बाबाआमाका आठ सन्तान हामी! ६ जना छोरा र दुई जना छोरी, बाबाको चर्को आवाज सुन्नेबित्तिकै सबै थरर हुने। बाबासँग सबै डराए पनि मलाई भने डर लाग्थेन।
बाबाको सामाजिक तथा नेतृत्वदायिक भूमिका मलाई निकै मन पर्थ्यो र मनमनै सोच्थें- म ठूलो भएर बाबाजस्तै बन्छु यसरी नै चौतारामा उभिएर धेरै मान्छेको अगाडि चर्को स्वरमा भाषण गर्छु, बाटो, पुल, चौतारी, मन्दिर, स्कुल बनाउँछु। बाबाको नाम प्रख्यात थियो बाबाकै कारण मलाई पनि सबैले चिन्थें। बाबा मलाई दमौलीमा सबैले हजुरकी छोरी हुँ भनेर मैले नभने पनि चिन्छन् भन्दा बाबाले मेरी कान्छी छोरी मैजस्ती छ अनि चिन्दैनन् त भन्नुहुन्थ्यो।
सबैले मेरो अनुहार हातखुट्टा बाबाको जस्तै छ भन्नुहुन्थ्यो। हामी दुवैलाई कडा दूध राखेको चिया औधी मन पर्थ्यो। हाम्रो पसल थियो बाबाले चकलेट दिँदै तिमी ठूली भएपछि तिम्रो नामले चिनाऊ है मलाई भन्नुहुन्थ्यो। हामीलाई पढ्न सजिलो होस् भनेर हाम्रो घरमा दुई जना शिक्षक राख्नुभएको थियो। एकपटक म तीन कक्षामा बोर्डफस्ट हुँदा फर्स्ट हुने मान्छे बोर्ड फर्स्ट कसरी भएँ भनेर रोएर पुरस्कार लिनै गइनँ। बाबा मंचबाट आएर तिमीले सबैलाई जितेकी हौ क्लासको नतिजा आउन बाँकी नै छ भनेपछि बल्ल पुरस्कार लिन गएँ। बाल्यकालमा कुनै कुराको अभाव हुन दिनुभएन।
बाबाले धर्मकर्मका बारेमा पनि ज्ञान दिनुहुन्थ्यो। बिहान नुहाएर सधैं धार्मिक पुस्तक पाठ गर्नुहुन्थ्यो आँखा निकै तेज थिए। मेरो बिहेपछि मेरो जीवनमा अनेक प्रकारका उतारचढाव आए। बाबा मेरा हरेक सुखदुःखको साक्षी बन्दै मलाई बाँच्ने हिम्मत दिएर शितल छहारी बनिरहनु भयो 'ठेस लागेर मरिँदैन टाउको काटे मरिन्छ' भन्नहुन्थ्यो।
म हरेक तीजमा जन्मघर नपुगे पनि कुशे औंशीमा बाबालाई मनपर्ने उपहार बोकेर एक दिन भए पनि बाबाको मुख हेर्न पुग्थें। मुस्कुराउँदै बाबाले 'आजभोलि त मलाई तिम्रो बाबा भनेर सबैले चिन्छन् नि नानी' भन्दा म हाँस्थें।
मेरो जन्मघर छाब्दी बाराही मन्दिरको गेटैमा थियो। जिल्लामा आउने जुनसुकै तहका व्यक्ति मन्दिर दर्शन गर्न जाँदा बाबासँग भेट हुने मभन्दा पहिला बाबासँग परिचय हुने रहेछ मसँग भेट्दा बाबा भेट भएको थियो हजुरभन्दा पहिला बाबालाई चिन्यौ भन्दा म खुसी निकै खुसी हुन्थें। बाबालाई मेरो र दुई नातिहरूको निकै चिन्ता थियो एक दिन कुरा भएन भने नानी तिमी सञ्चै त छौ नि भन्नु हुन्थ्यो।
पछिल्लो समय मेरो व्यस्तता बढेको थियो बाबालाई पनि श्वासप्रश्वासको समस्या देखिएको थियो। नसा दुख्छ भन्नुहुन्थ्यो घर जाँदा दम र नसाको औषधि दुई तीन महिनालाई पुग्ने लगिदिन्थें। बाबालाई हरेक बिहान बेलुका लठ्ठी टेकेरै भए पनि हिँड्नु पर्थ्यो। ८० लाग्दा पनि आफ्नो काम आफैं गर्नुहुन्थ्यो। म २०७९ चैत १ मा बाबालाई भेटेर काठमाडौं फर्कें।
काठमाडौं आएको दुई दिन नबित्दै बाबाले भिडिओ कलमा कहिले आउँछौ नानी भन्नुभयो। मैले नाति देहेरादुन गएको छ फर्केपछि आउँछु भनें। त्यही बेला बाबाले काशी, गयाजी ,ऋषिकेश, हरिद्वार, गौरीकुण्ड तथा केदारनाथ यात्राको संस्मरण सुनाउनु भयो। ४ गते साँझ फेरि कहिले आउँछौ भन्नुभयो, भेट्न मन छ भन्नुभयो। मैले दुई दिनपछि आउँछु भनें।
पाँच गते बिहान हिजो अलि सञ्चो थिएन ऐले ठिक भएको छ तिमी कैले आउँछौ भन्नुभयो। मैले भोलि आउँछु भनें। साँझ फेरि भिडिओ कल गरेँ बाबाले उठाउनु भएन। बुहारी अन्जनाले फोन उठाइन् बाबालाई फोन दिइन्। बाबा धेरै बोल्नु भएन केही संकेत गर्नुभयो। मैले अस्पताल जाऊँ है भन्दा मान्नुभएन। आमालाई कालो मासको दाल बनाएर बाबालाई खुवाउनु भने बाबाले मलाई यो खान मन थियो भन्नुभयो। माइलो दाइलाई बाबालाई नछोड्न भनें। बाबाले फेरि इसारा गर्दै आफू बाँच्दिनँ होला भन्नुभयो। त्यो रात मेरो आँखामा निन्द्रा आएन मनमा अनेक कुरा खेलिरहे जत्ति कोसिस गर्दा पनि निदाउन सकिनँ। बिहान पाँच बजेतिर झकाएछु। ५:१५ मा आएको अन्जनाको फोनले आँखा खुल्यो। अन्जनाले दिदी तपाईं हिँडिहाल्नु भन्दा झस्कें म! आमा रोएको सुनेर मैले बाबालाई सञ्चो भएन हो भनें म एम्बुलेन्स भन्छु काठमाडौं ल्याइहाल भन्दा अञ्जनाले होइन तपाईं हिँडिहाल्नु भन्दा मैले बाबा हुनुहुन्न हो भन्दा अञ्जना पनि रुन थालिन्। मेरो संसार अँध्यारो भयो टेकेको धर्ती भासिएजस्तो भयो। म टुहुरी भएँ।
म रुँदै निस्केँ। मसँगै कान्छो छोरा पनि जान्छु भन्यो। बाबाको इच्छा आफ्नो अन्त्येष्टि देवघाट धाममा होस् भन्ने थियो। म काठमाडौंबाट घर नगई देवघाट गएँ। बाबाको श्वास त देख्न पाइनँ लास भए पनि हेर्छु भन्ने भयो काठमाडौंबाट रुँदै देवघाट पुग्न महिनौं लागेजस्तो भयो। मुस्कुराउँदै मलाई बाटोसम्म लिन आउने, मैले नभने पनि मेरो कुरा बुझ्ने, मेरो खुसीमा मुस्कुराउने र दुःखमा साथ दिँदै हिम्मत भर्ने मेरो बाबा अब कहिल्यै नबोल्ने भएर बाँसको डोलीमा पिताम्बरले ढाकिएर आउनुभएको थियो।
कालीगण्डकी तीरमा चिर निद्रामा रहनुभएको बाबाको पार्थिव खोतलेर शरीरमा टासिँदै कति प्रश्न गरेँ। रोएँ। बाबाको आँखा खुल्लै थिए। अनुहार अहिल्यै नानी तिमी आयौ भन्नुहोला जस्तै। मैले कत्ति बोलाएँ तर बाबाले यसपटक मेरो आँसु देखेर कुनै प्रतिक्रिया दिनुभएन, मेरो आवाज सुनेर ब्युँझिनु भएन बाबाले बारम्बार नानी कहिले आउँछौ भन्दा मिति सार्दै बसिरहें यस्तो होला भन्ने सोचिनँ। अहिले मैले बोलाउँदा उहाँको बोली अब कहिल्यै नसुनिने गरी बन्द भइसकेको थियो।
बिहानै गीता पाठ गरेर आमासँगै चिया पिएर भन्नुपर्ने कुरा सबै भनेर भगवानको प्रिय हुनुभएको बाबा हेर्दाहेर्दै चिताको रापमा खरानी भएर धुँवामा विलीन हुनुभयो। म लाचार भएर किनारामा रोइरहें। त्यो खरानीको अवशेषमा बाबाको जीवनी झलझली सम्झिरहें।
हिजोआज बाबा आमा लेखेर सेभ गरेको नेपाल टेलिकमको त्यो नम्बरबाट फोन आउन छोड्यो, नानी खाना खायौ, सञ्चै छौ? घर व्यवहार कसरी चलाउँदै छौ? गाह्रो परे भन है भनेर कसैले सोध्दैन। कलकल बग्ने त्यो छाब्दी खोलाको आवाजले मलाई हजारौं प्रश्न सोधेको आभाष हुन्छ। हजुरका पाइलाका डोब खोज्दै मन्दिर, चौतारो, स्कुल खेतबारी सबै चाहर्छु।
हजुरले लगाउनुभएको चौतारीको वरपिपलको पात हल्लिँदा मलाई नै बोलाएको आभाष हुन्छ, छोरी हुने हरेक बाबालाई छोरी कति प्रिय हुन्छन् मेरो बाबाको पनि आँखाको नानी थिएँ म। ९ वर्षमा बिहे गरी ८२ वर्षमा पतिवियोगको पीडा खेपेकी मेरी आमासँग म्यासेन्जरमा कुरा हुन्छ। उहाँलाई पीर पर्छ भनेर सबै कुरा भन्न सक्दिनँ।
बाबा बितेपछि मैले दुई वटा पत्रकारिता पुरस्कार प्राप्त गरें। बाबालाई त्यो खुसी बाँड्न पाइनँ। तिमीले मेरो शिर झुकाउने काम गरेकी छैनौ नानी तिमी मेरो असल सन्तान हौ। एक्लो नसोच्नु दुःखी नहुनु भन्नुहुन्थ्यो। अब त्यो शब्द कहाँ सुन्न पाउनु मैले? अब मैले पाउने भनेको अदृश्य रूपमा हजुरले दिनुभएको आशीर्वाद त होलानी है?
आशीर्वादसँगै हिम्मत पनि दिनु है बाबा! किनकि हजुर गएपछि म धेरै टुटेको छु। आमालाई भन्नु भएको रैछ म गएपछि कान्छी छोरी छ उस्लाई हेरेर मन् बुझाउनु भनेर, आमालाई हजुरले जस्तै ख्याल राख्न नसकूँला तर केही गुनासो रहन दिने छैन। हजुर बिनाको त्यो घर टेक्दा भक्कानिने मेरो मुटु सम्हाल्दै आमाको अगाडि हाँसेको अभिनय गर्नुको पीडा मलाई मात्र थाहा छ।
आमाले तीजमा आउँछौ होलानी आऊ है भन्नु भएको छ। गत वर्षको तीजमा म नाचेको हेरेर रमाउने हजुर नहुँदा त्यो आँगनमा अब म कसरी तीज गीत गाएर नाचौं बाबा!
साँच्चै म टुहुरी भएको छु! बाबाको क्षति केही कुराले मेटिँदैन। जीवित हुँदा उहाँहरूको इच्छा अनुसार सक्दो खुसी र सेवा गरौं! अब मैले बाबाको सेवा गर्छु, खुसी राख्छु भनेर पाउँदिनँ।
हजुरले धर्ती छोडेपछि साँच्चै म टुहुरी भएको छु, भिजेका परेली लिएर अब मैले कसको मुख हेरूँ बाबा?