केही अनुभव र अनुभूतिहरू धेरै समयदेखि लेख्ने मन थियो। आज लेख्ने जमर्को गरेँ।
विदेशतिर नोकरीकै सिलसिलामा बसेको धेरै वर्ष भैसकेछ। त्यसैक्रममा जब निम्तालु भएर कूटनीतिक क्षेत्रका साथीहरूको घरमा निम्ता मान्न जान्छु, अनि चसक्क यो मनले भन्छ- के हामी यति पनि गर्न नसक्ने हो र?
सन् २००४ देखि अमेरिकामा रहँदा धेरैजसो अन्तर्राष्ट्रिय साथीको संगतमा रहेँ। केही सिक्ने, केही जानकारी हासिल गर्ने, आफ्नै हुटहुटीको कारण मैले विश्व बैंक हेडअफिसको फेमिली नेटवर्कमा स्वयंसेवक भएर केही समय काम गरें जसले मेरो आत्मविश्वासमा बढोत्तरी गर्ने काम गर्यो। जसको परिणामस्वरूप मैले बैंक अफ अमेरिकामा काम गर्ने मौका पाएँ। त्यो समय प्रायः अन्तर्राष्ट्रिय मानिसहरूसँग मात्र मित्रता रह्यो।
त्यसपछि फेरि सन् २०१५ देखि अमेरिकामा पुनः बस्ने अवसर मिल्यो। श्रीमानको दूतावास भित्रको जागिर भएको कारण कूटनीतिक मर्यादाभित्र रहेर थुप्रै नयाँ कुरा सिक्ने अवसर मिल्यो।
अमेरिकामा कूटनीतिक क्षेत्रमा काम गर्न आउने पदाधिकारीका परिवारलाई त्यस क्षेत्रको अझ भनौं अमेरिकनहरूसँग र विभिन्न राष्ट्रका कूटनीतिक पदाधिकारीका परिवार बीचमा कसरी मित्रता कायम राख्न लगाउने, कसरी त्यहाँ पारिवारिक, सामाजिक, सांस्कृतिक विषयमा जानकारी गराउने र कसरी एक अर्कालाई नयाँ ठाउँमा घुलमिल गराउने उद्देश्यले ‘द हस्पिटालिटी एण्ड इन्फरमेसन सर्भिस फर डिप्लोम्याट’ (टि.एच.आइ.यस फ़र डिप्लोम्याट) सन् १९६१ मा जोन अफ केनेडीको प्रेसिडेन्सियल समयमै खोलिएको रहेछ। जसमा करिब ३०-४० प्रतिशत स्टेट डिपार्टमेण्टका रिटायर्डहरू, उहाँहरूका पत्नी र करिब ६० प्रतिशत जति बहालवाला कूटनीतिक पदाधिकारीका पत्नी मिलेर चलाइएको एउटा ननप्रोफिट अर्ग़नाइजेसन छ।
हामीलाई इमेलमार्फ़त जानकारी आयो।
मेरो आफ्नो रुचिको विषय पनि, उहाँहरूसँग घुलमिल हुनु र ‘मेरो देश नेपाल’ चिनाउने उद्देश्य भएकोले म त्यसको एउटा सदस्य भएर हाम्रो चार वर्षे कार्यकालमा पूरै अवधि सँगसँगै काम गरेर बसेँ।
यहीमार्फत अमेरिकन र कूटनीतिक क्षेत्रका मित्रहरूसँग गहिरो मित्रता कायम राख्दै केही सिक्ने, सिकाउने मौका पनि जुरेको थियो।
वर्षको सुरूआतमै हामी एक वर्षको क्यालेन्डर बनाउँथ्यौं।
म बाहिर नोकरी पनि गर्ने भएकोले टि.एच.आइ.यस. को कार्यक्रम भएको दिनको लागि पहिले नै बिदा मिलाएर राख्थें। कूटनीतिक क्षेत्रमा महत्व रहेका ती कार्यक्रम सधैं प्राथमिकतामा राखेर सहभागी हुन्थेँ।
मलाई सुरूदेखि नै अमेरिकन र अरू साथीहरूलाई आफ्नो देशको बारेमा केही सुनाउने, देखाउने, जानकारी गराउन मन थियो। मन भएर मात्र के गर्नु आवश्यक स्रोत साधन पनि त चाहियो। जे होला होला, आँट्छु भनेर आटेँ।
हामी एक वर्षको क्यालेन्डर बनाउँदा सँगै बसेर बनाउँथ्यौं। वर्षको सुरूमै नयाँ कूटनीतिक क्षेत्रका जीवनसाथीहरूलाई स्वागत गर्ने कार्यक्रम आफ्नो निवास (नेपाल) को लागि टुंगो गरेँ। साथीहरूले मुखामुख गरे। मैले भनेँ, ‘म बस्ने घर देखाउँछु, मलाई अलिकति लजिस्टिक सपोर्ट चाहिन्छ। लेट्स डु वेलकम प्रोग्राम इन माई रेसिडेंन्स।' यद्यपि मसँग घर मात्र थियो अझ भनौं भने पर्याप्त काँटा चम्चा प्लेटहरू पनि थिएन।
यसरी मैले करिब ४०-५० जना विदेशी साथीहरू बोलाएर, नेपालको विषयमा एउटा श्रब्यदृष्य देखाएर जानकारी गराउन सकेँ। जसमा मलाई हाम्रो टिमको सदस्यहरूले नै टेबल- कुर्सीदेखि धेरै सामान ल्याइदिएर सहयोग गरेका थिए। जसको कारणले मैले नेपाल देखाउन/ सुनाउन पाएँ। उनीहरू भन्दै थिए- ओहो नेपालमा यति धेरै प्रकारका जनावर, चराचुरुंगी, संस्कृति, वेशभूषा, भौगोलिक विविधता रहेछ भनी थाहा नै थिएन। 'भ्रमण गर्नैपर्ने देश रहेछ नेपाल,' 'एक पटक त हामी अवश्य जानेछौं' भन्दै थिए।
आफू अमेरिका बसुन्जेल हरेक वर्ष आफ्नो निवासमा मैले फरक फरक किसिमले कार्यक्रम गरेर उहाँहरूलाई देखाएँ। यो कुरा सम्झिँदा मलाई साँच्चिकै सन्तुष्टि मिल्छ।
त्यही सम्बन्धको कारण करिब १० जना जति अमेरिकनहरू हाम्रो छोराको विवाहको अवसर पारेर नेपाल आए र उनीहरूले नेपालीको विवाहको हरेक कार्यक्रम बडो चासो दिएर खुसी मान्दै हेर्नुका साथै काठमाडौं उपत्यका, पोखरा, चितवन आफ्नै खर्चमा मज्जाले घुमेर रमाए। जुन उनीहरूको जीवनको सुन्दरतम विषय रह्यो भनेर उनीहरूको परिवारका अन्य सदस्य, साथीभाइलाई व्याख्या गरेर थाक्दैनन् अहिले पनि।
त्यतिखेर म जुन ओहोदाको हैसियतमा थिएँ मलाई साथीहरूसँग लजिस्टिक सहयोग माग्न पनि त्यति असहज भएन। उनीहरूले टेबल, कुर्सी, काँटा, चम्चा, चिया कफी बनाउने मेसिनदेखि सबै ल्याइदिन्थे। साथीलाई को-होस्ट बनाएर कार्यक्रम गर्न पनि सजिलो हुन्थ्यो। काम सकिएपछि हामी आफैं उनीहरूको सामान घरमै पुर्याइदिन्थ्यौं। यसरी हामीबीच घनिष्ठता बढ्दै गयो र आज पर्यन्त पनि त्यो सम्बन्ध कायमै छ।
आज म बिल्कुल फरक प्रोटोकलमा छु। मुलुकको मर्यादा राख्न मैले निश्चित घेराभित्र बस्नै पर्छ।
सन् २०२२ मा जब अष्ट्रेलिया आयौं, यहाँको राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिकता सुरूआत भयो। अष्ट्रेलियाको (राष्ट्रपति) गभर्नर जनरल समक्ष मेरो श्रीमानले ओहोदाको प्रमाण पत्र बुझाएकै दिन औपचारिक कार्यक्रम सकिएपछि मेरो र महामहिम गभर्नर जनरलको पत्नीसँगको अनौपचारिक कुराकानीमा म्याडम लिण्ड़ाले सोध्नुभयो, 'तपाईं नेपालमा व्यस्त भएर बसेको मान्छे यहाँ के गर्नु हुन्छ त?'
मैले विगतमा अमेरिकामा रहँदाको कुरा सुनाएँ, अनि उहाँले भन्नुभो, 'त्यस्तो खालको संस्था यहाँ पनि छ।'
खुसी भएँ।
अमेरिकामा रहेको जस्तै संस्था यहाँ अष्ट्रेलिया पनि रहेछ जसमा विभिन्न मुलुकका महामहिम राजदूतज्यूहरूको जीवनसाथी ( स्पाउस) हरू सदस्य हुनुहुने रहेछ जसको नाम ‘एसोसिएसन अफ स्पाउसेस अफ चिफ अफ मिसन’ (असम) रहेछ। त्यसपछि म तुरून्तै ‘असम’ को सदस्य बनें। महिनामा एक-दुई वटा हाम्रो भेटघाट भई नै रहन्छ यहाँ पनि। हामी राजदूतका पत्नी- पतिहरू पनि व्यस्त नै भइरहन्छौं। कहिले कुन राष्ट्रको राजदूतको निवासमा लञ्च मिटिङ हुन्छ कहिले कुन राष्ट्रको राजदूतको निवासमा। प्रत्येक कार्यक्रम सकेसम्म नछुटाइकन सहभागी हुन्छु म पनि।
जब म हामीसरहकै कूटनीतिक क्षेत्रका मित्रहरूको निवासमा जान्छु, त्यतिखेर मलाई मनमा सधैं लाग्ने मुख्य कुरा यहाँहरू समक्ष सेयर गर्न चाहन्छुः
हरेक कार्यक्रममा जाँदा मैले, हाम्रोभन्दा कमजोर भनेर व्याख्या गरिएका मुलुकको दूतावासको निवासहरूमा पनि देख्छु — उहाँहरूको आफ्नै देशको झण्डा वा आफ्नै सरकारी लोगो भएको काँटा, चम्चा, प्लेट, कचौरा, नेमट्यागले सिंगारिएको डायनिङ टेबल कुर्सी। बैठकदेखि डायनिङसम्मका फर्निचरहरू। भित्तामा झुड्याइएका टुरिजमका सामान, अनि मलाई लाग्छ, के हामी (नेपाल सरकार) यति गर्न/राख्न नसक्ने हौं र?
यहाँ आफू बेग्लै प्रोटोकलमा आइरहँदा, मलाई हाम्रो निकायले राजदूत र तिनका स्पाउसहरूलाई डिनर डिप्लोमेसी, प्रोटोकलका कुरा सिकाइरहेको, राजदूतसँगै राजदूतका पत्नीहरू पनि सहयोगी हुन् रे भनेको भाषण पनि सम्झिरहन्छु। अनि लाग्छ यति सबैदेखि जानी सकेर पनि सम्बन्धित निकायले राजदूत निवासहरूमा आवश्यक पर्ने न्यूनतम सामग्रीको व्यवस्थापन किन गर्न नसक्या होला!
मैले राजदूत निवासमा अरूले जस्तै अन्य राष्ट्रका महामहिमज्यूहरूलाई बोलाउँदा त यो निवासले मेरो राष्ट्रको ऐना छर्लंग देखाउँछ नि भन्ने मलाई लाग्छ र यहाँदेखि नै हरेक चिजले मेरो देशको स्थिति प्रष्ट झल्किन्छ जस्तो मलाई लाग्छ।
हाम्रो नेपाली राजदूत निवासहरूमा गरिने औपचारिक या अनौपचारिक भेटघाट तथा रात्री या दिवा भोजमा निमन्त्रणा गरी बोलाउँदा आवश्यक पर्ने डिनर- लञ्च सेट; हाम्रो लोगोसहितको प्लेट, गिलास सेट, कटलरी सेटहरूमा खाना पस्किन पाए कति सुन्दर देखिन्थ्यो होला जस्तो लागेर आउँछ।
मेरो एउटा सुझाव भन्नुस् या जे भन्नुस्; यस्तो कार्यक्रमहरूमा आवश्यक पर्ने डिनर सेटहरूमा ‘नेपाल हाउस’ या ‘नेपालको झण्डा’ या हाम्रो सरकारी छाप सहितको भाँडा एकै पटक सरकारी तवरमै धेरै संख्यामा मगाएर विभिन्न मुलुकमा रहेका हाम्रा राजदूत निवासहरूमा एकैपटक पठाउने व्यवस्था गरेदेखि कति राम्रो देखिन्थ्यो।
सबैले आ-आफ्नै किसिमले खरिद गर्दा पनि खर्च त आखिर सरकारकै हुने हो। त्यसो गर्नुको साटो कटलरी, डिनर /लन्चका सेट, विभिन्न साइजका गिलास, कचौरा, चियाको कप प्लेट लगायत सामान सरकारी लोगोसहित बनाउन सरकारी तवरबाटै नियम बनाएर लागू गर्नसके धेरै राम्रो देखिने छ।
साँच्चै भन्ने हो भने यस्ता सामग्री कूटनीतिक नियोगहरूका लागि न्यूनतमस्तरभित्र नै पर्छन्।
हाम्रो देशमा कूटनीतिक चलन बुझ्नु भएका थुप्रै भूतपूर्व र वर्तमान अग्रज कूटनीतिज्ञज्यूहरू हुनुहुन्छ। उहाँहरूलाई पनि विदेशस्थित हाम्रा नियोगहरूमा यस्तो कुराको कमी छ भन्ने अनुभूति पक्कै भएको हुनुपर्छ भन्ने मलाई लाग्छ।
हामी अलिकति फराकिलो मन राखेर, यस्तो गर्ने व्यवस्थालाई नियममै राखेर, बजेटमै राखेर, केन्द्रबाट नै वितरण गर्ने व्यवस्था गर्यो भने राम्रो होला। यो दिगो पनि हुन्छ। लोगो भैसकेपछि सामान पनि सुरक्षित हुन्छन्।
खाना पकाउनु एउटा महत्वपूर्ण सीप भएजस्तै त्यो खानालाई पस्किनु अर्को ठूलो आकर्षणको केन्द्र हो। यसो गर्न सकियो भने विदेशी पाहुनाहरूको अगाडि त्यस्ता सामग्रीको साजसज्जाले हाम्रो इज्जत नै बढ्ला भन्ने मलाई लाग्छ।
सामान्य जस्तो लाग्ने भन्नुस् या लक्जरी जस्तो लाग्ने भन्नुस् यो व्यवस्था गर्नुपर्ने आवश्यक लागेको छ मलाई। हिजो नभएर के भो त? अब सुरूआत गर्नुपर्छ भनेर नयाँ व्यवस्थापनले यो सुरूआत गरेदेखि एउटा नयाँ आयामकै रचना हुनेछ। मेरो यो सुझावलाई सकारात्मक रूपमा लिएर आगामी दिनमा नेपाली दूतावासहरूमा नेपाल सरकारको लोगोसहितको डिनर/ लन्च कटलरी वितरण (सप्लाइ) हुने भयो रे भनेर सुन्न पाएँ भने मैले आज लेखेको यो अनुभूति लेखनले सार्थकता पाउने थियो।