मम्मीसँगको छोटो फोनवार्तामा आमाको प्रसङ्ग जोडियो।
'आमाका आँखा झन् झन् कमजोर हुँदै छन्। आजकल त पैसाको नोट पनि झुक्किन थाल्नुभएछ। थोरै टाढा पनि ठ्याम्मै देख्दिनँ भन्नुहुन्छ।'
मेरा दु:ख, सुख, जीवनका हरेक कुना-काप्चा स्पष्ट चारेका ती आँखा धमिलिएको खबरले मन अमिलिएर आयो। कास मेरा अमिलिएर जमेका आँसुले त्यो धमिलो पखाल्न सक्ने भए। हुन त तिलगंगाले पखाल्न नसकेको धमिलो अरू केले पखाल्न सक्थ्यो र खै!
१२ वर्षमा बालिका बधु भएर भित्रिनुभएकी आमालाई जीवनले कस्ता खुड्किलाहरू पार गराउने छ भन्ने कत्तिको भेउ थियो होला ऊ बेला।
२००५ सालको नवदुर्गामा जन्मिएकाले आमाको नाम दुर्गा देवी भएको रे। अनि ज्योतिष पूर्ण चन्द्र बरालकी कान्छी श्रीमती भएर भित्रिएकाले थपिएको रे बराल। अनि हुनुभएको रे आमा दुर्गा देवी बराल।
आफूभन्दा १६ वर्ष जेठो केटो अनि नभएर सौता माथि दिँदाको डरको प्रश्नमा आमा भन्नुहुन्थ्यो, 'किन नलाग्नु नि डर। कति हो कति नि। तर के गर्नु आफ्नो भागको जीवन भोग्नै पर्छ हरेकले।'
माइतमा एक्ली छोरी पुल्पुलाएर हुर्काएकी। कुमार केटालाई दिँदा फुपूहरू बितेका कारण सौतामाथि दिने निर्णय गर्नुभएको रे आमाकी बुढी हजुरआमाले। बुढा हजुरबाको मन्जुरी बिना गरिदिनुभएको रे आमाको बिहे। ऊ बेला घर ढिडो खान नजानेर आमा माइत भात खान जानुहुन्थ्यो रे अनि साथमा घाँसको मुठो लिएर फर्कनुहुन्थ्यो रे।
आमा भन्नुहुन्थ्यो, 'घरको बास, माइतको गाँस थियो ऊ बेला।'
आमाको माइती पनि त नजिकै- बैदाम। घरबाट ओइ भनेर बोलाउँदा माइतीमा सुनिन्थियो रे। त्यति बेला आवाज छेक्न अहिले जति कंक्रिटका रूख पनि त थिएनन्।
१० वटा सन्तान जन्माएर ३ वटा सन्तान खसेको शोक बस्नुभएकी आमाको रगताम्य भएका साडीका इतिहास सुनाउनुहुन्छ मम्मी बेला-मौका। अनि म सोच्छु त्यो मुठी जत्रो शरीरमा लुकेको आँट अनि ऊ बेला ३ छोरी भैसक्दा पनि छोरा नजन्माएकोप्रति पितृसत्तात्मक सासू अनि समाजले दिएको पीडाको वास्तविकता। आङ जिरिङ्ग भएर आउँछ। त्यो पितृसत्ताको चरम पीडा सहेकी आमाले ठूलो मामा जन्मिएपछि चर्को घाममा शितल बसेजस्तो भएको थियो भन्दा अझै पनि कति घरमा छोरा जन्माउनका लागि महिलालाई दिइने पीडा सम्झेर भक्कानो फुटेर आउँछ। बाहिर ठूला कुरा अनि भित्र सङ्कीर्ण सोच देखेर लाज लागेर आउँछ।
जन्मेको ६ महिनादेखि जीवनका २५ बसन्त मामाघरमा बिताएकी मलाई आज पनि कसैले तिम्रो घर कताभन्दा, मस्तिष्कमा पहिलो उत्तर फुर्छ- 'मासबार, पोखरा।'
मैले बाल्यकाल बिताएको घर। मैले संस्कार सिकेको घर। मैले कर्म सिकेको घर। अनि त्यो घरलाई अनुशासनमा बाँधेर हाँक्नुभएकी मार्गदर्शक- हाम्री आमा।
म अझै सम्झन्छु त्यो दिन जब म कक्षा ६/७ मा पढ्थें। पोखरामा कहिल्यै नपरेको असिना पानी परेको थियो। आधा किलो सम्मका असिना परे भन्ने खबर समाचारले पनि फुकेको थियो। त्यो असिनामा आमा रुँदै कराउँदै स्याखु बोकेर मलाई स्कुलमा लिन आउनुभएको थियो। अनि आफ्नो पिठ्युँमा बोकेर घर ल्याउनुभएको थियो। त्यो पिठ्युँमा म जसरी हुर्किएँ त्यसरी नै निरन्तर हुर्किए म पछिका भाइ- बहिनी अर्थात मामा- माइजूका छोरा छोरी। तर त्यो पिठ्युँ कहिल्यै थाकेन। कहिल्यै रोकिएन परिवारको जिम्मेवारी बोक्नबाट।
पानीसँगको युद्धमा आमाले मलाई जोगाएको त्यो पहिलो पटक थिएन। त्यति बेला त आमाले मलाई घाइते हुनबाट जोगाउनुभयो तर त्यो भन्दा धेरै अघि मलाई पानीले निल्नबाट जोगाउनु भएको थियो। सानी चकचके मलाई मम्मीले घर अगाडिको पाइटा भएको कुलो माथिको बान्डोमा राखेर खाना खुवाउँदै गर्दा म नजानिँदो किसिमले कुलोमा खसेछु। त्यो कुलो जसमा नातिनी खस्ली भनेर बाले ह्विम पाइप राखेर सुरक्षित गर्दिने भए कुलो बनाउने जग्गा दिन्छु नत्र दिन्नँ भनेर ह्विम पाइप राख्न लगाउनु भएको थियो। ह्विम पाइप राखेर कुलो त बन्यो तर म कुलोको उघारिएको मुखमा खसेछु। हत्त र पत्त आमा बेहोसिमै हाम फालेर आधी पाइपभित्र छिरिसकेकी मलाई तान्नु भएछ। म निली भएकी थिएँ रे। त्यो दिन म त्यो ४०-४५ मिटरको पाइपमा छिरेकी भए अर्को कुनाबाट पक्कै जीवित निस्कने थिइनँ। आज २८ वर्ष भैसक्दा म मेरा जीवनका हरेक वर्ष आमाप्रति कृतज्ञता व्यक्त गरेर बिताउन चाहन्छु।
आत्मनिर्भर हुन शैक्षिक अयोग्यताले रोक्दैन भन्ने सत्यको ज्वलन्त उदाहरण हुनुहुन्थ्यो आमा। ७४ वर्षको उमेरसम्म पनि घर छेउको बारीमा तरकारी उब्जाएर बेचेर आफ्नो खर्च चलाउने आमाले मलाई अरूको अगाडि हात नफैलाई आफ्नो खुट्टामा उभिने संस्कार दिनुभयो। अझ भनौँ संस्कार मात्र दिनु भएन कि आफूले नै त्यो संस्कारमा खडा उत्रिएर देखाइदिनुभयो।
आमालाई केही कुराको कमी थिएन। केही वर्षअघि सम्म आमाका आवश्यकता पूरा गर्न बा हुनुहुन्थ्यो। अहिले मामा माइजू। तर एउटा मानिस पूर्ण स्वतन्त्र हुन आर्थिक स्वायत्ताको कति महत्व हुन्छ आमाले बुझाइदिनुभयो। आमा काम गर्न मन पराउनुहुन्छ। आफ्नो खुट्टामा उभिन। त्यसैले पनि होला बाथको दबाइ अनि अन्य दबाइले वर्षौंवर्ष शरीर थलाउँदा पनि आमामा अझै फूर्ति छ। आँट छ।
आमाले मलाई अन्य घरहरूमाझैं भोलि बिहेपछि अप्ठ्यारो पर्ला भनेर भान्छामा छिराएको मलाई याद छैन।
आमा भन्नुहुन्थ्यो, 'मान्छे भएर जन्मेपछि सबै सीप सिकेको राम्रो। परे प्रयोग गर्ने। नपरे सिकेको सीप कहिल्यै खेर जाँदैन।'
उहाँले मलाई छोरी अब उमेर भयो बिहे गर्न सोच्न पर्छ कि भनेको पनि याद छैन। बरू उहाँ सधैं मैले जितेका पदकहरूमा खुसी हुनुभयो र प्रोत्साहन गर्नुभयो। त्यसैले भात पकाउन होस् वा अन्य केही कुरा, सबै मैले मेरो हिसाब अनि मेरो प्राथमिकता अनुसार सिकेँ न कि परम्परागत सामाजिक दृष्टिकोण अनुसार। त्यो घरमा मैले सानो मामाले खाना पकाएको देखेर हुर्केँ। घर सजाएको देखेर हुर्केँ। मामा र माइजूले मिलेर घर अनि दोकान चलाएको देखेर हुर्केँ र सिकेर हुर्केँ कि कुनै पनि जीवनउपयोगी कार्य यो महिला र त्यो पुरूषको कार्य भनेर लैंगिक भूमिकामा बाँध्नु मूर्खता हो भनेर। मैले समाजमा ठूला कुरा गर्दै हिँडी घरमा त्यसको एक छेउ पालना नगर्ने मानिसको भीड भएको समाजमा परिवर्तनको झिल्को मासबार घरमा देखेँ।
मन्दिर जाँदा पाएको प्रसाद नातिनीले खान मन गर्छे भनेर पोको पारेर ल्याउने आमासँग मैले धेरै गफ गर्थेँ। मुख्य त समाजका गफ। अनि सम्पूर्ण भूत, वर्तमान साथै भविष्यका गफ। आमा मलाई मनमा हरी राख्न सिकाउनु हुन्थ्यो अर्थात् कुनै पाप नगर्न। आमा सधैं भन्नुहुन्छ ठगेर आएको धन जसरी आयो त्यसरी जान्छ त्यसैले कसैलाई कहिल्यै नठग्नु। अनि अर्को मुख्य कुरा भन्नु हुन्थ्यो आफूलाई कसैले ठग्न नदिनु। अरूको पनि सुको नखानु। आफ्नो पनि सुको खान नदिनु। तर अशक्त र जसको कोही छैन त्यसको आफ्नो बन्दिनु। आमाका यिनै सिकाइलाई जीवनका महत्वपूर्ण सिद्धान्त बनाएर अगाडि बढ्ने क्रममा आज सफलतापूर्वक यहाँसम्म आइपुगेकी छु। आशा छ यिनै सिकाइले अगाडि पनि मार्गदर्शन दिने छन्।
आज पनि मैले त्यो घरमा गएर कुनै सामान खोजेँ भने त्यो सामान पक्कै पनि १० वर्ष अघिको त्यही ठाउँमा भेटिनेछ। यस्तो संगठित परम्परा र अनुशासन विरलै घरहरूमा पाइन्छ र ती विरलै घरहरूमध्येको एक घर हो- मासबार घर जुनमा मैले हुर्किने सहोभाग्य पाएँ। अनि यो घरलाई उदारणीय अनुशासनमा राख्ने गुरूहरू बा स्वर्गीय ज्योतिष पूर्ण चन्द्र बराल अनि २०८० साल असोजमा ७५ वर्ष पुग्नु भएकी आमा दुर्गा देवी बराल।
आज पनि यो बिरानो देशमा आमासँग भिडिओ कलमा बोल्दा सधैं ऊर्जा थपिएर आउँछ। आजको यो लेख आमाकी साइँली छोरी विन्देश्वरीबाट जन्मिएकी नातिनी शुभेच्छा भण्डारीको तर्फबाट आमाप्रति कृतज्ञतास्वरूप।