यसो काम भ्याएर ओछ्यानमा पल्टेर मोबाइल अनलक मात्र के गरेकी थिएँ मेसेन्जरको घन्टी लगा लागि छ, सात पटक जति बज्यो।
आफ्नो अन्तर्मुखी स्वभावका कारण एकदमै सीमित साथीभाइ हुनाले होला प्राय:जसो मोबाइल मेरो शान्त नै बस्थ्यो।
होइन कतै अनिष्ट नै पो भएन आज भनि हतारिएर हेरेको त आफूलाई ६/७ वटा जति मेसेन्जरको समूहमा गाँसिएको पो पाएँ!
बिना मेरो सहमति तथा अनुमति महिला समूहदेखि टोल, बुहारी, श्रीमती, स्कुल, कलेज, सहकारी सम्मका समूहमा गासिन पुगेकी रहेछु उता म फेरि! कारण पत्ता लगाउन सबै समूह एकपछि अर्को गरी क्रमश: भ्रमण गर्न थालें।
सबै समूहका साथीहरूका लिस्ट सरसर्ती हेरें। जमानामा पनि कहिल्यै काम नलागेका नबोलेका साथीभाइहरूसँग पनि निकै वर्षपछिको अन्तरालमा एकाएक गरी गाँसिन पाउँदा अर्कै किसिमको खुसी छाएको थियो मेरो मनमा भने फेरि।
तर आश्चर्य त म त्यति बेला भए जब मैले समूह गठनको कारण पत्ता लगाएँ। किनकि एकाएक च्याउसरी उम्रिएका समूहहरूको उद्देश्य भने अन्तत: एउटै थिए।
प्रत्येक समूह तीज दरका लागि गठन भएका थिए। मौसमे तरकारीझैं तीजताका गठन अनि सकिएलगत्तै विगठनका विशेषता बोकेका यस्ता एक दुई वटाजस्ता समूहहरूमा अघिल्लो वर्ष पनि म नजुटेकी कहाँ हो र!
समूहमा तीज दरका लागि उपस्थित हुनुपर्ने समय, ठेगाना, शुल्क, खाना लगायत सफ्ट ड्रिंस, हार्ड ड्रिंसका लामा लामा मेन्यूका सूचीहरू उल्लेखित थिए।
यी सब कुराहरू त जायज नै थिए जानकारीका लागि तर दुई, तीन वटा समूहका समान पहिरन र समान श्रृंगारसम्बन्धी मापदण्डले पो मलाई त्रसित तुल्याएको थियो। तीमाथि कसै कसैका भेन्यु तारे होटल सम्मको देख्दा आधाउधि हंसले ठाउँ छोडिसकेको थियो मेरो।
उपस्थितिका लागि मलाई समूहका सबै साथीहरूबाट एकदमै दबाब आउन थाल्यो। म भने दोधारमा थिएँ।
निर्णय तु दिने मेरो अवस्था थिएन। रातो पिरो भएर मलाई साथीहरूसँग नाच्ने रहर पनि नभाको होइन तर कुरो एउटा समूहको मात्र थिएन। सबैमा उपस्थित हुने फेरि मेरो सामर्थ्य पनि त थिएन। सबै कुरा पैसामा नै अल्झिएको थियो मेरो।
मैले तुरून्तै क्यालकुलेटर दाबेर प्रत्येक समूहका होल खर्च निकाल्न थाल्दाथाल्दै मेरो बजेटमा भने भुइँचालो आइसकेको थियो।
उता बुढोको आउनै बाँकी दसैं पेस्की अघि लुछाचुडी गरी दसैंतिहारका लागि खर्च बाँडफाँट गरिसकेका थियौं भने अर्कापट्टि आफूले टार्नु पर्ने चेलीबेटीका तीजका व्यवहारहरू जिउँदै थिए फेरि।
मोटा मोटी खर्च मात्र हामीले बजेटमा उल्लेख गरेका थियौं। अरू सानातिना यावत खर्चहरूले भने मुख बाई नै रहेका थिए|
यस्तो अवस्थाका कारण मन धेरै विचलित थियो मेरो। बहाना के बनाइ टारूँ! खोज्न थालें बहाना। हुन त म ढाँट्न पटक्कै नजान्ने मान्छे हो तर पनि मेरो अवस्थाले मलाई सिकाइ छाड्यो|
२,३ वटा समूहलाई छल्न त हाल फैलिएको ‘आइ फ्लु’ को बहाना काइदा सावित भयो मेरा लागि। अर्का १, २ वटा समूहलाई आफू भ्याल्ली बाहिर जानु पर्ने बाध्यताले पन्छ्याइदिएँ।
एक, दुई वटा समूहमा मन खाने साथीहरू जोडिएकाले गर्दा होला जाने जोडतोडको इच्छा नपलाको पनि होइन मेरो तर तारे होटलमा दर खाने हैसियत थिएन।पठाओको सट्टा टेम्पो अवश्य प्रयोग गर्न सक्थें तर मेरो शुल्क अलि कटौती गर्देओ है मैले पिउने गरेकी छैन भन्न कहाँ सक्थें र!
आफूखुसी पहिरन लगाई जान मिल्ने भए अर्का एक दुई समूहमा उपस्थिति जनाउने पनि थिएँ होला तर त्यहाँ त कुनैका राता, कुनैका हरिया र पहेंला पहिरनका थिमले पो पार्नुसम्म पीर पारेको थियो त मलाई।
रहर नलाग्ने होइन नि मलाई पनि। पोहोर साल दुरूस्तै सारी सबै सदस्यहरूले लगाऊँ न त भनेर दुई हजार पच्चीस सयसम्मको नकिनेकी पनि होइन मैले।
हाल भने सोही सारीले दराज खोलेपिच्छे गिज्याउन छाडेको छैन मलाई। नगिज्याओस् पनि कसरी उक्त बेलादेखि त्यो सारी एक पटक पनि आफ्नो आङमा हालेको भा पो त नि!
एकपटक भने आँट कसी यसो गाउँघरको ब्रतबन्धको निम्तो टारूँ न त भनि लगाकी मात्र के थिए सबैका खिसीट्युरीको सिकार हुनु परेको त्यो दिनको कुरो काँ बिर्सिएकी थिएँ र मैले। आफू त एउटा लुगा कम्तीमा पनि पुरानो हुन्जेल लगाउनु पर्छ भन्ने मानसिकता बोकेको मान्छे परे त्यस्ता थिम अनुसारका सारी किनी न थुपर्ने हैसियत मेरो न त नयाँमा नै फाल्ने आँट!
हुने खानेले रमाउने, हुँदा खानेले टुलुटुलु हेर्ने पो र छ त आजकालको चाडवाड पनि।
अझ हामीजस्ता मध्यम वर्गीयहरूका लागि त झन् पो गाह्रो र छ त।
जान खोज्दा बजेट फेल हुने, नखोज्दा विभिन्न खाले भनाइ खानु पर्ने। परिवारमा माइलो हुनु र हैसियतमा मध्यम हुनु निकै नै गाह्रो चिज र छ क्यार!
ल है साथीहरू आफू त यावत समस्याहरूबाट जुध्दै यसपालि आफ्नै टोलको महिला समूहमा मात्र उपस्थित हुने निष्कर्ष निकालेकी छु।
आशा छ मैले गरेका बहानाहरूलाई भगवानले माफ गरिदिनुहुनेछ। ती बहानाहरूमध्ये आँखा पाक्ने बहाना चाहिँ कदापि भगवानले पूरा नगरून् भन्ने मेरो कामना पनि छ।
देखासिकी बन्द गरौं। बढ्दो विकृतिलाई बेलैमा मुन्टो निमोठौं र झ्यांगिन नदिऔं।
आफ्नो हैसियत अनुसारको चाडवाड मनाऔं भन्दै आउँदै गरेको नारीहरूको महान चाड हरितालिका तीजमा सम्पूर्ण दिदी बहिनीहरूमा मेरो हार्दिक मंगलमय शुभकामना!