‘पापी मनले के सोच्यो के सोच्यो
माया लाउने कान्छीलाई भेटियो
फूल मायामा नभुल।।।’
गायककार प्रविण गुरूङले संकलन गरेर गाएको गीतको अंश हो यो।
हिजोआज टिकटकमा धेरै तन्नेरीहरूको रोजाइमा परेको गीतमध्ये यो पनि एक हो। के सोचेर मन पापी भयो र कान्छीसँगको भेटमा के भयो भनेर सोध्नलाई अहिले प्रविन गुरूङ हामीसँग छैनन्। त्यसो त नेपाली लोकभाकाका धेरै गीतहरूमा पापी मन जोडिएका तुक्कामा अरू पनि गीत सुन्न पाइन्छ।
मन र मस्तिष्कले के केसम्म सोच्छ भन्ने कुरा अभिव्यक्त गरेर साध्य पनि छैन। त्यसैले माया गर्नेहरूलाई शुभकामना दिनुपर्दा सोचेको पूरा होस् भन्दा पनि सोचाइ राम्रो होस् र सोचेको असल काम पूरा होस् भनेर दिनुपर्ने रहेछ।
गीतमा मात्रै हो कि हाम्रो व्यवहारिक भोगाइमा पनि कहिलेकाहीँ मन पापी हुन्छ वा मनले नसोच्ने कुरा पनि सोचिदिन्छ भन्ने उत्सुकता हुन्छ। यसलाई पन्चानब्बे वर्षीय वरिष्ठ पत्रकार भैरव रिसालले व्यक्त गरेको जीवन अनुभव झनै कौतुहलता अलिक साम्य पारिदिन्छ।
उनले एक टेलिभिजन अन्तर्वार्तामा जीवनका अनुभवहरू बताउने क्रममा भनेका छन् दिमाग त फटाहा हुँदो रहेछ। यौनको चाहना चाहिँ कति वर्षसम्म हुनेरहेछ भनेर पत्रकारले सोधेका प्रश्नमा उनी भन्छन्, ‘चाहना त जहिले पनि हुँदोरहेछ तर इन्द्रियले नै काम गर्दैन। मेरो चाहिँ इन्द्रियले नब्बे वर्षसम्म अलिअलि काम गर्यो। पचासी वर्षदेखि शिथिल हुँदैआयो। नब्बे वर्षसम्म अलिअलि काम गर्थ्यो, अहिले त्यस्तो छैन। तर मस्तिष्कले चाहिँ अहिले पनि काम गर्छ। के के सोच्छ सोच्छ। यो मस्तिष्क त फटाहा हुँदोरहेछ।’
आफ्नो जीवन भोगाइबारे धेरैले खुलेर बताउन चाहँदैनन् तर उनले बताएको प्रष्ट विचारले मान्छेको दिमागले सोच्ने र मनमा कुरा खेल्ने प्रसंगलाई उजागर गरिदिएको छ।
यो अनुभवको पाठबाट विभिन्न दृष्टिकोणले समाजको गतिलाई बुझ्न सकिन्छ। सोचाइ र भोगाइका अनुभव आआफ्नै होलान् तर पापी मन भनौं या फटाहाा दिमागले सोचेका र पापी मनमा खेलेका कुरामा विवेक पुर्याउन नसक्दा परिणाम के हुन्छ वा यसको सन्तुलन किन आवश्यक छ बुझ्न जरूरी रहेछ।
एउटा प्रसंगबाट यसको चर्चा सुरू गरौं।
केही दिन पहिले एउटा कारागारको निरीक्षण गर्ने मौका मिल्यो। कारागारभित्रको समाज, संस्कार र मनोविज्ञान बाहिरभन्दा निकै फरक छ। कैदीबन्दीहरूको दैनिक जीवनशैली एउटै भएता पनि उनीहरूका फरक फरक अपराध घटनाहरूले कारागारमा पनि समाजको चरित्रको एउटा हिस्सा प्रतिबिम्बित हुनेगर्छ। उक्त कारागारमा भएका पुरूष बन्दीहरूमध्ये अधिकांश बन्दीहरू जबर्जस्ती करणी र बलात्कार कसूरका रहेछन्। यस प्रकारका अपराधमा संलग्न भएकाहरूमा अठार/उन्नाइस वर्षका युवादेखि असी वर्षसम्मका वृद्ध छन्। त्यसमा पनि केही बयोवृद्ध पुरूषहरू नाबालिका बलात्कारको मुद्दामा कैद भुक्तान गरिरहेका रहेछन्। एक जना सरकारी सेवाबाट अवकाश भएका छयत्तर वर्षीय वृद्ध चौध वर्षीय बालिका बलात्कारको कसूरमा बन्दी बनेका रहेछन्।
ती व्यक्तिसँग केही कुरा गर्ने मौका मिल्यो।
उनले भने, ‘त्यो केटीको उमेर त सत्र अठार होला तर जन्मदर्ता चाहिँ चौध वर्षको रहेछ। घर नजिकै थियो, ऊ म सँग सधैं जिस्किरहन्थी एकदिन दशा लागेर त्यस्तै नराम्रो काम भयो।’ अनि भेट्न कोको आउँछन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरा त चार भाइ छोरा र तीन बहिनी छोरी छन्। नातिको विवाह भइसकेर पनाती पनातिना पनि भएका छन्। पहिले त छोरा बुहारी पनि कहिलेकाहीँ भेट्न आउथे, अहिले त भ्याउँदैनन् कि क्या हो त्यति आउँदैनन्। नातिहरू आउँछन् भेट्न।’
त्यस्तै, अर्का एक जना वृद्ध कुनामा झोक्राएर बसेका थिए। उमेरले निकै पाको र थकित देखिने ती वृद्धलाई तपाईं चाहिँ कति वर्ष पुग्नुभयो, के अपराधमा यहाँ आउनुभएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘म एक सालको हुँ असी पुगें म पनि बलात्कार मुद्दामा परेको हुँ।’
उनी पनि पन्ध्र वर्षीय बालिका बलात्कारको अपराध कसूरमा बन्दी बनेका रहेछन्। बलात्कार अपराधका मात्र हैनन् अन्य अपराधका बन्दीहरूले पनि रिस, आवेग, उत्तेजना, लोभजस्ता गलत सोचाइलाई नियन्त्रण गर्न नसक्दा कसैलाई बर्बाद पारेर उनीहरू पनि बर्बादीपूर्ण जीवन भोग्दैछन्।
त्यस्तै, एक जना सरकारी कर्मचारीले सरकारी निवासमा नै महिलासँग मदिरा सेवन गरेर यौनजन्य क्रियाकलाप गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निकै चर्चा भएको थियो। निकै प्रतिष्ठित कलाकार र खेलाडीहरू पनि पापी मनले सोचेको र फटाहाा मस्तिष्कमा आएको कुरालाई नियन्त्रणमा राख्न नसकेर अपराध कर्ममा संलग्न भएको कारण कानूनी सजायको भागीदार भएका उदाहरणहरू छन्।
मन र मस्तिष्कमा आउने अनेकन् सोचाइलाई समाज, परिवेश, कानुन, इज्जत, पद, प्रतिष्ठा, दयामाया आदिलाई ख्याल गरेर विवेक प्रयोग गर्न नसक्दा अपराधिक कर्ममा लागेर मान्छेको जीवन बर्बाद हुने गरेको छ।
अहिले केही उच्च पदस्थ व्यक्तिहरू पनि मानवीय विवेकको उचित प्रयोग नगर्दा भ्रष्टाचार र तस्करी गरेका कारण जेलमा छन्।
विलियम सेक्सपियरले भनेका छन्, ‘संसारमा असल र खराब भन्ने कुरा सोचाइले बनाउने हो। मन र मस्तिष्कमा आउने महासागररूपी सोचाइलाई असल कर्ममा लगाउनाले नै मान्छे जीवनको अन्तिम क्षणसम्म प्रतिष्ठित भएर जिउन सक्छ। ग्रीस दार्शनिक मर्कस औरेलियसले भने जस्तै जीवनको खुसी नै हाम्रो सोचाइको स्तरमा भरपर्ने भएकोले सोच गुणस्तरीय बनाउनुमा नै जीवनको मूल्य रहनेछ।