मायाका थुप्रै परिभाषा होलान्। तर जतिधेरै परिभाषा भएता पनि सन्तान र बाआमा बीचको मायाको परिभाषा शब्दमा उतार्न सकिँदैन। सन्तानलाई दुख्दा बाआमालाई मर्मस्पर्शी पीडा हुन्छ र उत्तिकै बाआमालाई दुख्दा सन्तानलाई।
यस्तै सन्तानको भविष्य बारेमा चिन्ता मेरो मामा माइजूलाई परेको छ यतिबेला।
गाउँबाट सहर उच्च शिक्षाको लागि छिरेको छोरालाई सम्झेर घरिघरि रसाउँछन् माइजूका आखाँहरू। भित्रभित्रै घोतलिन्छ मामाको मन। म भने मामा माइजूको छटपटी नजिकबााट नियाल्दै यसै टोलाइरहन्छु। हजुर बा टुसुक्क पिँढीमा बसेर एकोहोरो नातिलाई हेरिरहनु भएको थियो।
माइजू सुकुरसुकुर गर्दै भाइलाई टीकामाला लगाइदिन लाग्नु भो। अन्तत: भाइ मुटुभरि परिवारको माया साथीसंगीको सम्झना बोकेर बाटो लागे। गाडीमा बिदाइका हातहरू हल्लाउँदै गर्दा माहोल एकदमै भावुक बन्यो।
भर्खर एसइई दिएर उच्च शिक्षा हासिलको लागि सहरतर्फ प्रस्थान गर्दै गरेको भाइलाई पनि निराशाले ढपक्कै छोपेर र मुहार मलिनो बनेको थियो। त्यो बिरानो सहर बिराना साथी कस्तो होलान् भन्ने पीरले मनमनै खिचडी पाकिरहेको थियो।
यत्तिकैमा भाइको गाडीले सिमलको रूख काटेर पल्लो डाँडामा पुगिसकेको थियो। तै पनि माइजूको मनले मानेन र घर परको तालानिर गएर मुन्टो तन्काइ तन्काइ परपर चिहाउनु भयो। मामाले पनि पल्लो घरको धाराबाट आखाँले भ्याउन्जेलसम्म हेर्नु भो। तर भाइले त्यतिन्जेल थुप्रै डाँडा काटेर टाढा गइसकेको थियो।
अघि भर्खरसम्म मामा माइजूको आँखामा घुमेको भाइ एकाएक उहाँहरूको मन मस्तिष्कमा घुम्दै काल्पनिक कथाको मुख्य पात्र बन्न पुग्यो। माइजू पिँढीमा रहेको सुकुल तान्दै लामो सुस्केरा हाल्दै पीडा पोख्न थाल्नुभो।
'भान्जी यस्तै त रहेछ जिन्दगी, बच्चा जन्मायो हुर्कायो अनि ठूला भएपछि पढ्न कमाउन जानुपर्ने बाध्यता। गाउँबाट सहर, सहरबाट परदेश।' मैले माइजूको कुरामा 'हो मा हो' थप्दै परेवाको गुड देखाउँदै माइजूको बहकिएको मन केही हदसम्म थमथमाउन खोजेँ।
'हेर्नुस् न माइजू आखिर यी परेवा जोडीले अहिलेसम्म कति अण्डा कोरले, हुर्काए, बढाए तर पखेँटा हालेपछि ती बच्चा सबै उडेर गए। आखिर गुडमा त जोली परेवा मात्र त छन्। त्यसैले माइजू सृष्टिको चक्र पनि यस्तै छ। जीव जनावरदेखि मानवसम्म चक्रपथमा दिनभरि परिक्रमा गर्ने जुनेली यातायातजस्तै एकोहोरो घुमिरहने।' यत्तिकैमा माइजूले फेरि केही उत्सुकता जनाउनु भो।
'भान्जी हजुर त काठमाडौंमा बस्न थालेको पनि वर्षौं भयो कस्तो छ माहोल?', माइजूको प्रश्नलाई त्यहीनिर रोक्दै म केही वृत्तान्त सुनाउन थालेँ।
'माइजू मैले जे जति बुझेँ, काठमाडौं एउटा त्यस्तो खाडल हो जहाँ गएपछि कोही केही बनेर बाहिर निस्कन्छ, कोही बिग्रिएर त्यहीँ भासिन्छ।' त्यसो भन्दै के थिएँ माइजु झस्याङ्ग झस्किँदै फेरि आफ्नो कुरा थप्नुभो।
'हो रहेछ भान्जी तल्ला घरे कान्छा बाबुको छोरा विमलेस एकदमै मेहेनती, पढाइमा उत्तिकै अब्बल मायालु थियो। जब पछि काठमाडौं पढ्न गयो त्यो विमलेश विमलेश रहेन। एकाएक मुन्द्रे भयो, नशाबिना बस्न छोड्यो। पहिला पकेटमा कलम भेटिने ठाउँमा पछि चुरोट भेटिन थाल्यो। निकै बिग्रियो। बिचरा बाआमाले बेसी खेतमा वर्षभरि दु:ख गरेर उब्जाएको अन्न बढाएर बेचेर काठमाडौं पढाए। तर छोराले बाआमाको पैसा मात्र सकेन, त्यो पसिनासगँ ड्रग्स र चरेसको मोलमोलाई गर्न थाल्यो। बाआमाले वर्षभरि खेतकाल्नामा दु:ख गरी कमाएको दाम उसले भट्टीमा चुरोटका ठुटा र रक्सीका बोतलहरूमा दाज्न थाल्यो। क्लब डिस्को र रात्रिकालीन रोधिघरहरूमा धुवाँसँगै यौवनको चास्नीमा डुब्न थाल्यो। तर त्यही पर विपना बैनीको छोरा आफैं स्कलरसिपमा नाम निकाल्दै पढ्दै गएर अहिले डाक्टर बन्यो। यसरी उहीँ उमेर समूहका बच्चा कोही केही बनेर देशकै अग्रस्थानमा छन् कोही रिह्याब सेन्टरका बन्द कोठामा आफ्नो भविष्य थुनिरहेका छन्। तर भान्जी यस्तै कति होलान् बिग्रेका बच्चा? कति होलान् सप्रेका?? कति सन्तान होलान् जसले कोठा खोजेर पढ्न बस्ने बहानामा कोठाकै अपमान गर्दै किताब र कापीले टनाटन हुनुपर्नेमा भुइँभरी चुरोट र वियरका क्यानहरू छरपष्ट पार्ने। बाबाआमा स्वदेश होस् या विदेश बच्चाको पढाइ र उज्ज्वल भविष्यको कामना साथ पसिनासँग पैसा साट्ने तर सन्तान त्यो मर्म नबुझ्ने छन्।
'हो माइजू अधिकांश बिग्रने उमेर पनि यही रहेछ बन्ने र सोच्ने समय पनि यही रहेछ। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड हो यो उमेर र त्यो काठमाडौं सहर। हामी स्वयम् साक्षी छौ माइजू यस्ता चर्तिकलाको।
पहिले पहिले कलेज छेउछाउका चिया पसलहरूमा उत्तिकै कलेज ड्रेसमै केटाकेटी झुम्मिरहन्थे। लाग्थ्यो त्यो देख्दा हैन यो काठमाडौंमा चुरोट खानु फेसनजस्तै रहेछ कि क्या हो? निर्दोष भर्खर गाउँबाट सहर छिरेको फुच्चेको हातमा पनि महिना दिन नहुँदै जबर्जस्ती धुवाँ उडाउन सिक्दै गरेको देखिन्थ्यो। तर माइजू अहिले केही हदसम्म सुधार देखिन्छ। काठमाडौं महानगरले वर्षौं वर्षअघि देखि हामी अभिभावकले चाहेको कुरालाई केही हदसम्म अगाडि बढाएको छ। सार्वजनिकस्थल लगायत अन्य ठाउँहरूमा धूमपान तथा सुर्तिजन्य पदार्थको खुलमखुला बिक्रीवितरण र प्रयोग नगर्न सूचना सम्प्रेषण गरेको छ। जसले गर्दा केही सुधारका बाछिटा यत्रतत्र छिटपुट पर्न थालेका छन्। तर माइजू के गर्ने हामो देश राजनीतिको चास्नीमा चुर्लुम्म डुबेर होला जहाँ त्यहीँ हरेक कुरामा राजनीति चल्छ। अहिले केही हदसम्म सुधारको बाटो कोरेको महानगरलाई फेरि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ तत्काल सुर्तिजन्य पदार्थको रोक कार्यान्वयन नगर्न भन्दै। यस्तै छ माइजू देशको बिडम्बना। भविष्यका कर्णधार कोही बन्न नपाउँदै परदेशको बाटो तय गरेका छन्। कोही युवाहरू कुलतको दलदल त कोही भविष्यको खाका कोर्ने चक्करमा अड्किरहेका छन्।'
यति वृत्तान्त एकोहोरो सुनिसकेपछि माइजू मनिल मुहारबाट लामो सुस्केरा हाल्दै करेसाबारीतिर झर्नुभो।
साँच्चिकै हरेक आमाबुवालाई सबैभन्दा बहुमूल्य सम्पत्ति भनेकै छोराछोरी लाग्छ। जसले गर्दा भन्छन् सन्तानको पीरको घाउले नमज्जाले छाती पोल्छ। यो कुरा म स्वयम् आमा भएपछि पनि बुझेँ। साँच्चिकै बिछट्टै हुँदो रहेछ।