पहिलो पटक उनलाई भेट्दा उनी भूकम्पले भत्काएको गुम्बाको अघि उभिएर यसको पुनर्निर्माणको योजना बुन्दै थिए। यसलाई जसरी पनि उठाउने। पुरानै स्वरूपमा फर्काउने। अझ आफू वडा सदस्य भएकै बेला यो काम सम्पन्न गर्ने। भेट्नासाथ हामीसँग उनले राखेको पहिलो प्रस्ताव पनि यो नै हो।
यसपछि गुम्बाको छेउमा एउटा सार्वजनिक शौचालय। कुरा गर्दै जाँदा उनले अरू योजना अघि सारे, ‘साल्मे मूला खेतीका लागि प्रख्यात छ। यहाँका बालीमा आजसम्म कीरा लागेका छैनन्। यहाँको सिन्की काठमाडौंका गल्ली गल्लीमा तीनपानेको सितन बन्छ। आलुतामाको साथी बन्छ। नेवारी खाजा सेटभित्रको एक परिकार यहीँको सिन्की हो। मान्छेले अन्तैको सिन्कीलाई समेत यहाँको भनेर बजारमा बेचिसके। अब आफ्नै पालामा यसको ब्राण्डिङ गरेर बजार पठाइयो भने यो ठाउँको पहिचान रहन्छ। सिन्की गाउँ नै सही, तर यो माटोलाई काठमाडौंले चिनोस्।’
उनको योजना लोभलाग्दो थियो। हामीसँग छुटिनु अघि सारांशमा उनले आफ्नो योजना दोहोर्याएका थिए।
भनेका थिए, 'ल है तपाईंहरूको पनि यो गाउँमा केही कन्ट्रिब्युसन हुनुपर्यो।'
हामी सक्नेजति केही गर्छौं भन्ने छोटो उत्तर दिएर झरेका थियौं।
दोस्रोपटक हामी उनको गाउँ बास बस्नेगरी पुग्यौं। छोरा सुताएर हामी बसेको घरमा उनी आए। नुन हालेको घ्यू चिया हामीलाई अफर गरे। समाजका प्रत्येक घर उनलाई आफ्नै जस्तै लाग्छ। प्रत्येक घरमा कुन सामान कहाँ छ उनलाई थाहा छ। चियापछि हाम्रो खाना आयो। दोर्जे दाइले खाएर आएको भनेर सुरूमा मानेनन्। जाडोमा अलिअलि थप्दा केही फरक नपर्ला भनेपछि उनी हामीसँगै खाना खान तयार भए। खानापछि उही चियाको पालो थियो। समुन्द्र सतहभन्दा करिब २२०० मिटर माथिको गाउँमा हामीलाई जति चिया थपे पनि कुनै अप्ठ्यारो थिएन।
चियासँगै यी दाइसँग कुराकानी सुरू भयो। कुरा उनैले निकाले। मेरो घर सोधे। पूर्व धनकुटा भनेपछि तीनजुरे सोधे। बसन्तपुरको उकालो सम्झाए। पाख्रिबास सोधे। आफ्नो ठाउँभन्दा धेरै टाढाको भर्खर चिनेको कुनै मान्छेले मलाई पहिलोपल्ट मेरै जिल्लाको चिनजान हुँदै गरेको मान्छेले झैं गाउँठाउँको घुमाइरहेको थियो। मेरा कान टाठा भए। हठात् चियाको कप भुइँमा राखेर म जोस्सिएँ,‘दाइ उतैबाट बसाइसरी आउनुभएको हो कि?’
उनले संक्षेपमा आफूले घुमेको ठाउँको वर्णन गरे।
‘जिन्दगीमा धेरै काम गरियो सर। शेर्पा गाइड भएर हुलका हुल खैरे लिएर हिँडियो। कहिले वर्षमा दश पटकसम्म सगरमाथा बेसक्याम्प पुगियो। कहिले हिउँ काटेर बाटो बनाइयो। कहिले भोकै बेसक्याम्पमा रात बिताइयो।
‘तीनजुरे हुँदै ताप्लेजुङको ट्रेकलाई हामी सर्ट ट्रेक भन्थ्यौं। खच्चरलाई भारी बोकाएर कति हिँडियो कति।’ दोर्जे दाइ त हाम्रो घरैअघि देखिने लसुनेको डाँडोबाटै अघि लागेका रैछन्।
‘त्यहाँबाट देब्रे एक फन्को घुमेको भए त मेरै घर देखिन्थ्यो दाइ।’ कुरै कुरामा मैले उनलाई भनेको थिएँ।
रात ढल्कँदैछ। दोर्जे दाइ उठे। बाहिरको चिसो भित्र नआओस् भनेर ढोका लगाए। अघि माया दिदीले तयार गरेर राखेको थर्मसको चिया कपमा हाले। मेरो कपमा थपे। मैले पुग्यो भन्नुअघि उनैले भने, ‘यसले चिसो काढ्छ। यहाँको अग्र्यानिक टि हो यो।’
शेर्पा मिश्रित लवजको बीचबीचमा यिनको अंग्रेजी लवज अग्र्यानिक भन्दा कम थिएन। रातको दश बज्न थोरै मिनेट मात्र बाँकी छ।
‘एक बारको जुनीमा मैले नेपालमा धेरै गर्यो। शेर्पाको भारी बोकेर सगरमाथाको फेदी पुग्यो। तिनैको कृपाले स्वीट्जरल्याण्डका भीर, युकेको होचो पहाडदेखि उनैको संगतले थोरै तिनो बोल्नु पनि जान्यो।’ उनले चियाको कप भुइँमा राखे। अर्को हातले मुख पुछे।
‘समाज सेवा पनि मैले धेरै गर्यो। समाजसेवा गर्दागर्दै नचिताएको राजनीति पनि गर्न पुगियो। वडासदस्य भएर वडाको विकासका लागि केही गर्नु पनि खोज्यो। मैले गर्नु बाँकी नेपालमा अब केही छ जस्तो लाग्दैन।’
उनले चियाको कप मुखमा पुर्याउनुअघि मैले सोधिहालेँ, ‘यी सबैमा तपाईंले के भिन्नता देख्नुभयो?’
‘नेपाली र खैरेकोबीचमा धेरै भिन्नता छ सर। नेपाली आफू पावरमा छ भने अरू कसैलाई मान्छे गन्दैन। उसले बोलेको गल्ती नै किन नहोस्, गल्ती भो भनेर स्वीकार्दैन। उसको लागि जानीजानी आफूभन्दा तल्लो तहको मान्छेलाई दुख दिनु नै पावर हो। नेपाली पावरको मिस युज गर्छ। खैरे त्यस्तो हुँदैन। उसलाई काम चाहियो। भोलिपल्ट हिँड्नुछ भने हामी अघिल्लै दिन भारी कस्थ्यौं। हाम्रो बोसले हामीलाई विश्वास गर्थ्यो। एउटा बोस एउटा पोर्टरसँग बसेर बियर खाइरहेको हुन्छ। नेपाल नबन्नुमा नेपालीले पावरको मिसयुज गरेकोले हो भन्ने लाग्छ मलाई। जुनसुकै ठाउँको अलिअलि पावर भएको मान्छे किन नहोस् ऊ आफूबाहेक अरूलाई स्वीकार गर्दैन।’
लामो उत्तर आउने प्रश्नको एक भागको उत्तरमा उनले सिङ्गो नेपालको तस्वीर देखाए। एक चुस्की चियाको स्वाद लिए। उनको उज्यालो अनुहार उज्यालै छ।
‘अब तपाईंको योजना के छ त?’
अर्को चुस्की चिया तानेर हठात् बोले,‘अब विदेश जाने सर। युके। हामी बेलायत भन्छ। खेरै युके’ गम्भीर उत्तरमा उनको हाँसोको भोल्युम अझ बढेको थियो। उनले मफलरले मुख पुछे। दायाँ हातले निधारमा मफलर दौडाए।
सोचेको थेँ, भन्लान् ‘भत्किएको गुम्बा बनेको छैन। त्यसलाई उठाउनु छ। साल्मेको मूलाको ब्राण्डिङ बाँकी नै छ। एउटा सार्वजनिक शौचालयको योजना लिएर पालिका, प्रदेश, संघ धाउनुछ। तर उहिल्यै तीन पटक पुगेर अब नआउने भनेर फर्किएको देश उतै बस्नेगरी जाने शेर्पा दाइको उत्तर सही त छ?’
सायद मेरो अनुहारको भाव बुझेर उनले थपे, ‘श्रीमतीबाहिर पठाइसक्यो। दुई छोरा छन्। एउटा शेर्माथाङ पढ्नु जान्छ। अर्कोलाई वैशाखदेखि पठाउनुछ। श्रीमतीले विदेशबाट पठाएको पैसाले छोराहरूको खर्च टरेको छ। यता राम्रो शिक्षा, स्वास्थ्य पाउनु गाह्रो। सिस्टम बनाउनु त्यो भन्दा गाह्रो।’
चकमन्न रातमा एकैछिन सन्नाटा छाएपछि कप भुइँमा राखेर उनैले थपे, ‘उहिले शेर्पा भनेपछि खेरै हुरूक्कै। हाम्रा कति साथी उतै बसे। म मानिनँ। अब छोराहरूको भविष्यको लागि जानैपर्छ। तर प्यारो त नेपाल नै छ है सर। नेपाल पनि काठमाडौं हैन, साल्मे।’
रातको दश बज्यो। दाइ उठे। मैले थप प्रश्न गरिनँ। हाम्रो ओछ्यान जाँचे। हामीलाई चिसो हुन्छ भनेर एकएक वटा कम्मल थपे। भोलि भेट्ने शर्तमा बाहिर निस्किए। ढोका लाग्यो। ‘गुडनाइट है सरहरू’ केही सेकेण्डमा ढुङ्गामाथि टेकेको लामो गम्बुटको आवाज पनि हरायो। दोर्जे दाइ छोरालाई सुताउँदै होलान्। उनैले मिलाइदिएको कम्मलभित्र हामी जतनले पस्यौँ।
हामी फर्किनुअघि दोर्जे दाइ स्कुले ब्याग पछाडि भिरेर उकालो चढिरहेका थिए। छोराको काँधमा ठिक्क हुने यो ब्यागले उनको पाखुरातिर झरेर दु:ख दिइरहेको थियो।
दायाँ हातको बुढी औंला छोडौं झैँ गरेर कान्छो छोरो दायाँतिरै लम्किरहेको थियो। अर्को अलि अघि छ। यहाँबाट उसको स्कुल हिँडेर दुई घण्टा टाढा छ। कुनै दिन साथी स्कुल गएन भने ऊ पनि जाँदैन। साथी नगएपछि साथीको बुवा उनीहरूलाई छोड्न जाँदैनन। दोर्जे दाइ कान्छो छोरालाई एक्लै छोडेर जान मिलेन। जङ्गलमा वनभालु लाग्छ। हिजै मात्रै हो छोरो साथी स्कुल नगएपछि बीचैबाट फर्किएको। स्कुल नआएको भनेर आज सरको पिटाइ पो खाने हो कि!
कान्छो छोरो सँगै दोर्जे दाइ छेलिए।
उनकै नामसँग मिल्ने दोर्जे हिमाल सुन्तला रङ्गले पोतिएको छ। त्यहाँबाट आएको सिरेटो सिधै साल्मेको डाँडामा ठोक्किएको छ। एकफेर पछाडि फर्किएर हेरेँ। हामीले हेर्दा साल्मे, साल्मेले हेर्दा हामी छेलियौँ। साल्मेसँगै दोर्जे दाइको घर पनि। शेर्पाज आर ब्रेभ सुनिरहने यी दोर्जे दाइको छोराले आज साथी भेट्यो कि भेटेन होला! साल्मेमा घाम पारिलो हुनुअघि नै हामी साल्मे कटिसकेका थियौं।