हरितालिका तीज नजिक आउँदै गर्दा मन सधैं फुरूङ्ग हुन्थ्यो। मलाई अझै पनि बालापनको तीज सम्झँदा रमाइलो लाग्छ। बुवा कुशेऔंसीको अघिल्लो दिन नै तीजलाई निम्तो दिन फुपूको घर जानुहुन्थ्यो। फुपूहरू पनि आफ्नो घरको काम मिलाएर बेलैमा माइत आउनुहुन्थ्यो। हजुरआमा अलि रोगी हुनाले आमा र काकी भने वर्षैंपिच्छे पालो गरेर मामाघर जानुहुन्थ्यो अनि जानुअगाडि २-४ भारी घास थुपारेर जानुहुन्थ्यो। सधैं आमासँग मामाघर जान हतारिने म, तीजमा भने घरमै बस्न रमाउँथें।
दर खाने दिन मलाई खुब रमाइलो लाग्थ्यो। साँझ झमक्क पर्दा सबैले खान खान्थ्यौं अनि फुपू र हजुरआमा मिलेर दर पकाउने जमर्को गर्नुहुन्थ्यो। फुपूहरू गीतको भाका निकाल्दै खीर, चनाको तरकारी, आलु काक्रोको अचार पकाउनु हुन्थ्यो। बुवाले बजारबाट फलफूल र मिठाइ लेराइदिनुहुन्थ्यो। म बेलैमा सुतेको जस्तो नाटक गर्थें अनि आमा र फुपूहरूको घर परिवारको गुनासो सुनिरहन्थें। आधा रात भएपछि ब्रत नबस्ने भए पनि म पनि सँगै दर खान्थें।
फुपूहरू बिहानै उठेर नुहाएर चिटिक्कै पर्नुहुन्थो। कालो सलक्क परेको कपालमा रातो फर्के धागो, सिउँदो भरी रातै सिन्दुर, चौबन्दी चोलो, पटुकी अनि फरिया, हात भारी चुरा, टीका अनि गलामा झपक्क पोते। इन्द्रका अप्सराभन्दा कम देखिँदैन थिए मेरा फुपू।
पल्लो घरको फुपूहरू पनि जम्मा भएर सबै नजिकैको शिव मन्दिर जान्थ्यौं। मन्दिरमा जताततै रातै पोसाकमा चेलीबेटी देख्न पाइन्थ्यो। कोही पूजा गर्दै हुन्थे, कोही भजन गाउँदै, कोही भलाकुसारी गर्दै त कोही छमछमी नाच्दै। त्यस्तो घाममा पनि पानीको थोपा पनि नखाई निर्जल ब्रतमा मजाले नाच्थें नारीहरू। अझ जति घुम्यो त्यति पतिको आयू बढ्छ भनेर फुपू मज्जाले नाच्नु हुन्थ्यो।
मलाई पनि तीजमा ब्रत बस्न सारै रहर लाग्थ्यो तर आमाले अहिले तिम्रो बेला भएको छैन भन्नुहुन्थ्यो।
विवाहित महिलाले आफ्नो पतिको दीर्घायू र सुस्वास्थ्यको कामना गरेर शिवको ब्रत बस्ने हो अनि महिनावारी भइसकेका नारीले राम्रो श्रीमान परोस् भनेर बस्ने हो भन्नुहुन्थ्यो- 'तिम्रो समय आएसी तिमी पनि बस्नू।'
ब्रत बस्न नपर्ने तर मजाले दर खान पाइने, अझ भोलिपल्ट पनि बाँचेको खिर र मिठाइ खान पाउँदा म उसै खुसी।
मध्याह्नतिर गाउँभरिका दिदीबहिनी मिलेर मादल बजाएर गीत गाउँदै मनको बह पोख्थे। सासूआमाले दिएको पीडा, नन्द आमाजुको दिएको दुःख, देउरानी जेठानीको झगडा, बुढाले लुकी लुकी गरेको माया गीतमा ढाल्दै छमछम नाच्नुहुन्थ्यो।
आफूलाई त घरिघरि खानुपर्ने पानी पनसि नखाई त्यत्रो घाममा नाच्ने तागत कहाँबाट आउँछ भनेर सोध्दा फुपूले भन्नुभो, 'भगवान भोले बाबाप्रति श्रद्धा र विश्वास भएपछि अनि आफ्नो बुढाको प्रगाढ माया भएसी जाँगर त आफैं आउँछ। तेरो भिनाजुको लागि धेरै दिन भोक प्यास बिर्सेर ब्रत बस्न सक्छु म। तैंले पनि सक्छस् बिहे भएपछि चिन्तै नमान।'
यो पल सब नारी मनैबाट खुसी भएको देख्दा मलाई पनि कताकता चाँडै ठूली भएर ब्रत बस्न मन लाग्थ्यो।
साँझ परेपछि फुपूहरू पूजा सकेर तुलसीको पानी खानुहुन्थ्यो अनि आमा चाहिँ बुवालाई खुट्टा ढोगेर बुवाको खुट्टाको पानी खानुहुन्थ्यो।
आमा हजुरलाई खुट्टाको पानी खान घिन लाग्दैन भन्दा आमा हाँस्दै भन्नुहुन्थ्यो, 'आजको दिन पति परमेश्वर, परमेश्वरको पाउको जल खाँदा अमृत खाएजस्तै हुन्छ, एकअर्काप्रति झन् माया प्रगाढ हुन्छ, आफ्नो बुढा भएसी तैंले पनि खानुपर्छ।'
ब्रत त बस्छु तर म त अर्काको खुट्टाको पानी चाहिँ खादिनँ पक्का हो। मलाई त घिन लाग्छ।
राति आमा, फुपू, फलफूल र दूध खाएर ढिला सुत्नु हुन्थ्यो। म भने बुवासँग भात पनि खान्थें अनि फलफूल र मिठाइ पनि। फुपूहरू एक आपसमा घरमा भएका दुःख सुखका कुरा गरेर बस्नुहुन्थ्यो अनि म सुतेजस्तो गरी सबै कुरा सुनिरहन्थेँ।
यो तीज भनेको वर्षभरि मनमा गुम्सिएका पीडा आफ्नो माइती आएर पोख्ने ठाउँ रहेछ।
केही दिन आराम गरी मिठो खाएर आफ्नासँग रमाइलो गर्ने रहेछ। पतिको दीर्घायूको कामना गर्दै निराहार ब्रत बसेर भगवानप्रतिको विश्वास, सुखद दाम्पत्य जीवन प्रार्थना गर्ने रहेछ। यो सब देख्दा मलाई तीज वर्षमा दुईपटक आएनी हुन्थ्यो जस्तो लाग्थ्यो।
समय बित्दै गयो। तीज त्यसैगरी हरेक वर्ष आउना थाल्यो। समयसँगै तीजको महत्व र चालचलन बदलिँदै गयो। महिनावारी भएपछि म पनि ब्रत बस्न थालेँ। कसको लागि ब्रत बसेको भनेर कसैले सोध्दा मुखै रातो हुन्थ्यो अनि भन्थे, 'भगवानले राम्रो गरून् भनेर हो।'
'राम्रो केटा पाउन होला' भनेर फुपूले जिस्काउँदा लजाएर 'हैन, म सक्षम भए राम्रो केटा यसै पाइहालिन्छ' भन्थें।
तर मनको कुनै न कुनै कुनामा सधैं राम्रो, आफूलाई धेरै माया गर्ने, आफ्नो भावनाको कदर गर्ने, श्रीमतीका लागि अर्धाङ्गिनी मान्ने सक्षम केटा परोस् भनेर प्रार्थना गरेको हुन्थें।
उमेर भयो, विवाह पनि भयो। भगवान शिवको कृपाले आफूले मागें जस्तै असल जीवनसाथी पनि पाएँ। तर पहिलेको जस्तो तीज रमाइलो लाग्दैन अचेल।
सानोमा मेरो कहिले विवाह होला अनि म पनि मेरो बुढाको लामो आयूको प्रार्थना गर्दै आमा र फुपूजस्तै ब्रत बसौंला लाग्थ्यो तर आज माया गर्ने बुढा छन्, तीज छ तर मन त्यति खुसी नै छैन। त्यो बालापनको उत्साह कता हरायो थाहा भएन।
तीजको रमाइलो पहिलेको जस्तो कहाँ छ र? आजभोलि त एक दिन ब्रत बस्नलाई महिनौंदेखि दर खाने कार्यक्रम बन्छन्। दरको अर्को नाम खिर भन्ने बुझेको थिएँ तर, दरको नाममा, पार्टी प्यालेसमा गएर पेटभरि मासु, रक्सी खाएर डिस्को नाच्ने चलन हाबी भएको छ।
हरेक हप्ता छुट्टी हुन नपाई आइमाइको रातो पोसाकमा कहिले साथी, कहिले इष्टमित्रको घरमा दौडिने अनि दिनैपिच्छे नयाँ नयाँ सारी, गहना फेरेर कोभन्दा को धनी भन्ने होडबाजी चल्छ।
सामाजिक सञ्जालमा टन्नै फोटोहरू आउँछन्। आज लगाएको लुगा भोलि नहुने, चरी जेलैमा भन्दै बुढाको पैसामा चुरोट र रक्सी खाएको फोटो हाल्छन्। धनी, हुनेखानेले त पैसाको धाक देखाउलान् तर त्यही समाजमा मध्यम र निम्न वर्गका नारी पनि हुन्छन्। यो होडबाजीको आर्थिक भार थाम्न नसकेर मनमा रहर हुँदाहुँदै पनि कुनै बहाना गरेर मिलेन भनेर जमघटमा आउँदैनन्।
कत्तिको घरमा त बुढाबुढीको झगडा पर्छ। मेरो लामो आयूको कामना गर्न बस्ने ब्रत हो कि मेरो ढुकुटी रित्याउने भनेर। त्योभन्दा त ब्रत नै नबस्नु। केही वर्ष पहिले पुरूषले व्यंग्य गर्थे परिवर्तित तीजको बारेमा। अब त म आफैं निरास भएको छु। हाम्रो संस्कृतिलाई कसरी जोगाउने? कहिले तीज आउला भनेर पर्खिने म, आज फेरि तीजको महिना आयो भने झर्को लाग्छ।
समयसँग चल्नै पर्ने रहेछ। म पनि कार्यालयमा मनाइने तीजको दिन आफूसँग भएको रातो पोसाकमा जान्छु, नाचगानमा भाग लिन्छु। टारेर मिल्ने ठाउँमा केही बहाना गरेर उम्किन्छु। सधैं तीजको अघिल्लो दिन माइत जान्छु, फुपूहरू नी बुढी हुनुभयो अब आउन छोड्नु भयो।
आमा, म, काकी, बहिनी तीजको अघिल्लो दिन सँगै दर खान्छौं। ब्रतको दिन सँगै हुर्केका साथीसँग गफगाफ गर्छौं, माहोल मिले नाचगान पनि गर्छौं, एकछिन मन्दिर पनि जान्छौं। बेलुका बुढालाई भिडिओमा हेरेर पूजा गरेर फलफूल खान्छु।
म एकलकाँटे बनेको छु। तीजको नाममा भएको विकृति मलाई मन पर्दैन। म महिनौं अघिदेखि भोज गर्दै हिँड्दिनँ। समूहको नाममा वर्षौंपिच्छे नयाँ सारी लगाएर साथ दिन्नँ। बुढाले दुःख गरेर कमाएको पैसा लुगा र गहनामा फाल्दिनँ। आफूसँग भएको लुगा र गहनामा आफ्नो पतिको दीर्घायू, सुस्वास्थ्य, र सधैंको साथ, विश्वासको कामना गर्दै भगवानको प्रार्थना गर्छु।
आजको यो विकसित समाजका नारीहरूले मलाई स्वीकार्लान् त? मैले यसरी एक नारी भएर हाम्रो तीज जस्तो पवित्र पर्वलाई नराम्रो भन्दा मलाई पाप त नलाग्ला? गल्ती भनेको भए माफ पाऊँ है भोलेबाबा!