बाहिर जति आलोचना सरकारी कर्मचारीको हुन्छ, त्योभन्दा बढी आलोचना सरकारी काम गर्ने तौरतरिकाको अनि सरकारी नियमको हुन्छ।
एकैचोटिमा हुने कामलाई महिना दिन लाउँछन्, सबै कागजपत्र पुर्याउँदा पनि यो भएन, त्यो भएन भन्दै अड्काइरहन्छन्।
बिना पैसा सिन्को भाँच्दैनन्, सरकारी काम कहिले जाला घाम, कर्मचारीलाई के चिन्ता छ र? अफिसमा आएर सुते पनि सरकारले तलब खुवाइहाल्छ, जनताको काम गर्न बसेका हुन् र यिनीहरू? आफ्नो स्वार्थको लागि बसेका हुन् ....... यस्ता आक्रोश मिश्रित शब्दहरू अधिकांश सरकारी कार्यालय परिसरमा भेटिने सेवाग्राहीले हाकाहाकी भन्छन्।
सरकारी कार्यालय भनेका सरकारका प्रतिनिधित्व गर्ने निकाय हुन्।
आम सेवाग्राहीको लागि ती अड्डाहरू सरकार नै हुन्। सरकारको हिस्सेदारी भएका निकायहरू सेवाग्राहीमैत्री अझै हुन सकेका छैनन् यो सत्य हो। नियम कानून भनेको सबैको लागि बराबर हुनुपर्ने हो तर पहुँच र पावर हुनेहरूको लागि बेग्लै नियम लागू हुन्छ, सामान्य नागरिकको हकमा बेग्लै नियम बनाइएको प्रतीत हुन्छ, हाम्रा सरकारी कार्यालयको काम गराइ र सेवाग्राहीप्रति गरिएको व्यवहारको झलक हेर्दा।
कर्मचारी र सेवाग्राहीको सम्बन्ध सधैं सुमधुर हुनुपर्ने हो। सेवाग्राहीलाई कर्मचारीले सम्मान गर्नुपर्ने हो। कतिपय कार्यालयमा मुस्कान सहितको सेवा भनेर पनि सुरूआत गरिएको थियो। नारा मुस्कान सहितको सेवा रे... सोधेको कुराको जवाफ माग्दा पनि कर्मचारीको सर्वस्व जानेजस्तै व्यवहार गर्छन् भन्ने गुनासो कर्मचारीको कानमा ठोकिनेगरी पोखेको धेरैपटक सुनिएको छ।
आखिर किन कर्मचारी र सेवाग्राही बीचमा सुमधुर सम्बन्ध स्थापित हुन सक्दैन? के कारणले सेवाग्राहीलाई सम्मान गर्न सक्दैनन् कर्मचारीहरू? सेवाग्राही सेवा लिनै नआउने हो भने सरकारी कार्यालयको के काम हुन्थ्यो होला? यो कुरा किन बुझ्न नसकिएको होला?
म स्वयम् कर्मचारी हुँ, एउटा कार्यालयको कर्मचारी भइसकेको मान्छे अर्को कार्यालयमा सेवाग्राही बनेर जाँदा भोगेका हैरानी र पट्यारलाग्दो पर्खाइले बनाएको दिक्दारी कसरी व्यक्त गरौं? एउटा घटना, कार्यालयको कामले अर्को कार्यालयका कर्मचारीले दिएको समयमै अफिस पुगें। हाकिम साबलाई नमस्कार गरेँ, मेरो नमस्कार हाकिम साबले सुने कि सुनेनन खै, कुनै प्रतिक्रिया जनाएनन्।
हुन त ती हाकिमले प्रतिक्रिया जनाए के हुने नजनाए के नै फरक पर्ने हो र? त्यै पनि आफ्नो संस्कारलाई शिरोपण गरेँ। हाकिम साबको सामुन्नेमा कुर्सी थिए, बस्नुस् नभनेसम्म बस्ने कुरो भएन, म धेरै बेरसम्म उभिइरहेँ।
'कहाँबाट आएको ?', 'के कामले आएको हो?', 'किन आएको ?' अहँ एक वचन सोध्ने चेष्टा गरेनन्। कम्प्युटरमा टाइपमा व्यस्त देखिए हाकिम साब।
१५ मिनेट जति उभिएँ, कुनै प्रतिक्रिया जनाएनन्।
फेरि बोलेँ, 'सर म यो कामको लागि आएको, आजको लागि समय दिनु भएको थियो, त्यो काम के भयो? फाइल सदर भयो कि भएन?' मैले यति भनिसकेपछि बल्ल पुलुक्क मतिर मुन्टो फर्काए हाकिम साबले।
त्यतिबेलै उनको मोबाइलको घन्टी बज्यो, मलाई बस्नुस् पनि भनेनन्, तपाईंको काम यहाँसम्म भएको छ वा छैन केही भनेनन्, म उभिइरहेँ। हाकिम साबले लम्बेतान गफ गरे फोनमा।
फोन राखेपछि हाकिम साब जुरूक्क उठेर हिडेँ, केही भनेनन्।
एकैछिनपछि फेरि आफ्नो कार्यकक्षमा आए, त्यतिन्जेलसम्म म उभिएकै छु, अर्काको घर,अफिस जाँदा बस् नभनेसम्म बस्नुहुँदैन भन्ने संस्कारको अंश बाँकी थियो, खुट्टा गलुन्जेलसम्म उभिइरहेँ, कुनै प्रतिक्रिया जनाइनँ। फेरि हाकिम साबलाई बिन्ती बिसाएँ, 'सर मेरो काम के भयो? हुन्छ कि हुँदैन? म कतिन्जेल उभिइरहनुपर्ने हो? सर यो कुर्सीमा बस्न हुन्छ?'
मेरा बाँकी प्रश्नमा हाकिम साब मौन रहे, तर अन्तिमको प्रश्नको जवाफ आयो, 'प्लिज बस्नुस न .... ।'
बल्ल कुर्सीमा बसेँ, फेरि कम्प्युटरमा काम गर्न व्यस्त भए हाकिम साब, काम भएको छैन भने राम्रो मुखले आज भएन अर्को दिन आउनुस् भने पनि हुन्थ्यो, काम भएको भए बेलैमा उम्काइदिए हुन्थ्यो, कति झुलाउन सकेको होलान्? म निकै अचम्ममा परेँ।
म पनि कर्मचारी हुँ, मैले आफ्नो तर्फबाट आजसम्म कुनै काम रोकेर राखेको छैन, जागिर खाउन्जेल मेरो कारणले कुनै पनि सेवाग्राहीको काम रोकिएको भन्ने गुनासो सुन्न नपरोस् भन्ने प्रार्थना भगवानसँग छ। म एक जना, मजस्ता अर्का एक जनाले मात्रै गरेर सिंगो प्रशासन सुधार नहुने रहेछ पो दु:ख लाग्छ। म आफूजस्तो काम गर्छु, मेरो अपेक्षा त्यस्तै हुनु पो कमजोरी रहेछ कि भन्ने अनुभूति पनि हुन थाल्यो।
म कुर्सीमा मौन धारण गरेजस्तै हालतमा थिएँ।
एकैछिनमा त्यो अफिसका प्रमुख म बसेकै कोठामा आउनुभयो तिनै हाकिम साबलाई खोज्दै सायद...।
'सुन्नुस् त..(हाकिमको नाममा जी जोडेर ) त्यो अस्तिको फाइल के भएको छ? म मिटिङमा बाहिर निस्कन लागेको, तुरून्त सकाएर पठाइहाल्नुस है .... ' यति भनिसकेर मतिर पुलुक्क हेर्नुभयो।
नातामा अंकल पर्ने चिनजानकै व्यक्ति पो हाकिम हुनुहुँदो रहेछ।
'अंकल नमस्कार' भनेँ।
यी हाकिमको चाकडी गर्नुको साटो अघि नै अंकललाई भेटेको भए अहिलेसम्म तुरून्त काम भइसक्थ्यो होला भन्ने लाग्यो। अंकल यही अफिसका हुनुहुन्छ भन्ने थाहा पनि भएन।
'एक नानी तिमी कहाँबाट हाम्रो अफिसमा आयो हँ?', अंकलले प्रश्न गर्नुभयो।
म अफिसको कामले आएको, आजको लागि बोलाएको, अहिलेसम्म कुनै प्रतिक्रिया नपाएको, एक घण्टादेखि कुरिरहेको व्यहोरा सविस्तार बताएँ, हाकिमकै सामुन्ने।
'त्यति कामको लागि यतिन्जेलसम्म किन कुराइराखेको? ल ल तुरून्त गराएर पठाइहाल्नुस्.... ल नानी म बाहिर निस्कन लागेको, फेरि आउँदा भेट है ....' यति भनेर अंकल निस्कनुभयो।
माथिल्लो आदेश आएपछि बल्ल हाकिम साबलाई तातो लाग्यो क्यारे, यसो टेबलमा हेरे, फाइल त्यही रहेछ। स्वीकृत भइसकेको रहेछ, आफ्नो टेबलमा भएको प्रमाणित भएको फाइल हेर्न पनि माथिल्लो तोकआदेश चाहियो, डेढ घण्टामा मेरो काम भयो। यदि ती अंकल टुप्लुक्क त्यही बेलामा नआएको भए हाकिम साबले कतिन्जेलसम्म झुलाउँथे होला? काम भयो कि भएन? यत्ति भन्न पनि दिनभरि लाग्छ भने साँच्चिकै काम गर्न कति समय लाग्दो हो? म कर्मचारी भएको नाताले कर्मचारीको पीडा बुझ्छु तर अनावश्यक रूपमा दिइएको दु:ख र तनावलाई क्षम्य मान्न सकिँदैन।
एउटा कर्मचारी अर्काे कर्मचारीबाट पीडित हुन्छ भने आमसेवाग्राहीको पीडाको बखान कसरी गरौं? मेरो काम नियमले किन भएन? हाकिमले तुरून्त गर्दिनुस् भन्नासाथ हुनुपर्ने काम त्योभन्दा पहिले कुरिरहँदा, हाकिमलाई पटकपटक बिन्ती बिसाउँदा किन भएन?
हामी कर्मचारी किन शासक बन्न खोज्छौं? हामी सरकार र सेवाग्राहीको बीचमा रहेर मध्यस्थकर्ता किन बन्न सक्दैनौं? कर्मचारीमा के अहम छ जसले सेवाग्राहीलाई घण्टौंसम्म उभ्याउँदा, अनाहकमा झुलाउँदा, यो भएन वा त्यो भएन भन्दै दु:ख दिँदा गर्वबोध महसुस गर्छौं? यिनै सेवाग्राहीले तिरेको करबाट हाम्रो रोजीरोटी चलेको कुरा किन बिर्सन्छौं?
सामान्य नागरिकलाई घण्टौंसम्म झुलाउने कार्यालयले पहुँच र पावरवालालाई गर्ने सेवासत्कार बेग्लै हुन्छ। आम सेवाग्राहीहरू लामबद्ध हुन्छन्, ठाँटिएर आएको समूहलाई कुनै पनि नियम लागू हुँदैन। सिधै सोधपुछ कक्षमा जान्छन्, फलानो हाकिमको कोठा कहाँ हो? कर्मचारीले केही सोधपुछ गर्न लागे भने सिधै जवाफ आउँछ, मेरो फलानो हाकिम साबसँग कुरा भइसकेको छ .....। हाकिमको मान्छेलाई कर्मचारीले केही भन्ने कुरा आएन। माथिबाटै तोकआदेश आउँछ तुरून्त काम गर्दिनु.... भनेर।
लाइनमा पसिना चुहाएर सेवाग्राही उभिएका हुन्छन्, उनीहरूको काम रोकेर पावरवालाको काम तुरून्त गर्दिनुपर्छ। हुन त हाम्रो प्रशासनिक सिस्टम माथिल्लै ओहोदाका वरिष्ठहरूले बिगारेका हुन्।
एक जना कर्मचारी साथीले सुनाएका थिए।
'म मेरो पदको कुर्सीमा बसेपछि हाकिमको मान्छे होस् कि सामान्य नागरिक, मेरो नजर बराबर हुनुपर्छ। तर विडम्बना, घण्टौं लाइनमा उभिएका सेवाग्राही उभिरहन्छन्, हाकिमका सोर्सफोर्सवाला बोल्नासाथ तुरून्तै काम सकाइहाल्नुपर्छ। आत्माले यो गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि यस्ता हर्कत गर्नुपर्दा निकै पीडा हुन्छ कहिलेकाहीँ।'
अर्का साथीको पनि उस्तै पीडा थियो।
एकदम ठाँटिएर आउँछन् सेवाग्राहीको रूपमा। कुनै डकुमेन्ट पुगेको हुँदैन, कागजी प्रकृया पुगेको हुँदैन, यो पुगेन भन्यो भने दायाँबायाँ केही नहेरी सिधै हाकिमको रूममा छिर्छन्, के के कुरा हुन्छ कुन्नी ? बाहिर निस्केर तिनै सेवाग्राही रूपका हर्ताकर्ताले उर्दी लगाउँछन्, मेरो हाकिम साबसँग कुरा भइसक्या छ ल तुरून्त गर्दिहाल्नुस् काम ...।
कुरा हाकिम साबसँग भयो होला तर नपुगेका कागजात कसरी पुग्यो भन्नु? नपुगेको कानूनी प्रक्रिया कसरी सही छ भनेर काम गर्दिनु? यस्तो परिस्थितिमा कसरी काम गर्ने? भोलि केही काम बिग्रँदासाथ कर्मचारीको गल्ती हुन्छ, हाकिमसँग कुरा भएको भन्नासाथ काम गर्दिहाल्नुपर्छ। बाहिर घामपानी नभनी लाइनमा बसेका सेवाग्राहीलाई यो पुगेन, त्यो पुगेन भनेर फर्काउनुपर्छ, कसैलाई घण्टौंसम्म कुराउनुपर्छ। तर माथिको आदेशमा आउने हुकुमी सेवाग्राहीको केही नपुगे पनि भोलि पेश गर्ने शर्तमा, वा हाकिम साबको तजविजी अधिकारको भरमा तुरून्त काम गर्दिहाल्नुपर्छ।
म राष्ट्रको कर्मचारी हुँ, मेरो नजरमा ती हुकुमी सेवाग्राही र चप्पल पड्काउँदै लाइनमा उभिएका नागरिक एकै हुन् तर पेशामा धेरै बाध्यताहरू भोग्नुपर्ने रहेछ।'
अधिकांश कार्यालयहरूमा नागरिक वडापत्र राखिएको हुन्छ। सबै कुरा त्यही वडापत्रमा उल्लेख गरिएको पनि हुन्छ, यो कुरा थाहा पाउँदापाउँदै पनि पहुँचवाला केही थाहा नपाएको जस्तै गरी सिधै हाकिमको रूममा छिर्छन्, तोक आदेश लाइहाल्छन्। यो परिपाटी विद्यमान हुन्जेलसम्म सेवाग्राही नियममा चल्ने एकथरी, निगाहामा चल्ने अर्काथरी भइरहने छन्।
सेवाग्राहीसँग राम्रोसँग बोल्दा, कुराहरू राम्रोसँग बुझाउँदा, आफ्नो कार्यालयमा आउने सेवाग्राहीसँग राम्रो व्यवहार गर्दा कर्मचारीको शाख घट्दैन। कर्मचारी देख्नासाथ सेवाग्राहीमा किन नकारात्मक सोच आउँछ? त्यो कर्मचारीको व्यवहारको कारणले हो, यो व्यवहार कर्मचारीले कहिले सुधार गर्ने? हाकिम साबहरूलाई बिन्ती छ, कृपया पहुँचको आधारमा सेवा प्रवाह गर्न कर्मचारीलाई दबाब दिने काम बन्द गर्नुस्। तपाईं हामी नियममा बस्यौं भने पो सिंगो सिस्टम व्यवस्थित हुन्छ नि होइन र?
चर्को घाममा लाइन लागेर सेवाग्राही उभिएका हुन्छन्, 'ल खाजा खाने बेला भयो' भन्दै तुरून्त अफिस बन्द गरिन्छ।
घण्टौसम्म सेवाग्राही कुरेर बसेका हुन्छन्,अन्त्यमा तपाईंको काम भएन भनिन्छ, कम्तीमा यही कुरा बेलैमा भन्दिएको भए के बिग्रन्थ्यो? सामान्य कुरामा पनि बढी केरकार गरिन्छ, हाकिमको निगाहामा तुरून्त काम गराइदिन फर्माइस गर्ने सेवाग्राही र घण्टौंदेखि लाइनमा बस्ने सेवाग्राहीको मर्म किन समान हुँदैन?
सरकारी कार्यालयमा पनि बेलैमा कर्मचारी आउँछन्, बेलैमा काम हुन्छ, झन्झट हुँदैन, कर्मचारीहरू फरासिला छन्, राम्रो व्यवहार गर्छन् भन्ने आभास कहिले होला? कसैलाई गाली गर्नुपर्यो भने तेरो सरकारी अड्डामा काम परोस् भन्ने सम्मको अवस्था किन सृजना भयो?
सेवाग्राहीको मूल्यांकनबाट पनि कर्मचारीको वृत्तिविकास प्रभावित हुने हो भने यो क्रम धेरै हदसम्म सुधार हुन्छ। प्रशासन नारामा होइन ठीक पारामा चल्नसक्नुपर्छ।
पावरले होइन सही पाराले काम हुनुपर्यो। कर्मचारीमा शासक होइनौं, सेवक हौं भन्ने कुराको बोध हुनुपर्यो। सेवाग्राहीप्रति हेर्ने नजर समान हुनुपर्यो। सरकारी कार्यालयमा नियममा पनि काम हुने रहेछ, बिनाभनसुन पनि काम बन्छ, कर्मचारीको व्यवहार एकदम राम्रो छ भन्ने भान हामीले कहिले पार्ने? सरकारी कर्मचारीप्रति हेर्ने चश्मा दोषी हो कि कर्मचारीको सेवाग्राहीप्रति हेर्ने चश्मा दोषी हो? यो कुरा कहिले पहिचान गर्ने?
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)