अस्ट्रेलियामा बिहानको घामसँगै नयाँ दिनको लागि म उत्सुक छु। आफूले सोचेजस्तो आफू आत्मनिर्भर भएर अगाडि बढेकोमा निकै गर्व महसुस हुन्छ।
कामको लागि जान म एक जोर कपडा बोकेर ऐना अगाडि उभिएँ। जिन्सको पाइन्ट लगाउँदै गर्दा ...अहँ! ... कपडा त माथि आउँदैन! तिघ्रामै अड्कियो। जति बल गर्दा पनि लागेन।
एकछिनपछि हार खाएर थचक्क बसेँ।
नेपालबाट ल्याएको आठौं पेन्ट हो, जुन अब मेरो शरीरको लागि ठीक हुँदैन। ऐनामा हेरेँ। अब आफ्नै शरीर मन पर्न छाडिसक्यो। कति मोटी, कति भद्दा, मानौं अब दुनियाँमा पानी खाए पनि मोटाउने मेरै ज्यान होला!
अब राम्रो कपडा लगाउने इच्छा छैन, कपडाको साइज नै छैन, कपडा पसलेले त आफैं रोजेको कपडा तान्दै, 'ओहो यो त तपाईंलाई अलि सुहाउँदैन। अलि गाढा रंग किन्नुस्, कालो कपडा किन्नुस्, स्लिम देखाउँछ' भन्छ।
ऐना हेर्न मन लाग्दैन सिंगल फोटो खिच्न मन पर्दैन। झन् समूहमा त खिच्नै मन पर्दैन। कसैसँग भेट्न मन पर्दैन। बस् थुनिएर बसौं एक्लै बसौं, खाएर बसौं, दिमागलाई भड्काउन टिभी अगाडि बसौं आखिर ८० केजी त पुगें अब ८५ भए पनि कसैले याद गर्दैन भन्ने जस्तो लाग्छ।
तर अस्ट्रेलिया जस्तो ठाउँमा म मानसिक रूपले चुस्त नभए पनि काममा जानै पर्छ। नत्र कमाइ ठप्प हुन्छ, तीतो मन लिएर अब हरेक बिहानी नभए हुन्थ्यो जस्तो लाग्छ। सामाजिक सञ्जालमा देखिने राम्रो र स्लिम केटी नदेखिए जस्तो लाग्छ।
अब दसैं पनि आउन लाग्यो तर मलाई नेपाल जान मन छैन।
कारण?
कारण मान्छेको ताना।
अरू त अरू आफ्नै आफन्तको ताना, अरू त अरू आफ्नै उमेरका पढेलेखेका दाजुभाइ दिदीबहिनीको ताना, आफ्नै आमाबुबाको ताना, केबल एक निर्क्यौल- यसो नगर, उसो नगर, यो नखाऊ, यसरी नबस्, मोटाउँदैछेस्।
'हुन त म मोटो भए के भो? माई बडी, माई च्वाइस' भन्ने मान्छे म पक्कै हैन।
स्वास्थ्य पढेको मान्छे म, मोटोपनले निम्त्याउने समस्या जान्दछु। बढ्दो जनसंख्यामा मोटोपनाले ग्रस्त भएको तथ्यांक र त्यसको बढ्दो दीर्घकालीन रोगको जोखिम म जान्दछु। मुख्यतया शरीरले केही रोग लागेको वा धेरै जोखिम भएको संकेत दिएको म बुझ्छु। तर दसैंको बेला यसै पनि खानपिन धेरै त्यसमाथि मानिसले कस्तो भइरहेको छ? त्यहाँको बसाइ पढाइ कस्तो भइरहेको छ? स्वस्थ छौ नि इत्यादि केही नसोधि प्याच्च सोध्छन्- 'कस्तो मोटाइछेऊ हैन।'
हुन त झट्ट हेर्दा जे देखिन्छ त्यही भन्ने स्वभाव प्राकृतिक हो तर उसलाई के भैरहेको छ? मनमा केही नसोची बल्ल दिमागभरी मोटोपनाको कारणले निम्त्याएको मानसिक तनावका तार फेरि भड्काएकोजस्तो लाग्छ।
मेरी आमा मुर्मुराउँदै भन्नुहुन्थ्यो- सबै आफन्तका छोराछोरीले भन्दै छन् श्रेयाको बिहे गरिदिनुपर्छ। उसको त ज्यान पनि ठूलो छ, कद पनि ठूलो छ। हामी बच्चाजस्तो देखिन्छौं। सँगै फोटो खिच्यो भने ऊ त बुढी देखिन्छे।'
सायद त्यो यथार्थ चित्रण होला। मलाई पनि थाहा छ एउटा हिरोइन एक फिल्ममा मोटाउनुपर्ने थियो। त्यो फिल्ममा ऊ ३५-४० वर्षको देखिन्थी भने त्यसको दुई सालपछि अर्को फिल्ममा तौल घटाएर २०-२० वर्षको देखिएको।
तर रहरले त कोही अधिक तौल बढाउन वा बन्न चाहन्न नि, आफूले आफैं बुढो बन्न चाहँदैन नि। दुःख कसले के भन्यो भन्दा पनि कस्तो तरिकाले कस्तो मनसायले भन्यो त्यसको कुरा हो।
आखिर आफूलाई सर्वश्रेष्ठ ठानी आफ्नै बहिनीलाई तल देखाउन खोज्नु नै रहर होला भन्ने मेरो ठम्याइ छ यदि होइन भने 'बहिनी चिन्ता नगर स्वस्थ हुनुपर्छ, हामी बरू सँगै कसरत गरौंला, सँगै बिहान हिँडौंला' जस्ता सहयोग गर्ने भावनाले दिने सुझावभन्दा मन नै निचोरिने कमेन्ट किन आए त?
हुन त मोटोलाई मोटो भन्न नपाउने, कालोलाई काले भन्न नपाउने, के जमाना सोच्नुहोला। तर फेरि पनि कसरी भन्नुभयो र कुन इरादाले भन्नुभयो?अन्तर्मनमा जवाफ पक्कै छ स्वीकार गर्नुहोस् वा नगर्नुहोस्।
सोलोमन आइल्यान्ड भन्ने एक टापू छ, त्यहाँ रूख चाहियो भने रूख काट्दैनन्। त्यहाँ मानिस जम्मा हुन्छन् र नानाथरी गालीगलौज दिन्छन्। धेरै घन्टासम्म अनि त्यो रूख त्यही कारणले केही हप्तापछि विस्तारै सुक्दै आफैं लड्छ र मर्छ।
विभिन्न नाम र हसाइको पात्र बनाइदिएपछि एउटा रूख त मर्ने रहेछ म त केवल मानिस तर म चुप लाग्छु। किनकि जिन्दगीमा मैले बिरलै सार्वजनिक रूपमा कसैको स्वरूपमा टिप्पणी दिएँ होला। दिएँ पनि एक मिनेटमै मलाई पश्चताप भएको छ। अनि यति सबै नकारात्मक टिप्पणीपछि त्यही मान्छे भन्छन्, 'नेचुरल ब्युटी इज नेचुरल ब्युटी', ओई! यसले त सर्जरी पो गरेको रहेछ है- के नाटक गरेको होला, जे छ भगवानले दिएको त्यसैमा रमाउनु नि; यिनीहरूले 'अनरियालिस्टिक ब्युटी स्ट्यान्डर्ड' सेट गर्छन्।
वास्तवमा म कहिल्यै कसैले भनेको टिप्पणीको पछि नलाग्ने मान्छे तर त्यो अघिको रूख जस्तै घर, आफन्त, समाज, कार्यालय, सबै ठाउँमा एक घृणित नजरले हेरेको देख्दादेख्दै अझ घिन लागेर आउँछ। कति व्यायाम गरेँ, हर्मोनल टेस्ट गराएँ, डाइटिङ गरेँ, गुलियो कम गरेँ, मासु छोडेँ, चिन्ता लिन खोजेँ। तर तौल घटेन। मैले औषधि खाएर छिटो छिटो ट्वालेट लाग्ने बनाउन खोजेँ, मुखमा हात राखेर खानेबित्तिकै उल्टी गराउन खोजेँ। अहँ भएन।
अनि थाहा भयो एउटा कारण त चिन्ता पनि रहेछ म मोटाउनुमा। मलाई चिन्ता भएपछि के गरौं गरौं हुन्थ्यो, खुट्टा हल्लाउन थाल्थेँ- त्यतिकै चिन्ता भुलाउन मुखमा केही चपाए एकदम कम हुने- त्यसपछि त म सधैं खाएको खायै गर्थेँ। यसले झन् तौल वृद्धि गर्यो, झन चिन्ता लाग्यो, अनि झन् खान थालेँ। एकदिन मैले थाहा पाएँ मलाई 'स्ट्रेस इटिङ डिसअर्डर' हुन लागे जस्तो लाग्यो। अझ खाना खाइरहनुपरेकोले घरमा स्वस्थ खानाभन्दा झट्टै पाउने बजारिया खानेकुरा बढी खान थालेँ।
होस् म नेपाल जान्नँ। मैले निधो गरिसकेँ। मेरो एउटा साथीले निकै राम्रो सल्लाह दिएको छ।
उसले भन्थ्यो, 'मेरो उचाइ सानो छ, मान्छेले जे भने पनि म यसमा केही गर्न सक्दिनँ। तेरो त घट्न बढ्न सक्ने ‘तौल’ हो चिन्ता नगर, तौल नघटे नि स्वस्थ खानपान र व्यायाममा ध्यान दिनू, चिन्ता कम लिनू अरू कुराले मतलब राख्दैन। आखिर आफ्नो शरीरलाई कसैले माया गर्दैन, आफैंले गर्नुपर्ने हुन्छ।'
मेरो कलेजको अर्को साथीले भन्थ्यो, 'मलाई चौथो वर्षमा अधिक तौल र त्यसको मानसिक तनावबारे अनुसन्धान गर्न मन छ।'
'किन?'- मैले सोधेँ।
उसले भन्यो, 'विद्यालयमा हुँदा कति नाम राखिदिने, कति अपहेलना हुने, इत्यादिले विद्यार्थी जीवनमा के लगाउने, कसरी पेट छोप्ने, आदिमै गयो। कहिले खुल्न र आफ्नो प्रतिभा देखाउन अगाडि आउन सकिनँ। त्यसैले यो विषय मेरो मनको एकदम करिब छ। मलाई त्यसबेला जाबो खाना कन्ट्रोल र व्यायाम गरेँ भैगयो नि जस्तो लागेको विषय आज मैमा आइपर्यो।
मानिसको शरीरको पार्थिव प्रकृति र सदाबहार नहुने सत्य मेरो सामु जिन्दगीले प्रस्तुत गरेको छ। शरीरको यो अनुभवले मलाई आफ्नो ज्यानप्रतिको उत्तरदायित्वबारे झक्झकाएको छ।
अरूको रूपरंग र स्वरूपलाई सजिलै स्वीकार गर्न सिकाएको छ। हामी कति चाँडो अरूलाई माफ गर्दिन्छौं तर आफैंप्रति आत्मालोचना गर्छौं भन्ने जनाएको छ।
हामीले जिन्दगीमा कति निर्णय अरूको प्रिय, स्वीकार्य हुने गर्दोरहेछौं भन्ने देखाएको छ। तर परिवर्तनशील जिन्दगीबारे सिकाएर आफ्नो समय र शक्ति सदुपयोग गर्न र रमाउन हौसला गरेको छ। यो अनुभवको लागि धन्यवाद जिन्दगी। प्राकृतिक रूपका र छिट्टै आलोचना गर्ने प्रवृत्तिबाट भिन्न दृष्टिकोणको लागि धन्यवाद। तर अघि भनेझैं यो अनुभव हो, म फेरि सस्वस्थ तौलमा आउनेछु।
अब अनावश्यक तनाव लिएर, जंक खानाको साथ तनाव व्यवस्थपनातिर र आफैंलाई दोषी बनाएर एक बारको जीवन बिताउनु छैन। बरू शरीरलाई मन्दिर जसरी स्वस्थ बनाउन खोज्छु।
मेरो लागि मेरो अहिलेको अधिक तौल भएको शरीर त्यति नै प्रिय छ, जति स्वस्थ तौल हुँदा हुनेछ।