मलाई आफ्नो साँचो उमेर भन्न कहिले पनि लाज लागेन, त्यसैले मैले कहिल्यै पनि आफ्नो उमेर ढाटिनँ।
मैले आफ्नो उमेर नढाँटेकै कारणले कतिपय मेरा साथीहरू र आफन्तहरू मसँग रिसाउनु पनि हुन्थ्यो किनकि मैले गर्दा म बराबर अथवा मभन्दा ठूला उमेरकाको वास्तविक उमेर पत्ता लाग्थ्यो।
आफ्नो उमेर लुकाएर म सधैं जवान रहिरहन्छु भन्ने भ्रम मैले कहिल्यै पनि पालिनँ र आफ्नो उमेरलाई लाजको विषय कहिल्यै पनि बनाइनँ।
मान्छेले लुकाउने भनेका आफ्ना गल्तीहरू हुन् र कसैको पनि उमेर उसको गल्ती होइन, त्यो कुनै लाजको विषय पनि होइन।
कति वर्षकी भई? यति होइन? ढिलो भएन विवाह गर्न? अब कहाँ केटा पाइन्छ, अब त बुढी भैसकी जस्ता टिप्पणीहरू अक्सर आफ्ना नजिकका आफन्तहरूबाट नै सुनिन्छन्।
मेरो उमेरका विषयमा मलाई भन्दा धेरै मेरा आफन्तहरूलाई चिन्ता भयो, त्यसैले म आज सम्पूर्णको चिन्ता समाप्त पार्न चाहन्छु।
मेरा शुभचिन्तकहरूको टाउको दुखाइ कम गर्दिन चाहन्छु। म सबैलाई बताउन चाहन्छु कि म चालिस वर्ष पुगेँ अनि म आजसम्म अविवाहित नै छु।
मेरो उमेर एउटा प्राकृतिक स्वतन्त्र प्रक्रिया हो, यो मैले रोकेर रोकिँदैन न म दुखी र निरास भएर बद्लिन्छ। अनि विवाह नगर्नु त्यो मेरो नित्तान्त व्यक्तिगत रोजाइ हो जसको आजसम्म मलाई कुनै पनि पछुतो छैन।
म चालिस वर्ष पुगेँ मतलब मैले जिन्दगीका सुन्दर चालिस वर्ष बाँच्ने सौभाग्य पाएँ।
चालिस बसन्तहरू हेरेँ, चालिस हिउँदहरू देखेँ, चालिस वर्षाहरूमा नाचेँ अनि चालिस शरदमा हाँसें। मृत्यु भनेको शाश्वत सत्य हो तर त्यो कहिले आउँछ भन्ने कसैलाई थाहा हुँदैन।
म चालिस वर्षसम्म नबाँच्न पनि सक्थेँ, म कुनै घटना वा रोगले मर्न पनि सक्थेँ तर म बाँचें। त्यसैले मैले कहिल्यै पनि आफ्नो बढ्दो उमेरको चिन्ता गरिनँ। सधैं आफूले बाँचेको र बाँच्न पाएको उमेरप्रति खुसी भए त्यसप्रति कृतज्ञ भएँ।
समयको स्वभाव हो अगाडि बढ्नु, आजसम्म कसैले पनि समयलाई रोक्न सकेन न आफ्नो बढ्दो उमेरलाई घटाउन नै सक्यो। हरेक समय र उमेरको आफ्नै मिठास हुन्छ, आफ्नै महत्व हुन्छ।
म सधैँ बच्चामात्र हुन्छु वा सधैं जवानमात्र हुन्छु भनेर सम्भव हुँदैन अनि हामी जुन उमेरमा छौं त्यसलाई खुसीसाथ नबाँचेर गइसकेको उमेरको न्यास्रो मान्ने अनि आउन लागेको उमेरको आशा मात्र गर्ने गरेर बाँच्यौं भने हामीले कहिल्यै पनि हाम्रो जीवनलाई आफ्नो सम्पूर्णतामा बाँच्न सक्दैनौं।
त्यसैले उमेरको लाज नमानौं यो कुनै लाजको विषय होइन, यो त हरपलमा बाँच्न अनि नयाँ नयाँ अनुभव साँच्नको लागि हो, आखिर एकदिन सबैले जानु नै छ। त्यसैले जानुअघि खुसीले बाँचौं, हरेक उमेरलाई त्यसको सम्पूर्णतामा बाँचौं।