मेरो सानो भाइले भन्थ्यो, 'तँलाई बुवा जहाँ जाँदा पनि सँगै लैजानुहुन्छ नि!'
हो म घरमा भएसम्म केटाकेटीसँगै लान मिल्ने ठाउँमा म बुवा सँगसँगै हुन्थेँ। मलाई रमाइलो लाग्थ्यो। मेरो बुवा अलि कडा स्वभावको भए पनि उहाँका हामी चार जना सन्तानमध्ये बुवासँग नडराउने मनै थिएँ।
दिदी र ठूलो भाइ उहाँसँग डराउँथे। सानो भाइ सानै थियो, म भने उहाँसँग खासै डराउँदिनथेँ। बुवासँग ‘लजिकल’ कुरा गर्न मलाई कुनै संकोच लाग्दैनथ्यो। छोरा र छोरीमा भेदभाव नगर्ने, बरू भाइहरूलाई स्कुल कलेजको भ्रमणमा रोक्ने बुवाबाट मैले सहजै अनुमति पाउँथेँ। मलाई अलि बढी नै 'प्रिभिलेज' पाएको जस्तो लाग्थ्यो। हाम्रो समाजको संकुचित धारणामा छोरी मान्छेले पाइन्टभन्दा पनि कुर्ता, सारी लगाउनुपर्छ भन्ने समाजमा पहिलो पटक मलाई बुवा आफैंले टिसर्ट पाइन्ट किनेर ल्याइदिनुभएको थियो। मेरो बुवा अत्यन्तै उदार र खुला हृदयको हुनुहुन्छ।
उहाँको आत्मबल, सकारात्मक सोच र उदारताको त म बयानै गर्न सक्दिनँ। हरेक परिस्थितिमा सम्हालिन सक्ने उहाँको त्यही साहसले नै दुई दुई पटकको ‘हार्ट अट्याक’ थेग्न सक्नुभयो होला। मुटुसम्बन्धी जटिल मानिएको ‘ओपन हार्ट सर्जरी’ मा पनि त्यही आत्मबलले ठूलो योगदान गर्यो। सानातिना ‘अप्स एन्ड डाउन’ त कति हो कति।
हाम्रा हरेक असफलता र सफलतालाई सहजै लिन सक्ने बुवा कुनै परिस्थितिमा पनि आत्तिएको देखेको छैन। खासमा मेरो मन भित्रको कुरा, मेरो हजुरप्रतिको भावना पोख्ने शब्द नै पाइराखेको छैन। यी लेखिएका शब्दहरूभन्दा त हजुर धेरैमाथि हुनुहुन्छ। मनभित्रको यो भावना उतार्न नै सकिरहेकी नै छैन। त्यसका लागि उपयुक्त शब्द नै भेटिरहेको छैन।
म पटक/पटकका लोक सेवाका अन्तर्वार्तामा असफल हुँदा हजुरको प्रेरणादायी शब्दहरूले मलाई सम्हालिन सहज बनाएको थियो, बुवा। हजुरले 'तिमीलाई जागिर किन चाहियो र? तिमीले नातिको ख्याल गर त्यो पनि एउटा ठूलो काम हो' भनेर सम्झाउनु हुन्थ्यो।
मनमा त पक्कै छोरीले जागिर खाए हुन्थ्यो भन्ने त थियो होला नि तर देखाउनु भएन। सायद छोरीको पनि जागिर खाने नै चाहना हो पूरा भएको छैन मेहनत पनि गर्दैछ भन्ने पनि लाग्थ्यो होला। त्यसैले पनि नदेखाउनु भएको होला। बरू मम्मीले भन्नुहुन्थ्यो बाबुले पढ्ने स्कुलतिर पढाउन सुरू गर्नुपर्छ कि कान्छी अब त भनेर। उहाँजस्तो उदार र सहज त कमै मान्छे हुन सक्छन् होला। यस्तो सकारात्मक तरिकाले सोच्न सक्ने क्षमता सायदै मान्छेमा मात्र होला। सायद आफ्ना बुबाहरू सबैलाई नै त्यस्तै नै लाग्छ होला!
धेरैलाई आफ्नो बुवा ‘सुपर हिरो’ लाग्नु स्वाभाविक हो। पक्कै सबैलाई आफ्ना बुवा आदर्श लाग्छ नै। हो, मलाई पनि मेरो बुवा एकदमै पृथक र सुपर हिरो नै लाग्छ। समाजले बुवाहरूलाई यस्तो ‘ट्याग’ लगाइदिएको छ कि बुवाहरू रूनुहुन्न, बुवाहरू साहसी हुनुपर्छ, दुःखका कुराहरू शेयर नै गर्नहुन्न भन्नेजस्ता सामाजिक ‘ट्याबु’हरू। त्यसैले त चिकित्सकले भन्ने गरेका छन्, ‘हार्ट एट्याकको सम्भावना पुरूषहरूमा बढी हुन्छ।’
म त भन्छु बुवा हजुरका हरेक दुःख सुखमा हामीले साथ दिन पाऊँ। हजुरको दुःख या समस्या समाधान गर्न सकौं। सकेसम्म हजुरलाई खुसी नै राख्न सकौं। हजुरको खुसी नै हाम्रो अन्तिम खुसी हो।
बुवाहरू पनि सन्तानको सानो सानो खुसीमा रमाउन सक्ने हुँदा रहेछन्। बुवाहरू मात्र पनि नभएर आमाहरू पनि उही प्रकृतिका हुन्छन् त्यो त म आमा भएकाले र मेरो बुवासँगै मेरी प्यारी आमा पनि सँगै भएकोले अनुभूत गर्न पाएँ। मेरो बुवा पनि त्यस्तै हरेक खुसीमा खुसी र दुःखमा दुखी भए पनि नदेखाउने तर त्यसको सहजै समाधान गर्नेतर्फ लाग्ने। कस्तो धैर्यता अनि साहस छ हजुरमा। त्यस्तो धैर्यता अनि साहस हामी सबैमा भयो भने यो संसार नै मायालु र हिंसारहित हुन्थ्यो होला। बुवाको बारेमा यहाँ लेखिरहँदा पनि मेरो मुटु धेरै पटक भक्कानिएको छ, तर विस्तारै मैले मनलाई सम्झाउँदै भन्छु उहाँ त हाम्रो साथमा हुनुहुन्छ। मलाई के चिन्ता?
बीचैमा मलाई एउटा सानो घटना सेयर गर्न मन लाग्यो।
एकपटक बुवा र म गुल्मीबाट पाल्पा जाँदै थियौं। त्यो बेला बसहरू फाट्टफुट्ट मात्रै चल्थे। धेरैबेर गाडी कुर्यौं तर आएन। कच्ची बाटो धुलैधुलो भए पनि त्यही धुलोमै बुवा र म गाडी कुरिरह्यौं। त्यत्तिकैमा एउटा ट्रक आयो। त्यसमा पनि अगाडि त खाली थिएन ढिलो पनि भइसकेको थियो। बुवाले पछाडि भए पनि जाने निर्णय गर्नुभयो र हामी ट्रक चढ्यौं। तपाईंहरूमध्ये पनि कसैले अनुभव गर्नुभएकै होला ट्रकको पछाडिको यात्रा, एक त कच्ची बाटो त्यसमाथि धुलो कति कति। मालवाहक ट्रकको पछाडि न बस्ने व्यवस्था हुन्छ न समाउने नै ठाउँ हुन्छ। म ट्रकमा थुचुक्क बसें। बस्दासँगै बुवाले बोक्ने ब्याग र उहाँको लौरो जतनले पछाडि राखेछु, म सानै भएकाले आफ्ना सामानको जतनबारे बुवाले अपेक्षा नगर्नु भएकाले होला मेरी कान्छी छोरीले मेरो सामान जतन गरेर राखी, छोरी पाकी भइछ भनेर मनमनै एकदमै खुसी हुनुभएछ। अनि मेरी छोरीले यसो गरी भनेर धेरै ठाउँमा कुराको सिलसिलामा भन्नुभयो। मलाई पनि ठूलै काम गरेछु कि क्याहो जस्तो पनि भयो। यसरी छोरा छोरीका सानासाना कुरामा हजुर खुसी हुनुन्थ्यो।
मेरो आज एकदमै विशेष दिन, हुन त म एउटी छोरी हुँ। तर आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन। म मेरो बुवालाई बुवा भन्छु यसमै मेरो निकटता तथा सामिप्यता छ। हुन त मेरो हरेक बिहान अनि दिन विशेष हुन् तर आज अझ बढी विशेष दिन यो अर्थमा कि आज मैले अरू केही गर्न नसके पनि मैले मेरो बुवा प्रतिका मेरा भावहरू व्यक्त गर्न सक्छु।
बुवा हजुरलाई मेरो यति सम्मान र माया छ कि यो न म व्यक्त गर्न सक्छु न कसैले अनुमान नै लगाउन सक्छन्। हुन त एकाध अपवादबाहेक आफ्ना बाआमाको सबै सन्तानलाई नै उत्तिकै माया लाग्छ होला तर पनि आफूलाई अरूभन्दा बेग्लै जस्तो भान हुन्छ। तर हजुर औसतभन्दा धेरै माथि नै हुनुहुन्छ बुवा। हजुरले जति आफ्ना सन्तानलाई माया र ख्याल त यो उमेरका सायदै अभिभावकले गरेका होलान् जस्तो मलाई लाग्छ बुवा। यो अनुभव मैले मात्र नभएर संसारका हरेक छोराछोरीले गर्न पाऊन्। र, हरेक छोराछोरीले आफ्ना अभिभावकलाई यस्तै अनुभूति गराउन सकून्।
पटकपटक हार्टअट्याक र ओपन हार्ट सर्जरी गरेको र पाको शरीरले अझै पनि आफ्ना सन्तानको उस्तै माया गर्नुहुन्छ। जतिबेला हामी हजुरको औंला समातेर हिँड्थ्यौं र हामीलाई हजुरको सहाराको खाँचो थियो। हजुरको नजरमा त हामी अझै त्यस्तै छौं जस्तो लाग्छ। हामी हुर्किसकेका छौं बुवा। अब हामी हजुरको ख्याल राख्न सक्ने भएका छौं। हजुरका हरेक अप्ठ्यारामा हामी हजुरलाई साथ दिन सक्ने भइसकेका छौं।
मलाई मात्र होइन बुवा हजुरले आफ्ना चार सन्तानलाई बराबरी माया देखाउनुहुन्छ। त्योभन्दा बढी हजुरलाई को कति समस्यामा छ भनि थाहा सहजै हुन्छ। कसलाई बढी मायाको खाँचो छ, त्यो समेत ख्याल गर्नुहुन्छ बुवा। म आफूलाई यति भाग्यमानी र ‘ब्लेस्ड’ छोरी लाग्छ कि मसँग यति धेरै माया गर्ने अभिभावक हुँदासम्म म जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई मजबुत नै सम्झन्छु।
मलाई त लाग्छ सारा संसार एकातिर र म मेरा बाआमासँग एकातिर भए पनि जित्न सक्छु होला जस्तो लाग्छ।
हजुरलाई सम्झिँदा पनि भावुक हुन्छु बुवा म त। भन्न त भन्छन् सबैले आमाको जस्तो माया बाबाको हुँदैन भनेर, मलाई लाग्छ आमाको भावनात्मक माया हुन्छ भने बाबाको अर्थपूर्ण र लजिकल माया हुँदोरहेछ। बुवाहरूको माया आवश्यकताअनुसार प्रवाह हुँदोरहेछ। हजुरले हामीलाई दिएको जस्तो पवित्र माया दिने हजुरका बुवाआमा त यो धर्तीमा हुनुहुन्न। अब त हामी नै हो हजुरलाई माया गर्ने, अनि हजुर नै हो हाम्रो पनि।
म त मेरा हरेक पल भगवानसँग यही प्रार्थना गर्छु कि हजुरहरू दुवै जनाको स्वास्थ्यले साथ देओस् अरू जस्तोसुकै परिस्थितिसँग लड्न मलाई कुनै आपत्ति लाग्दैन। बस्, हजुरहरूको स्वास्थ्य राम्रो हुनु पर्यो। अनि अर्को कुरा हामी सन्तानको कारणले कहिल्यै हजुरको आँखामा आँसु देख्न नपरोस्। मैले पहिलो पटक माइती घर छोड्दा बाहेक मेरो कारणले हजुर रुनु परेको छैन र म अब पनि रुनु पर्ने छैन।
बस् सधैं यसरी नै हजुरको आशीर्वाद लिन पाइयोस्, हजुर हाँसेको नै देख्न पाइयोस्। हरेक सन्तानको आफ्ना माता पिताप्रति सधैं नै सकारात्मक बन्न सकून्, हरेक बुवा आमाको लागि छोराछोरी बुढेसकालको सहारा बन्न सकून्। कुनै पनि बुवाआमाले सन्तानको अवहेलित भई वृद्धाश्रम जानु नपरोस्। संसारका सबै मातापिताका लागि हरेक दिन कुशे औंशी बनून्।
हरेक सन्तानले आफ्ना बुवाआमालाई प्रत्येक बिहानी खास बनाउन सकून्। आज भाद्र कृष्ण औँसी अर्थात् बुवाको मुख हेर्ने दिनका अवसरमा संसारका सम्पूर्ण बुवाप्रति हार्दिक नमन।