एक दिन बिहानै फेसबुक मेसेन्जरबाट आमालाई भिडिओ कल गरेँ।
उताबाट आमा बोल्नुभयो,' दसैंको धेरै धेरै शुभकामना छ बाबु! नातिनातिना खै त? अनि बुहारी?'
'माथि कोठामा छन्। एकैछिनमा आउँछन् आमा,' भन्दै मैले चिच्याएर छोराछोरीलाई बोलाएँ।
'नवदुर्गा भवानीले रक्षा गरून्। रोगब्याधी नलागोस्...' बोल्दा बोल्दै आमाको गला अवरूद्ध भयो।
दुवै ओठ जोडिए र तलमाथि चलमल मात्र गरे। आवाज निस्केन। आमाले मेरो अनुहारमा सिधा हेर्न सक्नुभएन। आँखाको कोछकोछबाट आँशुको मूल फुटिसकेको थियो। क्यामरा अफ गर्नुभयो।
'आमा नरूनुस्। हामीलाई आशीर्वाद दिनुस्। अर्को वर्ष हामी आइहाल्छौं नि,' मैले भनेँ।
धेरै बेरसम्म एकोहोरो सुँक्कसुँक्क मात्र सुनियो। आमाको आवाज आएन। न आमाले क्यामरा नै अन गर्नुभयो।
म पनि केही नबोली आमाको आवाजको प्रतीक्षामा बसिरहेँ।
धेरै बेरपछि बल्ल आवाज आयो, 'नातिनातिनालाई राम्रोसँग हेरविचार गर्नू। यता फर्केर आउला भन्ने आशा हरायो। जहाँ बसे पनि तिमीहरू खुसी भएर बस्नू। मेरो चिन्ता गर्नुपर्दैन। डाँडामाथिको घाम, कतिबेला अस्ताउने हो थाहा छैन।'
'त्यस्तो होइन आमा, हामी अर्को वर्षसम्म जसरी पनि आउँछौं। अलिकति घरको कारोबार मिलाएर जान पा' हुन्थ्यो कि भन्दा भन्दा ढिलो भएको हो। अर्को वर्षको दसैंमा हजुरको हातको टीका लाउन जसरी पनि नातिनातिना ल्याएर आउँछौं।'
'पाले मान्छेलाई सिध्याउँछ हेर बाबु। बाँचुन्जेल यो गर्न पा' हुन्थ्यो, त्यो गर्न पा' हुन्थ्यो भन्दै त्यै पा'को पछाडि पछाडि दौडिन्छ मान्छे। आखिर समयले मान्छेलाई कतिबेला त्यै पा'ले पाहा पछारेझैं पछार्छ, कसलाई के था! अरूलाई के भन्ने, तेरै बालाई हेर् न। यत्रा भाइ छोरा छन्। यिनीहरूलाई एक छाक खानी मानो र ओत लाग्ने एक एकवटा छानो बनाउन पा हुन्थ्यो भन्दै कहिले लेक, कहिले बेसी गर्नुभयो। कम्ता दुःख थियो त्यो बेला। एक्कासि त्यसरी खस्नुभयो। आखिर कोही पनि यहाँ बस्ने होइन रहेछौ,' आमाको स्वर पुनः अवरूद्ध भयो।
'के गर्ने आमा हामी मात्रै होइन, सारा संसार हिँडेको छ। एक-दुई जना सन्तान हुनेहरूलाई कति गाह्रो होला। हजुर त भाग्यमानी हुनुन्छ। पाँच भाइ छोरा, एउटी छोरी सँगै छन्। अघिपछि नहेरे पनि दुःख, बिमार पर्दा पक्कै हेर्छन्। एक्लो सन्तान हुनेको हेर्नुस् त, कम्ता बिजोग छ!,' मैले आमालाई सान्त्वना दिने हिसाबले कुरा गरेँ।
'मेरो लागि पाँचै औंला बराबरी हो बाबु। एउटा औंलाको अभाव अर्को औंलाले पूरा गर्दैन। तर मेरा लागि भनेर तिमीहरू आउन पर्दैन। असी वर्ष पुगेँ। अब कति पो बाँचम्ला र? तिमीहरूको खुसी नै मेरो खुसी हो। तिमीहरूका पनि छोराछोरी छन्। भोलिपर्सि आफैं थाहा पाउँछौं।'
आमाले भनेको कुराको जवाफ मसँग थिएन। मैले प्लेटो, एरिस्टोटल र सोपेनआवरहरूले लेखेको दर्शन पढेको थिएँ। तर आमासँग जस्तो दार्शनिक ज्ञान ममा थिएन। आमा मेरा लागि विश्वविद्यालय हुनुहुन्छ। सानै उमेरदेखि लेकबेसीमा दसनंग्रा घोटेर, आठ-आठ जना सन्तानलाई सही मार्ग निर्देशन दिनु, असल संस्कार सिकाउनु चानचुने कुरो थिएन।
बुबा सामाजिक कार्यमा बढी हिँड्ने हुँदा घरको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा थियो। उज्यालो हुँदा पँधेरोबाट चार-पाँच गाग्री पानी ओसारेर, बस्तुभाउलाई तातो पानी र कुँडो खुवाएर, एक भारी घाँस काटी सक्नुहुन्थ्यो।
यो एक-दुई दिनको कुरा थिएन। वर्षौंवर्षसम्म यसरी नै चलेको थियो जीवन। छोराछोरीलाई पिठ्युँमाथि बोकेर कोदो रोप्नुपर्थ्यो, धान गोड्नुपर्थ्यो। पिरो धुवाँमा घन्टौं बसेर बाह्र-तेह्र जनाको परिवारलाई दैनिक खाना बनाउनुपर्थ्यो। त्यसैमाथि खेताला बोलाएको बेला धुवाँबाट बाहिर निस्किने फुर्सद हुँदैन थियो। सबैको चित्त बुझाउनुपर्ने। आजकलका मानिस एकादेशको कथा जस्तो!
त्यसपछि आमाले एकैछिन बुहारी र नातिनातिनासँग कुरा गर्नुभयो।
उनीहरूलाई आशीर्वाद दिँदै भन्नुभयो, 'धेरै पढ्नू, चिरन्जीवी हुनू।'
धेरै पढ्नु भनेको त बुझे होलान्। चिरन्जीवी हुनु भनेको के बुझुन्! त्यो बुझाउन मलाई पनि अंग्रेजीकै सहारा लिनुपर्यो।
'ठूलो भएर के बन्छ मेरो नाति?' आमाले सोध्नुभयो।
'सकर प्लेयर,' नातिले जवाफ दियो।
आमाले के बुझ्नु हुन्थ्यो!
मैले आमालाई बुझाउँदै भनेँ, 'भकुण्डो खेलाडी बन्छ रे!'
'भकुण्डो खेल्छ रे?,' आमाले दोहोर्याउनुभयो।
'हो आमा,' मैले भनेँ।
'अस्ति नै त प्लेन बनाएर आफैं उडाएर हजुरलाई भेट्न आउँछु भन्थेउ हइ। त्यस्तो जाबो भकुण्डो खेलेर हुन्छ! डाक्टर, पाइलट, इन्जिनियर बन्न पर्छ क्यारे,' आमाले भनेर नसक्दै नाति उठेर कोठातिर हिँड्यो।
त्यसपछि 'ल राख, तिमीहरूले टीका लाउने हौला। आफूले लाउन नपाए पनि छोराछोरीलाई त लाउनुपर्यो' भन्दै फोन काट्नुभयो।
फोनबाट आँखा छुटाउन साथ मन्दिरमाथि झुन्डिएको बुवाको फोटोमा गएर रोकिए। सेतो दौरासुरूवाल माथि कालो कोट, गोरो अनुहारमाथि पूर्वेली ढाका टोपी लगाएको त्यो तस्बिर बोल्ला जस्तै थियो। तलपट्टि थालीमा रातो टीका र जमरा थियो। धेरै बेरसम्म बुवाको फोटो हेरिरहेँ।
'धेरै भाइ छौ। सबै एकै ठाउँमा बस्नुपर्छ भन्ने छैन। कोही कता, कोही कता गरेर बसे हुन्छ। कोही नेपाल बस्ने, कोही जापान, जर्मनीतिर गए हुन्छ। मान्छेका छोराहरू काँकाँ पुगिसके। अब तिमीहरूले कर्मकाण्ड सिकेनौ। मेरो लाइन समाउला भन्न परेन। अब मैले जति सक्छु, त्यति गर्छु। सकिनँ भने यजमानले पनि दोष लाउँदैनन्। सात भाइमा एउटाले भए पनि मेरो बिँडो थामेको भए मलाई पनि अलि सजिलो हुन्थ्यो। अब त्यो आशा पनि मोर्यो। मैले जनतन गरेरै भए पनि तिमीहरूलाई हुर्काएँ, बढाएँ। तिमीहरूको कापीकिताप त्यसैबाट चलेको हो। अलिअलि आसमीहरू पनि छन्। पुस्तौंदेखि चल्दै आएको कर्मकाण्ड कहिले पनि रोकिँदैन। सबै कुरा छोडे पनि मान्छेले जन्म र मृत्यु संस्कार छोड्दैन। अझै पनि सिके हुन्छ। केही नभए न्वारन र तिथि श्राद्ध गराउन सिक्यो भने आफ्नो धर्म नासिन्न,' खस्नुभन्दा अघिल्लो वर्ष दसैंकै बेलामा बुबाले भन्नुभएको थियो।
त्यही वर्ष ठाइँलो भाइ जापान हिँड्यो।
त्यसको अर्को वर्ष मेरो क्यानडाको भिसा लाग्यो। त्यो पनि दसैंकै बेला थियो।
यो खबर सबैभन्दा पहिले बुवालाई सुनाएको थिएँ। बुवा खुसी हुनुभयो कि दुःखी, नजिकबाट अनुभूति गर्न पाइनँ। म हेटौंडामा पढाउँथेँ। दसैंमा घरमा गएँ। बुवाले मेरो खुसीका लागि आफ्नो दुःख लुकाएर बधाइ दिनुभयो।
'जति टाढा गए पनि आफ्नो माटो यहीँ छ। यही माटोले बनेको शरीर हो। माटोलाई सम्झेर बेला बेला आउँदै गर्नू। हामी त रहन्छौ रहन्नौं, भगवानको हातमा। तर माटो यहीँ रहनेछ।'
बुवाको यस्तो गहन आशीर्वादले वरिपरि उभिएका दाजुभाइ सबैलाई स्तब्ध बनाएको थियो। दसैं सकिएपछि म फेरि हेटौंडा फर्केँ। कोर्ष सकाउनुपर्ने थियो क्यानडा उड्नुभन्दा अगाडि।
एक दिन अचानक पढाउँदै गर्दा भर्रर भर्रर गर्दै फोन थर्थरायो। म कोठाबाट बाहिर निस्केँ। घरबाट साइँलो दाजुको फोन आएको रहेछ। तीनवटा मिस्डकल थियो। यतिबेला म क्लासमा हुन्छु भन्ने थाहा थियो उहाँलाई। कहिले पनि बिहानमा फोन आउँदैन थियो। तीन-तीनवटा कल केही मिनेटको अन्तरमा मिस भएको रहेछ।
मनमा खै किन किन डर डर लाग्यो। अघिल्लो रातको सपनाले अझैसम्म टाउको भारी बनाइरहेको थियो।
डरले मन ढक्क फुल्यो। यसो कुनापट्टी गएर फोन गरेँ।
पहिलो रिङमै फोन उठ्यो तर उताबाट 'बा' भन्दा बित्तिकै फोनको आवाज थर्थरायो। प्रस्ट सुनिएन। ब्याकग्राउन्डमा कोही रोए जस्तो, चिच्याए जस्तो सुनेँ। फोन समाएको हात थर्ररर काँप्यो। छातीको धड्कन बढ्यो। सास रोकिएलाझैं भयो। म सरासर बाहिर निस्केँ र आँपको बोटमुन्तिर गएर पुन: फोन लगाएँ। फोनको पूरा घन्टी गयो तर उठेन। फेरी फोन लगाएँ।
बल्ल उठ्यो। तर फोन उठाएर कसैसँग कुरा गर्दै हुनुहुँदो रहेछ।
'टक्सारमा एम्बुलेन्स छ...फोन गर्नुपर्यो...' यस्तै यस्तै कुरा हुँदै थियो कसैसँग।
धेरै बेर हेलो हेलो भनेपछि बल्ल दाइ बोल्नुभयो। उहाँको आवाज काँपेको प्रस्ट सुनिन्थ्यो।
'बा बेहोस हुनुभएको छ। धेरै बेर भयो होस आएको छैन। हामीले बुटवल लैजाने व्यवस्था गर्दैछौं। त तुरून्त बुटवल आइज।'
मैले के भयो, कसरी भयो, केही पनि सोध्न सकिनँ। थाहै नपाई मेरो पूरा शरीर कामेको थियो। क्याम्पस प्रमुख पुरनबहादुर जोशी अलि पर केटाकेटीहरूलाई खै के भन्दै थिए। म सरासर उनी भएको ठाउँमा गएँ। बुबा बिरामी भएको र स्थिति अलि गम्भीर भएकाले आफू तुरून्त जानुपर्ने कुरा बताएँ।
उनले 'हुन्छ तपाईं गैहाल्नुस्, पुगेपछि फोन गर्नुहोला' भने।
उनी कडा मिजास भएका मान्छे थिए। परिस्थितिअनुसार छिटो निर्णय गर्न सक्थे।
'के मा जानुहुन्छ? मोटरसाइकलमा नजानुहोला,' उनले भने।
म कक्षामा नफर्की सिधै अफिसमा गएँ। झोला र हेलमेट बोकेँ। मोटरसाइकल लिएर सिधै बसपार्क पुगेँ। हेटौंडादेखि बुटवलका लागि कुनै पनि बस सिधै लाग्दैन थियो। एघार बजे एउटा बस जनकपुरदेखि आँउथ्यो भैरहवाका लागि।
त्यो बसमा सिट बुक भइसकेको रहेछ। मसँग दुइटा उपाय मात्र थिए। लोकल बसमा चितवनसम्म जाने र चितवनदेखि बुटवलको बसमा चढ्ने। या मोटरसाइकलमै हुइँकिने।
लोकल बसमा जाँदा एक दिन पूरै लाग्थ्यो। बाटोमा रोकेर हैरान पार्थ्यो। त्यसैले प्रायःजसो बुटवल जाँदा म बाइकमै जान्थेँ। लगभग चार-पाँच घन्टामा बुटवल पुग्थेँ। यस्तो बेलामा मोटरसाइकल त्यति सुरक्षित लागिरहेको थिएन मनलाई। अन्ततः कुनै विकल्प नभएपछि बाइकमै जाने निधो गरेँ।
जानुभन्दा पहिले एकपल्ट डेरामा गएँ। चिसो चिसो भएकाले ज्याकेट लगाएँ। हिँड्नुभन्दा अघि एकपल्ट घरमा दाइलाई फोन गरेँ। उहाँहरूले बुबालाई एम्बुलेन्समा राखेर घरदेखि हिँडाइसकेका रहेछन्। बुवाको अझै होस खुलेको थिएन। एउटा भाइ आमासँगै घरमा बस्ने भएछ। माइलो दाइ बुटवलमा हुनुहुन्थ्यो। अर्को भाइ भर्खरै जापान गएको थियो। कान्छो भाइ पनि बुटवलमै थियो। ठूलो दाजु भने दुबईमा हुनुहुन्थ्यो।
बुवालाई छ-सात महिनाअगाडि मेडिकल चेकअप पनि गराएका थियौं। प्रेसर, सुगर थिएन। उहाँलाई अलि अलि दमको रोग थियो। औषधि पनि लिइराख्नुभएको थियो। बिरामी हुनुहुन्थेन। दसैंमा घर गएका बेला उहाँलाई थोरै चिन्तित देखेको थिएँ। कारण केही थिएन। काम गर्न नसक्ने र काम गराउने मान्छे पनि नपाउने भएपछि हामी मूल घरबारी सबै छोडेर बेसीमा बस्न थालेका थियौं। उहाँलाई त्यो पहिल्यैदेखि नै मनपरेको थिएन।
जिमीमा भएको खेतबारी पनि बाँझिएको थियो। लेकदेखि बेसीसम्म सबै जग्गा बाँझिदै जानु, राक्सेमा भएको बीस-पच्चीस मुरी धान फल्ने खेतमा समेत काम गर्ने मान्छे नहुनु, भकारोमा भएको एउटा दुहुनो भैंसी पनि घाँस काट्ने मान्छे नभएर बेच्नु परेकाले गर्दा उहाँको मन खिन्न भएको थियो।
कुनैबेला भकारोभरि लैना बकेर्ना भैंसी, दुई-तीन हल गोरू, खोरमा चालीस-पचासवटा बाख्रा पालेर बसेको मान्छे, अहिले आएर निर्धो जस्तो हुनुपरेकाले उहाँको आत्मबल घटेको महसुस गरेको थिएँ मैले। तर छोराछोरीको अगाडि उहाँले आफूलाई कमजोर कहिल्यै पनि देखाउनुभएन।
'हिम्मत गर्नुपर्छ। आँट हुनुपर्छ,' भन्नुहुन्थ्यो बारम्बार।
त्यति आँटिलो बाबा कसरी यति छिट्टै ढल्नुहुन्छ? मैले विश्वास गर्न सकेको थिइनँ।
बाटोमा गाडीहरू एकोहोरो कुदिरहेका थिए। एउटाले अर्कोलाई उछिनेरै अगाडि जाने होडमा देखिन्थे सबै।
काठमाडौंदेखि काकरभित्ता, इलाम, झापा जाने लामो दुरीका बसहरू महाभारतको कुरूक्षेत्रमा जस्तै धूलो उडाउँदै र बिगुल बजाउँदै कुदेका थिए। लोकल बसहरूले कालो धुँवाको मुस्लो छोड्दै भिरमौरीको चाकाझैं मान्छेहरू ढोकामा झुन्ड्याएर भागिरहेका थिए। मानौं त्यहाँ कुनै महाप्रलय हुन गइरहेको छ।
ट्रकहरूले साना गाडी अगाडि देख्यो कि पाँच सय मिटर टाढाबाट एकोहोरो हर्न बजाउँथे। मोटरसाइकल हावाको झोँकासँगै उड्न खोज्थ्यो। नारायणी नदीदेखि मनोहरा खोलाको पुलसम्म दुइटा दुर्घटना भइसकेको थिए। न आफ्नो लेनमा कुदेका थिए गाडी, न बाटो काट्दै गरेको मान्छेलाई रोकिदिन्थे।
बाटोमा कुखुरा च्यापिएर मर्यो भने टोलका मानिस मुडा लिएर बाटो थुन्थे। दुई-चारवटा गाडीका सिसा फोड्थे। तर एम्बुलेन्स जाममा परेर बिरामीले बीच बाटामै ज्यान गुमाउँदा बोल्ने कोही हुँदैन थियो।
यस्तै थियो त्यहाँको चलन।
म एकतमासले मोटरसाइकल हाँकिरहेको थिएँ। न भोक लागेको याद छ, न तिर्खा।
सोच्दा सोच्दै नारायणगढ बजारमै पुगिसकेछु। बाटोमा कतिवटा बजार-बस्ती काट्दै आएँ, होस भएन। हाकिम चोकमा रिक्सा, साइकल, टेम्पु मिश्रित जंगलमा रोकिँदा मात्र होस खुल्यो। फेरि मन डरायो। कतै बेसुरमा बाइक चलाएको बेला दुर्घटना भयो भने अर्को विपद आइलाग्न के बेर!
फोनको घन्टी बज्यो। स्ट्यान्ड लगाएँ र फोन उठाएँ। साइँलो दाइले गर्नुभएको थियो। उहाँहरू रिडी बजार आइपुगेको र बुवाको सलाइन फेर्न मेडिकलमा रोकिएको बताउनुभयो।
'बुवाले दाइने हात र दाइने खुट्टा मात्र चलाउनुहुन्छ। श्वासप्रश्वास नियमित छ। मान्छे चिन्ने, बोल्ने केही पनि गर्नु हुन्न। हामी सिधै बुटवल आउँछौ,' उहाँले भन्नुभयो।
सधैं जस्तो आस्कोट लगाउनुहुन्थ्यो। गोरो छाला, टलक्क टल्कने निधार, घुम्रिएको छोटो कपाल र त्यसमाथि पाल्पाली ढाका टोपी, असाध्यै सुहाँउथ्यो बुवालाई। प्रायः जसो सेतो सर्ट, त्यसमाथि कालो आस्कोट र तलपट्टी सेतो धोती लगाउनुहुन्थ्यो। पछि पछि भने पाइन्ट लगाउन थाल्नुभएको थियो। आस्कोटको बाहिरी पकेटमा प्लास्टिकको डिब्बाभित्र देउराली चुरोटको बट्टा हुन्थ्यो। ठूलाठूला यज्ञ वा सभा-समारोहमा जाँदा भने सेतो दौरा सुरूवाल र कालो कोट लगाउनुहुन्थ्यो।
उहाँ चुरोटको अम्मली हुनुभयो धेरै वर्षसम्म। तीन बीस कटेपछि बुवालाई दमले फेला पार्यो। आमा र दाइहरूले उहाँलाई बारम्बार चुरोट छोड्न अनुरोध गरे पनि धेरै दिनसम्म उहाँले कोशिससम्म गर्नुभएन। उहाँ आफ्नो कुरामा आडिग रहने स्वभावको हुनुहुन्थ्यो।
आमालाई उल्टै 'तेरो सम्पत्ति खाइदेको छु र जान्नी हुन्छेस्' भनेर हप्काउनुहुन्थ्यो।
ठूल्दाइ धेरैजसो विदेशतिर बस्नुहुन्थ्यो। माइलो दाजुले भन्दा अलिकति सुने जस्तो गर्नुहुन्थ्यो तर खासै मान्नु हुन्न थियो। हामी युनिभर्सिटी पढ्ने हुँदासम्म पनि बुवाले न कुनै कुराको सल्लाह माग्नुहुन्थ्यो, न भनेकै सुन्नुहुन्थ्यो। उहाँ आफ्नो निर्णयमा पूर्ण रूपले कतिवद्ध हुनुहुन्थ्यो।
बुटवल आइपुग्दा साँझपखको धुमिल आकाशमा आशाका किरणहरू अझै बाँकी थिए। शिवालयको मन्दिरका परेवाहरू बास बस्ने तरखरमा थिए। बाँसको झाडीमा लुकेर बसेका एक जोडी भद्राइ र बुलबुल चरा फुर्रर उडेर आँपको रुखमा बसे। रिक्सावालाले शिवालय मन्दिर छेउमा आफ्नो रिक्सा रोक्यो। टाउकोमा बाँधेको रातो मैलो कपडा हातमा लियो, निधारमा चुहिँदै गरेको पसिना पुछ्यो र देब्रे काँधमा पछाडिपट्टी फाल्यो। कम्मरमा धोती जोडसँग कस्यो र सरासर छेउको पसलमा छिर्यो। एक दर्जन गुड्का किन्यो र हिँड्यो आफ्नो गुँडतिर।
एकैछिनमा एम्बुलेन्स (भ्यान) पनि बुटवल आइपुग्यो। हामी तुरून्त लुम्बिनी मेडिकल अगाडि पुग्यौं। धूलोले धमिरोको गोलाजस्तो भएको भ्यानभित्र साइँलो छोराको काखमा मुन्टो अडाएर बुबा अचेत अवस्थामा पल्टिनुभएको थियो। साथमा छिमेकी अर्जुन दाइ र टोपनारायण दाइ बस्नुभएको थियो।
मैले बुवाको मुखमा हेरेँ, कतै ती बन्द आँखाले एकैछिन भए पनि ढकनी उघारेर पुलुक्क हेर्छन् कि भन्ने आशमा। तर उहाँ मृत्युसँग जुधिरहनुभएको थियो। मुखबाट सेतो फिँज निस्केर गालाबाट बग्दै थियो। भित्रदेखि पीडाको आवाज ओठमा आउन नपाउँदै त्यतै कतै हराएजस्तो लाग्यो। हरमा रातो ब्ल्यांकेट ओढाइएको थियो।
मैले बुवा, बुवा भनेर दुईपल्टसम्म बोलाएँ। उहाँ बोल्न नसके पनि उहाँको अनुहार बोलेको मैले महसुस गरेँ। ज्वाइँ र माल्दाइले पनि बुवा भनेर बोलाउनुभयो। बाघजस्तो साहसी मेरो बुवा त्यसरी मृत्युअगाडि लम्पसार परेको देखेर आँखाको कोछकोछ रसाउन थाल्यो। बहिनी कल्पना बुवालाई देख्नसाथ डाँको छोडेर रून थालिन्।
हामीले बुवालाई तुरून्त इमर्जेन्सीमा भर्ना गर्यौं। बुवाको अवस्था देख्नासाथ डाक्टरले 'केस जटिल छ, तुरून्त काठमाडौं अथवा भैरहवा शिक्षण अस्पताल लैजानुस्' भने।
मझौलो कद, रातो छालामा छिद्र परेको अनुहार, अनि त्यो माथि एकजोडी गोलो फ्रेम भएको चस्मा लगाएका, करिब पाँच फुट छ इन्चको शरीरमा सेतो गाउन भिरेका डाक्टर त्योभन्दा धेरै बोल्न चाहेनन्।
त्यसपछि हामीले बुवालाई भैरहवा शिक्षण अस्पताल लैजाने निर्णय गर्यौं। धूलो-धमिलो बाटोमा एकोहोरो एमर्जेन्सीको हर्न बजाउँदै एम्बुलेन्स अगाडि बढिरहेको थियो। भित्र सबै मौन थियौं। शब्द अर्थपूर्ण वाक्यहरूको खोजी गर्दै थिए। सबैको मनभित्र। जब जीवन जिउनुको कुनै अर्थ भेटिएन, शब्द अर्थहीन बनेर भित्र हराइदियो। बोलिरहेका थिए त केवल तेल सकिएको दियो जस्ता आँखाहरू, काला खोपिल्टाहरू।
करिब रातको नौ बजे एम्बुलेन्स भैरहवा शिक्षण अस्पतालको आपतकालीन गेटबाट भित्र गयो। हामी काउन्टरमा बिरामी भर्ना गर्न गयौं। हामीलाई भर्नाका लागि फर्म दिएको थियो। बिरामीको नाम, ठेगाना, उमेर र उसको रोगको प्रकृतिको बारेमा। मैले हतारिँदै फर्म भरेँ।
गोरो लाम्चो अनुहारमा हल्का क्रिम दलेकी, पातली, होची होची कर्मचारीले बुवाको भर्नाका लागि दस हजार रूपैयाँ डिपोजिट राख्नुपर्ने भनिन्। साइँलो दाइले पैसोको बन्दोबस्त गरेर आउनुभएको थियो। धरौटी बुझाएर हामी एकछिन त्यही रोकियौं।
त्यसपछि उनीहरूले बुवालाई आइसियूमा भर्नाको सिफारिस गरे। हामीले चाहेका थियौं कि जतिसक्दो छिटो बुवालाई भेन्टिलेटरमा राखेर उपचारको प्रक्रिया सुरू होस्। सुरूमा बिरामीको परीक्षणका लागि रगत निकाल्ने, प्रेसर जाँच्ने काम भयो। त्यहाँ कुनै पनि भेन्टिलेटर खाली थिएन। अक्सिजनको सिलिन्डर पाउन या त प्रयोग गरिरहेको बिरामीको मृत्यु हुनुपर्थ्यो वा डिस्चार्ज।
त्यतिन्जेलसम्म बुवालाई बाहिरै राखेर उपचारको प्रक्रिया अगाडि बढाउने कुरा थियो। नर्सहरू मात्र घरिघरि आउन थाले। हामी डाक्टरको तीव्र प्रतीक्षामा थियौं। अहँ, घन्टौं बित्दा समेत त्यसो हुन सकेन। बरू एक हुल डाक्टरी सिक्दै गरेका विद्यार्थीहरू आए। प्रयोगशालामा राखेको कुनै वस्तुझैं गरी निरीक्षण गर्न थाले।
बुवासँग एक जनालाई मात्र बस्न दिइएको थियो। म दाइलाई पालो दिन भित्र छिरेँ। त्यसै बेला देखा परे एक चिकित्सक। उनको पछिपछि दुई जना सेतो गाउन भिरेका महिलाहरू पनि थिए। डाक्टरसँग सबै जानकारी थियो होला, उनले मसँग बोल्ने कष्टै गरेनन्। बुवालाई ओल्ट्याइपल्ट्याइ गरेर हेरे। उनका पछि उभिएका दुई जनालाई केही कुरा भने। उनीहरूले आफ्नो नोटप्याडमा सारे।
त्यसपछि मलाई कुनै जानकारी नगराई उनीहरू सरासर बाहिर निस्केँ। बुवाको शरीरको आधाभाग चल्दैन थियो। मुखबाट सेतो फिँज निस्किरहेको थियो। मैले घरिघरि रूमालले पुछिरहेको थिएँ। माइलो दाइ, साइँलो दाइ पनि पालैपालो बुवाको सेवामा खटिइरहनुभएको थियो। बुवाको मुखभित्र फिँज धेरै जम्मा भएपछि सास फेर्न समेत गाह्रो हुन्थ्यो। एक खालको गर्रर्र गर्रर आवाज निस्किन्थ्यो।
बेला बेला नर्स आएर मुखमा प्लास्टिकको पाइप घुसाएर मुखभित्र जम्मा भएको थुक तान्थिन्। त्यहाँ वरिपरि अरू बिरामी पनि रोइरहेका थिए। कतै आफन्तहरू मूर्छित हुँदै चिच्याउँदै थिए। नर्सहरू कतै आला घाउमा ड्रेसिङ गरिरहेका थिए भने कतै सलाइन चढाउँदै थिए। दृश्य हेर्दा लाग्थ्यो, आम मान्छेहरू स्वर्ग वा नर्कको अन्तिम स्टेसनमा बसिरहेका छन्।
डाक्टरको हाउभाउले स्पस्ट देखाइरहेको थियो, अब बुवा पुरानो अवस्थामा कुनै हालतमा पनि फर्किन सक्नुहुन्न।
त्यही पनि सास हुन्जेल आश हुन्छ।
काठमाडौं वा दिल्ली लगेर भए पनि बुवाको सफल उपचार हुन्छ भने हामी अगाडि बढ्ने सल्लाह गरिसकेका थियौं। तर त्यो सम्भावना कम थियो। त्यसैबीच मैले काठमाडौंमा सम्पर्क गरेर कुनै चिनेको डाक्टर त्यहाँ भए-नभएको कुरा पत्ता लगाएा। एक जना न्युरोको स्पेसलिस्ट हुनुहुँदो रहेछ। उहाँलाई भेटेर बुवा बाँच्न सक्ने अवस्था रहे-नरहेको जानकारी लियौं।
उहाँले बुवाको केस हेरिरहेको डाक्टरसँग सम्पर्क गरेर दिल्ली नै पुर्याए पनि बाँच्ने सम्भावना एक-दुई प्रतिशत मात्र भएको बताउनुभयो। बाँची हाले पनि उहाँको आधाभन्दा बढी भाग प्यारालाइसिस भइसकेको थियो।
हामी स्तब्ध भयौं। बुवालाई बचाउन सकिँदैन भन्ने त मनमा पहिल्यैदेखि थियो तर भित्री कुनामा कताकता फिलिंगो बाँकी थियो। त्यही फिलिंगोले आशाको दीप बाल्न सक्छ कि भनेर पर्खिबसेका थियौं। त्यो पनि लगभग निभ्यो।
राति करिब दुई बजेतिर डाक्टरले बुवालाई अन्तिम अवस्था भएकाले भेन्टिलेटरमा नराख्ने सुझाव दिए। कता कता डाक्टरभन्दा भगवानमा बढी भरोसा जाग्यो। मनभित्र अनौठो द्वन्द चलेको थियो। भाइहरू बसेर सल्लाह गर्यौं- के गर्ने?
कसैसँग उत्तर थिएन। बुवालाई जहाँ राखेर उपचार गरिएको थियो, त्यहाँ शान्तिको वातावरण थिएन। दुर्घटनामा परेका मान्छेहरू रगतको आलमा डुबेर ल्याइएका हुन्थे। आफन्तको कारूणिक चित्कार थियो। त्यसैले पनि सोच्यौं, यदि बुवालाई भेन्टिलेटरमा राख्यौं भने जति समय बाँच्नुहुन्छ, शान्तिसँग बाँच्नु हुनेछ। सास फेर्न सजिलो हुनेछ। हामीलाई पनि थुक्क थुक्क हुने छैन।
हाम्रै करबलले भेन्टिलेटर खाली हुनासाथ बुवालाई सार्न भन्यौं। रातको करिब एघार बजेतिर बुवालाई भेन्टिलेटरमा राखेर उपचार अगाडि बढाइयो। तर उपचारमा खटिएका डाक्टरको सिधा कुरा थियो, केही समयभित्र बुवालाई मृत घोषणा गरिने छ।
अस्पतालबाहिर आँगनमा झुण्डझुण्डमा मान्छे थिए। सबै बिरामीका आफन्त होलान्। कोही आफन्तको मृत शरीर बुझ्न शववहान तयारी अवस्थामा राखेर पर्खाइमा थिए। कोही दुर्घटनाको खबर आफन्तसँग साट्दै थिए। रातमा पनि अस्पताल बाहिरको सडक व्यस्त थियो।
आकाशमा ताराहरू मौन थिए। बाहिरको अन्धकारलाई बत्तीहरूले परपरसम्म धकेलिदिएको थियो। बत्ती जीवन थियो र त्यो कालो छाया मृत्यु।
आँगनको डिलमा थ्याच बसेँ। माइलो दाइ र ज्वाइँ भित्र हुनुहुन्थ्यो। साइँलो दाइ र म बाहिर। अनुहार भावशून्य थियो। बुवाको मृत्युले हाम्रो जीवमा ठूलो भौतिक क्षति त गर्नेवाला थिएन। सबै जसो छोराछोरी एकप्रकारले हुर्किसकेका थियौं। तर मानसिक क्षति अतुलनीय थियो।
बुवा एक्लो छोरा भएकाले ठूलाबा, काका कोही हुनुहुन्थेन। त्यसमा पनि सबभन्दा ठूलो चिन्ता थियो आमाको। छोराहरू हुर्किँदै गुँड छोड्दै गरेको अवस्थामा दुःखसुखको मझेरी बुढाका लागि बुढी र बुढीका लागि बुढो हुँदो रहेछ। हामीले आमालाई कसरी जवाफ दिने कि हामी सात छोराले बुवालाई बचाउन सकेनौं।
दस-बाह्र वर्षको उमेरदेखि गर्दै आएको प्रेमको अन्त्य यति छिट्टै होला भनेर कल्पनासम्म थिएन होला आमालाई। मान्छेलाई आफ्नो काल कहिले आउँछ भन्ने थाहा हुन्थ्यो भने अन्तिम दिनका कुराकानी कस्ता हुन्थे होला?
मेरो मनमा अनेकथरी कुरा खेलिरहे।
करिब बाह्र बजेतिर डाक्टरको टोलीले हामीलाई सल्लाहका लागि बोलायो। बोलाउँदा पनि मन झसक्क हुन्थ्यो।
'तपाईंहरूलाई बिरामीको अवस्थाबारे बताउन बोलाएको। स्ट्रोक भएकाले कारणले बिरामीको दिमागको नशा फुटेको छ। अत्यधिक रक्तस्रावले दिमागका कोष मोरिसकेका छन्। यसलाई ब्रेन ह्यामरेज भनिन्छ। शरीरको आधाभन्दा बढी अंगले काम गर्न छोडिसकेको छ। अब भगवानसँग प्राथना गर्नुबाहेक उपाय छैन,' डाक्टरले भने, 'बिरामीलाई आइसियुबाट निकालेर बाहिर क्याबिनमा राखे भेट्ने मान्छेलाई सजिलो हुन्छ। यत्ति नै समय भनेर चाहिँ हामी भन्न सक्दैनौं।'
सत्य जतिसुकै कठोर भए पनि अन्यौलको भूमरीबाट भने बाहिर निकाल्दो रहेछ। बिहान करिब पाँच बजे बुवाले इन्द्रलोकको यात्रा सुरू गर्नुभयो।
'टीकाको साइत जान लाइसक्यो। साइतमा ढोकामा टीका लगाइदिनुस्। मन्दिरमा टीका लगाइदिनुस्। कतिबेरदेखि त्यहीँ टोलाएर बस्नुभएको,' श्रीमतीको आवाज आयो।
म झस्किएँ।
अझै पनिबुवाको तस्बिरबाट आँखा हटेको थिएन। स्मृतिको कुनाबाट निस्किएर वर्तमानमा फर्केँ।
अघि भर्खर आमाले भनेको 'पा' सम्झेँ। त्यही 'पा' ले घरपरिवारदेखि टाढा पुर्याएको अनुभव गरेँ!