सुटिङ पूर्वको लगभग सबै तयारी सकिएको थियो। यहाँ तयारी सकिनुको अर्थ काम सुरू हुनु थियो। अनि, काम सुरू हुनुको अर्थ थियो – धेरैसँग भेटिनु र छुटिनु।
यो भेट र विछोडको कथा काभ्रेको बेथानचोकबाट सुरू हुन्छ।
बेथानचोकको होटल जम्बलामा पुगेको रात हामीले अबेरसम्म फिल्म नांगो गाउँ' को कास्टिङबारे छलफल गर्यौं।
त्यहाँ मलाई होटल सञ्चालक भीम दाइले मैले खोजिरहेझैं कलाकार खोज्न निकै मद्दत गरिरहनु भएको थियो।
उहाँले मलाई केही फोटो र भिडिओहरू पनि देखाउनु भयो।
खोजेजस्तै मुहार भेटेको भान भयो जब भोलिपल्ट बिहानै भीम दाइले बोलाउनुभएको एक जना भाइ टुप्लुक्क देखापरे। म ती बाबुसँग कुरा गर्न खोज्दै थिएँ तर उनी तर्किए।
परैबाट केही फोटो र भिडिओ खिचेँ।
भीम दाइले उहाँहरूको मातृभाषामै उनलाई मनाउन प्रयास गर्नुभयो। तर ती बाबुले सहज मानेनन्। त्यसपछि मैले आँटै गरेर भनेँ 'अर्को विकल्प खोजौं दाइ?'
ठानेकी थिएँ (काठमाडौंमा आफूले पढाउने स्कुलबाट एक जना विद्यार्थीलाई कास्ट गर्छु' तर त्यतिबेला स्कुलमा परीक्षा चलिरहेकाले सोचेजस्तो गर्नु सम्भव भएन। गाउँमै खोज्नुपर्ने धेरै कलाकारमध्ये केही हामीलाई सुरूआती दिनकै छायांकनका लागि चाहिन्थ्यो। तीमध्ये अत्यावश्यक थिए कुन्साङ पात्र। चलचित्रमा उनी पासाङ (दयाहाङ राई) र नीमा (मिरुना मगर) का सन्तान थिए।
मैले ती बाबुलाई देखेको भोलिपल्ट बाँकी सुटिङ युनिट काभ्रे आउँदै थियो। मतलब मैले छिटोभन्दा छिटो चरित्र निर्वाह गर्न सक्ने कलाकार खोज्नु थियो।
त्यो हतारो बुझेका भीम दाइले मलाई शिशिर लामासँग भेटाउनु भयो। यो पटक ममात्र नभई निर्देशक दिपेन्द्र लामा, डिओपी आलोक शुक्ला, मुख्य सहायक निर्देशकले पनि शिशिरसँग कुरा गर्न खोज्नुभयो। उनले कुराकानी नकारेनन् तर जति प्रश्न सोधियो ती सबैको एकएक वाक्यमा उत्तर दिँदै गए।
निर्देशकले सायद उनमा सम्भावना देखे। मलाई जिम्मेवारी सुम्पिँदै भने, 'तिमी शिशिरसँग कुरा गर र कुन्साङको क्यारेक्टरको लागि हुन्छ कि हुँदैन हेर।' बाल मन न हो। शिशिरलाई नयाँ मान्छेसँग खुल्न समय लाग्यो सायद। त्यसैले थप समय बिताउने हेतुले मैले शिशिर उनकी फुपू (नाना) र मामालाई भेटेको ठाउँबाट होटल जम्बलातर्फ जान आग्रह गरेँ। हिँड्दाहिँड्दै शिशिर र मबीच केही संवाद भयो। बाटोमा शिशिरका साथी (सम्धी) भेटिए।
सम्धीसँग खेल्दै अघि बढ्दा परिस्थिति केही सहज बन्यो।
होटलको फराकिलो छतमा फराकिलो ठाउँ थियो। त्यहाँ केही समय सँगै बिताउँदा शिशिर अलि घुलमिल होलान् र म चरित्रको बारेमा कुरा गरौँला भन्ने सोचमा थिएँ तर छतमा त्यो माहोल नै भएन ।
उनकी नानाको अनुमति लिएर जम्बलाको चियाबारीमा रहेको कटेजमा लिएर गएँ। कुरा गर्न थालेँ। अब भने शिशिर मसँग कुरा गर्न सजिलो मानिरहेका थिए। शिशिरको मनपर्ने खाना, खेल, स्कुलको साथी, बुबाआमाको बारेमा आवश्यक जानकारी लिएँ। उनले पनि बीच्चबीच्चमा मलाई प्रश्न सोधिरहेका थिए।
चलचित्रको दोस्रो दृश्यमा पासाङ पात्र नुहाइरहेका हुन्छन्।
नीमा जगबाट पानी खन्याइदिइरहेकी हुन्छिन्। आँगनमा खेलिरहेका कुन्साङको फुटबल उछिट्टिएर जगमा लाग्छ। जग भुइँमा खस्छ। त्यही दृश्यबारे शिशिरलाई सुनाएँ र एक पटक अभ्यास गर्न आग्रह गरेँ। उसलाई सहज बनाइदिन मैले नै आमा र बुवाको संवाद बोलेँ। उनी कुन्साङ बने।
रिहर्सल रेकर्ड गर्न मैले आफ्नो मोबाइल टेबलमा राखेकी थिएँ। जिज्ञासु स्वभावका शिशिरले आँखा तरेजसरी सोधिहाले, 'टिकटकमा हाल्ने हो?'
मैले भनेँ, 'यो भिडिओ म कहीँ कतै राख्दिनँ। डाइरेक्टर सरलाई देखाउनलाई हो। तपाईँले हुन्छ नभनेसम्म म तपाईँको फोटो, भिडिओ कतै पनि राख्दिनँ। हुन्छ?'
'ल हुन्छ।' उनले ममाथि विश्वास गरे।
अन्तत: कुन्साङको चरित्रमा उनी छानिए।
शिशिरले उक्त भूमिका निर्वाह गर्न सक्छन् भन्नेमा म ढुक्क थिएँ। तर उनलाई अझै सहज बनाउनु मेरो जिम्मेवारी थियो। त्यसका लागि मैले यसअघि धादिङ गएर ‘सनई’ फिल्मका लागि त्यहाँकै नानीहरूसँग काम गर्दाको अनुभव र स्कुलमा आफू पफर्मिङ आर्ट टिचर भएर काम गर्दाको अनुभवले निकै मद्दत पुर्यायो।
शिशिरलाई मैले कुन्साङ भनेर पुकार्दा सुरूसुरूमा उनी सोध्थे 'मलाई किन कुन्साङ भनेको?'
मैले 'किन' को जवाफ दिएँ र उनले बुझिहाले।
छायांकन सुरू भइसकेको थियो। कुन्साङ पात्र भएको दृश्य खिच्ने दिन हामी सबेरै छायाङ्कन स्थलमा पुग्यौँ।
मैले शिशिरलाई मेकअप गर्नको लागि लिएर गएँ। उनी हरेक गतिविधि र माहोललाई उत्सुकतापूर्वक हेरिरहेका थिए।
मेकअपपछि पोसाक फेराउनलाई म हतारिँदै थिएँ। उनले सहज महसुस गरेनन् क्यारे। नानालाई बोलाइदिन आग्रह गरे। उनी आइन् र लुगा फेराइदिइन्। छायांकन अघि अनुहारमा हातले कन्याउँदै 'केके लाउनुपरेको हौ!' भनेको दृश्य म आज पनि दुरूस्तै सम्झन्छु। त्यतिबेला उनले मलाई आँखा तरेका थिए।
त्यो दिनको काम सहजै सकियो।
शिशिरको दृश्य नखिच्ने दिन पनि म उनी र उनको नानालाई छायांकन स्थलमा बोलाउँथेँ। उनीहरू आउँथे। सुटिङ युनिटको सबैको प्रियः थिए उनी। कहिले फूल त कहिले मिठाइ ल्याइदिन्थे मलाई। छायांकन सकिएपछि बेलुका उनको मामाघरसम्म पुर्याउन पनि जान्थेँ। भोलिपल्ट भेट्ने वाचासहित छुटिन्थेँ।
एकदिन मैले उनीसँग आग्रह गरेँ, 'मलाई तामाङ भाषा सिकाउनू न आले (भाइ)' उनले निकै लजाउँदै भनेका थिए 'मलाई आउँदैन।'
अर्को दिन उनले 'नाना, चुरीहाऊ' भने अनि भित्र लुके। मलाई रमाइलो लाग्यो। सुटिङमा जत्ति नै तनाव भए पनि शिशिरलाई देखेपछि म सबै तनाव बिर्सिन्थेँ।
दुई तीन वटा त्यस्ता दृश्य थिए जहाँ कुन्साङ निदाइरहेको बेला पासाङ र नीमाबीच कुराकानी हुन्थ्यो। सुरूमा शिशिर पासाङ (दयाहाङ राई) सँग सुत्न नै मानेनन्। उनकी नाना र मैले निकै फकायौँ। उनलाई डर रहेछ आफू निदाएपछि हामीले छोडेर जान्छौँ भन्ने।
एक पटक उनले मुखै फोरेर भने, 'म सुतेपछि तपाईंहरू मलाई छोडेर जानुहुन्छ।'
हामीले उनलाई विश्वस्त तुल्यायौं।
उनी तयार भएपछि दृश्य खिचेर सकियो। रातको करिब ११ बजेको थियो। उनी तन्द्रामा थिए। त्यसैले बोकेरै गाडीसम्म पुर्यायौं। उनी र नानालाई छोड्न म पनि गएँ। तर, घर अगाडि पुगेपछि पो उनले 'म निदाएकै थिइनँ' भनेर जिल्लाउँदै बिदा मागे।
विविध कारणले नांगो गाउँ दुइटा चरणमा खिच्नुपर्ने अवस्था आयो। शिशिर र म छुट्टियौं।
दोस्रो सेड्युलको अन्तिम चरणमा कुन्साङका दुइटा दृश्य बाँकी थिए। उक्त सेड्युल बनाइरहँदा अचानक मन खिन्न भयो। भोलिपल्ट कुन्साङको सिन सकिँदै छ भन्ने सोचेरै नरमाइलो लागिरहेको थियो।
भोलिपल्ट उनी आए। नचाहेरै म उनलाई हेरिरहेकी थिए। उनलाई अस्वाभाविक लागे छ कि क्या हो, सोधिहाले, 'के भयो? किन हेरेको त्यसरी?'
मैले आफ्नो आँसु लुकाउन आँखा अन्तै मोडेँ। उसलाई थाहा थिएन आज उसको सुटिङ सकिँदै छ भन्ने। त्यसदिन ऊ देखिने सिनहरू सकिए पछाडि कलाकारहरूले उनीसँग फोटो खिचाए। शिशिरसँग बिताउन पाउने कुनै पनि पल म छुटाउन चाहन्नथेँ। तर छुटिनु त छँदै थियो।
हामी छायांकनको अर्को लोकेसनमा गयौँ। नाना र शिशिर पनि घरतिर लागे।
पोस्ट प्रोडक्सन र अन्य केही प्रक्रियापछि नांगो गाउँको प्रिमियर शो हुने भयो। मैले यो खबर नानासम्म पुर्याएँ।
शो हुने दिन नाना र कुन्साङ चाँडै हलमा पुगिसकेछन्। त्यहाँ छिर्दा मेरो नाम उद्घोष भयो। अगाडि गएँ, टनाटन भरिएको दर्शकदीर्घामा म शिशिरलाई खोजिरहेकी थिएँ। उद्घोषकले उनको नाम लिएसँगै सबैभन्दा माथिको सिटबाट उनी खुत्रुक खुत्रुक खुत्रुक गर्दै मैतर्फ आइरहेका थिए।
म उनलाई लिन केही अघि बढेँ। हात दिएँ, डोहोर्याउँदै लिएर अगाडि आएँ। फिल्ममा उनको बुबाआमाको चरित्र निभाउने दयाहाङ राई र मिरुना मगर नजिक लगिदिएँ।
औपचारिक कार्यक्रम सकिएलगत्तै शिशिर आफ्नै ठाउँमा गएर बसे। फिल्म सुरू भयो। खचाखच हलमा ठाउँ नअटेपछि पत्रकारलगायत अन्य साथीहरूसँग म पनि अर्को हलतिर लागेँ। फिल्म सकिएपछि पनि म शिशिरलाई खोजिरहेकी थिएँ। तर उनी त निस्किसकेका रहेछन्।
(लेखक नांगो गाउँको सहायक निर्देशक हुन्।)