गृहकार्य अर्थात् होमवर्क भनेको विद्यालयमा सिकेको कुरा विद्यार्थीले कति जान्यो भनेर परीक्षण गर्ने र थप अभ्यास गर्ने माध्यम हो। दिनभर स्कुलमा पढेर थकित भएका बालबालिकालाई गृहकार्य गर्नु अलिक अल्छीलाग्दो काम हुन्छ। धेरै जसो बालबालिका होमवर्क गर्न खुसी हुँदैनन्।
नेपालका स्कुलहरूमा 'होमवर्क अनिवार्य' भन्ने मान्यता छ। खास गरी अभिभावकहरूले नै होमवर्क माग गरेका हुन्छन्। पढालेखा अभिभावकहरू पनि होमवर्कमा जोड दिन्छन्। सबै विषयको होमवर्क दिनू भनेर शिक्षकहरूलाई आग्रह गर्छन्।
म आफ्नो बाल्यकाल सम्झिन्छु। तीस–पैंतीस वर्षअघिको कुरा, हिजै जस्तो लाग्छ। हामीलाई टन्न होमवर्क दिइन्थ्यो। दिनभरि स्कुलमा पढेर थकित भए पनि घर आएपछि होमवर्क गर्न बस्नुपर्थ्यो। भित्री मनले चाहिँ घर पुग्ने बित्तिकै गुच्चा खेल्न वा माछा मार्न जा भन्थ्यो। अर्कोतिर टन्न होमवर्क हुन्थ्यो। होमवर्क पूरा नगरे शिक्षकको कुटाइ खाने डर हुन्थ्यो।
खेल्न गए पनि, माछा मार्न गए पनि होमवर्ककै पिर हुन्थ्यो। मनमा होमवर्क आतंकको भारी हुन्थ्यो। होमवर्क नगरे कक्षामा साथीहरूका सामुन्ने भित्तामा टाँसिनुपर्थ्यो र कुर्सीजस्तो भएर अडिनुपर्थ्यो।
त्यसरी अडिँदा तेर्सो भएको तिघ्रामा शिक्षकले ढुंगाका टुक्रा राखिदिन्थे। केही बेरमा तिघ्रा काम्थ्यो र ढुंगा झर्थे। ढुंगा झार्न नपाइने नियम हुन्थ्यो। झर्यो भने बाँसको सिर्कनाले हान्थे।
यस्तो सजाय शिक्षकको विवेकमा भरपर्थ्यो। कोही बढी नै सजाय दिन्थे त कोही चेतावनी स्वरूप थोरै दिन्थे। दुई कक्षामा पढ्दा एक दिन एक जना साथीले लुगामै पिसाब गर्यो। शिक्षकले अगाडि बोलाउनसाथ डरले पिसाब गरेको थियो। त्यो साथीले होमवर्क नगरेकोमा र पिसाब गरेकोमा दुई वटा सजाय पायो।
विद्यार्थीलाई सजाय दिएर, त्रासमा राखेर तह लगाउनुपर्छ नत्र पढ्दैनन्, हेप्छन् भन्ने मान्यता थियो। सजायको डरले होमवर्क गर्ने बाध्यता हुन्थ्यो। हाल पिटाइको यस्तो मान्यता कम हुँदै गए पनि होमवर्कको तनाव कम भएको छैन।
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुनु शिक्षकको अयोग्यता मानिन्छ। युरोपेली राष्ट्रहरूमा शिक्षक योग्य भए विद्यार्थीहरू असफल हुँदैनन् भन्ने मान्यता रहेको पाइन्छ।
आजकाल बालबालिकालाई यातना दिनु अपराध मानिन्छ। कानुनले विद्यार्थीलाई यातना दिन वर्जित गरेको छ। नेपालको संविधानले पनि बालबालिकालाई शारीरिक र मानसिक यातना दिन हुँदैन भनेको छ।
स्कुलमा गृहकार्य अर्थात् होमवर्क दिने चलन नेपाली समाजको मात्र होइन, विश्वव्यापी नै हो। प्राचीनकालमा पनि गुरूले शिष्यलाई गृहकार्य दिने चलन थियो भन्ने प्रमाणहरू पाइन्छन्। गुरुलाई पाठ जस्ताको तस्तै सुनाउनुपर्थ्यो।
दार्शनिकहरू आफ्ना दर्शनको ज्ञान दिन व्यावहारिक प्रकृतिको गृहकार्य दिन्थे।
जुहान गोत्लिएब फिचे नामका जर्मन दार्शनिकले सत्रौं शताब्दीको अन्त्यतिर आफूले खोलेको 'जनताको विद्यालय' मा सबैलाई गृहकार्य अनिवार्य गराए। गृहकार्य अनिवार्य गराउने स्कुलका रूपमा जनताको विद्यालय चिनाए।
अहिले पनि विश्वका अधिकांश देशका अधिकांश विद्यालयमा विद्यार्थीलाई गृहकार्य अर्थात होमवर्क दिनु अनिवार्य नै मानिएको छ। निकै समृद्ध मुलुकहरूमा पनि बालबालिकालाई स्कुलले होमवर्क दिने काम प्राथमिकतामा रहेको पाइन्छ।
हाल बालबालिकाको मनोविज्ञान, बालविकास र शिक्षण विधि सम्बन्धमा धरै अध्ययन–अनुसन्धान भएका छन्। बालमनोविद्हरूले पनि बालविकास र सिकाइ सम्बन्धमा विभिन्न दर्शन र सिद्धान्तहरू विकास गरेका छन्।
राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले विभिन्न अध्ययन–अनुसन्धानका आधारमा बालबालिकालाई पढाइको कुरामा मानसिक र शारीरिक यातना हुने कुनै पनि गतिविधि नगर्न सुझाव दिएको छ।
बालविकासको प्राकृतिक प्रक्रिया, बालमनोविज्ञान आदिका आधारमा कतिपय देशले बालबालिकाको सिकाइ, गृहकार्य लगायतका प्रचलित मान्यताहरू परिमार्जन गर्दै लगेका छन्।
युरोपेली मुलुकहरूमा बेलायत स्कुलका विद्यार्थीलाई बढी होमवर्क दिने मानिन्छ। स्विडेनले बालमनोविज्ञान ख्याल गरेर होमवर्क सम्बन्धी नीति बनाएको छ।
बालशिक्षा सम्बन्धमा पछिल्ला अनुसन्धानहरूले विद्यालयको वातावरण, शिक्षकको पेडागोजिक ज्ञान, घरपरिवारको प्रेरणा र वातावरणको मुख्य भूमिका हुने देखाएका छन्। बालबालिकालाई साह्रै कम होमवर्क दिने चलन भएका मुलुकहरूमा पनि उत्कृष्ट जनशक्ति तयार भएको पाइएको छ।
यी तथ्यहरूले बालबालिकालाई होमवर्क कति दिने, कसरी गराउने र नगरेको अवस्थामा के गर्ने भन्नेतर्फ सोच्न बाध्य बनाएका छन्।
युरोपेली मुलुकहरूमा होमवर्कका लागि बालबालिकाको उमेरलाई आधार मान्ने गरेको देखिन्छ। कतिपय देशमा त खास उमेरसम्म होमवर्क दिँदै नदिने नीति पनि छ।
स्विडेनको हकमा स्कुलमा पढ्न जान छ वर्ष उमेर पूरा भएको हुनुपर्छ। स्कुल पठाउनुअघि किन्डरगार्टेनमा पठाइन्छ। किन्डरगार्टेनमा खेलको माध्यमबाट शिक्षण हुन्छ। बालबालिकाले कुनै दबाबबिना खेलबाटै सिक्ने अवसर पाउँछन्।
फलफूलका नाम सिकाउन काठ वा प्लास्टिकबाट बनेको फलफूलका आकार देखाइन्छ। बालबालिकाहरू तिनै फलफूलसँग खेल्छन् र नाम सिक्छन्, तिनको आकार र रङ थाहा पाउँछन्। यसपछि वास्तविक फलफूल दिइन्छ, अनि बालबालिकाले स्वादका आधारमा चिन्छन्।
यस्तो शिक्षणमा होमवर्क आवश्यक नै पर्दैन। घरमा त्यस्ता फलफूल देखेर आफैं नाम भन्छन्। नजानेको भए घरका ठूला मान्छेलाई सोध्छन्। बालबालिका दुई कक्षामा पुगेपछि थोरथोरै गरेर होमवर्क दिन सुरू हुन्छ।
मैले मेरा छोराहरूको पढाइ सुरूआतको अनुभवबाट पनि थाहा पाएँ– बालबालिकालाई तीन वर्षको उमेरमा स्कुल पठाएर सात वर्ष उमेरसम्ममा सिक्ने कुरा र छ वर्षको उमेरमा पठाएर सात वर्ष पूरा हुँदासम्मको दुई वर्षमा सिक्ने कुरा बराबरी हुँदो रहेछ।
सामान्यतया छ वर्षभन्दा कम उमेरमा स्कुल पठाए पनि सिक्ने क्षमता बढ्ने होइन। स्मरणको क्षमता थोरै हुने भएकाले बल गरेर पढाउँदैमा बालबालिकाले सिक्ने होइनन् भन्ने तथ्य प्रमाणित भएको छ।
आफ्नै छोराहरूको उदाहरणबाट पनि थाहा पाएँ, चार–पाँच वर्ष उमेरका बालबालिकालाई बल गरेर स्कुल पठाउनु र होमवर्क गराउनु अनावश्यक रहेछ। यसो गर्दा स्वाभाविक ढंगले सिक्ने अवसर गुम्ने रहेछ। यति सानो उमेरमा स्कुलको पढाइ र होमवर्कको दबाबले कतिपय बालबालिकामा पढाइप्रति वितृष्णा हुने मनोविज्ञान पनि विकास हुँदो रहेछ।
छोराछोरी पढाउने इच्छामा छ वर्ष उमेर नहुँदै किताब र कापी बोकाएर स्कुल पठाउनु ठीक होइन, गलत हो भन्ने कुरा नीतिनिर्माता, अभिभावक र शिक्षकले थाहा पाउन जरूरी भएको छ। यसको अर्थ किन्डरगार्टेमा पनि पठाउनु नपर्ने भन्ने होइन। किन्डरगार्टेनमा खेलबाट सिक्ने भएकाले पढाइ, सिकाइ र होमवर्कको दबाब हुँदैन।
नेपालमा नाफामूलक निजी विद्यालय छन्। यस्ता विद्यालय तीन वर्षको उमेरदेखि बालबालिका भर्ना लिन्छन्। तिनै स्कुलले आमाबाबुमा छोराछोरी तीन वर्ष लागेपछि स्कुल पुर्याउनुपर्छ भन्ने मानसिकता विकास गरिदिएका छन्। स्कुलले होमवर्क दिएर पठाउँछ, आमाबाबु खुसी हुन्छन्।
यस्ता साना छोराछोरीलाई घरमा पढाइमा व्यस्त राख्न आमाबाबु नै धेरै होमवर्क दिन आग्रह गर्छन्। छोराछोरी जति बेला पनि लेखपढमै होऊन भन्ने चाहन्छन्। नेपाल सरकारले यस्तो प्रवृत्ति रोक्ने नियम बनाउनु र कडाइका साथ लागू गर्नु आवश्यक छ। यस्तै, छ वर्ष उमेर पूरा नभएकाको परीक्षा लिन पनि निषेध गर्नुपर्छ।
बालबालिकाको उमेर बढ्दै गएअनुसार होमवर्क पनि बढाउदै जान सकिन्छ। पढाइमा प्रेरित गर्न अभिभावकले ध्यान दिनु आवश्यक हुन्छ। होमवर्क गर्न प्रेरित गर्नुपर्छ। अतिरिक्त बोझ हुने गरी होमवर्क थोपर्नु हुँदैन। शिक्षकले होमवर्क गर्न प्ररित गर्नुपर्छ, मनमा चोट पर्ने गरी सजाय दिनु हुँदैन।
पढाइ र सिकाइका सन्दर्भमा शिक्षक र अभिभावक दुबै बालबालिकाका साथी बन्न सक्नुपर्छ। शिक्षक र अभिभावकको कडा शासनले बालबालिकाको पढाइमा नकारात्मक असर पर्छ। पढाइ होमवर्कको बोझमा होइन, परिणाममा हेर्ने प्रणाली बनाउन आवश्यक छ।
(जनस्वास्थ्यविज्ञ डा. दिपराज थापा खोब्दे युनिभर्सिटी, स्वीडेनका प्राध्यापक तथा अनुसन्धानकर्ता हुन्। उनी अनुसन्धान संस्था 'निरी नेपाल' मा पनि संलग्न छन्।)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)