कोपनहेगनको व्यस्त जीवनशैली अनि कामको तारतम्य सोचेजस्तो नहुँदा मन खुसी थिएन। देश छाडेको पनि पत्तै नपाइकन पाँच वर्ष बित्न लागिसकेछ। यो पाँच वर्षमा मेरो गाउँमा, देशमा अनि परदेशमा धेरै कुरा बदलिसकेका थिए।
यो वर्ष दसैं तिहार मनाउने गरी देश जान सकिनँ भने जिन्दगीको हिसाबमा पाउनेभन्दा धेरै गुमाउने महसुस गरेपछि देश फर्कने निर्णय लिएँ। मन धेरै डुल्ने र सधैं दुबिधा हुने देखेपछि तुरून्त नेपाल जान हवाई जहाजको टिकट काटेँ अनि अब के गर्ने भनेर योजना बनाउन थालें।
जहाजको टिकट काटेर काममा राजीनामा दिएसँगै अब अगाडिको बाटो प्रस्ट थियो। डेनमार्क छोड्नुभन्दा अगाडि के गरौँ, कता जाऊँ भन्ने सोचमा केही दिन डुबेपछि क्रुज यात्रामार्फत् ओस्लो जाने विचार दिमागमा फुर्यो।
क्रुज यात्रा बारेमा इन्टरमिडियट लेभलमा केही कथा त पढेको थिएँ तर त्यति धेरै जानकार थिइनँ। न म क्रुज चढेर यात्रा गरेको थिएँ न त मेरा कोही साथीभाइहरूको अनुभव सुनेको थिएँ तर पनि जीवनमा मर्नु अगाडि एक पटक क्रुज चढ्नु पर्छ भन्ने छाप मनमा दह्रो गरी परेको थियो। त्यसको एउटै कारण थियो सुबिन भट्टराईद्वारा लिखित बहुचर्चित उपन्यास 'समर लभ' को अध्ययन जुन उपन्यास नै क्रुज यात्राबाट सुरू हुन्छ र सायद त्यो उपन्यास पढेका धेरै पाठकलाई क्रुज यात्राको भूत सवार भएको हुनुपर्छ मलाई जस्तै, आफूलाई कथाको पात्र अतित शर्मा सम्झिएर।
२०६९ सालतिरको कुरा हो, त्यतिबेला म बन्दीपुर गाविसमा पर्ने डुम्रेबजारमा जागिर गर्थें। रहरले रेडियो बन्दीपुर ८८. ८ मेगाहर्जमा कार्यक्रम पनि चलाउँथें। त्यहाँ एक जना तामाङ थर गरेकी महिला सहकर्मी मित्र पनि थिइन्, उनी समाचार वाचिका र कार्यक्रम प्रस्तोता पनि हुन्। त्यति बेला सहरमा समर लभको चर्चा र क्रेज यस्तो थियो कि बरू कलेजको पाठयक्रम सबैलाई याद थियो थिएन, समर लभ पढ्नै पर्ने एउटा थप विषय जस्तै बनेको थियो युवापुस्ता माझमा।
एकदिन उनले मलाई सोधिन्, 'जनक सर, तपाईं त काठमाडौं गइराख्नु हुन्छ, तपाईंलाई टियु, कीर्तिपुर, ट्याङ्लाफाटबारे कत्तिको जानकारी छ?'
मैले भनें, 'म काठमाडौं जाँदा प्राय: बस्ने नै त्यतैतिर हो त, किन र?'
उनी एक्कासि आक्रोसित मुद्रामा आइन् र भनिन्, 'त्यो साया शाक्य कहाँ बस्छे पत्ता लगाउनु पर्यो, त्यो अतित शर्मा त्यस्तो सोझो मान्छेलाई किन त्यसले धोका दिई त्यसलाई भेटेरै सोध्नुपर्यो?'
यस्तो लाग्थ्यो उनले यदि साया शाक्यलाई प्रत्यक्ष अगाडि भेटिन् भने उसलाई भुताल्ने छिन्।
मैले भनें, 'होइन मिस तपाईं किन यसरी आवेसमा आउनुभयो, समर लभ आखिर कथा त हो अनि साया त्यस कथाकी पात्र, कहाँ साँच्चिकै सम्झनु भएको हो त?'
उनले भनिन्, 'होइन यो रियल कथा हो। त्यो सायालाई भेटेर सोध्नैपर्छ अनि त्यसलाई सवक पनि सिकाउनु पर्छ।'
उनलाई मात्रै होइन धेरैलाई साया एउटी अस्तित्वमा रहेकी धोकेबाज घृणित पात्र लागेको थियो न कि कथाकी एउटी काल्पनिक पात्र।
त्यो बेला म र भाइ सविन जो अहिले जापानमा छ, हामी दुई जना बन्दीपुर जाने गेटको अगाडि कोठा भाडामा लिएर बस्थ्यौं। त्योबेला वाइफाइ त्यति सहज थिएन, हामीले अफिसमा स्काई प्रोको सिमबाट इन्टरनेटसम्बन्धी काम चलाउँथ्यौं। हाम्रो अफिस नजिकै एउटा होटल थियो, उसले त्यहीको चोरीको इन्टरनेटबाट अच्युत घिमिरेको आवाजमा श्रुति सम्बेग कार्यक्रममा वाचन भएका ‘समर लभका’ एपिसोडहरू डाउनलोड गरेर ल्याउने गर्दथ्यो।
हामीले करिब एक हप्ता लगाएर ती सबै पार्टहरू सुनेका थियौं। मलाई समर लभको कथाले ती तामाङ मित्रलाई जस्तै छोएको थियो अनि साया र अतित शर्माको बारेमा सोचेर म पनि एकान्तमा घोत्लिरहन्थें र कहिलेकाहीँ त लाग्ने गर्थ्यो म पनि ती कथाका पात्रहरूलाई साँच्चिकै खोज्न निस्किऊँ कि भनेर।
पोखरा गएको बेला मित्र फडिन्द्र बराललाई सोधेँ, 'लेकसाइडमा स्नो हिल लज कहाँ छ तपाईंलाई थाहा छ?'
उनले भने, 'स्नो हिल लज त हाम्रो अफिसियल होटल जस्तै हो, हाम्रा धेरै जसो गेस्टलाई हामीले त्यहीँ राख्ने गर्दछौं।'
मैले उनलाई मलाई पनि स्नो हिल लज लगिदिन आग्रह गरेँ, उनले 'हुन्छ' त भने तर उनी मेरो कुरा सुन्दा तब अचम्ममा परे जब मैले उनलाई एक रातको लागि त्यहाँ कोठा बुक गर्न भनेँ। जबकी हामीलाई लेकसाइडमा बस्नुपर्ने कुनै कारण नै छैन। हाम्रो घर नै त्यहाँबाट सात किलोमिटर टाढा थियो भने उनको अपार्टमेन्ट दश मिनेटको ड्राइभिङमा पुगिने ठाउँमा।
उनले मेरो कुरा नकार्न सकेनन्, हामी लाग्यौं स्नो हिल लजमा एक रात बस्ने गरी।
हामीले त्यहाँ रेस्टुरेन्टमा बसेर पियौं, खाना पनि त्यहीँ खायौं। अतित र साया जसरी पिङ्ग खेल्यौं। अनि मैले त्यस होटलका मेनेजर नवराज साँखीलाई सोधें, 'तपाईंलाई समर लभ भन्ने उपन्यासका बारेमा थाहा छ?'
उनले सुरूमा आफूलाई थाहा नभएको तर पछिल्लो एक दुई महिना यता धेरै प्रेमी जोडीहरू स्नो हिल रेस्टुरेन्ट खोज्दै आएपछि बुझ्दै जाँदा एउटा कथामा उनको लजको बारेमा लेखिएको रहेछ भनेर तीनै ग्राहकहरूमार्फत् थाहा पाएको जानकारी गराए।
मैले भनें, 'जति समर लभ भन्ने उपन्यास चर्चित हुँदै गयो, तपाईंको लजको बिना पैसा लगानी त्यतिकै विज्ञापन हुँदै गएको छ। त्यो उपन्यासका पाठकहरूका मनमा पोखरा जाँदा स्नो हिल लजमै बस्नुपर्छ भन्ने छाप परेकोले तपाईंहरूलाई खोज्दै आएका छन् तर तपाईं अझै उपन्यासदेखि बेखबर हुनुहुन्छ। तपाईं पनि तुरून्त त्यो उपन्यास पढिहाल्नु होला' मैले सुझाएँ।
उनले अब समय मिल्न बित्तिकै उक्त उपन्यास पढ्ने कुरा बताए।
जब हामी त्यो लजमा बस्यौँ, मेरो अगाडि कथाका पात्र साया र अतित घुमिरहे। अतितप्रतिको सहानुभूति अझै बढ्दै गयो। कथा त कथा नै हो भनेर बुझ्दाबुझ्दै पनि अतित शर्माप्रतिको चासो अनि अब उसले के गर्ला, साया एकाएक किन बदलिएकी होली यी अनि यस्ता दुष्चिन्ताले मनमा डेरा जमाइरहे। अनि म आफैं पनि एउटा कथाकार भएकोले अब सुबिन भट्टराईले समर लभ दुईमा कथालाई कसरी अगाडि बढाउलान् र लाखौं पाठकको ब्यग्र प्रतीक्षा र पहिलो भागको लोकप्रियता कायम राख्न दोस्रो भागको कथा कसरी प्रस्तुत गर्लान्, के भाग दुईले पाठकको प्रतीक्षालाई सही सम्बोधन गर्ला त वा उनले पहिलो भागको क्रेजलाई कायम राख्न सफल होलान् त ? त्यो हेर्न र पढ्न म धेरै आतुर थिएँ।
समर लभको दोस्रो भाग साया बजारमा आउँदा म नेपालमै थिएँ। पोखरा जाँदा मित्र सन्तोष पराजुलीसँग भेट भयो। उनीसँग पनि साया उपन्यासका बारेमा चर्चा भयो। उनले आफूले केही दिन अगाडि मात्र साया उपन्यास किनेर पढ्न सुरू गरेको र पूरै पढिसक्न अझै दुई चार दिन लाग्ने कुरा बताए।
मैले पनि साया किन्ने राय ब्यक्त गरेँ।
उनले भने अब दुई चार दिनमा म पढिसकेपछि तपाईंलाई दिइहाल्छु नि भनेपछि मैले अरू एक हप्ता उनलाई कुर्ने विचार गरेँ अनि फर्किएँ डुम्रेबजारतर्फ। म डुम्रेबजारतिरै हराएँ, दमौली जाँदा केही पुस्तक पसलमा साया उपन्यास नखोजेको पनि होइन तर भेटाउन सकिनँ । पछाडि म कता ब्यस्त भएँ, सायालाई माया मारेजस्तै भयो।
२०७२ सालमा म विदेशतिर लागें, दुई तीन वर्ष यतै हराएँ। तीन वर्ष पछाडि नेपाल फर्किंदा एक जना छिमेकी अंकलले चितवनको माडी घुम्न जाने प्रस्ताव राख्नुभयो। मैले साया उपन्यास पढ्न नपाएको भए पनि अघिल्लो सिरिज समर लभ कथाका गर्दी गाविस, ढिकुन गाविस अनि माडीको बसन्तपुर सम्मका कथा र घटना दिमागमा ताजै थिए। हामी लाग्यौं माडीतर्फ। हामी मकुइ खोला तरेर गर्दी गाविसतर्फ लाग्यौं। त्यहाँ बोधराज अङ्कलको घर रहेछ। मैले उहाँहरूलाई समर लभ र त्यसमा कथाकारले उल्लेख गरेका ठाउँबारे जिज्ञासा राखेँ। उहाँहरूलाई पनि उपन्यासले आफ्नै गाउँको कथा समेटेको जानकारी रहेनछ। उहाँहरू पनि त्यो कथा पढ्न उत्साहित देखिनुभयो।
केही समयपश्चात म फेरि विदेश फर्किएँ। फेरि साया किन्ने र पढ्ने अनुकूल परेन किनभने त्यतिबेला दिमागमा अरू हजारौं कुराहरू थपिएका थिए। त्यसकारण उपन्यास किन्ने कुरा विस्मृति भयो होला तर साया र अतित पात्र दिमागको कुनै कुनामा बसिराखेकै थिए।
पन्ध्र दिन अगाडि ओस्लो जाने योजना बनाएँ। हवाईजहाजमा जाँदा छिट्टो, सस्तो र आरामदायी यात्रा हुन्थ्यो होला तर क्रुजको स्काई बारमा अतित शर्मा खोज्न हिँडेको म फ्लाइटमा त कसरी जान सक्छु र? क्रुजको टिकट काट्नु अगाडि सँगै जानलाई साथीभाइ खोज्न थालें। कोपनहेगनमा सबै व्यस्त, सबै थकित। मेरो सीमित सङ्ख्यामा रहेको साथीभाइको सर्कलमा मसँग जाने मान्छे भेट्टाउन सकिनँ। सोचेँ म पो साया शाक्य खोज्न निस्केको एउटा बेहोसी पाठक हुँ, अरू किन मसँगै गइदिनु पर्ने? जुन कथा आजभन्दा नौ वर्ष अगाडि स्वयम् कथाकारले संयोगात्मक बनाएर टुङ्गाइसके फेरि त्यही पात्र खोज्न ओस्लो जानु यो त हाँस्यास्पद तर्क हुन सक्छ दुनियाँका लागि त्यो मलाई राम्ररी थाहा छ तर पनि मनको बाल हठका अगाडि केही लागेन। म एक्लै उन्नाइस घण्टा लामो यात्रामा ओस्लो जान तयार बनेँ अनि टिकट काटेँ।
ओस्लो हिँड्नु दुई दिन पूर्व दार्चुलाका मित्र गोविन्दराज जोशीसँग मेरो योजनाबारे सामान्य कुराकानी भयो। उनले भने 'समर लभको कथाकी खलपात्र भनौं या कथालाई त्यो मोडमा पुर्याउने मुख्य पात्र नै सुस्मिता हो। तपाईं ओस्लोभन्दा अगाडि एकपटक धनगढी जानुस्। अतित शर्माले खाना खएको होटलमा खाना खानुस्, कृष्ण मन्दिर जानुस्, धनगढी महसुस नगरी ओस्लो पुगेर कथा कहाँ पुग्छ? अर्को कुरा अतित र सायाको मिलन भइकन बिहे भएर पनि सात आठ वर्षका बच्चा भैसके होलान्, तपाईं कहाँ हुनुहुन्छ? यदि साया नै खोज्ने भएको भए तपाईं दुई हजार सत्तरी सालमै ओस्लो पुग्नुपर्थ्यो, गाह्रो नमान्नुस् यो कुरा मलाई अलिक चित्त बुझेन।'
यो कुरा त मलाई पनि चित्त बुझेको होइन तर एउटा कथाको पात्रको जीवनशैली अपनाउन खोज्नु र कथाको पात्रलाई वास्तविक ठान्ने भुल गर्नु पनि एउटा साचो पाठकको धर्म हो भन्न मन थियो तर भन्न सकिनँ।
ओस्लो जाने दिन पनि आयो। म क्रुजको कथा लेख्न आतुर थिएँ। डिपार्चर डेस्कबाट क्रुजको बोर्डिङ पास हात परेपछि म पनि अरू यात्रीलाई पछ्याउँदै क्रुज प्रवेश गरें। अन्य यात्री र त्यहाँ भएका हर कुरालाई मिहिन तरिकाले केलाएर मोबाइलको नोटमा टिपोट गर्न थालेँ। मलाई लाग्दै थियो म एउटा यात्री कम र जासुस वा खोज पत्रकार ज्यादा पो बन्दै छु कि? क्रुज हिँड्यो कथाकारले भनेजस्तै मैले पनि सबै कुरा महसुस गर्न र भोग्न आतुर थिएँ। फरक यत्ति मात्र थियो कि डेक नौ को स्काई बारमा अतित शर्मा थिएन र होस् पनि कसरी बाँकी त सबै कुरा र परिवेश उस्तै थिए।
मानिसहरू आफ्नो यात्रालाई अविस्मरणीय बनाउन हरसम्भव कोसिसमा थिए तर म भने कथा भित्रको कथा लेख्नमा व्यस्त थिएँ। करिब उन्नाइस घण्टा लामो यात्रा पछाडि हामी चढेको क्रुज ओस्लो पुगेर क्रुज पोर्टमा रोकियो। मलाई त्यहाँ स्वागत गर्न खडा थिए, मेरा एक जना पुराना मित्र रामचन्द्र जिसी।
उनलाई मैले एकपटक समर लभ युट्युबमा सुन्न र त्यही अनुसार घुमाउन आग्रह गरेको थिए।
जब म कोपनहेगनबाट हिँडेको थिएँ त्यो बेला कोपनहेगनमा भारी वर्षा भइरहेको थियो भने ओस्लो पुग्दा पनि सिमसिम पानी परिरहेको थियो। छाता नओढी हिँड्न गाह्रो हुने खालको। कता घुम्नेभन्दा पनि कसरी घुम्ने भन्ने विषयले चिन्ता बढायो। मौसम पूर्वानुमान हेर्दा त्यो हप्ताभरि नै घाम नलाग्ने र पानी परिरहने देखाइरहेको थियो।
पानी रोकिएला अनि घुमौंला भन्ने विकल्प नभएपछि हामी लाग्यौं ओस्लो टुरतर्फ।
ओस्लोका मुख्य पर्यटकीय गन्तव्य घुमिसकेपछि हामीले केहीबेर विश्राम लियौं अनि लाग्यौं युनिभर्सिटी अफ ओस्लोतर्फ जहाँ साया शाक्य पढेकी थिई। ओस्लो युनिभर्सिटी अति विशाल रहेछ घुम्न नै घण्टौं लाग्ने। करिब डेढ घन्टा लगाएर युनिभर्सिटीका हरेक कुना घुमेपछि र केही फोटो खिचेपछि मैले मित्र रामचन्द्र जिसीलाई भनें, 'द ड्रामा ईज ओभर नाव'।
उनी मन्द मुस्कुराए, मलाई थाहा थियो उनलाई मेरो पारा र उद्धेश्य मन परिरहेको थिएन र पनि मेरो कुरा टार्न नसकेर मलाई पथप्रदर्शन गरिरहेका थिए।
मैले भनें, 'आरसी सर, कत्ति गाह्रो नमान्नुस्, समर लभ एउटा काल्पनिक कथा थियो भने सम्झनुस् हामी पनि रङ्गमञ्चमा नाटक प्रहसन गर्दैछौँ। यो नाटकमा म एउटा पागल पाठकको भूमिकामा छु जो कथाका काल्पनिक पात्रलाई साचो मानेर खोज्न निस्कन्छ भने तपाईं त्यो पागल पात्रको पथप्रदर्शकको अभिनय गर्दै हुनुहुन्छ बस् यत्ति बुझ्नुस। के थाहा दर्शकले पागल पात्रभन्दा पथप्रदर्शकको भूमिका पो बढी मन पराउँछन् कि?' उनी केही बोलेनन्, मलाई हेरी मात्र रहे।
समर लभको दोस्रो भाग साया आएर पनि सबै पाठक वर्गको मनको बेचैनी र कौतुहलता समेत साम्य भइसकेको अवस्थामा म भने फेरि त्यही कथा खोतल्न लागिपरेको थिएँ। कथा सकिसक्यो, पर्दा खसिसक्यो, सबै तितरबितर भइसके र पनि लाग्दै थियो म थिएटरको एउटा कुनामा बसेर एकोहोरो रोइरहेको छु, तिनै काल्पनिक कथाका पात्रहरूलाई वास्तविक पात्र सम्झेर।
अब धेरै ढिला भइसक्यो, साया र अतितको भेट भइसक्यो म भने उनीहरूका विछोडका दिन सम्झेर तड्पिरहेको छु। अब म निद्राबाट ब्युँझेर यथार्थमा जिउन सिक्नुपर्छ, समर लभ एउटा काल्पनिक संयोगात्मक कथा हो भनेर।
रामचन्द्र जिसी, सबिता भुजेल, अर्जुन बराल लगायतका पात्र र ओस्लोलाई गुडबाई भनेर कोपनहेगन एयरपोर्टमा ओर्लिंदा आफूलाई युद्धमा विजय भएर फर्केको सिपाहीजस्तै महसुस गर्दैछु तर पनि अतित शर्मा र साया शाक्य मेरो मस्तिष्कमा भने सदासदा बाचिरहने छन् जीवन्त पात्र बनेर।