै कोठाको खाटमा बसेर खाना खान पाउँदा आनन्द लाग्थ्यो। कसैको किचकिच सुन्नु पर्दैन भनेर ढिलो गरी रमाईरमाई खाना खान्थेँ। अहिले पनि खाटमै बसेर ढिलो गरीगरी खान्छु तर त्यो आनन्द अहिले खल्लोपनमा परिणत भएको छ। एक छाक मात्र भए पनि सबैसँग सँगै बसेर खाने ठूलो धोको बनेको छ। घर त खाना खाने बेलाको जमघट, त्यो गफ, त्यो हाँसोको गुन्जन पो रहेछ।
स्कुलबाट आउनासाथ मम्मीलाई पहिला देख्दा 'बाबा खोइ मम्मी?' र बाबालाई पहिला देखेँ भने 'मम्मी खोइ बाबा?' र बहिनीलाई मात्र देखे 'मम्मी-बाबा खोइ त कान्छी?' भनेर सोध्थेँ। अहिले कलेजबाट ठूलो खाली कोठामा फर्किन्छु जहाँ कसैलाई देख्ने आश छैन। त्यहाँ छ त केवल न्यास्रोपन। घर त आफू बाहिरबाट आउँदा हँसिलो मुख लिएर स्वागत गर्ने मुहारहरू पो रहेछ।
अमरसिंह स्कुलमा पढ्दा मेरा कति साथीहरू घर छोडेर पोखरा आएका थिए। पोखरा पनि अमरसिंह स्कुल नै पढ्ने भनेर आएका थिए। त्यतिखेर कहिलेकाहीँ क्लासहरू नहुँदा अब कता जाने, के गर्ने त यो खाली समयमा भन्ने कुराहरू हुन्थे। साथीहरूले 'म त रुममा जान्छु' भनेको सुन्दा अचम्म लाग्थ्यो। किन रूम भन्या होला, घर जान्छु भनेको भए भइहाल्थ्यो नि जस्तो लाग्थ्यो। अहिले बल्ल बुझ्दैछु त्यो चारभित्ते कोठा उनीहरूका लागि किन कहिल्यै घर बन्न सकेनछ भनेर।
'ओइ! कति टोलाएकी!' ढाडमा प्याट्ट हान्दै श्रेयाले भनी।
श्रेया म बस्ने ठाउँ नजिकै बस्छे। नेपालीहरू आक्कलझुक्कल मात्र भेटिने हुँदा भेटिएका नेपालीहरूसँग राम्रै चिनजान थियो मेरो। श्रेयासँग पनि कहिलेकाहीँ कलेजबाट सँगै फर्किने मेसो मिल्थ्यो। हाम्रो पढाइ फरकफरक भएको हुँदा सधैं सँगै फर्किने मेसो भने जुर्दैनथ्यो।
'अघिदेखि हात हल्लाइराछु, नामै लिएर पनि बोलाएँ कति फेरि त, तर वास्तै छैन। नढाँटी भन् त तेरो ध्यान कहाँ थियो? के सोचेर बसेकी थिइस्?' उसले निकै चासो राखेर सोधी।
'हैन, केही हैन। आज बिहानैदेखि क्लासहरू थिए। नमज्जाले थाकेकी छु। त्यही थकानले गर्दा होला,' मैले सकेसम्म कुरा टार्नै खोजेँ।
'हेर् नानी, कुरा त अर्कै केही छ पक्कै पनि तर अहिले भन्ने मन छैन जस्तो छ। ठिकै छ जुन दिन मन लाग्छ त्यही दिन भन्लिस्।'
म उसको कुरा सुनि मात्र रहेँ। एकछिन पूरै सन्नाटा छायो।
'अनि के हो त घर जाने होइन? ', मौनता हटाउने उद्देश्यले प्रश्न गरी उसले।
केही बेर उसको मुखमा हेरेँ र मुसुक्क हाँस्दै भनेँ, 'जाने हो, दुई वर्षपछि।'