मिथिला क्षेत्रका महिलाहरू आश्विन कृष्ण सप्तमीदेखि नवमीसम्म तीन दिन 'जितिया पर्व' मनाउँछन्।
महान पर्वको रूपमा चिनिने 'जितिया पर्व' यस वर्ष यही असोज १९ गते सुरू हुँदैछ।
यस पर्वमा आमाहरू आफ्ना सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै चौबीस घण्टा वा अझै बढी निर्जला ब्रत बस्छन् जो 'जितिया ब्रत' नामले प्रख्यात छ।
निर्जला ब्रतमा पानी पिउन पनि वर्जित हुन्छ। यसरी अन्नपानी केही नखाई आफ्ना सन्तानको सुखशान्ति र चिरायुका लागि आमाहरूले ब्रत गर्ने भएकाले नै 'जितिया पर्व' महान मानिएको हो।
यस्तो पर्वलाई केहीले 'विभेदकारी' पनि भन्ने गरेका छन्। आमाहरू छोराका लागि जितिया ब्रत गर्छन् भन्ने उनीहरूको आरोप छ।
विभेदपूर्ण नै हो त जितिया ब्रत?
साँच्चै हो, आमाहरू छोराका लागि मात्र जितिया ब्रत गर्थे। यो ब्रत छोराकै लागि हो भन्ने धारणा थियो। बिस्तारै यस्तो धारणामा परिवर्तन हुँदै आएको छ। हाल धेरै आमाहरू छोराछोरी बराबरी भन्ने मान्यताअनुसार आफ्ना सन्तानको उन्नयनको कामना गर्दै ब्रत बस्छन्। छोरीका लागि ब्रत होइन भन्ने मान्यता अमान्य हुँदै आएको छ।
खासमा जितिया पर्व छोराकै लागि सुरू भएको थियो। यसको कारण थाहा पाउन पर्वको पृष्ठभूमि पनि थाहा पाउनुपर्ने हुन्छ।
यो आलेखमार्फत केही पौराणिक कथा र किंवदन्तीहरूका आधारमा त्यो पृष्ठभूमि बुझ्ने प्रयास गरौं।
जिमुतवाहनको कथा
एक पौराणिक कथाअनुसार जिमुतवाहन नामका एक गन्धर्व राजा राजकाज त्यागेर आफ्ना बाबुको सेवा गर्न जंगल पसे। जंगल घुम्दै गर्दा एक जना शोकाकुल वृद्धासँग उनको भयो।
जिमुतवाहनले ती महिलालाई शोकको कारण सोधे। उनले आफू नाग वंशकी छोरी रहेको र आफूले गरेको एउटा भाकलका कारण आफ्नो एक मात्र छोरा भोलि पक्षीराज गरुडलाई भेटी चढाउनुपर्ने भएकाले शोकमा परेको बताइन्।
जिमुतवाहनले ती वृद्धाको छोरो बचाउने वाचा गरे। उनी भोलिपल्ट ती महिलाले भेटी चढाउने ठाउँमा गए अनि तिनका छोराको साटो आफूलाई नै पक्षीराज गरूडसामु समर्पण गरे। गरूडले खान खोज्दा उनी तर्सिएनन्, प्रशन्न र अभय पो देखिए।
त्यस्तो अभय अवस्था देखेर गरूडले परिचय मागे। जिमुतवाहनले विस्तारपूर्वक आफ्नो परिचय दिए। उनको निर्भीकता र उदारताबाट गरूड प्रशन्न भए अनि उप्रान्त कुनै पनि नाग वंशीको बली नलिने प्रतिबद्धता जनाए। तिम्रो (जिमुतवाहनको) उपासना गर्ने आमाहरूका सन्तानको भलाइ हुनेछ भनेर गरूडले आशीर्वाद दिए।
यो घटनापछि महिलाहरूले जिमुतवाहनको उपसना सुरू गरे।
चिल र स्यालको कथा
नर्मदा खोलाको किनारमा पाखरको एउटा रूख थियो। त्यस रूखमा एउटा माथिपट्टि पोथी चिलको बास थियो। त्यसको फेदमा पोथी स्यालको बास थियो। ती दुबैको आपसमा मिल्ती थियो।
नजिकको गाउँमा महिलाहरू जितमहान भगवानको प्रार्थना गर्दै निर्जला ब्रत बस्थे। एक दिन चिल र स्यालले पनि गाउँका महिलाहरूले झैं ब्रत बस्ने निर्णय गरे।
ब्रत सुरू भयो तर केही बेरपछि स्यालले ब्रत तोड्यो। तर प्रतापले अर्को जन्ममा चिल र स्याल दुवै मानव चोला लिएर एकै परिवारमा जन्मे। मानव जन्ममा चिल दिदी भइन्। उनको नाम शिलवती रह्यो। स्याल बहिनी भइन्, नाम कपुरवती रह्यो।
कपुरवतीको बिहे त्यसै राज्यका राजा मलायकेतुसँग भयो। शिलवतीको बिहे बुद्धिसेन नामका साधारण व्यक्तिसँग भयो। जितमहान भगवानको ब्रत पूरा गरेकी शिलवतीले सात जना सुन्दर पुत्र जन्माइन्। कपुरवतीले पनि पुत्र जन्माइन् तर जन्मनासाथ मृत्यु भयो।
शिलवतीका छोराहरू हुर्केपछि राजा मलायाकेतुकोमा काम गर्न गए। कपुरवतीले ती युवकहरू आफ्नी दिदीका छोरा हुन् थाहा पाइन्। उनमा इर्ष्या उत्पन्न भयो।
उनले आफ्ना पति राजालाई भनेर ती युवकको हत्या गर्ने षड्यन्त्र रचिन्। भगवान जितमहान गोँसाईंले शिलवतीका सातै जना छोराको रक्षा गरे। यो कुरा थाहा पाएपछि कपुरवती दिदीको घर पुगिन्। दिदीले पूर्वजन्ममा चिल र स्यालको जुनीमा रहेका आफूहरू दुवै दिदीबहिनीले भगवान जीतमहान गोँसाईंको ब्रत बसेको कुरा स्मरण गराइन्। आफूले ब्रत पूरा गरेको र बहिनी कपुरवतीले बीचमै ब्रत तोडेको पनि सम्झाइन्।
त्यही ब्रत पूरा गरेको प्रतापले आफ्ना छोराहरूको रक्षा भएको कुरा पनि बहिनीलाई सुनाइन्।
त्यसै बेलादेखि आमाहरूले भगवान जितमहान गोँसाईंको पूराआराधना सुरू गरेको र जितिया पर्वका रूपमा मानिएको हो भन्ने विश्वास छ।
जितुवाको कथा
प्राचीनकालमा महाप्रतापी राजा सालिकवाहनकी एक छोरी थिइन्। तिनको नाम मसवासी थियो। उमेर पुगेपछि राजाले छोरीको बिहे गरिदिने धेरै प्रयास गरे तर छोरी मसवासीले मानिनन्।
छोरीको इच्छाअनुसार राजाले राजमहलबाहिर एउटा कुटी बनाइदिए। मसवासी त्यही कुटीमा बस्न थालिन्।
उनी सूर्योदयअघि नै नदीमा गएर नित्य नुहाइधुवाइ गरी पूजाआजा गर्ने गर्थिन्। एक बिहान उठ्न ढिलो भएछ। नुहाएर हतारहतार फर्किने क्रममा सूर्यको प्रकाश उनको शरीरमा पर्यो। यही कारणले उनी गर्भवती भइन् र एक सुन्दर छोरा जन्माइन्।
उनका छोरा निकै फूर्तिला थिए। खेलमा साथीहरूलाई जित्थे। सबैलाई जिन्ते भएकाले आमाले छोराको नाम जितुवा राखिन्।
जितुवाका साथीहरू उनको क्षमताको डाहा गर्थे। उनलाई अनेवा (बाबुबिनाको) भनेर अपमान गर्थे। साथीहरूबाट हैरान भएपछि एक दिन उनले आमासँग आफ्ना बाबुबारे सोधखोज गरे। आमा समवासीले जो भएको कुरा बताइन् र तिम्रा बुबा सूर्य हुन् भनिन्।
जितुवा आफ्ना बुबालाई भेट्ने निधो गरेर यात्रामा निस्किए। उता सूर्य मलाई भेट्न आउँदा जितुवा भस्म हुन्छ भन्ने चिन्तामा परे। छोरो बचाउन सूर्यले मानवरूप धारण गरे अनि जितुवालाई पृथ्वीमै दर्शन दिए।
भेटमा सूर्यले छोरालाई आशीर्वाद दिए– निष्ठापूर्वक जितुवा र जितमहानको पूजाअर्चना गर्ने विवाहिता महिलाका सन्तान स्वस्थ र दीर्घायु हुनेछन्।
महाभारतको कथा
द्वापर युगमा महाभारत युद्धको क्रममा अश्वत्थामाको छलबाट हतप्रभ भएकी द्रौपदी धौम्य ऋषिकहाँ पुगिन् र आफ्नो व्यथा सुनाइन्। पुत्र वियोगले पीडित द्रौपदीको दुःख सुनेर धौम्यले सत्ययुगमा भगवान नारायणको तपस्या गरेर वरदान पाएका सत्यवादी पुरूष जितवाहनको पूजाआराधना गर्न सल्लाह दिए।
जितवाहनको पूजाआराधना र ब्रतले सन्तान स्वस्थ र दीर्घायु रहन्छन् भन्ने विश्वास दिलाए। द्रौपदीले धौम्यले भनेझैं पूजाआराधना र ब्रत गरिन्।
त्यसै बेला जितवाहनको पूजा र ब्रत गर्ने परम्पराको सुरू भएको हो भन्ने किंवदन्ती छ। यही पूजा र ब्रत नै आजको 'जितिया ब्रत' हो भन्ने विश्वास छ।
अन्त्य हुँदैछ विभेद
उल्लिखित चारवटै कथामा सन्तानका रूपमा छोरा देखाइएका छन्। तीनवटा कथामा त आमाहरूलाई पुत्र वियोग नै परेको छ।
चिल र स्यालको कथामा शिलवतीका सात छोराको हत्याको षड्यन्त्र भएको छ। महाभारतको कथामा द्रौपदीलाई पुत्र वियोग परेको हुन्छ। जिमुतवाहनको कथामा त वृद्धाको एक मात्र छोरा गरुडलाई बली चढाउनुपर्ने सकस आइलागेको हुन्छ।
सन्तानको सुस्वास्थ्य र दीर्घायुका लागि ब्रत बस्ने सल्लाह दिए पनि जितिया पर्वको ब्रत छोराकै लागि हो भन्ने मान्यता बुढापाकाहरूमा रहिआएको छ।
उल्लिखित कथा–किंवदन्तीका पात्रहरू पनि छोरा नै भएर होला, हाम्रो समाजमा आमाहरू छोराकै लागि जितिया ब्रत बस्छन् भन्ने मानिन्छ।
स्वस्थानी ब्रत श्रीमानका लागि हो मानिएको छ। स्वस्थानी ब्रतकथामा ब्रतको प्रसाद श्रीमानलाई दिनू, श्रीमान नभए छोरालाई दिनू, छोरा नभए मितछोरालाई दिनू, मितछोरा पनि नभए गंगामा बगाइदिनू भनिएको छ।
जितियामा यस्तो छैन, ब्रतको प्रसाद छोरा र छोरी दुवैलाई दिइन्छ। अहिले छोरा हुने आमा मात्र होइन, छोरा नहुने आमाहरू पनि जितिया ब्रत बस्छन्। जितिया ब्रत छोराका लागि मात्रै होइन, छोराछोरी दुवै अर्थात् सन्तानका लागि हो भन्ने मान्न थालिएको छ।
जितिया ब्रत छोरालाई कुनै पनि अनिष्ट आइनलागोस्, सुस्वास्थ्य र दीर्घायु होओस् भन्ने कामनाका साथ सुरू भएको भए पनि अहिलेका आमाहरू सन्तानका लागि ब्रत गर्छन्।
समयले ल्याएको चेतनासँगै जितिया पर्व छोरा र छोरीका लागि बराबरी हुने क्रममा छ। विभेद अन्त्य हुने क्रममा छ।