चाउरिएको चुर्से आकृति। थोते मुख–मुद्रा। घत लागेर हाँस्नु पर्दा त्यही थोते हाँसो। होचो कदकाठीका तर, बल र आत्मबलले पुष्ट र बलिष्ट हात–पाखुरा। मजस्तै श्याम वर्णः यही हो मैले सम्झनामा राखेको बा–को स्मृतिचित्र।
बा औसत खेतीकिसानी गर्ने एक भोला किसान। निम्नमध्यम तहको गृहस्थी। लेखपढ गर्न मात्र जान्ने सामान्य साक्षर। गाउँमा, यसो भनौं टोलमा कुलो–बाँध–पैनी बनाउने अभियानकर्ता। बा– को सामाजिक वा राष्ट्रिय क्षेत्रफल यत्ति नै। बा–काशीनाथ अर्थात् मेरा नाथ। र, मचाहिँ बा–को प्रसाद।
बा–का हामी चार छोरा र एक छोरी। दश जना त नाति नातिना र, बा हुँदासम्म चार जना पनाति पनातिना। सम्भ्रान्त भाषामा बा मर्यादाका लागि हाम्रो घरका श्रीपेच।अनि, सामाजिक यथार्थमा दु:ख ढाक्ने छहारी। र, अझ विशाल फैलावटमा हाम्रो स्वतन्त्रताको आकाश।
***
बा रैतीबाट बढोत्तरी भएका सामान्य किसान– मानुष। तिनै ‘सामान्य किसान’ बा तर एक दिन अनन्ततिर छुट्नुभो। र, बा छुटेको पनि बाह्र वर्ष अर्थात् एक जुग नाघ्यो।
खै, किनकिन यतिका वर्षपछि आज बा–लाई सम्झन पुगेँ। मैले जीवनभरि सामान्य देखेका बा–लाई आज कसरी महान बनाएर लेख्दैछु, मलाई थाहा छैन।
नमीठो असङ्गति, बा–लाई चिन्न पनि बा छुट्नै पर्ने!
सम्भवतः दुनियाँमा मजस्ता अरू पनि हुँदा हुन्, बा छुटेपछि बा–को महत्व थाहा पाउने। प्रौढ भएर यसरी सोच्नुको आंशिक सत्य सायद, आफूले बा–को पथ समातेर पो हो कि? अथवा बा–को नियति भोग्दै गरेकाले पो हो कि?
यद्यपि सत्य यही हो; बा–को सम्झनालाई दूरस्थ बनाउने ‘तत्व’ आमा हुनुहुन्थ्यो। स्वार्थी छोरालाई ज्युँदी आमा छउन्जेल छुटेका बा किन चाहिन्थ्यो र ? जब, बाह्र वर्षको गह्रौं जीवन व्यतित गरेर आमाले पनि अन्तिममा बा–कै पथ समाउनु भो, अनि सम्झिएँ बा।
***
सानो थिएँ। गाउँघर होस् कि स्कुल या वनजङ्गल, दौँतरीसित खेल्थेँ। खेलिरहनु मात्र पनि केटाकेटी हुनु होइन। केटाकेटी हुनु चकचक गर्नु हो। चकचकभित्रै पथ्र्याे, मुक्कामुक्की चलाउनु। चलाउन निहुँ केही नचाहिने। मुक्कामुक्कीमा कहिले जितिन्थ्यो र कहिले हारिन्थ्यो पनि। कसैगरी जितिहाले, कोही कसैलाई सम्झनै नपर्ने। तर जब हारिन्थ्यो, सहारा खोजिन्थ्यो दुश्मन तह लगाउन। हारेको रिसारिसमा धक्कु पनि उस्तै–पख् न बा–लाई भन्दिन्छु अनि चाख्लास्। साथीलाई चखाउन बा हतियार। कल्पना गरिन्थ्यो –बा तुरून्तै ‘खैनीछाप पहलवान’ बनुन्। अगाडि आइदिऊन् र भीमकाय अनुहार देखाइदिऊन् ।
यद्यपि, बा हुनुहुन्थ्यो केटाकेटीको झगडालाई रमाइलो मानेर हेर्ने, रमिते।
अलिक पछि चाहिँ, पढ्न जान थालेपछि कोरस मसीको चक्की, मयूर कापी र टेको कलम किन्न आमासित पैसा माग्थेँ। आमा भन्नुहुन्थ्यो– बा देश जानु भएको छ। पैसा फल्ने बडा–बडा बोट हुन्छन्। बोटमा चढेर पैसा झार्नुपर्छ। बा झार्न सिपालु। बा–ले ल्याउने तिनै पैसा तँलाई पनि दिउँला।
त्यसपछि लाग्थ्यो – घरै अघिल्तिर बडेमाको पैसा फल्ने बोट भैदियोस् र पैसा झारिरहुन् बा। अनि भुइँमा झरेका पैसा टिपिरहुँ म।
फेरि उही त हो, बा हुनुहुन्थ्यो, भुइँतहको एक किसान। दुनियाँ बेखबर बाँचेको मानिस। आफ्ना सपना र श्रम बेच्दै सन्तानको सपनाको जोहो गर्ने ध्याउन्नमा देश र देशबाहिर हिँडिरहनुलाई उपलब्धि ठान्ने एक भुक्तभोगी यायावर।
बा–लाई सम्झँदा अघिको सुदूर बाल्यकालमा पुग्छु। त्यो छिपछिपे सम्झनामा बा–को काख। काखमा बसेर मुख आँऽ गर्दै बा–का मुखमा हेरिरहने म। चराले बचेरालाई झैं मकै भटमास चबाएर गोजेरोमा हालिदिन तयार बा। बा–का मुखको चारोले भरिएको मेरो गोजेरो। गोजेरो भरिएर सन्तुष्ट म। म त्यहीँ घुगुती खेल्दै लोरी सुनिरहेको हुन्छु।
तराबाजी लै लै
मामा आए घोडा।
***
लेखनमा हात बस्न थालेदेखि लागेको थियो–बा–का बारे केही लेखूँ। तर फेरि लाग्थ्यो– बा ठूलाबडा, कुनै जमिनदार अथवा समाज र देशले चिनेको चर्चित व्यक्ति पनि हुनुहुन्थेन। त्यस्ता केही नभएका बा–बारे के लेखूँ? कसैमाथि लेखिइनुमा विशेष योग्यता चाहिन्छ। बा–सित अतिरिक्त ती कुनै पनि योग्यता थिएनन्। ती कुनै कोटीमा नपर्ने ठानेर केही नलेख्ने सोचेर बसेँ। र, ‘बा’ लाई त्यसपछि ‘दिव्य बाह्र वर्ष’ सम्म नसम्झिएको पनि साँचो हो।
तर एकाएक आज, बा–लाई सम्झिएँ मैले। लाग्यो– दुनियाँ अट्ने अक्षरमा बा कसरी अट्नु हुन्न त!
***
घरमा हामी दुई छौं। हाम्रा दुई छोरी–छोरासहित ज्वाइँसमेत भएर दिनदिनै जसो सम्झिन्छन् विदेशबाट। अझ, हामीलाई एक्लोपनमा जान नदिन नाति छ, जोसित दैनिक एकदुई पटक आँखा नजुधाए चित्त बुझ्दैन। साथीभाइ, इष्टमित्र र आफन्तहरू हिजोकै छन् र, अझै थपिँदै पनि छन्। उही हिजोकै घर छ। घरमा हामीबाहेक पनि धेरै चिजवस्तु छन्। तर धेरै भएर पनि केही खाली छ। त्यो खाली ठाउँ, जहाँ हिजो बा–को नाउँ थियो। बा–को ठेगाना थियो। र, बा–ले दिने आशीर्वाद थियो।
अहिले ती दिनलाई फर्केर हेर्छु, बा घरको खाली ठाउँ भर्ने अक्षर हुनुहुँदो रहेछ।
बा–का मुखमा दाँत पातला थिए, अझ बंगारा त दुई चारोटा मात्र। ती दाँत लगातार ६ महिनासम्म औंलोले सताएका र सुताएका बेला फुक्लिएछन्। आफूबाट फुक्लिएका र फुत्किएका वस्तुको महत्व बढ्दो रहेछ। बा पनि त्यही बुझेर हुनुपर्छ; दाँत बलियो पार्ने, मलाई सूत्र बताउनु हुन्थ्यो।
भनिसकेँ, मैले सम्झेका बा थोते हुनुहुन्थ्यो। र, बा–को थोते मुस्कान मैले कहिल्यै बिर्सन नसक्ने एउटा स्मृतिबिम्ब बन्यो। उसबेला त्यस्तो स्मृतिलाई बल्झाउन विनोदी गफका लागि वातावरण बनाउँथें। जब, बा थोते मुस्कानमा खुल्नुहुन्थ्यो, सोच्थेँ– मेरो महान उद्देश्य पूरा भयो।
अनि लाग्थ्यो– धर्ती उज्यालो भएकै बा हाँसेकाले हो।
पढ्नकै लागि भनेर बा–ले कुनै दर्शन, सिद्धान्त पढ्नु भएन। तर व्यवहारमा कुनै दर्शन, सिद्धान्त पढ्नेभन्दा कम पनि हुनुहुन्थेन।
सामान्य दैनिक क्रियाकर्ममा कुनै दिन केही बिध्नबाधा हुँदा म आत्तिन्छु, अलिकति दु:ख पर्दा अत्तालिन्छु। मेरा बा यस्ता झिनामसिना समस्या, समस्या नै हैनन् भन्नुहुन्थ्यो।
भन्नुहुन्थ्यो –जीवन यसरी चलोस्, स्वयम् जीवनलाई थाहा नहोस्।
भनिसकेँ, बा–ले औपचारिक पढ्नु लेख्नु भएन। तर लेखपढ गर्न खाँचो पनि थिएन। देवीभागवत, रामायण महाभारत मात्र होइन, मैले ल्याएका साहित्यिक किताब र पत्रपत्रिका मभन्दा पहिले नै पढिसक्नु हुन्थ्यो। दैनिकी त होइन, तर दैनिक घटेका घटनाविशेषलाई पात्रो र अन्य कागजमा टिपोट गर्नुहुन्थ्यो। मलाई दैनिकी लेख्न नजानिँदो प्रभाव बा–ले नै पारीदिनु भो भन्नु अन्यथा हुँदैन। यतिका बीच आफ्नो कमजोरी थियो या यथार्थता, थाहा भएन। कुरैकुरामा भन्नुहुन्थ्यो – पगितो धन र विद्या सञ्चय नगर्नु, पछि आफैंलाई हान्ती गर्छ।
पुँजी र बजारशास्त्र नपढ्ने बा तिनको महत्व बुझ्नु हुन्थ्यो। महत्व बुझेरै बा कुनै समय पनि खाली हात बस्नु हुन्नथ्यो। काम ठूलो सानो हुँदैन भन्ने बा–का विचार अहिले आएर महान लाग्न थालेको छ।
सन्तुलित आहार विहारलाई स्वस्थ जीवनको महत्वपूर्ण अध्याय मानिन्छ। यसले मानिसको स्वास्थ्य र दीर्घायूमा अर्थ राख्दछ। बाँचुन्जेल स्वस्थ र मस्त रहनु जत्तिको सुखानुभूति अरू के होला र? दैनिक क्रियाकर्मले ९३ वर्षसम्म बा आफैंमा स्वस्थ र मस्त हुनुहुन्थ्यो। भोक लाग्दा होस् कि सामान्य अवस्था, मीठो होस् कि नमीठो, खानाको परिमाणमा घटबढ हुँदैनथ्यो। भन्नुहुन्थ्यो –अल्पाहार स्वास्थ्य अनुकूल मानिन्छ। कोखा पुरिने गरी कहिल्यै नखानू। अलिअलि हावा खेल्ने ठाउँ पनि चाहिन्छ पेटमा। बा–का अर्ति र खानाको मीठो स्वादका बीच कहिल्यै मेल खाँदैनथ्यो। म एक कानले सुनेका बा–का कुरा अर्काे कानबाट उडाइदिन्थेँ।
आफ्नै सिद्धान्त प्रतिपादन गर्ने बा जहिल्यै दुई चार गाँस कमै खाएर उठ्ने। हामी भन्थ्यौं –पस्केको जति त खाइदिनु नि!
बा बिहान, सखारै उठ्नुहुन्थ्यो। उठेपछिका नित्यकर्मभित्र शौच स्नानादिसँगै पूजा–पाठ पर्थे। शरीर स्वस्थ राख्न हात, दाँत र आँत बलियो बनाउनु पर्छ।
भन्नुहुन्थ्यो–हात बलियो पार्न काम गर्नुपर्छ। हातले छोडाएर खाने मकै दाँतले दार्नु हुँदैन। शरीरका इन्द्रीय वा अवयवले आफ्नो काम गर्न पाएनन् भने बोदो हुन्छन्। ‘बा’का कुरा सुनेर हाँस्थेँ।
थप्नुहुन्थ्यो–दाँतको काम चबाउनु हो। उसलाई चबाउन नदिई सुलुसुलु निल्यो भने, आँतलाई भार पर्छ। चबाउने काम नपाउने दाँत र दोहोरो मार बढेर काम गर्न नसक्ने आँत दुबै कमजोर बन्छन्।
अझ घतपर्दाे चाहिँ– खाइ मुती, बाँया सुती।
क्या काइदाको सूत्र!
पछि पछि भने बा एक्लै बस्नै नसक्ने। काममा होस् कि किताब पढ्दा, कोही न कोही साथी चाहिने। किताब पढ्दा अगाडि आमा हुनुपर्ने। अथवा कोही छरछिमेकी। बोल्ने साथी नपाए बरू लाग्नुहुन्थ्यो गाउँतिर गफ गर्न। यसो विचार गर्छु; एक्लै बस्न नसक्ने बा यतिका वर्ष कोसित बस्नुभो होला?
***
आजभन्दा पाँच वर्षअघि ओखलढुङ्गाको माम्खा गएको थिएँ। आफ्नोपन र जायजेथा भन्नु मेरानिम्ति सम्झना मात्र। घुमुन्जेल म तिनै सम्झनासित खेलेँ र, रमाएँ। रमाइरहँदा बा–को झल्को दिने उतिबेला देखिकै दुई चार थान पर्खालहरू भेटिए र, बा–ले रोपेको एउटा आँपको रूख पनि। आँप बाक्लै फुलेको थियो, बा–का केश जस्तै। वर्षाकालका काई सुकेर काला–सेता पाप्रा उप्किँदै गरेका ढुङ्गाका पर्खालमा बा–को धमिलो अनुहार छापिएको पाएँ। लाग्यो, बा ढुङ्गाको तहतह मिलेर पर्खाल हुनु भएको हो।
यात्राको उत्खननले उपलब्ध भएका प्रमाण, बा–लाई जीवन्त बनाउने गवाह थिए। बा खाली हात बस्नुहुन्न भन्ने दृष्टान्त थिए।
***
सम्झन्छु; बा कुनै योगीभन्दा कम हुनुहुन्थेन योग–कर्ममा। हात– खुट्टाको नियमित व्यायाम कामले गर्नुपर्छ— एउटा आफ्नै मान्यता थियो। सखारै उठ्नु, सकुन्जेल खेतबारीमा घुम्नु र, आफू र अन्नबालीकाबीच घनिष्ट सम्बन्ध बनाउनु, नियमित व्यायाम–कर्ममा पर्थे। अन्नले पनि आफ्नो मालिक दैनिक आइरहेको देख्यो भने खुसी हुन्छ, अन्न खुसी हुनु भनेको उत्पादन बढ्नु हो।
बा–को आफ्नै दर्शन।
जीवित हुन्जेल कहिल्यै फुस्रा हात गोडा लिएर सुत्नु भएन। म सोध्दिनथेँ –किन सधैं चिल्लो? बरू सोध्थेँ– आज किन फुस्रै?
कहनुहुन्थ्यो– खुट्टाका बुढीऔंलाको सम्बन्ध आँखासित हुन्छ। बेलुका चिल्लो दलेर सुत्नाले आँखाको दृष्टि बढेर जान्छ।
साँच्चै, बा–ले अन्तिम समयसम्म पढ्नु, लेख्नुपर्दा, यति कि–पात्रो हेर्दा पनि–चश्माको सहारा लिनु भएन। नियमित आहार–विहारले शरीरमा कुनै रोग थिएन। फूर्ति र जाँगर मसँग भन्दा बढ्ता गरेर बा–सितै लुटपुटिन्थें।
बा–को नियमित खानपान मात्र हैन, सुत्ने समय पनि एउटै हुन्थ्यो। उहाँको मान्यता थियो– एकै समयमा बेलुका चाँडै सुत्नु र, बिहान चाँडै उठ्नु स्वस्थ जीवनका आधारसिला हुन्।
कहिलेकाहीँ बा–सित नजानिँदो ईर्ष्या पनि हुन्थ्यो – त्यति स्वस्थ बा–को छोरो, म कसरी अस्वस्थ? बा–का सीप, फूर्ति र जाँगर मतिर किन हस्तान्तरण नभएका?
***
मैले माथि नै भनिसकेँ, बा–ले पढ्नु भएन। तर परीक्षा भने मसित बारम्बार लिनुहुन्थ्यो। बा–ले लिने परीक्षा–कहिले बाट्ताबाट्तै गरेका डोरीका पस्यौटो कस्ने हुन्थे। कहिले हलोमा फेसो ठोक्ने। जब म बा–का प्रश्नका उत्तर दिन नसकेर फेल हुन्थे, लगत्तै पढाइमा पनि फेल भएको संकेत पाउँथें। अह्राएका कुनै काम नजानेपछि बा जङ्गिनुहुन्थ्यो –अनि, ऐंलेसम्म के चैं पढिस् त मु... ?
बा–लाई दिने लाचारीको जवाफ हुन्थ्यो, हाँसो। म पनि हाँसेरै बा–को पारो चढाइदिन्थेँ। फेरि थप्नुहुन्थ्यो –तैंले पढेको पनि कुकूरकै....... !
मेरो पढाइ र कुकुरको पुच्छर बा–का नजरमा उस्तै।
अँ, छोराको आँखाबाट बा–को विगतलाई खोतल्दै जाँदा गुनैगुनको रासमा एउटा घातक वैगुन पनि थियो–धूमपान। बा–का कथन अनुसार दश वर्ष हुँदादेखि लुकीचोरी सुरू भएको धूमपानसितको यात्रा तमाखु, काँचोपात, चुर, सुर्ती, गाँजा हुँदै खैनीमा आएर अडिएको थियो।
एक वर्षअघि नै डाक्टरले धूमपान वर्जित भनेका थिए। बा लुकी–लुकी खानुहुन्थ्यो भन्ने थाहा नभएको होइन। शाताब्दी पुग्न लाग्दा जागेको तलतल अब आएर मैले किन मारिदिनु? थाहा पाएर पनि केही भन्दिनथेँ। डाक्टरले जे हुनसक्छ भनेका थिए, बा–को तलतलको परिणाम आखिर त्यही भयो एक वर्षपछि। जीवनको अन्तिम घडी –सम्भवतः बित्नु तीन चार दिनअघि हुनुपर्छ– बा–लाई खैनीको तलतल लागेछ। पल्लो कोठामा बस्ने टीका भाइलाई एकोहोरो हेर्नुभो। याचना बुझेपछि म, बा–का आँखाबाट ओझेल परेँ। भाइले एक जुम खैनी दिनुभो, सुटुक्क।
अगाडि आएर हेरेँ, बा–को जीवनको अन्तिम आनन्द सायद, त्यही घडी थियो।
त्यसपछि, बा–ले कहिल्यै खैनीका लागि याचना गर्नु भएन।
***
आज, एकान्तमा ल्यापटप अगाडि राखेर बा–लाई सम्झँदै अतीतलाई केलाउँछु। बा हुँदाको घरको रौनक चढेको विगत र नहुँदाको रित्तोपनको अन्तर केलाउँछु। बा र हाम्राबीचको चर्या सम्झन्छु। ती सबै सम्झना अब, स्मृति भएका छन्।
यतिबेला बा–लाई महान भनूँ, बा–को भूमिकामा पुगेको आफूलाई हेर्छु। बा–लाई सामान्य भनूँ, छोराछोरीका आँखा भएर बा—लाई हेर्छु। मझधारमा उभिएको छु। बैगुन देखिने त जीवित हुँदा मात्र रहेछ! त्यसै पनि छोराका हेराइमा कर्मशील बा–का बैगुन के पो हुँदा हुन् र, खै?
आज कुशे औंशी। बा–लाई सम्झन्छु। बा ज्ञानका वाहक। म विज्ञानको संवाहक। पुस्तान्तरणको यो अवस्था सोच्दा र सम्झँदा पनि आतेस लाग्छ।
उतिबेला बा–सित जीवन चलाउने सूत्र र मन्त्र थिए। यतिबेला, मसित जीवन बराल्ने यन्त्र छ।