वृत्त आकारमा घुमिरहेको जिन्दगीका कुरा खै कसलाई सुनाऊँ, मेरा मनका भावनाहरू। बाहिरबाट सबैले मेरो जीवन ठीकठीकै चलेजस्तो देख्छन्। अरूले भन्दा जिन्दगी मेरो जस्तो होस् भनी चाहन्छन्।
अचानोको पीर खुकुरीलाई के थाहा भनेझैं दुनियाँलाई के थाहा मेरो मनको पीर।
तिमीले सोच्यौ होला- म कस्तो निष्ठुरी रहेछु। यतिका वर्षसम्म पनि सम्बन्धमा बसेर कसरी बिर्सिन सकेको होला भनी, तर के गर्नु! सम्झनाका भावहरू धमिलिँदै गएपछि मैले पनि बिर्सेको जस्तो गर्न बाध्य भएँ।
अहिले म कस्तो अवस्थामा बाँचिरहेको छु, त्यो मलाई मात्र थाहा छ। तिमीले छोडेको दिन अझ याद छ। त्यो दिन आकाशमा बादल लागेको थियो, पानी पर्ला पर्ला जस्तो भए पनि परेको थिएन।
सहर प्रकाशबिनाको अन्धकारमय बनेको थियो। जुन र ताराले आफ्नो सुन्दरता गुमाएका थिए। अनि मेरो मनमा सन्नाटा छाएको थियो। हो, त्यो रात मेरो सबै सपना चुँडिएका थिए। मेरा सपनाको देहावसान भएको थियो। निराशाका अस्तु जम्मा भएका थिए।
त्यो दिन मैले आफ्नो ज्यान आफैं लिन खोजेको थिएँ, तर सकिनँ। तिमीलाई बिर्सिनु त आफ्नो ज्यान लिनुभन्दा पनि कठिन रहेछ।
तिमीले अन्तिम फोनमा भनेको कुरा अझ पनि झलझली याद छ।
'हाम्रो सम्बन्ध अब सम्भव हुँदैन किनकी तपाईंं र ममा धेरै अन्तर छ। तपाईंंको र मेरो वैचारिक सिद्धान्त मिल्दैन।'
त्यतिबेला गणितको जोडघटाउ लगाएर तिमीलाई प्रश्न गर्न मन थियो- चार वर्षसम्म सम्बन्धमा रहँदा हाम्रो विचार र सिद्धान्त कति मिलेन छ?
तर सकिनँ। मैले प्रेम गर्दा के फाइदा र बेफाइदा हुन्छ भनेर हिसाब गरेको थिइनँ। मनदेखि गरेको थिए, निःस्वार्थ माया!
मैले तिमीलाई किन यस्ता कुरा गरेको भनी सोधेको थिएँ।
तर तिमी कुनै कारण छैन, मलाई धेरै प्रश्न नगर्नु भन्दै उत्तर दिनबाट पन्छियौ।
तिमीले त्यो अन्तिम फोनमा मलाई भनेको अझ याद छ- तपाईंंलाई म कता गएँ भनेर थाहा नै नहोस् भनी सामाजिक सञ्जालबाट ब्लक गर्न खोजेँ। मोबाइल नम्बर समेत परिवर्तन गर्ने मनसाय बनाएँ। तर सकिनँ। किन किन तपाईंंको माया लागेर आयो। तपाईंंले चार वर्षसम्म मलाई गरेको माया सम्झिएँ। मेरो लागि गरेको त्याग सम्झिएँ। यो तपाईंंको लागि मेरो अन्तिम फोन हुनेछ। त्यसपछि हाम्रो गन्तव्य फरक हुनेछ।
यति भनेपछि म झन् डराएँ, निःशब्द भएँ। कसैले सास रोकेझैं निस्सासिएँ म। म पुनः अप्ठ्यारो मोडमा पुगेँ।
उनले फेरि भनिन्- किन नबोलेको? नराम्रो लागेको हो? नराम्रो नमान्नु। जिन्दगी भनेको यस्तै नै रहेछ परिबन्धमा बाँधिएजस्तै। आजसम्म जे जति सहयोग गर्नुभयो त्यसका लागि हृदयदेखि नै धन्यवाद। तपाईंंले पुर्याएका गुनहरू कहिले बिर्सने छैन। मेरो जिन्दगीमा जोसुकै आए पनि तपाईंंलाई अवश्य सम्झिने नै छु। जिन्दगीमा सधैं सफल बन्नुहोला। हुन त मलाई विश्वास छ तपाईं एकदिन अवश्य सफल बन्नु हुनेछ। किनकि तपाईं कहिले पनि हार मान्नुहुन्न।
उनले त्यति भन्नासाथ मेरो प्रेमको हार महसुस भइरहेको थियो। यदि उनले पनि मलाई उत्तिकै माया गरेको थिइन् भने मलाई त्यति सजिलै किनारा लगाउने कुरा गर्थिनन् होला।
मैले भावुक हुँदै भनेँ, 'तिमी नै जिन्दगीमा नभएपछि त्यो सफलताले के गर्नु। पानी नभएको नदी जस्तै!'
'तपाईंको जिन्दगीमा म नै हुनुपर्छ भन्ने छैन। मभन्दा राम्रो जीवनसाथी तपाईंले अवश्य पनि पाउनु हुनेछ। अनि तपाईंले भन्नुहुन्थ्यो नि जीवनमा सबै थोक आफूले भनेजस्तो पाउन सकिँदैन। तर कतिपय कुरा नपाउँदा ती कुरा आफ्ना लागि थिएन भनेर आत्मसन्तुष्टि गर्नुपर्छ। मलाई पनि थाहा छैन, मैले तिमीभन्दा राम्रो साथी पाउँला वा नपाउँला।'
यति कुरा उनले फोनमा भनेपछि अन्तिममा उनले भनिन्, 'ल ल भयो, अब धेरै कुरा नगरौं। मसँग थोरै समय छ। अहिले दिदी कोठामा आउनुहुन्छ। आमाको ख्याल राख्नु होला।'
उनले त्यति भनेपछि मैले भनेँ- यो कस्तो भनाइ हो? तिमीले मलाई सम्झाएको कि पीडा दिएको?
उनले उताबाट भनिन्- हजुरले जसरी बुझ्नुहुन्छ त्यही नै हो।
तिमी कसरी यति परिवर्तन भयौ?
'यसको मसँग कुनै जवाफ छैन। ल मैले फोन राखेँ है! जिन्दगीमा तपाईं सफल भएको देख्न पाऊँ ताकि मैले यस्तो मान्छेले छोडेँ भनेर पछुताउन परोस्।'
यति भनेपछि फोन काटियो। फोन काटेको केहीबेरमा उनले फेसबुक डिएक्टिभेट गरिन्। मोबाइल स्विच अफ गरिन्।
उनको मोबाइल स्विचअफ भएसँगै मेरो जीवनमा भएको अलिकति उज्यालो पनि धिपधिपाउन थाल्यो।
मैले सक्दो उनको खोजी गरेँ। तर पनि आजसम्म उनी कतै फेला परेकी छैनन्। आजसम्म सम्पर्कमा आएकी नै छैनन्।
मलाई थाहा छैन उनी कस्तो अवस्थामा छिन्। दुःखमा छिन्? उनको जीवनमा सुखमा बितिरहेको छ वा रोदनमा? जीवनमा सफल छिन् वा असफलता पाइरहेको छिन्? उनी जस्तोसुकै अवस्थामा भए पनि म बाँच्नु र मर्नुको अवस्थामा पुगेको छु।
हुन त जिन्दगी भनेको यस्तै हुन्छ क्यारे! जिन्दगीमा जे नहोस् भन्थेँ, त्यही भयो। जसलाई गुमाउन नपरोस् भन्थेँ, उनैलाई गुमाउनुपर्यो। जसको लागि बाँचेको थिएँ, उनैले मर्न बाध्य बनाएर गइन्। जसलाई विश्वास गरेको थिएँ, उनैले विश्वासघात गरेर गइन्। प्रेम, सम्बन्ध, माया सबै भन्नु यस्तै रहेछ।
प्रेम भन्ने चिज नै कस्तो कस्तो। जिउँदै मान्छेलाई पटक पटक मार्न सक्ने! मर्न लागेकालाई बिउँताउन सक्ने! प्रेम कस्तो अप्ठ्यारो चिज रहेछ जो हरेक पल रूवाइरहने रहेछ।
मलाई आज आएर यस्तो लाग्दैछ, जिन्दगीको सबैभन्दा ठूलो शत्रु प्रेम रहेछ। मेरो असफलता नै प्रेम रहेछ। एक वाक्यमा भन्दा भने मलाई त अचेल प्रेमसँग घृणा र घृणासँग प्रेम हुन लागेको छ।