मोबाइलमा फोटो हेरिरहेको थिएँ। एक्कासि मेरो दिदीको छोरा र मेरो तस्बिर टुप्लुक्क आइपुग्यो।
सन्दर्भ- म मोन्टेश्वरीबाट बेलुका घर फर्केको छोरालाई कुरिरहेको थिएँ।
बसबाट झर्ने बित्तिकै, हामीले एकअर्कालाई अँगालो हाल्यौं। नजिकैको पसलमा दूध पनि किन्नुपर्ने भएकोले हामी दुबै जना पसल गयौं। दूध किनिसकेपछि मैले छोरालाई सोधेँ, 'के खाने?'
उसले भन्दै गयो र मायाले मैले पनि नयाँ नयाँ बिस्कुट र चिप्स थपिदिएँ।
म त्यो दिन अझै सम्झिन्छु उसले मलाइ (बेस्ट सानीआमा भनेको।) अनि ऊ कति रमाएर खाइरहेको थियो। अहिले पनि म उसको घर जाँदा धेरै खुसी हुन्छ। किनकि उसलाई थाहा छ म उसलाई मनपर्ने चकलेट र चिप्स सधैं लगिदिन्छु भनेर। तर…
तर ऊ आज निराश छ। किनकि आज मैले कोसेलीमा अण्डा लगिदिएको छु। उसलाई लागिरहेको छ कि मैले उसको लागि केही ल्याइदिनँ, तर उसलाई मैले पनि त कहिले सिकाइनँ कि पोसिलो खानेकुरा पनि कोसेली हुन्छ भनेर।
उसले सोचिरहेको छ कि मैले परिवारका सदस्यहरूको लागि अण्डा ल्याएको छु र मैले उसको लागि कुनै उपहार ल्याएको छैन।
ममा पौष्टिक खाना उपहार दिने ढाँचा, एउटा पोषणसम्बन्धी तालिमपछि आएको हो। पहिले, म सधैं स्वार्थी रूपमा मेरा छोराछोरीहरूको लागि सबैभन्दा राम्रो सानीआमा बन्न चाहन्थें तर अब म ‘बोरिङ सानीआमा’ रहने तर सकेसम्म पौष्टिक खाना कोसेली दिने निर्णय गरेको छु।
नेपालमा पोषणको अवस्था खत्तम हुँदै गएको देख्दा र सुन्दा अचम्म लाग्यो। परापूर्वकालदेखि हामी पोषण तत्व, भिटामिन, प्रोटिन गर्दै आइरहेको मानिसलाई पोषणबारे के नयाँ कुरा छ र जस्तो लाग्थ्यो मलाई। तर ... बदलिँदो परिवेशको हावाले पोषणलाई कुपोषणमा पूरै धकेलिदिएको छ। अगाडिको परिदृश्यमै हेर्दा पनि हामी अन्जानमा माया गर्दागर्दै आफ्नो प्यारा मानिसलाई 'मन्द विष' ख्वाइरहेका छौं भनेर।
यस्तै उदाहरणमा- म सिन्धुपाल्चोकको सामुदायिक परियोजनामा जाने क्रममा एउटा घर जाँदा बुढीआमाले निकै सत्कार गर्नु भयो, 'नानी कहाँ हो घर?' भनेर सोध्दा मैले जवाफ दिएँ, 'काठमाडौं।'
यसै क्रममा उहाँले नातिलाई पोल्टाबाट झिकेर पैसा दिनुभयो।
'आमासँग त टन्नै पैसा छ जस्तो छ पोल्टा त निकै भारी देखिन्छ' भन्दा हाँस्दै, 'हैन हामी दूध बेच्छौं, के गर्नु उतिबेला पढिएन' भन्दै जवाफ दिनुभयो।
'त्यसमाथि हजुरबुवा बितेपछि यो गाई निकै अटेरी भएको छ। घरको कोहीसँग मान्दैन। मसँग मात्र मान्छ', भन्नुभयो।
नाति पनि यतिबेर दौडेर आयो, उसको हातमा कोल्ड ड्रिंक्स थियो। नेपथ्यमा आवाज आयो, 'यसलाई चिसो एकदम मनपर्छ। तपाईंहरू आएर बल्ल मौका जुर्यो। काठमाडौंको मान्छेलाई यहाँको दही मही गनाउला भनेर चिसो ल्याएको ... ' म अचम्म परेँ।
नेपालमा पाहुना आउँदा घरमै उत्पादित सामानभन्दा पनि बजारको चाउचाउ, चिसो, रसबरी ल्यायो भने उच्च सम्मान गरेको तथा खानदानी र उचित लाग्ने वातावरण आइसकेको छ। त्यसमाथि दूध, दही बेचेर कमाएको पैसाले शरीरलाई हानी गर्ने कुरा खाने चलन बसिसकेको छ।
हामी नेपालीहरू बिरामी हुँदा हर्लिक्स, फलफूल, च्यवनप्रास सबै बोकेर जान्छौं, कारण? अरू खानेकुराले भन्दा यसले तागत दिन्छ। तर हामी किन सजिलै बनाउन सकिने सातु, फलफूल र आयुर्वेदिक चूर्ण, शरीर चुस्त तन्दुरूस्त हुँदा किन खान हिच्किचाउँछौं? किन पोसिलो खाना खान बिरामी नै हुन कुर्छौं?
अस्ति भर्खर म सर्लाहीको चार वटा जति सरकारी विद्यालयमा जाने अवसर पाँए। कार्यक्रम पोषणसम्बन्धी नै थियो।
कार्यक्रम सकिएपछि सरकारबाट नि:शुल्क प्रदान गरिने दिवाखाजा त कम्तीमा थिएन त्यसमाथि चमेना गृह (क्यान्टिन) मा सबै विद्यार्थीहरू बजारमा पाउने प्याकेटको सामान किनिरहेको देखेँ।
यस्तै क्रममा समुदायमा एक आमा पोषण मेलामा आउनुभएको थियो।
पोषण मेलामा एक महिलालाइ हेर्दै आमा गुनगुन गर्दै हुनुहुन्थ्यो।
मैले आमालाई सोधेँ, 'के भयो आमा?'
उहाँले भन्नुभयो, 'यो मेरो बुहारी हो, नातिनी एक्लै छे, अनि यो मेला के हेर्नु भनेर पठाएको।'
मैले सोधेँ, 'के भयो नानीलाई?'
उहाँले भन्नुभयो, 'के हुनु नि, पेट दुखेको र घाँटी नि क्याप्प भाछ भन्दै विद्यालय गएकी छैन नातिनी। घरको सबै नमिठो भन्दै घर पछाडिको बारीमा लुकेर खाना फ्याँक्दो रहिछे। सिर्फ पिरो चाउचाउ र चिसो खान्छे, पेट दुख्यो झाडापखाला लाग्यो, भनेर धेरै स्कुल छुटाइसकी। के हो के', भन्दै आफ्नो घरतिर जानुभयो।
नयाँ-नयाँ रोग अझ दीर्घकालीन रोग निम्त्याउने मुख्य कारण हो खाना।
पक्कै पनि रोग लाग्ने धेरै कारण हुन्छन्। कति हाम्रो नियन्त्रणमा छैन तर हामी खानामा कमसेकम आफ्नो रोजाइ बनाउन सक्छौं। हुन त सर्वव्यापी रूपमा पौष्टिक खाना पाइने र सधैं घरको खाना नपाउने स्थिति पनि बढ्दै छ। यसलाइ नकार्न सकिन्न। तर गाह्रो स्थितिमा बाहेक हामी बरू नयाँ नयाँ घरेलु परिकार खान सक्छौं। यसले शारीरिक स्वस्थता, घरेलु सामान प्रवर्द्धन, कृषकलाइ आम्दानी र हल्का व्यायाम पनि त मिल्छ।
नेपालमा अपर्याप्त खानाभन्दा पनि पोषणको समस्या वास्तवमा खाने तरिका थाहा नभएर हो जस्तो लाग्छ।
अहिले बिहानैको सूर्य किरणमा आधा घन्टा बस्दा पाइने भिटामिन डिभन्दा 'ह्या' झ्याउलाग्दो बरू भिटामिन डि ट्याब्लेट खान्छु भन्ने संस्कृतिले नै पोषण विरोधी भएको छ।
'खाजा कसले बनाइराख्छ ह्या चाउचाउ उमाल्छु, घरमा पनि यही खाएको ह्या बाहिरको खान्छु। ज्वानोको सुप/ खसीको खुट्टाको लागि सामान जुटाउने झन्झट को गरोस्, ह्या प्याकेटको मसरूमको सुप, चाउचाउको झोल मगाउँछु, परिवार सबै मिलेर खाना बनाउने को गरोस्, ह्या बरू नजिकैको रेस्टुरेन्ट जाऊँ, फलानाको परिवार कति जान्छन्, यस्ता तर्क त हामीले दैनिक सुनिरहेको हो।
हो, यस्तै 'ह्याहरूले' हाम्रो स्वास्थ्य 'ह्या' भैसकेको छ।