करिब ६ बजे मेरो आँखा खुल्यो। बाहिर निस्केँ र हेरेँ घरमा कोही थिएन।
'आमा, ए आमा' एकदुई चोटि आमालाई आवाज दिएँ तर अहँ आमा बोल्नु भएन। बुवा बिहानै गाई दुन गोठ जानु हुन्थ्यो र आमा पनि सँगै जानुभएछ भन्ने अनुमान लगाएँ।
घरको आगनमा आएर वर पर हेरेँ तर कसैलाई देखिनँ। पल्लो घरकी हजुरआमा बरन्डामा निस्केर बिहानै देखि भजन गाउने गर्थिन् तर आज केही चालचुल थिएन। अलि अगाडि निस्केर वर पर हेरेँ तर कुनै घरमा पनि मान्छे देखिएनन्।
'हैन आज किन अनौठो अनुभव भइरहेको छ?,' आफैंलाई मन मनै प्रश्न गरेँ।
तल्लो घरकी सुनिता दिदीसँग बुझ्न जानुपर्यो भनेर त्यतैतिर लागेँ। घर पछाडिको डिलबाटै दिदीलाई आवाज दिएँ 'सुनिता दिदी, एकैछिन बाहिर निस्किनु त' तर उताबाट केही उत्तर आएन।
अगाडिपट्टिको भान्साघरमा हुनुहुन्छ होला त्यही भएर मेरो आवाज सुन्नुभएन जस्तो ठानेर त्यतैतिर गएँ। भान्साघरको ढोका त खुल्लै थियो तर भित्र कोही थिएन। मूलघरको ढोका पनि खुल्लै थियो तर घरभित्र कोही पनि मान्छे थिएनन्। यो घरका मान्छे पनि घर खुल्लै छोडेर कता गएछन् भन्ने अर्को प्रश्न फेरि मेरो मनमा उत्पन्न भयो।
त्यहाँबाट निस्केर अझ तल्लो घरमा गएँ र त्यहाँ पनि त्यही दृश्य देखेँ, घर खाली र मान्छे गायब। वरिपरिका ३-४ वटा घर गएँ र सबै घरको हालत एउटै थियो। गाउँभरिका सबै मान्छे आफ्नो घर खुल्लै छाडेर कहाँ गएछन् भनेर अचम्म मान्दै आफ्नै घर फर्केँ।
बुवा अरूबेला यो समयमा दूध दोएर आइसक्नु हुन्थ्यो तर आज उहाँ नि आइपुग्नु भएको थिएन। अब भने मलाई डर लाग्न थाल्यो। मनमा अनेक तर्कवितर्कहरू उत्पन्न हुन थाले। कसैलाई सोधौं भने गाउँमा कोही पनि छैन र झट्ट दिमागमा हरि काकाको नाम याद आयो।
हरि काका स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो र जहिले ६ बजे स्कुल पुग्नु हुन्थ्यो। मैले फोन उठाएँ र काकाको नम्बर डायल गरेँ तर फोन स्वीच अफ थियो। हाम्रो घरदेखि स्कुल करिब १० मिनेटको दूरीमा भएकाले म केही नसोची स्कुलतिरै दौडिएँ।
स्कुल पुगेर हेर्छु त त्यहाँको माहोल नै फरक छ। स्कुल स्कुल नभएर एउटा वृद्धा आश्रममा परिणत भइसकेको रहेछ। अगाडिको ठूलो बोर्डमा 'जानकी आधारभूत विद्यालय' को ठाउँमा 'सरस्वती वृद्धा आश्रम' थियो। म त्यो देखेर तीन छक्क परेँ। यो सब कसरी र कहिले भयो मलाई केही पनि याद छैन।
भित्र पसेर हेरेँ त्यहाँको दृश्य एकदम फरक थियो। जताततै बुढाआमा बुवाहरू एक आपसमा गफिँदै गरेको र विभिन्न क्रियाकलापमा भाग लिँदै गरेको देखिन्थ्यो। कोही लठ्ठी टेक्दै त्यहीँ नजिकैको धाराबाट पानी ल्याउँदै थिए भने कोही गोठमा सकीनसकी आगो फुक्दै थिए। एक जना बुढी आमाले लुगा धुदै थिइन् भने बुवाले पखाल्न सघाउँदै थिए।
यो सब कुरा देखेपछि मेरो मनमा अनेक प्रश्नहरूको वर्षात हुन थाल्यो र हरेक प्रश्नको उत्तर नपाएसम्म मेरो मन शान्त हुनेवाला थिएन तर कोसँग गएर कुरा गर्दा ठीक होला भनेर अन्योलमा थिएँ।
नजर डुलाउँदै गर्दा पर एउटा कोठाको अगाडि 'सरस्वती वृद्धा आश्रम सञ्चालक- दीपेन्द्र साह' लेखिएको बोर्ड देखेँ। त्यहीँ गएर बुझ्दा ठीक होला जस्तो लागेर पाइला त्यतैतिर चालेँ। त्यहाँ पुगेर कोठाभित्र हेरेँ र एकजना ५०-५५ उमेर पुगेका मान्छे किताब पढेर बसिराखेको देखेँ।
'हजुर दीपेन्द्र साह हो?' मैले प्रश्न गरेँ।
उनले आफ्नो किताबमा भएको ध्यान मतिर केन्द्रित गरे र एक अनौठो भावका साथ भने, 'हो, तर तिमी को हौ नानी? कहाँबाट आएको? आऊ न भित्रै बस।'
मभित्र गएँ र कुर्सीमा बस्दै भनेँ, 'मेरो नाम सुस्मिता खतिवडा हो। म यहीँ तल खरिबोटमा बस्छु।'
उनले फेरि सोधे, 'यहाँ कताबाट आइपुग्यौ नि?'
मैले बिहानदेखि मसँग घटेका हरेक घटनाको बेलीविस्तार लगाएँ।
उनले फेरि अनौठो मान्दै भने, 'मैले तिमीलाई सुरूमा देख्दै अचम्म लागेको थियो। तिम्रो उमेरको मान्छे यो ठाउँमा नदेखेको धेरै समय भएको थियो। अनि यो वृद्धाआश्रम खुलेको पनि निकै भैसक्यो। करिब २० वर्ष अगाडि यहाँ एउटा विद्यालय थियो। बिस्तारै यो देशमा भएका सबै विद्यार्थीहरू विदेशिन थाले। विदेशिने कार्य यस्तो तीव्र गतिमा भयो कि केही वर्षमै यो देशमा भएका युवाको संख्या शून्यमा झर्यो र तिनै युवाका बुवा आमाको बिजोक हुन थाल्यो। उमेर बढेसँगै उनीहरूलाई रोगले च्याप्न थाल्यो र उपचार गराउन लग्ने मान्छे पनि भएन त्यसैले नेपाल सरकारले यहाँ भएका विद्यालयहरूलाई वृद्धा आश्रममा परिणत गर्न सुरू गर्यो। यसै पनि विद्यालयहरूमा विद्यार्थीको संख्या कम हुन थालेपछि विद्यालय बन्द गर्ने अवस्थामा पुगेको थियो र विद्यालय बन्द गर्नुभन्दा यसलाई वृद्धा आश्रममा बदल्दा यहाँ भएका वृद्धवृद्धालाई सहारा हुने र समय बिताउन पनि सजिलो हुने निर्णय गर्यो। मेरा छोराछोरी पनि अहिले अमेरिकामा छन् र उतै आफ्नो घर बसाएर खुसी भएर बसेका छन् र म यो आश्रम चलाएर बसेको छु।'
यति सुनेपछि मलाई रिँगटा लागे जस्तो भयो र म त्यहाँबाट फुत्त बाहिर निस्के र बेस्कन रुन थालेँ।
'आमा बुवा तपाईंहरू कहाँ हुनुहुन्छ', भन्दै चिच्याउँदै रुन थालेँ।
एक्कासि कतैबाट आवाज आयो, 'हैन यसलाई के भयो, ओए किन रोएकी हँ?'
आँखा खोल्दा मैले आफूले आफूलाई आफ्नै खाटमा पाएँ र अगाडि मेरी आमा हुनुहुन्थ्यो। मैले आमालाई एकछिन् नियालेँ र भनेँ, 'आमा म नेपालमै बस्छु।'