म अहिले पनि स्पष्ट स्वरूपमा सम्झन सक्छु। कुनै चाडपर्व आउँदा, कहिलेकाहीँ अग्रजहरूबाट माया ममता भावले, विशेष उत्सवहरूमा अथवा त्यस्तै अन्य सन्दर्भमा मसँग त्यो बेला मेरो नजरमा प्राय:भन्दा अलि बढी रुपैयाँ पैसा हुन्थ्यो।
बालापनको उमेरमा हातमा पैसा आउनेबित्तिकै केही न केही फजुल खर्च भैहाल्ने! पछि पैसा चाहिने समयमा 'यो पैसामा केही पैसा अरू थपेर दिने' भन्दै आमाले मबाट त्यो पैसा माग्नु हुन्थ्यो।
आफ्नो पैसा आफूले खर्च गर्न नपाएकोमा सम्झना रहुन्जेल खुब सुनाइन्थ्यो।
तर, बेला मौकामा याद आउने बित्तिकै आफ्नो पैसा सुरक्षित भए/नभएको भने यकिन गर्न अनुरोध गरिन्थ्यो।
मैले देख्दा आमासँग बाकसमा टन्नै पैसा हुन्थ्यो, अनि म ढुक्क हुन्थें।
आमाले यस्तै अन्य बचत रकमबाट सानोतिनो समस्या परेमा सहजै काम टार्नुहुन्थ्यो। सामान्य नजरमा उहाँ प्राय: घरायसी काममै ब्यस्त देखिने गृहिणी हुनुहुन्थ्यो, तर अहिले मनन गर्दा उहाँ साँच्चिकै निपूर्ण अर्थविद् अनि कुशल व्यवस्थापक पनि!
बैंकको परिभाषा अहिले आएर केही मात्रामा बुझ्दैछु। तर, मेरो पहिले बैंक भनेकै मेरी आमा हुनुहुन्थ्यो।
कुनै पनि चेक, भैचर, एटिएम, दस्ताबेज तथा भुक्तानीका विकल्पहरू नै नरहेको अवस्थामा मैले मेरो बैंक खाता आमालाई सुम्पिएको थिएँ।
उहाँको हसिलो र मिजासिलो मुहारमा मैले अहिलेको ग्राहकमुखी बैंकिङ सेवा देख्दैछु। मेरै गल्तीमा म स्वयंले रिसाउँदा पनि आफैं मलाई फकाउन अग्रसर हुने कस्ता सरल र मीठा ग्राहक संरक्षण सिद्धान्तहरू देख्दैछु।
मेरा सबल पक्षहरूमा खुलेरै प्रशंसा, दुर्बल पक्षहरू सुधार्न सधैं अभिप्रेरित गर्ने लगायत मलाई असहज हुने किसिमका मेरा सम्पूर्ण गतिविधिहरू बुवालाई सम्म नपुग्ने गरी मनमै राख्न सक्ने कति उच्च विश्वसनीयता र गोपनीयता?
घरमा हुने सानातिना खर्चदेखि भविष्यको योजना समेत उचित वातावरणमा सरसल्लाह गरी योजनाबद्ध रूपमै बजेट तयार गर्न सक्ने कति सानदार सहअस्तित्वको भावना?
पुराना गल्ती र कमीकमजोरीलाई सूक्ष्म तरिकाले कोट्याउँदै भविष्यमा त्यस्तो गल्ती नगर्न प्रष्ट मार्गनिर्देशन दिन सक्ने कति स्पष्ट लेखापरीक्षण? बुवाले दिनुभएको घर खर्चबाट समेत बचाएर 'आपतकालीन समयमा काम लाग्छ!', कस्तो कट्टर आर्थिक अनुशासन र दीर्घकालीन पोर्टफोलियो व्यवस्थापन?
अनेक कोणबाट नियाल्दा पनि सिन्कोसम्म त्रुटि नभेट्टिने उहाँका हरेक काम कारबाही पूर्णतः वैज्ञानिक हुन्थे। तर, आमाले औपचारिक शिक्षाका नाममा विद्यालयमा पाइला टेक्नेसम्म अवसर पाउनु भएन। लेख्न र पढ्न खुबै रूचि राख्ने उहाँलाई सौभाग्यवस प्रौढ शिक्षाको सहारा मिल्यो। आफ्नो नाम लेख्ने तरिका कण्ठै थियो।
औपचारिक शिक्षाका विज्ञहरूलाई सहजै व्यवहारिक शिक्षा सिकाउन सक्ने उहाँको क्षमता साँच्चिकै अब्बल!
मेरा इच्छा चाहनाहरूमा कहिले पनि आमाको तर्फबाट कुनै किसिमको दबाब भएन। तर, मैले आफ्नो स्नातकसम्मको अध्ययनपश्चात् विभिन्न सुरक्षा निकायहरूमा आबद्ध हुने अत्यन्तै रहर गरेर अथक प्रयास गरेको भने आमालाई चित्त बुझेको थिएन।
उहाँले सुरक्षा निकायमा जागिर खानु भनेको 'काँधमा बन्दुक र शरीरमा बारूदको भारी बोकेर दौडिनु' भन्ने सम्झिनु हुन्थ्यो।
सायद सामान्य जनताले सुरक्षा निकायहरूको यहीँ एउटा बाहिरी स्वरूप बारम्बार देख्नु पर्ने भएर पनि हुन सक्छ। बुवा शिक्षण पेशामा सरकारी जागिरे भएर हुनुपर्छ, उहाँलाई मैले सरकारी जागिर खाएको हेर्ने इच्छा भने ज्यादै अधिक!
आफ्नो अन्तिम उमेर हदसम्म विभिन्न सुरक्षा निकायहरूमा अधिकृत स्तरका पदहरु बाहेक अन्त कहीँ पनि स्वैच्छिक रूपमा दरखास्तसम्म दिइनँ। अन्ततः सायद आमाकै आशीर्वादको कमी भएर हुनुपर्छ, त्यतातिर सफल पनि भइएन।
सुरक्षा निकायभन्दा अन्यतर्फ पहिले पटक मैले बैंकमा दरखास्त दिएँ।
पहिलो पटकमै राष्ट्रिय वाणिज्य बैंकमा नाम निकाल्न सफल भएँ। बैंक जस्तै चौतर्फी ब्यबस्थापनमा निपूर्ण आमाको आश्रय नै सायद मेरो प्रेरणा थियो। समग्रमा बैंकका हजारौं कर्मचारी, सम्पूर्ण ब्यबस्थापन विज्ञहरू, बैंकिङ ऐन तथा वित्तीय संस्था एवं सुपरीवेक्षण संस्थाहरूले एकबद्ध रूपमा गर्ने सबै कार्यहरू मेरी आमा एक्लैले गर्नुहुन्थ्यो। फरक यत्ति मात्रै हो, अहिलेका वैधानिक बैंकहरूको संजाल बृहत् छ। इन्द्रपुरीबाट सदैव मार्गनिर्देशन र आशीर्वाद मिलिरहोस्।