भदौ २६ गतेको कुरा हो।
हाम्रो सुदूरपश्चिमेलीहरूको महान चाड गौरा पर्वको हाम्रो गाउँमा अन्तिम दिन थियो। जुन दिन हाम्रै गाउँ श्रीकोटको स्थानीय बजार सिल्लेगडामा जात्रा लागेको थियो। त्यही दिन मेरो कैलाली जाने काम परेको थियो। म घरबाट रात्रिकालीन यात्रा गर्छु भनेर २६ गतेको दिउँसो करिब २ बजेतिर जात्रा पनि हेर्छु र उताबाट नै धनगढी जान्छु भनेर हिँडें।
सिल्लेगडा पुगेपछि टिकट काउण्टरमा गएर राति ८:३० बजेको गाडीमा जानको लागि टिकट काटें। जात्रा हेरिसकेपछि मैले टिकट काउण्टरमा गएर सोधें। ‘गाडी कति खेर आउँछ?’ भनेर।
त्यहाँ सोध्दाखेरी तिम्रो टिकट काटेको गाडी त दार्चुलाबाट नै भरिएर आएको छ त्यै भएर तिमी त्योभन्दा अगाडिको गाडीमा जानुपर्यो भनेर भनेपछि मेरो इमर्जेन्सी काम भएकाले ‘नाइँ जादिनँ’ भन्न सकिनँ।
त्यो बसमा पनि यात्रुहरू भरिएका थिए तर पनि मलाई एड्जस्ट हुनु पर्ने भयो। क्याभिनको बोनटमा बस्न बाध्य भएँ। त्यो बोनटमा एउटी युवती मात्रै बसेकी थिइन्। राति ८ बजेबाट हाम्रो यात्रा सुरू भयो। नचिनेको युवतीसँगै बोनटमा बसेको हुँदा कतै भोमिट पो हुन्छ कि! भनेर मलाई अप्ठ्यारो लाग्न थाल्यो।
गाडीमा यात्रा गर्दा मलाई धेरै भोमिट हुने गर्थ्यो। म ती युवतीलाई चिन्ने प्रयास गरिरहेको थिएँ। हामी बोनटमा बसेको बेला युवतीका आफन्त पनि क्याभिनमै बसेका रहेछन् भन्ने थाहा पाएपछि नाम र ठेगाना सोध्न समेत अप्ठ्यारो लाग्यो र सोध्न पाइनँ।
हामी एक अर्का सित बोल्दै बोलेनौं। बोल्ने मन त थियो तर उसका आफन्तहरूले नकारात्मक हिसाबले हेर्छन्/सोच्छन् कि भन्ने मानसिक डर उत्पन्न भएपछि म बोलिनँ।हामी दुइटै मोबाइल चलाइरहेका थियौं। मलाई त यात्रा गर्दा मोबाइल हेर्न पनि अप्ठ्यारो लाग्छ किनकि मलाई धेरै भोमिट हुने गर्थ्यो, तै पनि मोबाइल हेर्न बाध्य भएँ।रातिको लगभग साढे १० भैसकेको थियो, उसलाई निद्रा लागेजस्तो भयो, म त्यतिकै मोबाइल चलाउँदै बसिरहेको थिएँ।
निद्रा पनि एउटा नसा हो भन्थे हो रहेछ, उसलाई झ्याप्प पाराले निद्रा लागेपछि मेरो काधमा हात राख्दै आफ्नो हातमा टाउको राखेर मजाले सुतिन्। त्यतिखेरसम्म ११ बजेको थियो र हामी खाना खाने ठाउँमा पुग्यौं। सबै यात्रुहरू खाना खानको लागि ओर्लिएँ।
मैले खाना पनि खाइनँ किनकि उनी मेरो काँधमा हात राखेर मस्त निद्रामा थिइन्, त्यति मीठो निद्रालाई मैले डिस्टर्ब गर्न चाहिनँ। बरू मलाई भोक लागोस् केही छैन तर उसलाई मजाले निद्रा लागोस् भन्ने सोचें।
उसका आफन्तहरूले पनि खाना खान जाँदा खेरी ‘बाबु तिमी खाना खाने होइन त? भनेर सोधें। र मैले सहजै जवाफ दिएँ ‘अहँ म खान्नँ अहिले।’
युवतीलाई पनि खाना खाएपछि झन् भोमिट हुने रहेछ भनेर उसका आफन्तले निद्रा डिस्टर्ब गर्न चाहेनन् र उनीहरू खाना खान बाहिर निस्किए। उनी निद्रामै थिइन् अनि म मोबाइल चलाउनमै। करिब २० मिनेटपछि त्यहाँबाट यात्रा पुनः सुरू भयो।
उनी निद्रामै थिइन्, विपरीत साइडबाट मोडमा ट्रक आयो। ड्राइभरले झ्याप्प ब्रेक हान्दा म अगाडि धकलिएँ र उनको हात मेरो काँधबाट छुट्यो। त्यो हात छुटेपछि उनी लड्छिन् भनेर उनको हात समाउन बाध्य भएँ।
त्यतिखेर उनको आँखा खुल्यो, आँखा खुले पनि उनलाई निद्राको नसाले च्यापेको थियो, सायद यहाँ के भैराछ भन्ने पनि उनलाई थाहा थिएन होला र उनी झट्पटै सिधै मेरो काखमा टाउको राखेर सुत्न पुगिन्। मलाई अप्ठ्यारो लागिरहेको थियो किनकि उसका आफन्त त्यहीनिर थिए।
केही समयपछि उसका आफन्तले देखिहाले अनि मलाई भने, ‘भाइ, तिमीलाई मेरो छोरीले कतै अप्ठ्यारो त गरिन कि?’ मैले भनें- ‘अहँ’। अनि उनका आफन्तले भने- आज त सुत्न पाया छ छोरीले भोमिट पनि गरेन नत्र यसले धेरै भोमिट गर्ने हो।’
आफन्त भन्ने व्यक्ति त उसकै मम्मी (आमा) रहेछिन् भन्ने राति १ बजे आएर थाहा पाएँ।
उसको आमालाई के थाहा उनकै छोरीको निद्राको लागि मैले खाना नै खाएको छैन भन्ने कुरा। उनकी आमा बुझ्ने मान्छे नै रहेछिन् खासै नेगेटिभ सोचिनन्, नेगेटिभ सोच्नुपर्ने पनि त्यसमा खासै थिएन। अब भने मलाई खासै अप्ठ्यारो पनि लागेन।
पहाडको सडकका मोडहरूमा गाडी यताउता ढल्दाखेरी उनी पनि कहिलेकाहीँ यताउता ढल्थिन् त उनलाई समातेर सुताउने गर्थें।
ड्राइभरले राम्रो राम्रो गीतहरू बजाइरहेका थिए। ती गीत मेरै लागि बनेका हुन् कि जस्तो पनि लाग्थ्यो। सायद माया प्रेमका गीतहरूसँगै उनी पनि साथमा भएकोले होला धेरै भोमिट हुने मलाई त्यो रात्रीकालिन यात्रा धेरै रमाइलो भयो। गीतसँगै यात्रा गरिरहँदा मेरो हात उनको सिरानी बनेको थियो। अलि धेरै समय उनको टाउको मुनि हात च्यापिएकाले होला दुखेको महसुस भयो।
मैले उनको टाउकोबाट बिस्तारै हात निकाल्न खोजें तर उनले मेरो हातलाई आफ्नो हातले च्याप्प समातेर निकाल्न दिइन। उनले त्यो मेरो हात निद्रा नखुलुन्जेलसम्म छोडिनन्। मलाई त्यो रातभर निद्रा नै लागेन, कारण पहिला त आफूले मजाले सुतेर उनको निद्रा खराब गर्न यो मनले मानेन, दोस्रो कारण थियो त्यति राम्री अप्सरा जस्तै उनी काखमा सुतेको बेला कसरी निद्रा लाग्नु। त्यै भएर कैलालीको अत्तरिया पुग्दासम्म निद्रा लागेन र ब्युझिरहें।
म अत्तरिया बसपार्कमै उत्रिने यात्रु थिएँ। हामी करिब बिहानको ७ बजेतिर अत्तरिया बसपार्कमा पुग्यौं। उनी ब्युँझिसकेकी थिइन्।
मलाई उनको नाम र ठेगाना जान्न पाए हुन्थ्यो भन्ने लागिराथ्यो। उनी पनि अत्तरिया बसपार्कमै उत्रिने रहिछन् भन्ने त्यहाँ पुगेर थाहा पाएँ। गाडीबाट उत्रिने बेलामा उनीसँगै उनकी आमा पनि उत्रिएकाले नामसम्म सोध्ने माहोल बनेन। बसको छतमा उनको केही सामान थियो।
मलाई लाग्यो सामान निकाल्दा अलि समय नै लाग्छ त्यतिखेरसम्म म चिया खान होटलमा जान्छु भनेर बसपार्कबाट छेउमै रहेको होटलमा गएँ।
चिया खाँदा खेरी केही प्रश्न मेरो मनमा उठे। उसको आमा साथमा भए पनि के भयो र? नाम सोध्दैमा के हुन्छ र? चिया खाएपछि उनलाई नाम सोध्न बसपार्कतिर लागें। बसपार्कमा पुग्दा बस त्यही थियो तर उनी थिइनन्।
थुप्रै बस, हाइस र अटो थिए। उनलाई खोज्न थालें। तर मेरो प्रयास विफल भयो। मैले उनलाई कहीँ पनि भेटाउन सकिनँ।
अत्तरिया बसपार्क पुग्दासम्म मेरो मनमा त्यस्तो सोच केही नभए पनि जब म उनलाई खोज्न भौंतारिएँ कताकता एकतर्फी प्रेममा परें कि भन्ने भान भयो। धनगढीको चौराहा पुगेपछि त्यो टन्टलापुर घामले पोलिरहेको बेला पनि मैले उनलाई खोज्ने प्रयास छोडिनँ। दिउँसोको घाममा धनगढीका मुख्य प्रत्येक गल्ली गल्लीहरूमा गएँ, त्यतिबेलासम्म दिउँसोको ३ बज्दै थियो म थाकिसकेको थिएँ।
अनि साथीको कोठामा गएँ। त्यो बाँकी दिन साथीकै कोठामा बिताएँ र रात पनि त्यतै बिताएँ। रातभर सोचें उनको बारेमा कता गइन् होलिन्?
अर्को दिन साथीको कोठाबाट बिहानै मेरो काम छ भनेर त्यहाँबाट हिँडें। बिहान ११ बजेसम्म काम थियो तर काम पनि अपुरै रह्यो। त्यो काम नहुने भएपछि अझ ११ बजेदेखि उनलाई खोज्नमै ब्यस्त रहें।
काम पूरा नभएपछि घर आउनु पर्ने भयो। म त्यहाँ गएको तेस्रो दिनमै घर आइपुगें।
घरमा आएर पनि उनको बारेमा सोच्दा त कति बेला लाग्छ कि चलचित्र एकचोटि मन पराएको केटी भेटिन्छ र म पनि उनलाई भेट्टाउने छु भनेर चित्त बुझाउने गर्छु। यदि यो लेख पढ्ने र त्यो दिनसँगै यात्रा गर्ने उनी तिमी हौ भने एकचोटि मलाई सम्झिनु होला भन्न चाहें।