मलाई दसैं औधी मन पर्छ। दसैं मन पर्दैनन् भन्ने नेपाली पाइन्न होला। विवाशताको हुरीले बादल पारिको देशमा उडाएर ल्याएको छ, अनकन्टार अन्जान गल्लीहरूमा सुनौलो सपनाहरू खोज्दैछु।
खुसी लाग्छ मलाई माउन्ट एभरेष्ट भएको देशको मान्छे हो भनेर फिरङ्गीले सम्बोधन गर्दा। हमेसा मनमा शान्तिको मंगलधुन गुन्जिरहेको हुन्छ, सायद शान्तिको दूत गौतम बुद्धको देशमा जन्मेर होला।
भूमण्डलीकरणको शिकार बनेर केही देशमा पुगें। तर, नेपालजस्तो प्यारो र प्रिय देश अन्त कतै देखिनँ, अन्त कतै पाइनँ। सोच्नेले सहजै भन्लान्, आफू जन्मेको देश जसलाई पनि प्रिय हुन्छ भनेर।
तर मेरो भोगाइले भन्छ, 'नेपालजस्तो प्राकृतिक सुन्दरताले भरेको देश देखिनँ। म जहाँ-जहाँ पुगे पनि।'
भलै कृत्रिम मान्छेले बनाएको ठाउँहरू छन् धेरै आधुनिक विकासको एउटा अर्को प्रकार विकसित देशहरूमा। तर नेपालको जस्तो अलौकिक प्राकृतिक सुन्दरताका छटाहरू छैनन् अन्त कतै। यति सुन्दर देशको मान्छे बन्ने सौभाग्य लिएर जन्मेको म, आफ्नो स्वार्थ पूरा गर्न सिपालु, छलछाम, जालझेल गर्न जान्ने भएका नेतृत्वको कारण विगत केही वर्षदेखि सुनिश्चित भविष्य खोज्न विवश भएर हुलका हुल तन्नेरी युवाशक्ति देशबाट पलायन भएको सत्य दिनको घाम जत्तिकै छर्लंग छन्।
त्यही हुलको तन्नेरी युवामध्येमा म पनि एक हुँ। म पलायन हुनुमा अलिकति बाध्यता, अलिकति रहर, अलिकति देखासिकी हो। दोष कसैलाई दिन्नँ। कारण आफू परदेशी हुनुमा।
दशक बितिसकेको छ, अमूर्त सफलताको पछि लाग्दालाग्दै। परदेशमा बितेको दशकले भौतिक सुख-सयल त केही दियो। तर, मैले धेरै स्वदेशी झर्रो कुराहरू भने पक्कै गुमाएँ। थाहा छ, अब ती कुराहरू फर्केर आउने छैन।
जीवन भनेको यही नै त रहेछ। नफर्कने विगतहरूको संकलन। अनुभव र अनुभूतिहरूको भण्डारण। अंकमा गन्न मिल्ने वर्षहरूको संयोजन। सुख र दु:खको एउटा सुन्दर संगम।
बुवाले पाएको अल्पायू ,सानै उमेरमा टुहुरा हुनु। पारिवारमा जेठो छोरा भएर जन्मनु,परिवारको आर्थिक स्थिति सोचेभन्दा धेरै कमजोर हुनु। यी सब कारणले गर्दा अभावको प्रभाव ममाथि परेको थियो।
धेरै पढेर ठूलो ठाउँमा स्थायी जागीर पाउनु भनेको असम्भव जस्तै भएको थियो। कल्पनामा मात्रै सीमित रहने कुरा बनेको थियो।
दस वर्षको उमेरदेखि घर छोडेर हिँडियो। नेपालको प्रायः पहाडी जिल्लाको मुकाममा सानोतिनो काम गरियो। घरदेखि जतिसुकै टाढा भए पनि दसैंमा चाहिँ घर पुगेको हुन्थ्यो।
समयसँगै उमेर बढ्यो। उमेरसँगै सोच बदलिँदो रहेछ। बदलिँदो सोचसँगै मौलाएको महत्वकांक्षीको पछि लागेर। सबै नेपालीको रोजाइमा पर्न सफल वैदेशिक रोजगारको मोहले टाढा रहन सकिनँ म।
वैदेशिक रोजगारको शिलशिलामा विगत डेढ दशकदेखि आफ्नोदेखि टाढा छु , केही दसैं छुटेन अधिकांश दसैं छुट्यो। दसैंले मलाई छुटाको होइन, मैले दसैंलाई छुटाएको हो।
नमान्ने होइन दसैं परदेशमा मान्नु त मान्छु नै तर स्वदेशमा जस्तो कहाँ हुन्थ्यो र?
नमज्जा लाग्छ। मन दुखेर आउँछ। प्रत्येक वर्ष आउँदा दसैंमा चाहिँ पक्कै आउँछु भनेर राखेको भाका पूरा गर्न नसक्दा आफ्नाहरूको नजरमा फटा सावित हुँदैछु।
विशेष गरेर आमालाई सम्झन्छु। आमाको मुक्त कण्ठबाट फूलको सुगन्धजस्तै निस्कने आशीर्वादको यादले तड्पाउँछ।
खै कस्तो रचना हो यो विधाताको।
कति अज्ञात बनाएको होला जीवनलाई। कसरी निर्माण गर्यो होला कहिल्यै नअघाउने लोभको भोकलाई?
कुन विधिले बनायो होला कहिल्यै पूरा नहुने आशालाई?
एक मिनेटपछि के हुन्छ भनेर थाहा नभएको अस्थायी जिन्दगीमा, किन होला अब भयो, अब पुग्यो भन्ने महसुस दिलाउन असफल भएको होला आस्थाले पुज्ने देउताहरू।
म आफ्नै बोलीको पक्का हुन सकिनँ। पोहोर साल आमालाई भनेकी थिएँ आमा यो पालको दसैंमा चाहिँ पक्कै आउँछु भनेर। तर यो सालको दसैं पनि यतै अन्तैकतै अरूको देशमा मनाउँदैछु। थाहा छ, आमाले मन दुखाउँछ भनेर। र पनि म भास्सिँदैछु परदेशमा विचरो बनेको बाध्यतालाई दोष दिँदै।
कहिलेकाहीँ डर पनि लाग्छ। कतै आमाले फटा नेता जस्तै हो तिमी पनी भन्लान् भनेर। आमाको मन राख्नको निम्ति कोर्दैछु, सानो पत्र।
प्यारी आमा,
ल्हास्सो फ्याफुल्ला (सादर ढोक)
मलाई माफ गरिदिनु आमा। पोहोर साल राखेको भाका पूरा गर्न सकिनँ। बेस्सरी मन थियो यसपालिको दसैं सँगै बसेर मनाउने। तर विवशताको बादल मडारियो प्रवासी दैनिकीमाथि। तीन महिना अगाडि नै छुट्टीको लागि आवेदन हालेको थियो। छुट्टी पारित पनि भएको थियो।
अचानक सँगै काम गर्ने साथीको फोन आयो उसको घरबाट। उसको घरबाट आएको खबरले ऊ तत्काल घर जानुपर्ने भयो। ऊ इमर्जेन्सी छुट्टी लिएर गयो। ऊ आउनु नै पर्ने कारण थियो। उसको श्रीमती नाबालक नानी छोडेर कुबाटो लागेकी रहिछ। त्यही भएर मेरो छुट्टी क्यान्सिल भयो।
त्यही भएर म आउन नसकिने भयो। आमा चिन्ता नलिनु यस्तै हो परदेशीको जिन्दगी। भौतिक रूपमा उपस्थित हुन नसके पनि मेरी आमा सधैं मेरो मनम छँदै छिन् नि। बाँकी परिवारसँग मनाउनु दसैं। टीकाको दिन आम्लानी भिडिओ कलमार्फत् टीका थाप्न, आशीर्वाद ग्रहण गर्न।
आमा आजलाई यत्ति लेखेर कलम बिसाउँछु!
-उही हजुरको परदेशी छोरा
सुशील लामा
छुटाउन मन नलागेको कुराहरूलाई कति छुटाए कति। मनले अस्वीकार गर्दागर्दै बाध्यता नामको वस्तुले घिसार्दा रहेछ जिन्दगीलाई। यसरी घिस्रिँदै गरेको लाखौं जिन्दगीहरूको दसैं-तिहार सम्झना र सपनाहरूमा बाँचिरहेको हुन्छ। कठै भन्ने कोही हुन्न अर्काको देशमा। उनीहरूको हामीसँग हुने सम्बन्ध भनेको काम हो। जसरी हुन्छ हामीबाट धेरै काम खोज्छ। हाम्रो मौलिक चाडपर्व हामीले मान्ने खुसीयालीसँग हुँदैन केही सरोकार उनीहरूको।
यस्तै-यस्तै जीवनमा परिवर्तन खोज्न निस्केका हामीहरू परिबन्धमा परेर घर फर्कने दिनको पर्खाइ हुन्छु। बिडम्बना पर्खाइहरू घरमा सृजना हुँदै गरेको नयाँ-नयाँ समस्या, नयाँ-नयाँ महत्वाकांक्षाले टाढा-टाढा सार्दै जान्छ। हुनु त सबैकुरा भनेको जस्तो, सोचेको जस्तो भए मजा पनि आउँदैनन् थियो होला जीवन भोगाइको। भनिन्छ नि दु:ख बिनाको सुख के सुख भनेर।
यस्तै आदर्शको रंगले पोतेको कुरा सम्झेर बुझाउनु परेको छ मनलाई। मन मनै मनलाई सोचाइको फाँटतिर ओराल्छु, सोचाइको फाँटभरी जिन्दगी मजाले झुलेको पाउँछु। मनदेखि मस्तिष्कसम्म उत्साहको मेला लगाउँछु। जहाँ जिन्दगी खुसीयालीको गीत घन्काउँदै गरेको पाउँछु।
सोचाइको काल्पनिक हरियाली फाँटबाट यथार्थको संघारमा फर्कन्छु, सत्य लुकाउन सकिन्न। म भएको मरूभूमिबीच हरियाली देख्न पाउने भनेको टिभीमा मात्रै हो। सोचाइमा सजिएको शरद ऋतुको शारदी घाम, खुसी बनेर फुलेको सयपत्री, मखमली, गोदावरी फूलहरूले केवल याद बनेर मथिङ्गाल हल्लाइदिन्छ।
आफूले आफैंलाई यसरी बिकाएर बेचिनु पर्ने अवस्था निर्माण गरेको देशको मौजुदा व्यवस्था सम्झेर तत्काल उथलपुथल पार्न ज्वालामुखी बनेर विस्फोट हुन मन लाग्छ। सस्तोमा रगतपसिनाको व्यापार गरेको मुलुकहरूमा भिजिट भिसामा आएर घुम्न मन लाग्छ।
गजबकै छ, यो अनियन्त्रित मन। खैर मनको कुरा मनमै रहोस्। तनलाई सताएर भए पनि कुर्छु अर्को सालको दसैंलाई।