उमेर: २३ वर्ष
शिक्षा:भर्खर स्नातक तह उत्तिर्ण
पेशा: सरकारी कर्मचारी
रुचि: हिजोसम्म मनमा हजारौं सपनाले यो गर्ने कि त्यो गर्ने भन्ने सौदाबाजी गरेकोमा अनिर्णीत तर अबको टार्गेट अर्को वर्षसम्म शाखा अधिकृत हुने
नाम ननिस्केको भए के हुन्थ्यो थाहा छैन तर सरकारी कर्मचारी बनिसकेपछि यसैमा राम्रो गर्ने, यसमै भविष्य सोच्ने, करियर यसमै बनाउने अभिलाशा।
***
चार ठाउँमा लिखित परीक्षा दिएँ, तीन ठाउँमा नाम निस्किएन। आशा नगरेको एक ठाउँमा मात्रै लिखितमा नाम निस्कियो। लिखितमा आफ्नो नाम निस्केको पल मनमा के भयो? केही सोच्न सक्दिनँ। मभन्दा खुसी मेरी आमा हुनुभयो, 'मेरी छोरी पनि सरकारी जागिरे भई' भनेर तर आमालाई अन्तर्वार्ता हुन्छ भन्ने थाहा थिएन।
अन्तर्वार्ताको त्रासले मनमा ढ्याग्रो बजाएको थियो, जसोतसो अन्तर्वार्तामा सहभागी भएँ। ठूलै अपराध गरेर न्यायाधीशको कठघरामा बयानको लागि उभ्याइएको अभियुक्त जस्तै थिएँ त्यो क्षणमा।
म एक्लो छु, वरिपरि ६ जना अन्तर्वार्ता लिन बसेका अपरिचित सरहरू। बाहिर सबै कुराहरू कण्ठस्थ आउँथ्यो तर हलभित्र छिरेपछि पूरै शून्यतामा पुगेजस्तै भएँ। तर सरहरूले सहजीकरण गर्दिनुभयो। मलाई लागेको थियो, एकोहोरो प्रश्न मात्रै सोधेर हैराने बनाउने हुन् कि? आफूलाई केही पनि नआउने हो कि? अन्तर्वार्तामा फेल भएँ भने आमालाई के भन्ने होला? बुवाको चाहना मेरी छोरीले सरकारी जागिर खाओस् भन्ने थियो तर मेरो रिजल्ट आउनुभन्दा पहिल्यै बुवा परलोक हुनुभयो।
लिखित पास गर्दै आमालाई छोरीले तलब बुझेकोभन्दा बढी खुसी मिलेको छ। मनले के सोच्यो के सोच्यो एकैछिन अतालिए पनि सरहरूले सहजीकरण गरेपछि धेरै राहत मिल्यो। अधिकांश प्रश्नको उत्तर सजिलै दिएँ। अन्त्यमा 'आजको अन्तर्वार्ता तपाईंलाई कस्तो लाग्यो?,' भनेर एक जना सरले सोध्नुभयो।
म त के भनौं, के भनौं भन्ने दोधारमा परेँ।
'मेरो तर्फबाट सक्दो कोसिस गरेँ, सरहरूको कतिसम्म चित्त बुझाउन सके भन्ने कुरा त मैले आफैं कहाँ मूल्यांकन गर्न सक्छु र?,' मेरो जवाफमा सबै जना सरहरू हाँस्नुभयो।
'ल तपाईं जान सक्नुहुन्छ,' सरहरूको सादुभावलाई धन्यवाद भन्दै हलबाट बाहिर निस्किएँ।
तीन दिनसम्म प्रतीक्षा गर्नु तीन वर्षभन्दा पनि चर्को भयो। मुटु ढुकढुक गरिरहेको छ, तेस्रो दिनको साँझमा अन्तिम नतिजा आयो, मेरो नाम निस्कियो। त्यो पल खुसीको आँसु बग्यो, साथसाथै दु:खको पनि। खुसी यस अर्थमा थिएँ, बुवाआमाको सपना साकार भएको थियो, दु:खी यस अर्थमा थिएँ, बुवा मेरो नाम निस्कियो भनेर सुनाउनको लागि साथमा बुवा हुनुहुन्थेन।
मेरो स्थानीय तहको शाखामा पोस्टिङ भयो। नाम नभनौं, सरकारी कार्यालय हो, जे होस लोक सेवा आयोगले जाँच लिएर पास गराएको हो। सेवा सुविधा अन्यत्रका सरकारी कार्यालयको तुलनामा राम्रो छ भन्थे साथीहरू, सायद राम्रै भएर होला।
मलाई त सेवा सुविधाको भन्दा पनि आफू सरकारी पोशाक लगाएर अफिस जान पाएकोमा दंग थिएँ। अर्को वर्ष अधिकृत हुने सपना मनमा गडेको थियो। अरू केही अभिलाशा थिएन।
नयाँ नियुक्ति पाएका सबै कर्मचारीको सामूहिक तालिम भयो केही दिन। तालिम सकिएपछि तोकिएको कार्यालयमा हाजिर हुन गइयो। मेरो शाखामा दश बाह्र जना पुरूष र पाँच जना महिला थियौं। तीन जना म्याम पुरानो, म र अर्को एक जना साथी चाहिँ नयाँ नियुक्ति। नयाँ अफिस, नयाँ अनुभव, सबै सिनियर सर म्यामहरूसँग परिचयात्मक कार्यक्रम भयो।
प्रशासन शाखाबाट मलाई काम तोकिएको पत्र थमाइयो। मेरो कार्यकक्ष देखाइयो, तोकिएको काम, तोकिएको स्थानबाट सिक्दै गएँ, गर्दै गएँ।
सबै जना कर्मचारीहरूसँग घुलमिल हुन थालियो, एक किसिमले परिवार जस्तै बन्न थाल्यो अफिस।
एक वर्ष पुग्न लागेको थियो, मैले जागिर सुरू गरेको, आन्तरिक लेखा परीक्षणको लागि भन्दै हेड अफिसबाट चार पाँच जना कर्मचारी गए।
'यो फाइल ल्याउनुस्, त्यो ल्याउनुस्।,' उनीहरूले मागेअनुसारको उपलब्ध गराइयो। मेरो शाखा प्रमुख सरले मलाई जिम्मा दिनुभएको थियो, सो जिम्मेवारी वहन गर्ने कोसिस गरेँ। अडिटको काम चार पाँच दिनसम्म चल्यो। अन्तिम दिन अडिटकै समूहका एक जना सरले 'तपाईंको नम्बर दिनुस् न केही पर्यो भने फोन गर्छौं' भने।
अफिसको कामको लागि आफ्नै अफिसको स्टाफलाई किन मोबाइल नम्बर नदिनु? मैले आफ्नो मोबाइल नम्बर दिएँ।
बेलुका खाना खाइसकेपछि त्यस्तै आठ बजेको थियो होला। तिनै अडिटवाला सरको फोन आयो। झसंग भएँ। कुनै फाइलमा मेरै मिस्टेक भेटाए कि क्या हो भन्ने पनि लाग्यो। निकै विनम्र भएर बोलेँ।
के छ, कसो छ सामान्य कुराकानी गरे, केही भनेनन्। भोलि पनि सोही समयमा फेरि फोन गरे, अफिसकै कामको लागि होला भन्ने सम्झेँ। फोन उठाएँ। हिजोभन्दा अलि फरक तरिकाले कुराकानी गरे।
'कोको बस्नुहुन्छ ? खाना कसले पकाउँछ ? तपाईंले त कति मिठो पकाउनुहुन्छ होला है ?' एउटा शाखाको हाकिम जस्तो मान्छेले के सोधेको होला भन्ने पनि लाग्यो। सिधासिधा जवाफ दिएँ।फोन काटेँ।
अर्को दिन पनि त्यसैगरी फोन आयो। उठाइनँ। राति एघार बजेतिर फेरि फोन आयो त्यही नम्बरबाट। उठाइनँ। पटक पटक फोन गरे, मैले फोन अफ गरेँ। बिहान मोबाइल अन गर्दा लामो म्यासेज देखेँ। तिनै सरको थियो, 'तिमीलाई देखेपछि मलाई अर्कै फिलिङ् आउँछ, खै के मोहनी लायौ ? फोन उठाउन प्लिज, तिम्रो बोली एक पटक मात्रै सुन्न मन छ। तिम्रो बोली नसुनी म कसरी निदाउनु।'
अघिसम्म आदर गरेको, सिनियर कर्मचारी अब भने मलाई त्यो हाकिमप्रति घृणा जाग्न थाल्यो।
उसको नम्बर डिलिट गरेँ, बिहान मन खिन्न बनाईबनाई खाना बनाएँ। राम्रोसँग खान पनि मन लागेन। अफिस जान फिटिक्कै मन लागेन तर पनि गएँ। कस्लाई के भनौं? कसरी भनौं? भन्ने लाग्यो। सबै कर्मचारी यस्तै हुन्छ कि यो मात्रै यस्तो होला भन्ने पनि लाग्यो। उमेरले त पाकै देखिन्छ, घरपरिवार भएको मान्छे होला नि पक्कै पनि। मनमा अनेक कुरा खेले।
एक जना सिनियर म्याम हुनुहुन्थ्यो। उहाँलाई आमा जस्तै लागेर सबै कुरा सुनाएँ।
मेरो कुराले म्याम दुखी हुनुभयो, 'छोरी मान्छेलाई पाइला पाइलामा कठिन छ। तिमीहरू नयाँ छौ, भर्खरको उमेरका छौ, स्वार्थीहरू अघिपछि लाग्छन्। आफू सचेत हुनुपर्छ। यत्तिको पढे लेखेका सक्षम छोरीहरू पनि चुप बस्यौ भने अन्यायको विरूद्धमा को बोल्ने?'
म्यामको कुराबाट निकै आड मिलेजस्तै भयो। म्यामबाटै थाहा पाएँ, उसको श्रीमती र दुई छोरा छन् भन्ने।
अर्को हप्ताको शुक्रबार स्टाफ मिटिङ बस्यो। अरू विषय थिएन त्यही विषय थियो, जुन मैले म्यामलाई सुनाएकी थिएँ। म्यामले सुरूमै कुरा निकाल्नुभयो, 'आजको स्टाफ मिटिङ अरू केही सन्दर्भमा होइन, नयाँ भर्ना हुनुभएका जति पनि महिला साथीहरू हुनुहुन्छ, कार्यालयमा सहकर्मीबाट कुनै पनि किसिमको दुर्व्यवहार भोग्नुभएको छ भने कृपया निर्धक्कसँग बताउनुहोला ताकि भोलि यहाँ पदस्थापन हुने, सरूवा भएर आउने साथीहरूले हिंसा भोग्न नपरोस्।
नयाँलाई मात्रै होइन पुराना कोही भुक्तभोगी हुनुहुन्छ भने पनि कृपया गुनासो सुनाउनुहोला। सामान्य हो, यस्तो त भइहाल्छ नि? यस्ता झिनामसिना कुरा पनि अफिसमा सुनाउने हो? यस्तो सम्झेर चुप नबस्नुहोला, भोलि सामान्य कुराले सिंगो अफिसको बदनाम नहोस्।'
सबै महिला हाकिमहरू महिलामैत्री हुँदैनन् तर मेरो म्याम फरक लाग्यो। आफ्नै छोरी बहिनीको पीडा जस्तै सम्झनुभयो।
'हामीलाई केही भनेका छैनन् त तिमीलाई मात्रै त्यस्तो कसरी भन्न सक्छन्? केटी मान्छेले कुनै संकेत दिएर त केटा पल्किने हुन्' नि भन्नेसम्मका महिलाहरू पनि देखेकी थिएँ।
सुरूमा कोही बोलेनन्। मलाई खपिनसक्नु भएको थियो। मेरो मोबाइलको म्यासेज सबैकोसामु देखाएँ।
'रातको ११ बजे कुन चाहिँ हाकिमको विशेष काम पर्छ र एउटा महिला कर्मचारीलाई यस्ता खालका म्यासेज पठाइन्छ? म बहिनीसँग बस्छु, मेरा बाआमा साथमा भएको भए मलाई के सोच्नुहुन्थ्यो होला? म विवाहित थिएँ भने मेरो परिवारको हालत के हुन्थ्यो? हाकिमको नैतिकता यही हो?,' यत्ति भनिनसक्दै बरर्र आँसु झर्यो।
अर्की हामीभन्दा पुरानी महिला कर्मचारीले बल्ल मुख खोलिन्।
'तपाईंलाई जुन म्यासेज पठाएको छ बैनी त्यस्तै म्यासेज मलाई पनि पठाएको थियो, मैले कसैलाई भन्न सकिनँ। भित्रभित्रै पीडा लुकाउँदा आफैं डिप्रेसनको शिकार भएँ। राजनीतिक पहुँच राम्रै भएको, माथिल्लो पोष्टको, सबैतिर ठीक्क पार्न सक्ने , कस्को के लाग्छ र? तपाईं त अविवाहित हुनुहुन्छ, भर्खरको हुनुहुन्छ तर म हेर्नुस् त? दुई बच्चाकी आमालाई धरी नानाथरी म्यासेज पठाउने, आधा रातमा फोन गर्ने, अनावश्यक कुरा सोधेर हैरान पार्नेसम्मको हर्कत गर्यो, यस्तो हर्कत गर्ने मेरै पहिलाको शाखाको सहकर्मी हो। धन्न मेरा श्रीमान बुझकी थिए र मेरा घर बिग्रेन, उस्तै श्रीमान हुन्थे भने मेरो घरबार डामाडोल हुन्थ्यो।
ती महिलाका कुरा सुनेपछि अर्की महिला पनि बोलिन्, 'त्यो स्टाफबाट होइन अर्कै स्टाफबाट म प्रताडित छु।'
'नाम, पद बताउन चाहन्नँ तर मेरै सहकर्मी हो। म एकदिन नआउँदा दश पटक फोन गर्छ। आज किन नआउनु भएको? तपाईं नभएपछि त अफिस त्यसै शून्य लाग्छ, अफिस बस्न पनि मन लाग्दैन, तपाईं त पूर्णिमाको जून जस्तै हो, तपाईंलाई नदेखेपछि खाजा, चिया केही खान मन लाग्दैन। यो कस्तो संस्कार हो? स्थायी जागिर भएका हामी त भन्न डराउँछौं भने, आफूमाथिको अन्याय दबाएर राख्छौं भने ज्यालादारी, करारमा काम गर्ने महिलाहरूको पीडा कस्तो होला? जागिर जोगाउनको लागि उनीहरूको जस्तोसुकै हिंसा पनि सहन बाध्य हुन्छन्। समाचारमा कति घटना सार्वजनिक हुन्छन्, सुन्दा, पढ्दा पनि मुटु छियाछिया हुन्छ।
भर्खर सरकारी कर्मचारीको अनुभूति संगालेकी एक जना बहिनीको भोगाइले निकै सोचनीय बनायो।
मलाई धेरै साथीहरूले सुनाउँथे, 'तिमी त बोल्न सक्छौ, तिमीजस्तो हामी बोल्न पनि सक्दैनौं, जसले जे भन्दा पनि सहनुपर्छ साथी। कम्तीमा हाम्रा भोगाइ लेख्ने गर न, ताकि अब उपरान्त कुनै पनि पुरूष सहकर्मीबाट दुर्व्यवहार सहन नपरोस्।
अधिकांश साथीहरूको साझा समस्या छ।
एक जना करारमा काम गर्ने दिदीको भोगाइले झनै स्तब्ध बनायो।
'मेरो श्रीमान पो छैनन् त बैनी, छोराछोरी छन्, घरपरिवार छ, श्रीमान नहुँदैमा जे पनि गर्न तयार हुनुपर्छ र? एकदिन शाखा प्रमुखले एक हप्ताको लागि साइड अफिस जाऔं भने। कहिले आज मेरो श्रीमती माइती गएकी छ, मेरो घरमा हिँड्, अफिसको काम छ भन्देऊ घरमा सम्म भन्न भ्याए। मेरो देवरको सालो माथिल्लो पोष्टमा थिए, बाध्य भएर उनलाई पीडा सुनाएँ। त्यसपछि बल्ल त्यो हाकिमको अन्यत्रै सरूवा भयो। अहिले आएका हाकिम त्यस्ता छैनन्, निकै आदर गर्छन्। एकल महिला, श्रीमानसँग सम्बन्ध राम्रो नभएका, निम्न आर्थिक भएका महिलाहरू कथित माथिल्लो तहका पुरूष कर्मचारीहरूबाट धेरै पीडित रहेको तथ्यलाई बिर्सन हुँदैन।
बाध्यताले बोल्न सक्दैनन् त्यो अलग कुरा हो, स्थायी भर्खर नियुक्त भएका बहिनीहरू त प्रताडित हुन्छन् आफ्नै सहकर्मीहरूबाट भने अरूको अवस्था कस्तो होला?
एक जना बहिनी बोल्दा सिंगो शाखा बोल्यो। त्यसैले बहिनीहरू के होला भनेर नबसौं, अन्यायको विरूद्धमा बोलौं। पुराना भइसकेका अनुभवी महिला कर्मचारीहरू समेत प्रताडित हुँदा पनि कार्यसम्पादन मूल्यांकनमा नम्बर थोरै दिन्छन् कि? दुर्गममा सरूवा गर्दिन्छन् कि ? अनेक कुरा सम्झेर अन्यायको विरूद्धमा नबोलेको देखिन्छ।
कम्तीमा बोलौं, अन्याय सहेर, मानसिक, शारीरिक हिंसा सहेर प्राप्त गरेको अंकको के मूल्य हुन्छ र? कम्तीमा अन्यायको विरूद्धमा बोलौं, ताकि भोलि कुनै महिलाहरूले आफ्नै हाकिम, सहकर्मीबाट यातना भोग्न नपरोस्। कार्यस्थल हिंसामुक्त बनोस्।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)