घरको काम सकाएर दिउँसो यसो टिकटक स्क्रोल गर्दै थिएँ। सोही क्रममा मेरो आँखा एउटा भिडिओमा गएर टक्क अडियो। उक्त भिडिओमा लाइक र कमेन्टको ओइरो आइरहेको थियो।
त्यो भिडिओमा खास कुरा भने भिडिओ नयाँ तरिकाले प्रस्तुत गरिएको थियो। उक्त भिडिओ एघार कक्षामा पढ्ने भाइले बनाएको रहेछ।
उक्त भिडिओमा लेखिएको थियो- ‘कृपया यो भिडिओ चिन्नु हुनेले नाम मेन्सन गरी उहाँसमक्ष पुर्याइदिनु होला।’
उक्त भिडिओमा एक नानीले एकदमै राम्रो नाच प्रस्तुत गरेकी थिइन्।
आफूलाई पनि नाचगानमा सोख भएर होला भिडिओमा के कमेन्ट आएको रहेछ भनेर हेर्न मन लाग्यो र कमेन्ट खोल्न बाध्य भएँ। कमेन्ट त सबै त्यही नानीको नामले भरिएको थियो।
भिडिओमा नानीको नाच प्रस्तुति दमदार थियो।
केही दिनपछि ती नानीबाबु सम्बन्धमा रहेको कुरा टिकटकबाट थाहा पाएँ। त्यसको लगत्तै १५-२० दिनपछि त मैले जुन कुरा देखेँ त्यो मेरो लागि आश्चर्यजनक थियो।
मैले जुन भिडिओ हेर्दै थिएँ, त्यसमा ती नानीले अर्को केटासँग सम्बन्धमा रहेको बताउँदै लेखिएको थियो- ‘यो भिडिओ मेरो एक्ससमक्ष पुगोस्। त्यसपछि त मेरो मनमा कौतुहलता लाग्यो। के ती नानीले भनेको एक्स त्यही केटा त होइन? नभन्दै वास्तविकता त्यही रहेछ।
अगाडिदेखि अलि चाख लाएर होला दुवैको अवस्था बुझ्न इच्छा लाग्यो। मलाई दुवैको प्रोफाइल हेर्न मन लाग्यो, हेरेँ। अचम्म दुवै जना नयाँ मानिसको अंगालोमा बाँधिएका रहेछन्। मानिसहरूले आजकाल ‘टिकटके लभ’ भनेर भन्थे सयाद यही होला जस्तो लाग्यो।
माया पनि कति सजिलो है! लुगा फेरेजस्तै माया पनि सहजै फेर्न सकिने!
हाम्रा पालामा लभ पर्ने बेलामा त आधाउधि उमेर कुर्दैमा बित्यो भने बाँकी समय हेराहेरमै बित्यो। छरछिमेक आफन्तहरूले थाहा पाउँलान् कि भन्ने सास्ती हुन्थ्यो। यसो गाउँघरमा लभ परेको गाइँगुइँ मात्र चले पनि सकिएँ जस्तो हुन्थ्यो।
'खाए खा नखाए घिच्' भने जस्तै लभ परेको जोडीको बिहे हुनै पर्थ्यो भन्ने मान्यता थियो। अनि फेरि लभ गर्ने वातावरण कहाँ अहिलेको जस्तो सहज हुनु! यसो हेराहेर गर्न पनि ठूलै सेटिङ मिलाउनु पर्थ्यो। तर अहिलेका जोडीहरूको डेटिङ सेटिङ घरमै हुन्छ।
प्रविधिले हामीलाई एकदमै लचिलो बनाएको छ। नभए अहिलेका अभिभावक यतिका उदारता कहाँ देखाउँथे होलान् र!
छोराछोरीका लभका प्रस्तावहरू सहजै जति स्वीकार गर्ने ‘समयको माग’ भन्दै छोरा छोरीहरूलाई प्रोत्साहन गरेका भिडिओ टिकटकतिर देख्न त झन् कति पाइन्छ कति। अहिलेका युवापुस्ता मायाको सम्बन्धबारे अनुभवी छन्। न त ती सम्बन्धलाई कुनै सीमा रेखा, भौगोलिक दूरीले छेक्न नै सकेको छ।
हाम्रा पालामा वर-बधुका रूपरंग र चरित्रको विवरण बुझ्न कठिन थियो। पाए एक फोटो नत्र त छिमेकीको घरसम्म धाएर कष्ट गर्नुपर्थ्यो। तै पनि गतिला छिमेक परेनन् भने त राम्रा कुटुम्ब छेउ लगाइहाल्थे। तर अहिले त धेरै सजिलो छ। हुनेवाला वर-बधुको सामाजिक सञ्जालको आइडी हात मात्र लाग्नुपर्छ, सात पुस्ते कुण्डली निकाल्छन्।
उतिबेल कसैसँग लसपस छ कि छैन भन्ने थाहा पाउन दुवै पक्षलाई निकै केरकार गरिन्थ्यो। तर पनि त्यति सजिलो कहाँ थियो र!
पहिले केटाकेटीहरूको माग कस्तो छ बजारमा भन्ने कुरा छिमेकीको घर गएर थाहा हुन्थ्यो। तर अहिले भने बजारको अवस्था चाहिँ एक्स कसले कति बनायो भन्ने कुराले तय गर्ने भएको छ।जसको शक्ति उसकै भक्ति जस्तो हुन्थ्यो। मतलब जसको बढी एक्स बजारमा हुन्छन् उसकै माग बढी छ। अझ टिकटकमा भाइरल हुनेहरूका लागि त कुरै छाडौं।
हाल समय र प्रविधिमा हाम्रो लगाम छैन। हामीले आफूलाई परिवर्तन गर्नैपर्छ। समयअनुसार चल्नै पर्छ। |समय र प्रविधिलाई सहि रूपमा आत्मसाथ गर्नेहरूका लागि सफलता सम्भव छ। तर हामीले पछ्याउने पाटो चाहिँ सही अनि सकारात्मक हुनुपर्छ।
हो, त्यस्तै नहोस् भन्ने मेरो कामना सबै नानीबाबुहरूमा पनि छ।