'आमा! आजदेखि चाहिँ चिनी पूरै सक्कियो। बिहान सबै पसल चाहारेँ कतै छैन चिनी। अब चिनीबिनाको चिया खाऊँ है! बजारमा चिनी किन्न पाइँदैन। नुन खान नपाए पो बाँच्न मुस्किल होला त बेलैमा चिनी छोड्न सके त फाइदै फाइदा हुन्छ रे। म पनि अबदेखि चिनी खान्न भनेर कतिचोटी भन्छु नि! तर के गर्नु फेरि खाइहाल्छु। अबचाहिँ बानी बसालौं है चिनी नखाने।'
मेरो कुरा सुनेर सासूआमाको मुहारमा खुसीभन्दा पनि चिनीबिनाको चिया खानु परेर मन छियाछिया भएको आभास पाएँ।
आमा हाँस्दै बोल्नुभयो, 'भैहाल्छ नि। जे छ त्यही खानु पर्छ। चियै नखाए त हुन्छ।' आमाले सहर्ष चियाको गिलास समाउनु भयो।
हुन त सासूआमाको बानी गुलियो जस्तै मीठो छ। खानालाई अन्नपूर्णमाता सम्झेर श्रद्धानत गर्ने बानी सासूबुहारीको ठ्याक्कै मिलेको छ। अन्नलाई ईश्वर मान्ने संस्कारबाट हुर्कंदै आएकी मैले पनि सुकरातको यो वाणीलाई मनन् गर्दै आएकी छु 'बुद्धिमान मान्छेले बाँच्नका लागि खाना खान्छ, खानका लागि बाँच्ने होइन।'
अन्नहरूको बालामा विश्वम्भरलाई देख्ने हाम्रा अग्रजहरूलाई नमन गर्दै केही दिनदेखि चिनीबिनाको दैनिकी आरम्भ हुँदैगयो।
गुनासोरहित जीवन र सकारात्मक सोचलाई आत्मसात गर्दै जीवन बिताउनु भएकी सासूआमाले पनि तीतोचियामा धेरै दिनसम्म रमाउन सक्ने अवस्था देखेकी थिइनँ। आमाको अम्मल भनेकै त्यही चिया त हो। आमालाई दूध हालेको बाक्लो र गुलियो चिया र कफी प्रिय लाग्छ।
असोज महिना लाग्दै बजारमा चिनीले आफ्नो भाउ बढाउन थालिसकेको थियो। नबढाओस् पनि किन गुलियोमा सबैको मन भुल्याउन सक्ने ल्याकत छ। चाडपर्वमा गुलियोको माग बढ्छ भन्ने थाहा पाएरै त होला चिनीका महाजनहरूले चिनीलाई लुकाएर मूल्यवान बनाएका।
बजारबाट चिनी नहराउँदै भदौ महिनामै तीन किलो चिनी किनेर ल्याएकी थिएँ। ससुरा बा बाहेक सबैलाई चिनी हालेको चिया र कफीले मोहनी लगाएकै छ घरमा। अझ छोरीहरू त कोल्ड कफी बनाएर चिनीको मात्रा बढाएर नै खान्छन्। सासूआमा र म पनि के कम माइली दिदीले कफी घोल्ने मेसिन अमेरिकादेखि ल्याइदिनु भएपछि त हामी पनि चम्किएका थियौं फिँजैफिँज भएको गुलियो कोल्ड कफीमा।
घरमा कोही पाहुना आउँदा पनि कोल्ड कफी नै चल्दै गयो। दही चिउरा खाँदा चिनी खानै पर्यो। चिनी मात्रै त कसैले खाएको थिएन। त्यति गर्दा पनि चिनीको भाँडाबाट चिनी थाहै नपाइ घट्दै गएछ। दसैंमा प्रायः गुलियो हालेको खजुरी र खुर्मा पकाउने गर्थेँ त्यो पनि चिनीको अभाव हुने देखेर बनाउने जाँगर चलेन।
असोजको आधाउँधीमा हो क्यार दूध किन्न जानु भएको सासूआमाले बरू दूधको मात्रा घटाएर एक किलो चिनी नै किनेर ल्याउनु भएछ र घटेको चिनीको भाँडामा थप्नु पनि भएको थियो। त्यो दिन पनि आमाले सुनाउनु भयो,‘लौ है अनिता बजारमा चिनी छैन रे, फारोतिनो गरेर चिनी चलाऊ।'
तिनै चिनीले दैनिकी चल्दैथियो। तर कात्तिक १५ पछि त ठ्याक्कै चिनी सक्कियो।
‘अनिता आज बा र म संस्थामा जान्छौं। अलि सबेरै खाना बनाऊ है। बुढाबुढीलाई लाइनमा बस्न पनि पर्दैन रे। हिजो वृद्ध कार्यक्रममा भन्दै थिए, ‘सतुङ्गलमा छ रे चिनी। एक किलोसम्म एक जनालाई दिन्छ रे ! बा र मलाई दियो भने त दुई किलो चिनी त आउँछ नि। यसपालि तिहारमा सेल पकाउन पर्दैन। यसो घरमा आएका पाहुनालाई के खल्लो चिया खान दिनु। फेरि यति महङ्गो दूध र कफी चिनीबिना खानुपर्दा त मलाई दूध र कफीको सत्यानासै भएको जस्तो लाग्छ।' आमाको कुरा सुनेर मलाई पनि रमाइलो लाग्यो।
सुगर रोग लागेको छैन आखिर दिनको दुईपटक चिया कफी खानलाई पनि चिनी खाने कि नखाने भनेर केको हिसाब किताब गर्नु। चर्को गुलियो नखाए त भैहाल्छ नि। ल्याउन सके त काइदै हुन्थ्यो’ भन्ने सोच्दै भान्साको तयारीमा लागेँ।
ससुराबा पुनः बोल्दै भान्सामा आउनु भयो, 'अनिता! चिनी बोक्ने एउटा ठूलो झोला देऊ न। न धेरै पो दिन्छ कि। दियो भने कति किलो ल्याउने?'
मैले हाँस्दै भनेँ, 'दिँदैन बाबा! दिएदेखि त्यही एक दुई किलो देला। हजुर बोक्न सक्नु हुन्छ र ?’
८० वर्षीय ससुराबा निक्कै उत्साही भएर प्रस्तुत हुनुभयो।
'आमाले बोकिहाल्छे नि! भनन् कति ल्याउने? धेरै ल्याउन सके निशालाई पनि हुन्छ। निशाको घरमा पनि चिनी छैन होला?', निशा ससुराबाको जेठी बुहारी।
'आमासँग पाँच सय छ। जति दिन्छ बोक्नसके जति ल्याउनू। पैसा नपुगे हजुरले आमालाई दिनु होला है बाबा!' बाबाले सहमतिमा टाउको हल्लाउँदै झोला बोकेर भर्याङ ओर्लनु भयो।
बाआमा चिनी लिन सतुङ्गलतिर हिँडेपछि हतारहतार भान्साको काम सकेँ। चिनी घरमा आइपुग्नुभन्दा अगाडि चिनीको योजना पनि बनाउँदै गएँ। दसैंमा पनि नपाकेको खाजा तिहार अगाडि नै पाक्ने भयो भनेर मक्ख परेँ। खुर्मा र खजुरी बनाउन भनेर ल्याएको पिठो आज भने बल्ल तह लाग्नेभयो।
मैले चिनीको सपना दिउँसै देख्न थालेँ।
कम्तीमा बाबालाई दुई किलो आमालाई दुई किलो चिनी दियो भने त खुर्मा र खजुरी सजिलै बनाइदिन्छु। बिदामा घर बसेका छोरीहरूले मैले भान्साको काम नसक्दै भोक लाग्यो भनेर चिच्याउँदा थपक्क खुर्मा र खजुरी दिनु त हुन्थ्यो। जे पर्लापर्ला आज त तयारी खाजा बनाउँछु बनाउँछु। खाजा बनाएर चट्ट डब्बामा हालेर राखिदिन्छु। घरीघरी खाजा बनाउनु त परेन। घरीघरी खाजा बनाउने समयमा त आनन्दले किताब पढ्न त पाइयो।
कल्पनामै खुर्मा र खजुरीले दिएको आनन्दले ढुक्क भएँ। अनि दराजबाट पिठोको डब्बा निकालेर हेरेँ।
हे प्रभु! दसैं अगाडि किनेर ल्याएको पिठोमा त चिल्सा लाग्न पो आँटेछ। अनि हतार हतार पिठोलाई मसिनो चाल्नोमा हालेर चालेँ। धन्न कीरा परेको रहेनछ। पिठोमा जालो मात्र लागेको रहेछ। साथी सरसले दिएको नरिवलले मलाई हेरिरहेको थियो। सरसलाई पनि खजुरी चखाउँला भन्दै खजुरीमा हाल्न नरिवल कोरेर ठिक्क पारेँ। ल्वाङ सुकुमेल पिसेर घरै गम्काएँ। अब सबै सर्दाम तयार पारेर चिनीको प्रतीक्षामा बसेकी थिएँ।
तलैबाट बाआमा बोलेको आवाज आयो। मेरो टाउको भर्याङतिर फर्किए । आँखाहरू बाआमाको हातमा गए टक्क अडिए। हे नारन ! हात त खाली पो छ त। अब के गर्नु। अधर्य भएर बालाई भनेँ, ‘बाबा! चिनी पाइएन? लौ खा! मैले त खुर्मा र खजुरी पकाउन सामान पनि ठीक्क पारेर बसेकी।'
ससुराबाले हाँस्दै चिनीको कथा सुनाउन थाल्नुभयो, 'थोरै पाइयो मात्र चिया खान पुग्ने। संस्थामा त भिड्मभीड रहेछ। धन्न हामी जेष्ठ नागरिकलाई लाइनमा बस्नु परेन तर पनि बल्लतल्ल भित्र पुगेपछि त चिनी नै छैन भन्छन्। एउटी मौगीले ( केटी ) त भनिहाली, ‘भोलि आउनु आज त चिनी सक्कियो छैन।' चिनी छैन भनेको सुन्ने बित्तिकै त्यो मौगीलाई त आमाले बिन्ती गरेर पो फकाई।
'नानी बल्लतल्ल आएका छौं। हामी बुढाबुढीलाई भोलि भनेर फेरि दुःख नदिनू न। हेर्नू नानी! घरमा एक गेडो चिनी नभएको कतिदिन भैसक्यो। बिहान दिउँसो गुलियो चिया खान पाए तागत लाग्याझैं हुन्छ। म त दिउँसो खाजा पनि खान्नँ तर तीन बजेपछि कस्तो चिया खाने तलतल लाग्छ। बानी क्या नानी बानी! तीन बजेपछि चन्दागिरिको डाँडाले घाम खाइहाल्छ अनि त जाडोले हामीलाई नै खान आउँछ। हेर छोरी! त्यही चियाको तातोले हामी बुढाबुढीको प्राण धानेको छ। बुढेसकालमा जिउ तात्दैन अनि त्यही चियाले हामीलाई निकै राहत दिन्छ। खल्लो चिया खाँदा त मलाई डाँको छोडेर रूँन मन लाग्छ।
हेर नानी! मलाई त आज एकपौवा भए पनि चिनी दिनु है।' आमाले त्यति भनेपछि त्यो मौगी हाँस्दै उठी र दराजबाट एक प्याकेट चिनी झिकेर दिई। अनि मैले पनि जुक्ति लगाउने कोसिस गरेँ अर्को प्याकेट पनि दिन्छे कि भनेर भनेँ –‘मलाई पनि देऊ है नानी एक प्याके।’
मौगीले त हामी एकैघरका मान्छे हुन् भन्ने चालपाइहाली छे।
उसले त हाँस्दै भनी- 'दुई किलोको प्याकेट हो घर लगेर आधा आधा बाँड्नु है बा! चिनी साँच्चै सक्किएको छ। जम्मा यही एक पोका थियो अनि तपाईंहरूको माया लागेर दिएको।'
बाबाको चिनी माहात्य सुनेर म पनि मज्जाले हाँसेँ।
बाबा मलाई सम्झाउँदै हुनुहुन्थ्यो, 'बडो मुस्किलले आयो है घरमा चिनी।'
चिनी त आमाले सानो ब्यागमा हालेर ल्याउनु भएको रहेछ।
आमालाई सोधेँ, 'किन सानो ब्यागमा कोचेर ल्याएको त चिनी?'
आमाको उत्तर सुनेर म फेरि दंग परेँ।
'के गर्नु त नानी! जाबो दुई किलो चिनी किन्न पनि त्यत्रो नाटक गर्नु परेको छ। पैसा तिरेर खान पनि यस्तो छ गणतन्त्रमा। नेताहरू ठूला ठूला कुरा गर्छन्। जाबो तिहारको बेला पैसा तिरेर चिनी त खान दिन सक्दैनन्। सित्तैमा दिने भए के त झन् के गर्थे होलान्। तिहारको बेला यो कस्तो जात्रा गरेका हुन् कुन्नी। धन्न यो वर्ष हाम्रो घरमा तिहार छैन। तिहार मनाउनु पर्नेलाई कति सास्ती परेको होला। चिनी हातमा बोकेर ल्याउँदा पनि मलाई त गाह्रो भयो नानी! देख्नेले सोधिहाल्छन् कहाँबाट ल्याएको ? कति ल्याएको भनेर ? कतिलाई उत्तर दिँदै हिँड्नु त्यसैले ब्यागमा कोचेर हालेँ।
हे भगवान्। सुन, हिरामोती ल्याएकोझैं भएको छ जाबो एक किलो चिनी पनि। खुर्मा र खजुरी बनाउनू पर्दैन चिया खान ल्याएको हो फारू गरेर चलाऊ।' बाबाआमा दुबैले लामो श्वास फेर्नुभयो। अनि चिनी हालेर मीठो चिया पकाएर खुवाएँ। सबैले चियाको स्वाद पायौं। अनि मैले निम्की पकाउने सोच बनाएँ र भान्सामा ताउरमाउर गर्न थालेँ।
(अनिताका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)