राजनीतिको बेरंगमा रङ्गिएका हामी जब हाम्रो दोषी चश्मा उतार्छौं। तबमात्र हामी जिन्दगीको असली रङ देख्छौं। हामीमध्ये कति आफैं चिचिला हुँदै बाउ बन्यौं भने कोही बुढेसकालमा हम्मेहम्मे गर्दै पिता बन्यौं।
मेरो अफिसमा एउटा पाकिस्तानी मूलको मित्र छ। मलाई जिस्काउँदै भन्थ्यो- हेर भाइ तँलाई बुढेसकालमा ‘न्यापी’ फेर्नु छैन भने बच्चो जन्माइहाल फेरि धेरै ढिला गरिस् भने लठ्ठी टेक्दै फेर्नुपर्ला।
म गलल हाँस्दै उसका कुरा म एक कानले सुन्थें, अर्को कानले उडाइदिन्थेँ।
आखिरमा त्यो भाग्यमानी दिन पनि आयो जब हामी दुई बुढाबुढीको संसारमा कलिला पाउहरूले आफ्ना पाइला टेके। आजभन्दा ३०-४० वर्षअघि हामीमध्ये नै कति घाँस काटेर फर्किंदा बाटामा जन्मियौं, कति स्वास्थ्य चौकी धाउँदाधाउँदै जन्मियौं। तर आजको समयमा विकसित देशको हस्पिटलमा वरिष्ठ विशेषज्ञ डाक्टरको साथ पाउँदा पनि जब नयाँ जीवनको आगमनको लागि प्रसव सुरू भयो, त्यतिखेर साक्षात् भगवानले मेरो हात समातेको भए पनि म छट्पटिन्थें होला।
‘प्रसव’ शब्दको गहिराइ मैले आफ्नै अर्धाङ्गिनी हस्पिटलको बेडमा हस्पिटलको बेडमा हस्पिटलको छाना उड्नेगरी प्रसवको पीडामा चिच्याउँदा बुझेँ। आजकल प्रसवको बेला ‘इपिड्युरल’ भन्ने ‘एनेस्थेसिया’ दिने गरिन्छ, जसले प्रसवको पीडा निकै नै कम हुने गर्छ। त्यतिखेर सोचेँ आजभन्दा आधा शताब्दी अघिका आमाहरूलाई कति कष्ट भएछ। निकै नै दुःख, सामाजिक बन्देज र विकटताका बाबजुद हाम्रा पुर्खाहरू जन्मेछन्। नेपालकै दूरदराज कुनाकाप्चामा पनि अमूल्य जीवन गर्भमा राखेर कति आमाहरू अझै पनि सन्तान जन्माउँछन्। विचरा आमा हुनुको यात्रा र प्रसवको वेदना केवल आमालाई नै थाहा हुन्छ।
भनिन्छ पिता आकाश र आमा धर्ती हुन्। तर वास्तवमा हामीले हाम्रा सन्तानलाई कति आकाश ढाक्ने छाना दियौं अनि कति गहिरो माया दियौं? बाल्यकालमा लाग्थ्यो बुवा भनेको अलि कडा स्वभावका, माया देखाउन नसक्ने, भयानक पात्र हुन जो झुक्किएर जाँचमा फस्ट भएपछि मात्र कन्जुस पाराले माया देखाउँछन्। आजकाल समयले कोल्टे फेरेको छ।
अब बाउहरूले पनि आमाझैं नि:शर्त माया देखाएनन् भने छोराछोरीसँग हामीसँग ठुस्कने छन्, बटारिने छन्। अहिले मेरा अष्ट्रेलियन मित्रहरूलाई हेर्छु, छोरालाई माया देखाउछन्, खेल्छन्, छोराछोरीको खेलकुदमा भाग लिन्छन् अनि राम्रो बाउ बन्न हरदम प्रयत्न गर्छन्। अझै हस्पिटलमा जन्मिनेबित्तिकै ‘बोन्डिङ’ होस् भनेर बाउ आमाको छातीमा नवजात शिशुलाई राखिदिने चलन चलेको पनि निकै नै भइसक्यो। बाउसँगको बन्धनको मूल्य त्यो वयस्कलाई सोध्नोस् जसले आफ्नो शैशवकालमा बाउको खप्की खाँदै गर्दा आमाको पछ्यौरी पछाडि लुकेकोबाहेक केही सम्झँदैन।
अभिभावकत्वको जिम्मेवारी न बाजा बजाएर आउँछ न सन्तान नै घोषणा गरेर आउँछन्। बाउ भएर आफ्नो सन्तानलाई समय दिने र कामबाट फर्किएर गलेका हातहरूले ती साना कलिला हातहरू सुम्सुमाउने अवसर सधैंभरि पक्कै आउँदैन। यदाकदा देखिन्छ बच्चाको जिम्मेवारी आमाको जस्तो मात्र गरिन्छ र प्राकृतिक रूपमा बाउलाई पोषणकर्ता र रक्षकको रूपमा मात्र चित्रित गरिन्छ। पहिला पहिलाका उखान पनि आमाको दूध चुसेर नपुगेर बाउको घुँडा चुस्ने भन्ने जस्ता हुने गर्थे।पिताको भूमिका र दायरा आम्दानीकर्तामा सीमित थियो। अहिले विकसित पश्चिमा देशमा बाउको भूमिका आधुनिक छ। बाउले पालनकर्ता त बन्नु नै छ तर परेको बेलामा आमाझैं ममतामयी र नरम बन्नुपर्ने आवश्यकता छ। ८-९ महिनाको दौरान एउटा तिलको दाना आकारबाट सुरू भएको जीवनलाई आफ्नो शरीरभित्र राखेर अनेकन पीडा खेप्दै जन्माउने महान् आमाको महिमा त अपरम्पार छ तर बाउले त्यो अंकुरको स्याहार सम्हारमा गर्ने योगदान पनि खेर भने पक्कै जाँदैन।
नौ महिना गर्भमा रहेको हाम्रो सानो अंश जब साक्षात रूपमा अढाइ किलोको पूर्ण शिशुको रूपमा नर्सले हामीलाई हातमा थमाइदिइन्। त्यतिखेरको डर, खुसी र मायाको सम्मिश्रण जीवनमा विरलै भोग्न पाइन्छ।
व्यावसायिक जीवनमा हामीमध्ये कोही इन्जिनियर, डाक्टर, वैज्ञानिक भए पनि बाउ बन्ने डिग्री पढ्न पाइँदैन तर कसरी असल बुवा बन्ने किताब भने अवश्य किन्न पाइन्छ।
शायद बाउ भएर सन्तानकी आमालाई एकछिन सास फेर्ने फुर्सद दियौं अनि हाम्रा सन्तानका कोमल साना हात थाम्दै बामे सर्न सिकायौं भने पनि आधा युद्ध जितिन्छ।
मैले नै पनि जीवनमा पहिलोपल्ट न्यापी चेन्ज गर्ने अनुभव गरेँ अनि बोटलबाट नवजातलाई दूध ख्वाउन सिकेँ। त्यसबखत महसुस भयो मैले आविष्कार नै नगरेको अभिभावकत्वको छुट्टै संसार पो रहेछ जहाँ मैले नजानेका सहर्ष कुराहरू लम्पसार परेर मलाई क्वारक्वारती हेरिरहेका रहेछन्।
सुन्दा उदेक लाग्छ तर विकसित देशमै पनि आफ्ना साना बच्चा र परिवारसँग बढी समय बिताउन नपाएको गुनासो गर्दै सांसदहरूले बिना हिच्किचाहट आफ्नो पद सजिलै त्यागेका उदाहरण कैयन् छन्। परिवार र बच्चाको महत्व शायद यसैबाट पनि झल्किन्छ। जीवनको चक्रमा घुम्दै गर्दा न त्यो बालकलाई फेरि बालक हुने अवसर आउँछ न हामीलाई राम्रो बाउ बन्ने अवसर फेरि-फेरि आउँछ।
आजभन्दा १३-१४ वर्षपछि जोवनले मातिएको छोराले मलाई बटारिँदै प्रश्न सोध्नेछ, ‘मैले किन सुन्नु तपाईंको कुरा? तपाईंले मलाई के नै गर्नुभयो र ड्याड’।
तब म छाती फुलाएर भन्नेछु, ‘प्रिय पुत्र, मैले कैयौं अनिँदो रात बिताउँदै तिमीलाई हात फतक्क गल्नेगरी बोकेँ, तिम्रा आची लागेका न्यापी हरदिन कैयन् पटक फेर्दै तिमीलाई सफा गरेँ, दूधका धारा हर घण्टा तिम्रा कण्ठमा उतारेँ अनि छाना बनेर तिमीलाई ढाकेँ।’
छोरो त्यो सुनेर शायद चुप लाग्नेछ र म भित्रको ममता देख्नेछ।
जीवनको अन्त्यमा मानिसले आफूसँग के विषयमा एकालाप गर्ला त? आफ्नो जीवनमा हासिल गरेका तक्मा र फुलीलाई सिरानी हालेर सुत्दैमा हामीलाई मीठो निद्रा लाग्ला त?
हामीले आर्जन गरेको त हाम्रो अभिभावको माया, इष्टमित्रको सद्भाव र आगामी सन्तति हुन्। बिना ‘रिटेक’ को यो जिन्दगी हामीले टिकटक र फेसबुकलाई एकैछिन पन्छाएर हाम्रा कलिला हातहरूलाई थाम्न सक्यौं भने पनि केही मानेमा सार्थक हुनेछ। शायद वर्षमा एकचोटि आउने बुवाको मुख हेर्ने दिनमा फेसबुकमा एउटा ट्यास्राक्क फोटो राखेर मात्र बाउ हुनुको कर्तव्य सकिँदैन; यो त जीवनभरिको बन्धन हो हरदिन निभाउनु छ। अन्त्यमा बिट मार्दै जाँदा नेपाली कुशे औंशीको दिन हाम्रा पिता पुर्खाहरूलाई नमन गर्दै हामी नव-बाउहरूलाई अझै उदाहरणीय पिता बन्ने उत्प्रेरणा मिलोस्, हाम्रो मायाले हाम्रा सन्तानका आकाश ढाकिऊन्; हामी सबैलाई यही शुभकामना।
यो लेख ती आकाश ढाक्ने विशाल हृदय भएका पिताहरूप्रति समर्पित छ।