दसैंको माहोल चलिरहेको थियो। गाउँघरहरू बजारभन्दा रमाइला र गुन्जायमान थिए। वल्लो घर र पल्लो घरमा महिनौंपछि पारिवारका सदस्यहरू थपिएका थिए।
चियापसल, प्रतीक्षालयहरूमा नयाँ नयाँ मान्छेहरू देखिन्थे, विभिन्न ठाउँबाट मान्छेहरूले आ–आफू बस्ने ठाउँहरूका बारेमा थोरै सत्य धैरै बनावटी कुराहरू सुनाउँदै थिए भने त्यही गाउँमा सधैं बस्नेहरूले पनि उनीहरूको कुराहरू बडो चासोका साथ सुनिरहेका थिए।
यस्तै–यस्तै माहोलका बीचमा हामीलाई पनि मेरा श्रीमानका एक जना साथीकहाँ जोसँग मेरो पनि राम्रो चिनजान थियो, खाना खाने निम्तो आयो।
उहाँको निम्तोलाई सहर्ष स्वीकार्दै खाना खान बिदाको समय भएकाले अलि छिट्टै पुग्यौं। त्यहाँ पुग्दा श्रीमती चाहिँ भान्छामा व्यस्त हुनुहुन्थ्यो भने श्रीमान चाहिँ खाजा खाएका भाँडा हुनुपर्छ सायद माझ्दै हुनुहुन्थ्यो, केटाकेटी आँगनमा खेल्दै थिए।
त्यो घरको माहोल देख्दा मलाई एकदमै आनन्द महसुस भयो, हेर्दा एकदमै उदाहरणीय, सभ्य ,खुसी अनि सुखी देखिन्थ्यो त्यो परिवार।
हामीहरूलाई स्वागत गरिसकेपछि श्रीमान चाहिँ फेरि आफ्नै काममा लाग्नुभयो।
यत्तिकैमा आँगनमा खेल्दै गरेको सानो छोराले आज त 'हाम्रो बाबा मम्मी हुनुभएछ, आज त हाम्रो बाबा मम्मी हुनुभएछ' भन्दै उफ्रिँदै आफ्नो बाबालाई गिज्याउन थाल्यो।
'किन बाबु कसरी तिम्रो बाबा मम्मी हुनुभएको?' भनेर सोधेको मेरो प्रश्नमा उसको जवाफ थियो, 'भाँडा माझ्ने काम त मम्मीको होइन र? आज बाबाले भाँडा माझ्नु भाछ त्यही भएर मैले मम्मी हुनुभयो भनेको नि त' भन्दै ऊ फेरि खेल्न थाल्यो।
उसको कुराले अरूलाई के भयो मलाई थाहा छैन तर मलाई भने धेरैपछिसम्म पनि सोच्न बाध्य बनायो।
बाहिर हेर्दा बुझेको, पढेलेखेको , अधिकारका कुरा गर्ने, अधिकारकर्मी भई टोपलेका जसले अरूका अगाडि र आफू एक्लै हुँदा फरक फरक व्यवहार गर्नेहरूको घरमा हुर्किंदै गरेको बालमस्तिष्कमा समेत त्यस्तो नकारात्मक प्रभाव पर्ने व्यवहार छ भने अन्य सामान्य, विपन्न, अशिक्षित परिवारमा हुर्किने बालमस्तिष्कमा झन् कस्तो असर परेको होला? यो प्रश्नले लामो समयसम्म पनि निदाउन दिएन।
पक्कै पनि अहिलेको बालबालिका भविष्यका यो देश हाँक्ने नागरिक हुन, सानैदखि जुन वातावरणमा हुर्किए उनीहरूको मस्तिष्कमा पनि त्यही किसिमको छाप पर्न जान्छ।
आफू र आफ्ना दाइभाइका बीचमा र आफ्नी आमा र बुवाका बीचमा हुने विभेद खेप्दै आएकी एउटी छोरीले भविष्यमा कसरी आफ्नो अधिकारका लागि आवाज उठाउन सक्छे। त्यसैगरी आफू र आफ्ना दिदीबहिनी र आफ्नी आमा र बुवाका बीचमा विभेद देख्दै र विभेद गर्न सिक्दै हुर्केको एउटा पुरूषले कसरी महिलाहरूलाई समान व्यवहार गरी लैंगिक समानताका लागि पहल गर्न सक्छ? केही समयपछि आफ्नो दिनचर्याले गर्दा पनि होला मलाई धेरै कुराहरू सोच्ने फुर्सदै नै मिलेको थिएन।
तर जब केही दिनअघि 'लैंगिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता' भन्ने मूल नाराका साथ ३२ औं लैंगिक हिंसा विरूद्धको १६ दिवसीय अभियानको समुद्घाटन गर्दै चर्काचर्का भाषणमार्फत् त्यहाँ भएका सहभागीहरूका बीचमा महिलामाथि हुने गरेको हिंसाका, लैंगिक असमानताका बारेमा पहिचान गराउँदै हिंसा अन्त्यका लागि गर्नुपर्ने पहल, महिलालाई पुरूष बराबर अवसर प्रदान गर्नु नै अहिलेका टड्कारो आवश्यताका बारेमा भाषण छाट्दै गरेका मेरा श्रीमानका तिनै साथीलाई देख्दा मेरो मनमा फेरि अर्को प्रश्न उब्जियो, के समानता सम्भव छ?
जसले आफ्नै घरमा भएका नारीको सम्मान गर्न जान्दैन भन्दा पनि चाहँदैन, क्षमता हुँदाहुँदै पनि उनीहरूलाई घरको चार भित्ता भित्रमात्र सीमित बनाएर राख्छ उसले कसरी लैंगिक हिंसा अन्त्यका लागि पहल गर्छ? यसरी दूधको साक्षी बिरालोलाई राखेको जस्तो भएन र?
हाम्रो देशका महिलाहरू देशको राष्ट्रपति, सभामुख, प्रधानान्यायाधीशजस्ता गरिमामय पदसम्म पनि पुग्न सफल हुनुभएको छ, यो हाम्रो लागि एकदमै ठूलो उपलब्धी हो तर जुन रूपमा महिलाहरू अधिकार सम्पन्न हुनुपर्ने हो त्यति भने हुन सकेको अवस्था छैन।
विश्व अहिले २१ औं शताब्दीको दोस्रो दशक पार गरिसक्दा समेत हामी महिलाहरूको अवस्था आशातित रूपमा फड्को मार्न सकेको छैन।
जबसम्म महिलाहरूलाई आर्थिक आयआर्जनमा सहभागी हुँदैनौं, परिवार सञ्चालनमा हाम्रो सहभागिता हुन सक्दैन तबसम्म हामी महिलाहरू सामाजिक, आर्थिक , मानसिक, शारीरिक आदि रूपमा हिंसामा परिरहने छौं।
२/४ जना महिला मात्र माथि पुगे भनेर हामी चुप लागेर बस्नुहुँदैन हामीले कसरी ती माथि पुगेका महिलाहरूबाट लाभ लिन सक्छौं भनेर लागिपर्नुपर्ने हुन्छ साथै ती महिलाहरूले पनि आफूहरू अधिकार सम्पन्न छौं भनेर मख्ख परेर नबसी अन्य महिलाहरूका लागि आफूले के गर्न सकिन्छ भनेर लाग्नुपर्दछ।
लैंगिक समानताका लागि नेपालको नयाँ संविधानमा पनि उल्लेख भएको छ। लैंगिक हिंसा न्यूनीकरणमा कानुनी राज्यको एकदमै आवश्यकता छ। कानुनी रूपमा भएका दस्तावेजहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न एकदमै ढिला भइसकेको छ।
अन्य मुलुकहरूले विकासको फड्को मारिसक्दा पनि हामी भने सामान्य कुराहरूमा मात्र अल्झिएर बसिरहेका छौं।
समानतामूलक समाज निर्माण नै दिगो विकासको एउटा लक्ष्य हो। समानताले शान्तिपूर्ण समाजको निर्माण गर्न सक्दछ। असमानताको अवस्थामा द्वन्द्व, हीनताबोध, झै–झगडा र विद्रोहको स्थिति सृजना हुन्छ। जसले समग्र देश विकासमा बाधा पुग्दछ।
विश्व स्वास्थ्य संगठनको सन् २०२१ को तथ्यांकअनुसार अझै पनि नेपालमा प्रत्येक ४ मा १ जना महिलाले हिंसा भोगेको हुन्छन्।
एकपटक प्रत्येक नागरिकले घरभित्रको काम महिलाको मात्र हो, घरबाहिरको काम गरे पनि घरभित्रको काम पनि महिलाको जिम्मेवारी हो, घरभित्रको काम गर्ने पुरूषहरू 'जोइटिंग्रे' हुन् भन्ने सोच हटाऔं र बालबालिकालाई विभिन्न विभेदकारी सोचबाट टाढा राखेर हेरौं त समानता कसो सम्भव नहोला र?