अत्यन्त नजिकका नातेदार साथीभाइ वा मान्यजन जसले फोन गर्दा फोन उठाउँदैन। कल ब्याक पनि गर्दैन। त्यस्ता मानिसहरूप्रति मेरो नकारात्मक र सकारात्मक धारणा एकै पटक बनिदिन्छ।
एक मनले सोच्छु। म अहिले कुनै पद र पावरमा छैन। मसँग उनीहरूलाई सहयोग गर्न सक्ने आर्थिक हैसियत छैन। म आफैं चरम आर्थिक संकटमा छुl मेरो आम्दानीले मलाई घर बाहिर लामो समय बस्दा धान्न सक्दैन। कसैलाई सञ्चो बिसञ्चो सोध्न फोन गर्दा उठेन भने म एक्कासि आफ्नो हैसियत विश्लेषण गर्छु। कतै उनीहरूले आफूसँग कुनै सहायता माग्नलाई फोन गरेको पो हो कि भनेर कल रिसिभ गरेनन् कि! मेरो फोन रिसिभ गर्दा आफूलाई कुनै लाभ हुने देखेनन् कि! मसँगको सम्बन्ध सुमधुर बनाई राख्न उनीहरूले जरूरी ठानेनन् कि! एक मनमा यस्तै नकारात्मक प्रश्नका चाङ उब्जिरहँदा अर्को मनले फेरि सकारात्मक जवाफ दिइरहेको हुन्छ।
मैले फोन गर्दा कतै ऊ बाथरूममा नुहाइरहेको पो थियो कि! बिहान फोन गर्दा ऊ उठेकै पो थिएन कि! उठेर ऊ बासरूममा नित्य कर्म गर्दै पो थियो कि! उसको फोन साइलेन्टमा पो थियो कि! उसको मोबाइल बिग्रिएर कतै कल रिसिभ गर्न मिलिरहेको पो थिएन कि! उसको मोबाइलको डिस्प्ले बिग्रिएर कतै आगमन कल नै नदेखिने पो भएको थियो कि! उसको मोबाइल हराएर कतै भेटाएको मानिसले पो बोकिरहेको छ कि! गाडी चढ्दा पाकेटमारले वा चार्जमा राख्दा चोरले पो चोरेर आफ्नो खल्तीमा साइलेन्ट मुडमा राखिरहेको पो छ कि! ऊ कतै कार्यालय काममा वा मिटिङमा व्यस्त पो छ कि! ऊ कुनै घरायसी काममा व्यस्त पो छ कि! ऊ मोटरसाइकल वा गाडीमा चढिरहँदा गाडीको आवाजले फोनको आवाज सुन्न असमर्थ छ कि!
मन न हो जति पनि तर्कवितर्क र कुतर्क गर्न सक्छ। कोही अति प्रिय व्यक्तिलाई नानाभाती सोचेर अप्रिय बनाई दिन सक्छ। म अब उसलाई कहिल्यै फोन गर्ने छैन। भेट्ने छैन भन्ने बाचा पनि खुवाइदिन सक्छ।
फोन न. १
विद्यार्थी जीवनको अत्यन्त मिल्ने साथी। कैयौंपटक हामी सँगै उकाली ओराली गरेका थियौं। यात्राको क्रममा बाटाको होटलमा बास बसेका छौं। होस्टलमा सँगै बसेका थियौं। धेरै दुःख सुख बाँडेका थियौं। लामो समय कक्षा साथीको रूपमा पनि रह्यौं। केही समय जागिरमा पनि सहकर्मी भयौं। कहिलेकाहीँ कुराकानी भइरहन्थ्यो। तर एक दिन उसको पनि फोन उठेन। कल ब्याक पनि भएन। फेरि भोलिपल्ट फोन गरेँ। उसको फोन उठ्यो। ऊ कार्यक्रममा रहेछ। उसले भन्यो 'म कार्यक्रममा छु। सकिएपछि कल गर्छु।' तर उसको कार्यक्रम आजसम्म पनि सकिएन। उसले फोन गरेन। सायद गर्ने आवश्यकता ठानेन। मैले पनि फेरि फेरि फोन गर्न सकिनँ।
फोन न. २
अर्को गाउँकै नजिकैको नाता पर्ने भाइ थियो। ऊ काठमाडौंमा बस्थ्यो। म काठमाडौं आएको बेला उसलाई सम्झेर फोन गरेँ। पहिलो दिन उसले फोन उठायो। भोलिपल्ट कतै क्याफेमा भेटेर चिया पिउने प्रस्ताव गर्यो। मैले हुन्छ भनेँ। भोलि पल्ट उसले दिएको समयमा फोन गरेँ। उसको पनि उठेन। न कल ब्याक नै गर्यो। मैले फेरि उसलाई फोन गर्न सकिनँ। कति पटक मोबाइलमा उसको नम्बरमा औंलाहरू गए र कल बटनबाटै फिर्ता भए।
फोन न. ३
अर्को साथी मभन्दा जुनियर कक्षाको हो। तर हामी घनिष्ठ साथि नै थियौं। उसको प्रगतिमा म हर्षित हुन्थेँ। सायद मेरो प्रगतिमा पनि ऊ खुसी नै हुन्थ्यो। मैले उसलाई मेरो कोणबाट धेरै गुन लगाएको छु। उसले कुनै कुरामा मेरो चित्त दुखायो। मैले सोचेँ उसले अवश्य एक पटक फोन गर्ला। आफ्नो कुराले मेरो चित्त दुखेकोमा फोन गरेर क्षमा माग्ला तर उसले क्षमा माग्ने आवश्यकता देखेन। उसको र मेरो बीचको लामो साथित्व पनि अन्त्य भयो। मैले कष्टपूर्ण तवरले उसलाई विस्मरण गर्न चाहेँ तर सकिनँ। मैले नै केही गुनासाहरू लेखेर मेसेन्जरमा पठाएँ उसले मेसेज हेर्यो तर रिप्लाई गरेन। ऊ पनि अरूझैं बैगुनी भइदियो।
फोन न. ४
अर्को साथी लाहुरे हो। अरू साथीभन्दा ऊ जहिले नि फोन उठाउँथ्यो। मसँग लामो कुराकानी गर्थ्यो। मेरो घरपरिवारका बारेमा सोधपुछ गर्थ्यो। म पनि उसको सेवा निवृत्त समयको बारेमा चासो राख्थेँ। उसको समय कसरी बितिरहेको छ भनेर जिज्ञासा राख्थेँ। ऊ पनि सबै कुरा खुलस्त राख्थ्यो। एकदिनको कुरा हो। मैले फेरि फोन गरेँ। तर उसको पनि फोन उठेन। मैले कलब्याकको प्रतीक्षा गरेँ तर कलब्याक भएन। मैले फेरि उसलाई फोन गर्न सकिनँ।
फोन न. ५
साथी पनि के भनूँ उनी मेरो आदरणीय व्यक्तित्व हुन्। मैले फोन गरेँ। फोन उठेन। हुन त सबैलाई मेरो झैं फोन गर्ने फुर्सद नहुन सक्छ। समय नहुन सक्छ। फोन गर्ने बानी नहुन सक्छ।साथीको जस्तै उनीसँग मेरो केही गुनासो छैन। उनको आफ्नै साथी सर्कल होला। मसँग कुरा गरेर उनलाई के फाइदा!
फोन न. ६
एक उच्च पदस्थ व्यक्ति। कुनै समय हामी एउटै कार्य क्षेत्रमा थियौं। अहिले छैनौं। मैले एकदिन सम्झिएर फोन गरेँ। तर उनको फोन उठेन। मैले कलब्याकको अपेक्षा पनि गरिनँ। उनको मेरो हैसियत मिल्दैन। पद मिल्दैन। सम्पन्नता मिल्दैन। उनीसँग पनि मेरो कुनै गुनासो रहेन।
फोन न. ७
अर्को मेरै घर परिवार भित्रको नातेदार हो। फोन त उसले मलाई गर्नु पर्ने हो। म उसको आदरणीय नाता पर्ने व्यक्ति हुँ। तै पनि मैले उसलाई एकदिन फोन गरेको थिएँ। तर उसको फोन उठेन। कलब्याक पनि भएन। मेरो चित्त दुख्यो। सुनेको छु। ऊ उच्च पदमा छ। प्रशस्त पैसा कमाएको छ। सायद म जस्ता नातेदार पनि कमाएको होला।
फोन न. ८
अर्को भाइ नै भनौं। हरेक कोणबाट भाइ नै पर्ने हो। उमेरले, नाताले! उसलाई मैले धेरै सहयोग पनि गरेको हो। सायद अब उसलाई मेरो सहयोगको आवश्यकता छैन। अब मसँग उसले दोहोरो संवाद पनि गर्नु परेन। तै पनि बेला बखत फोन गर्थें। उसले पनि धेरै पटक फोन उठाएन। कलब्याक गर्ने आवश्यकता पनि ठानेन।
फोन न.९
अत्यन्त निकट नातेदार आफन्त! तर मैले गरेको बेला उसको फोन उठ्दैन। मैले फोन गरेर मैले आफ्ना एक दुई वटा सजिला काम लगाएको थिएँ। उसले गरिदिएको पनि थियो। म उसलाई फोन गरिरहन्थेँ। ऊ मैले गरेको बेला फोन उठाउँदैनथ्यो। जब म गाडीमा वा यस्तै होहल्लामा हुन्थे। त्यतिखेर उसको फोन आउँथ्यो। म फोन उठाउँथें तर कुरा बुझिँदैनथ्यो। एकछिनपछि अलि शान्त ठाउँबाट फोन गर्थें। फेरि उसको फोन उठ्दैनथ्यो। यस्तो क्रम लामै समय चलिरहन्थ्यो। यस्तो अवस्थामा दोष मेरो या उसको? तपाईंहरू नै छुट्टयाउनु होला।
फोन न.१०
हामीसँगै पढेका साथी हौं। झण्डै पच्चिस वर्षपछि साथी राजधानी आएको रहेछ। मेसेन्जरमा कुरा भयो। फोन नम्बर आदानप्रदान भयो। सुन्धारातिर भेट्ने कुरा भयो। हामीले समय तोक्यौं।तोकेको समयमा म सार्वजनिक गाडी चढेर सुन्धारा पुगेँ। उसले दिएको नम्बरमा फोन गरेँ। उसको फोन उठेन। म नभेटी फर्कें।
फोन न. ११
चिनेकै मान्छे हुन्। फेसबुकका साथी पनि हुन्। उनको पोस्टमा म प्राय: लाइक, कमेन्ट गरिरहन्थेँ। उनी प्राय: अनलाइन हुन्थेँ। तर मेरो पोस्टहरूमा उनले कहिल्यै लाइक, कमेन्ट गरेनन्।मेसेन्जरमा कुरा गरेनन्। एक पटक मेरो फेसबुकमा पाँच हजार साथीहरू पुगे। झण्डै पाँच सय परिचित अपरिचित मानिसहरूको साथी बन्ने अनुरोध क्युमा रहे। नयाँ साथीहरूको रिक्वेस्ट एसेप्ट गर्दा फेसबुकले म्यानेज एयोर फ्रेण्ड भन्ने अप्सन दियो। मैले यस्तै निष्क्रिय साथीहरूलाई हटाएर नयाँ साथीहरू एड गर्दै गएँ। हटाइएका साथीमा उनी पनि परेछन्। उनले तुरून्तै मेसेज गरे। मलाई तपाईंले अनफ्रेण्ड गर्नु भएको हो र?
मैले केही भन्न सकिनँ। यति विघ्न साथी रहिरहन उत्कट चाहना भएको व्यक्ति किन मेरा कुनै फोटाहरूमा लाइक गर्दैना्। स्टाटसहरूमा कमेन्ट गर्दैनन्! फेरि पनि ऊ साथीकै लिस्टमा रहिरहन चाहन्छ। उसको चित्त किन दुःखाउनु! मैले फेरि उसलाई साथीकै सूचीमा समावेश गरे।
अहिले मेरा परिचित अपरिचित गरी झण्डै पाँच हजार साथी छन्। मेसेञ्जरमा कुराकानी हुने मुस्किलले दस, पन्ध्र जना होलान्। फेसबुकमा लाइक, कमेन्ट गर्ने सय जति होलान्। कहिलेकाहीँ आफूले आफैंलाई प्रश्न गर्छु सुख दुःखमा साथ दिने कति जति होलान्?
फोन न १२
धेरै पुराना साथी हुन्। मैले फुर्सदमा फोन गरेँ। उनी पनि फुर्सदमै रहेछन्। भेटेर चिया पिउने कुरा भयो। झण्डै एक घण्टापछि हामी एउटा क्याफेमा पुग्यौं। मभन्दा उनी केही मिनेट अगाडि पुगेका रहेछन्। धेरै वर्षपछि भेट भएता पनि हामीलाई एक अर्कालाई चिन्न कुनै गाह्रो परेन।
'कहाँ बस्नु हुन्छ?,'मैले सोधेँ।
'यतै बस्छौं,' उनले उत्तर दिए।
'यतै सेटल हुनु हुन्छ होला?,' मैले फेरि सोधेँ।
'जीवनको लामो संगत गरेका मान्छेहरू र लामो समय बिताएको ठाउँ त आफ्नो नहुँदो रहेछ।,' उनले अनिश्चितता व्यक्त गरे।
हुन पनि हो। उनको कुरा सामान्य तर गहन थियो। मैले पनि यस्तो महसुस गरेको छु।