दसैं घर–आँगनमा प्रवेश गरिसकेको छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरू हुने दसैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ।
दसैं शुक्ल प्रतिपदा (घटस्थापना) देखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भए पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौं दिनलाई दशमी वा दसैं भनिन्छ। यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किम्बदन्ती छ।
नेपाली समाज मौलिक संस्कृति र परम्परामा विशिष्ट छ। चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै हाम्रा संस्कृतिका पहिचान हुन्।
दसैं पर्वले धार्मिक महत्व मात्र बोकेको छैन। यसले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। दसैंलाई असत्यमाथि सत्यले विजय प्राप्त गरेको पर्वका रूपमा हेरिन्छ।
सामाजिक हिसाबले पनि दसैं उत्कृष्ट चाड हो। यसले समाजलाई एक–आपसमा मिलाउने काम गरेको छ। नैतिक शिक्षा दिएको छ र सबैसँग घुलमिल गर्दै अगाडि बढ्न समाजलाई प्रेरणा दिएको छ। त्यही कारणले यो कुनै एक समूहको चाड नभई बहुल नेपालीको चाडका रूपमा स्थापित भएको हो। दसैंको महत्व र परम्परा बिर्सिन सकिँदैन। बिर्सन मिल्दैन पनि।
विदेसिएका र विभिन्न उद्देश्यले सहरमा रहेका कैयौं नेपालीहरू दसैं मनाउन घरगाउँ फर्किसकेका छन्, फर्किरहेका छन्। ससरसामान र खाद्यवस्तु किन्न बजारमा घुइँचो छ। गाउँले चिया पसलहरूमा चियाको चुस्कीसँगै दसैं मनाउने योजना बन्दै छ। माकुराले लगाएको जालोहरू पन्छाउँदै घरहरू विभिन्न रंगहरुले सिँगारिएका छन्। मालसिरी वा मालश्रीको धुनसँगै गाउँघरमा दसैंको रौनकले सबैलाई हर्षित बनाएको छ।
कैयौं आमाबाहरू विदेसिएका छोराछोरीको आगमनको आशाका पखेटाहरू फिँजाएर पर्खिरहेका छन्। देश-विदेश वा टाढाटाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण सिर्जना भएको छ। आफ्ना नाता, कुटुम्ब, ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँनयाँ कपडाहरू लगाउने, मिठो मसिनो खाना खानेरखुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस मैलिक पर्वमा विशेष उत्साहका साथ गरिन्छ।
अनुभुति र विगतलाई नियाल्दा धेरैलाई आफ्नो बाल्यकाल निकै प्रिय लाग्छ। उमेरसँग जोडिने हरेक कुराको आफ्नै महत्व र अस्तित्व हुन्छ। बालापनको उमेर फेरि घुमेर आइदिए हुन्थ्यो जस्तो लाग्छ। रूँदै भुइँमा लडिबुडी गर्दा आमाले फकाएको सम्झना सबैलाई प्रिय लाग्छ।
उमेरसँगै जिम्मेवारी बहन गर्नुपर्ने भएर होला सायद, हिजो बुबाआमाको आफू छोरा हुँदाको आनन्द अर्कै। आज छोरीछोरीको आफू बुबा हुँदाको जिम्मेवारी अर्कै। परिस्थिति जस्तो रहे पनि आनन्द, खुसी हुन सिक्नुको महानता बेग्लै।
सानो छँदा औंलामा ३ महिना, २ महिना, १ महिना भन्दै दसैं आउने दिनहरू खुब गनिथ्यो। स्कुलमा सर/मिसहरूले दिएको गृहकार्य दिनरात गरी एक–दुई दिनमा सकिन्थ्यो। सानो खोलीको माटो साइकलमा राखी बोकेर ल्याइ आमाले घर टालोले पोत्दा, दसैं आयो भन्दै धान र चिउरा कुट्दा र आमाले नयाँ लुगा अब दसैंमा किन्ने है भनी फकाउँदा दसैंको रौनक बेग्लै लाग्ने त्यो बेला।
त्यो बाल्यकालमा पालो कुरी दोबाटोमा काकाहरूले बनाएको पिङमा मच्चिन पाउदाँको अनुभूति कति मिठो। कति प्यारो। टीका ग्रहण गरी मान्यजनहरूबाट आशीर्वाद र पैसा पाएर छ्यामछ्याम्ती नयाँ नोट गन्न पाउँदा कति हर्षित त्यो क्षण। पुरानो पैसासँग नयाँ नोटको पैसा साट्न खुब रमाइलो लाग्ने।
मेरो टीका धेरै, तेरो टीका थोरै खुब भनिन्थ्यो। कति अबोध ती पलहरू। कति खुसियाली ती क्षणहरू। स्मरण गर्दा ओठमा मुस्कान मुस्कुराइ हाल्छ। मन मख्ख अनि खुसी बेग्लै। आफ्नो अडान राख्दै भुइँमा लडिबुडी गर्दै रोएको सानो बच्चाले आफ्नो माग पूरा हुँदा भएको खुसी जस्तै।
दसैंको दिनभरि टीका लगाउँदा जम्मा भएका पैसा अँधेरी साँझमा गन्दाको खुसी झन् प्रिय। दसैंमा लगाएको टीका भोलिपल्ट पनि निधारमा रह्यो भने राम्रो हुन्छ भनी आमाले भन्दा संवेदनमा राखी सुतेको त्यो क्षण कति प्यारो। कति आनन्दमय।
तास खेली हारेपछि आमाको छेउमा गएर बसी आमालाई फकाएर पैसा मागेको मजा छुट्टै। पोहोरको दसैंमा यती दक्षिणा भएथ्यो, अहिले कति हुने हो भनेर मनमनै खुब हिसाब किताब गरिन्थ्यो। निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा छन्द्राङछन्द्राङ पार्दै हिँडेको त्यो बालापन सम्झिँदै कति प्यारो पो दसैं आएझैं लाग्थ्यो।
नाता कुटुम्ब, ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाई आर्शीवाद ग्रहण पश्चात यो बज्जिया त छोरो मान्छे पो हो त, छोरो मान्छेलाई त दक्षिणा दिनुपर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिँदा छोरी भएर नजन्मेकोमा पछुतो निकै मानिन्थो। कति अबोध त्यो उमेर। पैसाभन्दा ठूलो त आशीर्वाद र शुभेच्छा रहेछ भनी अचेल बल्ल अनुभूति हुन्छ।
अन्त्यमा शरद ऋतुको यो समय, ढकमक्क फूलहरू फुलेका छन्। खेतमा लहलह धानका बालाहरू झुलेका छन्। वर्षा थामिएको छ। न जाडो छ, न गर्मी। बर्खे पानी/झरी बिदा भएर वातावरणमा पनि अनौठो महक छरिएको छ। मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर, नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने, भाइचाराको विकास गर्ने साथै नव–पुस्तामा संस्कृति हस्तान्तरणको पारिवारिक तथा सांस्कृतिक अवसरको रूपमा पनि दसैंको महत्वलाई लिनुपर्छ।
सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दसैं खर्च दिएर दसैंको महत्वलाई अझै उजागर गरेको छ। हामी सबैले दसैंलाई परम्परा र संस्कृतिको संरक्षण र जर्गेना गर्ने हेतुले मनाऔं। एकआपसमा रमाइलो गरौं। सद्भाव कायम राखौं। देशमा आर्थिक संकट र महँगाइ विद्यमान नै छ। सबैको लागि दसैं सरल र सहज तरिकाले मनाउने, खुसी साट्ने माध्यम बनोस्। सबैको सुख, मनमा शान्ति, सु–स्वास्थ्य, दीर्घायु, सदभाव र सम्वृद्धिको लागि नवदुर्गा भवानीबाट ऊर्जा प्राप्त होस्।
स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मनहरूमा दसैंको शुभकामना।