नेपालीहरूको महान् चाड वडादसैं, परिवारका सबै सदस्य एक ठाउँ भेला हुने यो रमाइलो चाडको एउटा छुट्टै महत्व छ। देश विदेशमा रहेका आफन्तहरू ठूला-बडाबाट टीका थाप्न घर फर्किन्छन्।
चाडपर्व आएसँगै किनमेल पनि बढ्छ। घरघरबाट खानेकुरा, लत्ताकपडा, विद्युतीय उपकरणसहित सम्पूर्ण सामान किन्न जाने व्यक्तिहरूको घुइँचो छ पसलहरूमा।
मध्यम र गरिब वर्गीय परिवारमा पनि दसैंको छुट्टै हर्षोल्लास र उत्साह छ। अस्ति बसमा आउँदा एक जना दिदीसँग कुरा गर्दा उहाँले भन्दै हुनुहुन्थ्यो, 'चाडपर्व नआए हुन्थ्यो जस्तो लाग्छ। दसैं होइन यो त मध्यम वर्गीय परिवारको लागि दशा नै हो। घरखर्च बल्लबल्ल धानेको बेला यो चाडवाड आएसँगै खर्च झन बढ्छ। ऋण लिएर के दसैं मनाउनु र? आखिर पछि आफैंले तिर्नुपर्छ। बच्चाहरूलाई फेरि नाइँ पनि भन्न सकिन्न। वरिपरि अरूहरूले खाको-लाको देख्दा उनीहरू पनि रहर गर्छन्। साह्रै गाह्रो छ बहिनी।'
दिदीको कुरो सुन्दा मन साह्रै नमिठो भयो। हो पनि। न बच्चाहरूलाई नाइँ भन्न सकिने र गोजी हेर्दा खर्च धान्न नसकिने अवस्था छ।
अर्को दुई जना महिलाले फेरि कुरा गरेको सुनेँ।
उनीहरु भन्दै थिए, 'एकएक सामान रोजेर किन। पैसा सकिनसकी खर्च गर। सबै जनाको लागि उपहार लिएर जाउ। र अन्तिममा सबै कुरोमा दोष निकाल्छन्। यो भएन, त्यो भएन, यो पुगेन.......। दसैं त साह्रै गाह्रो समय लाग्छ मलाई। झन् सबैलाई बिदा हुने अनि घरका बुहारीलाई व्यस्तताको समय।'
उहाँहरूको पनि घरखर्चको चिन्ता सुन्दा नरमाइलो लाग्यो। चारैतिर विभिन्न जिल्लाबाट विभिन्न उद्देश्य लिएर राजधानी पसेका जनताहरूको आफ्नो जिल्ला फर्किनेको लर्को। बसपार्कको भिड देख्दा त काठमाडौंको आफ्नो जनताभन्दा बाहिर जिल्लाको जनता यहाँ तेब्बर भएको जस्तो लाग्यो।
दसैंमा पसलहरू पनि बन्द हुने हुँदा कहिलेकाहीँ महत्वपूर्ण सामान पनि खाँचो पर्छ। त्यहि भएर हामी दिदीभाइ नि गयौं आफ्नो लिस्ट लिएर घर सामग्री किन्न। सामान किनेपछि बिल तिर्न लाममा लाग्यौं। हामीभन्दा अघिको व्यक्तिले आफ्नो बिल तिर्दै थिए।
'२ लाख ३७ हजार ११४' भन्ने कुरा काउन्टरमा भन्दा हामी दिदीभाइ हेरेको हेर्यै भयौं। के होला त्यस्तो किनेको भनेर हेर्न थाल्यौं। उनले त हेलमेट पो किनेका रहेछन्।
म सोच्न थालें। अस्तिको दिदीको कुरो सम्झिन थालेँ। अर्को दुई महिलाको कुरो कानमा बज्न थाल्यो। अहिलेको देशको मन्दी र बेरोजगारी सम्झिएँ। युवाहरू दिनदिनै बिदेसिएको सम्झिएँ।
कसैलाई घरखर्च चलाउन गाह्रो छ, कसैलाई पैसा फालाफाल छ। एकदिन अघि मैले स्कुटरको मूल्य बुझेको थिएँ। ठिकठाक स्कुटरको मूल्य २ लाख २० हजार भनेको थियो। मैले सोधेको स्कुटरको मूल्यभन्दा त हेलमेट महङ्गो लगाउँदा रहेछन् अरूले।
नेपाल गरिब छ। केही दिन अघि एक जना सरले नेपाल गरिबी रेखामा एक नम्बरमा परेको कुरा फेसबुकमा लेख्नुभएको थियो। त्यो देखेर चित्त दुखेको थियो। दिनदिनै आलु, चामलदेखि सानासाना कुरा पनि भारतबाट आयात भएको समाचार सुनिन्छ। यो त महत्वपूर्ण कुरो हो, नउब्जिएपछि बाध्य भएर आयात गर्नुपर्छ। तर त्यति महङ्गो हेलमेट लगाएर देखावटीपन किन गर्ने हो खोइ गरिब देशका जनताले?
दुई दिनअघि सुनेको थिएँ एउटा बैंकले ऋण लिएको। धेरै जनाले देश श्रीलंका बन्ने भो भनेर गुनासो पोखेका थिए। महत्वपूर्ण कुरा आयात गर्नु पो मजबुरी हो देशको। तर लक्जरी आइटम बिनाकारण किनेर किन महङ्गो कर तिरेका छौं? देश ऋणमा डुब्दा हामी पनि त ऋणी बन्छौं। यो कुरो हामी नेपाली जनताले किन बुझ्न नसकेको? सबैको आ-आफ्नो विचार हुन्छ। तर मलाई देशमा मन्दी चलेको बेला, देश गरिबीमा डुबेको बेला, अधिकांश जनतालाई चाड मनाउन सामान्य खर्च धान्न धौधौ परेको बेला त्यो लगभग साढे दुई लाखको हेलमेट किनेको देख्दा हाम्रो देशको देखावटीपनप्रति घृणा जाग्यो र त्यस्ता लक्जरी सामग्री महङ्गो कर तिरेर भित्र्याउने सरकार देखेर दिक्दार लाग्यो।